मातृवात्सल्यका दृष्टिले स्तनपान गराइरहेकी आमासँग बालकले ममतावोध नगरेर यौनसुख देख्यो भने के हुन्छ ? यस्तो निर्मम-प्रश्न पनि उठाउनुपर्दोरहेछ । समय, परिस्थिति र वास्तविकताहरू यस्तै छन् । अचेल जताततै आमारूपी देश चुस्दा सुख ठान्नेहरूमात्र पाइन्छन् । कोही पदका नाममा, कोही सत्ताका अर्थमा, कसैले कमिसनको कर्ममा त कसैकसैले निर्लज्ज पदीय मर्यादाको विचलनमा देशलाई चुसेर वैयक्तिक सुख साँचिरहेका छन् ।
यही विडम्बनाका कारण सबै क्षेत्र, वर्ग, तह र तप्का अस्तव्यस्त होइन ध्वस्तै बन्न पुगेको छ । अनुशासन हराएर अराजकतामा परिवर्तित भएको छ । विकासको सट्टा विनास मौलाएको छ । बालबालिकालाई ‘एकादेशको कथा’ सुनाउन छाडेर अपहरणको व्यथामा सीमित गरिएको छ । युवाहरूलाई मुलुकको मेरुदण्ड बनाउनुको सट्टा कार्यकर्ताको कवचमा विरोधीहरूको मेरुदण्ड भाँच्ने हतियारमा परिणत गराइएको छ । प्रौढहरू अभिभावकरूपी न्यायाधीश हुन छाडेर झगडीया वादी-प्रतिवादीमा विभक्त छन् ।
हो, यसैकारण चन्द्रशम्शेरले उहिल्यै सतीप्रथा उन्मुलन गरेका भए पनि हामी ‘सती’ जान छाडेका छैनौँ । कोही पार्टीका नाममा ‘सती’ गएर सत्य बोल्दैनौँ । कोही सत्ताको नाममा सती गएर तथ्य खोजमा लाग्दैनौँ । यो केवल राजनीतिक वृत्तमा देखिने विरोधाभास मात्र होइन । यही कारणले साहित्यिक वृत्तमा समेत अचेल अनेकन विचलन र विसङ्गति घनिभूत हुन थालेको छ । पार्टीदेखि गुठीमा समर्पित लेखन एकातिर जन्मेको छ भने अर्कोतिर वर्गीय र जातीय अतिवादी सोचमा स्रष्टाहरूलाई बाँड्न थालिएको छ । कलमको कहिल्यै जात हुँदैन, यद्यपि कलममा जातीय मसी भर्न थालिएको छ । अक्षरको कुनै गुट हुँदैन तैपनि राम्रो ‘म’ लाई हाम्रो ‘म’ बनाउन थालिएको छ । लेखकहरू पत्रिकाको नभएर सम्पादकको मान्छे मान्न सुरू भएको छ भने सम्पादक पत्रिकाको नभएर लेखकहरूको ठान्न थालिएको छ ।
वास्तवमा साहित्यले जस्तोसुकै कठिन कालखण्डमा पनि ‘हात उठाउँदैन’ । इमान्दार स्रष्टाले ‘तुम शरणम’ स्वीकार्न सक्दै सक्दैन । लेखन प्रतिस्पर्धी टेण्डर त बन्न सक्छ तर फगत् लिलामी-खेलमा सिर्जना उभिन सक्दैन । सत्य यही हो लेखन र लेखक आक्रामक हुनैपर्छ । सिनेमा सम्बाद ‘समझो जो डर गयावो मर गया’ जस्तै/जस्तै हुनैपर्छ लेखन र लेखक । सम्झौता गरेपछि देखेको लेखिदैन । भनेको, सुनेको मात्र लेखिन्छ । भनेको ढोङ, सुनेको आदर्शले त्यसपछि देखेको सत्यलाई लुकाएरै छाड्छ । यो कुरामा शङ्का छैन ।
फेरि थोरै कुरा आफ्नै । मधुपर्कमा बितेको ४/५ महिनामा धेरै लेखक, कवि, एवं शुभचिन्तकहरूबाट पाएको सुझाव एवं भोगेको यथार्थका आधारमा यस अङ्कमा हामीले प्रशस्त युवास्रष्टाहरूलाई स्थान दिएका छौँ । आम युवा लेखकहरू जसले प्रतिबद्ध तबरबाट साहित्यिक यात्रालाई अगाडि बढाउन चाहनुुहुन्छ तर प्रकाशन-पीडाबाट गुज्रनु भएको छ, उहाँहरूको सम्मान र स्थानका खातिर युवास्रष्टाहरूलाई समेटिएको हो । सङ्खुवासभाको कठिन उत्तरी क्षेत्र किमाथाङ्काका कवि जयबहादुर घिमिरेदेखि कपिलवस्तुमा रहेर १७ कृतिको प्रकाशन तारतम्य मिलाइरहनुभएका उपन्यासकार बासु जमरकट्टेलसम्मको सम्पर्कक्रममा मैले देखेको तथ्य के हो भने ‘मोफसलमा बसेर लेख्ने युवास्रष्टाहरूलाई राजधानीले देखेन ।’ अनि ‘युवास्रष्टाहरू स्थापित स्रष्टाहरूको सेपमा परे ।’ यी र यस्तै गुनासा एवं गुम्फनहरूलाई केलाउँदै आगामी दिनमा समेत मधुपर्कले रचना स्तरका आधारमा युवा स्रष्टाहरूलाई साथ दिने निधो गरेको छ । आजका युवाहरूको उत्साहलाई ‘भोलि केही हुन्छ’ भन्ने आशा र भरोसामा हामीले साथ दिएनौ भने त्यसले उनीहरूलाई पलायनतर्फ उन्मुख गराउँछ । जस्तो ः
हुन्छ हुन्छ सबै भन्छन्
हुँदैन त कसले भन्ने ?
खुशीको त जगै छैन
सुखी घर कहिले बन्ने ?
केही हुने आशाभित्र
उत्साहले बिहान दङ्ग
दिउँसभरमा नभएपछि
साँझपख मात टन्न
हुन्छ हुन्छ आफैँ भन्छु
हुँदैन त किन भन्ने ?
खुशीको त जगै छैन
सुखी घर कहिले बन्ने ?
मधुपर्क २०६८ पुस
