जीवन काँडाबीच फुलेको फूल हो

  • by


जीवनलाई कतै काँडाले घोच्छ, कतै असिनाले चुट्छ, कतै झरीले लपक्कै भिजाउँछ, आखिर सृष्टि आँक्न कहाँ सजिलो छ र ? त्यही सृष्टिको सबैभन्दा सुन्दर फूल हो जीवन । यही जीवनको एउटा दर्शन हो, ‘जीवन काँडा कि फूल ?’ मदन पुरस्कार ग्रहण गरेपछि झमककुमारी घिमिरेले आफ्नो भाव यसरी व्यक्त गरिन् । उनको यो तर्कमा ताली बजे ललितपुरस्थित रातो बङ्गला क्याम्पसको हलमा खचाखच भरिएका साहित्यकार र शुभचिन्तकका ।

जगदम्बाश्री तथा मदन पुरस्कार समर्पण गर्ने समारोह लेखिएको पुस्तिकामा झमककै हस्ताक्षरमा कोरिएका पाना पढ्दै झमककुमारी घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईले थप्नुभएको थियो ः ‘मेरो विगत उधार्न तपाईंसमक्ष राखिदिएँ ‘जीवन काँडा कि फूल ?’, जसबाट जीवनका किस्ता किस्ता उघारिदिएँ । हाम्रा समाजका नग्न सत्य खोलिदिएँ । मान्छेलाई जीवन बाँच्दा घाउ चोट लाग्छ, पीडा हुन्छ । त्यसैले म बाँच्दा पनि रोएँ होला, लेख्दा पनि रोएँ होला । ती पुस्तकमा समेटेँ । हाम्रो सिर्जना मान्छेका लागि । जीवनका लागि र बाँच्न र बचाउनका लागि हुनुपर्छ । आमनिराशा र कुण्ठाभित्र बाँचेका मान्छेहरूलाई जगाउने हुनुपर्छ ।’ मानव जीवन र मानव कल्याणका लागि लेखौं भन्ने आहृवान गर्ने शारीरिक रूपमा अशक्त उनै झमककुमारीलाई अर्पण गरिएको थियो, यसपटकको मदन पुरस्कार । र त गुठीको निर्णयप्रति सबै खुसी थिए, अनि खुुसी देखिन्थिन् झमककुमारी साथमा आमा आशादेवी पनि ।

मदन पुरस्कार पाउँदाको आल्हाद र प्रसन्नता पनि साहित्यकै सरोवरमा मिसिएर बग्ने बताउने झमकको ‘साहित्य’ सम्बन्धी परिभाषाले पनि सबैको मन छोएको छ, ‘हो, साहित्य भनेको जीवनसँगसँगै बग्ने कुरा पनि रहेछ, फगत कल्पनाहरूको थुप्रोमात्र साहित्य हुन सक्दैन, यो त जीवन भोगेर पनि त्यसको अनुभूतिबाट जन्मिने कुरो हो रहेछ ।’ सम्मानित भइरहँदा झमककुमारीलाई अझै धेरै पहाडहरू चढ्नु छ, जँघारहरू तर्नु छ, थुप्रै अप्ठ्यारा बाटाहरू अनि गल्ली र गल्छेडाहरू पार गर्नुछ भन्ने लागेको थियो । उनी ती सबै चुनौतीलाई सहजै स्वीकार्दै र युगले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक बहन गर्न प्रयत्न गर्नेमा दृढ नै पाइइको छ ।

आत्मपरक निबन्ध कृति जीवन काँडा कि फूल ? का लागि रमाकृष्ण सिर्जना प्रतिष्ठानले प्रदान गर्ने तीस हजार नगदसहितको उत्तम शान्ति पुरस्कार थाप्न भदौमा राजधानी आएकी झमकले सोहीबेला नेपाली साहित्य क्षेत्रको सबैभन्दा ठूलो राशि र सम्मान भएको मदन पुरस्कार पाउने समाचार सुनिन् । त्यसैबेला उनले भनेकी थिइन्, ‘मदन पुरस्कार पाउने आशा त थिएन तर त्यसका लागि योग्य छजस्तो लागेको थियो ।’ घोषणापछि उनले पुरस्कार पाउने समाचारपछिको अनुभूति शब्दमा व्यक्त गर्न नसक्ने बताएकी थिइन् । राष्ट्रकवि माधव घिमिरेले झमकले यो पुरस्कार पाउनुमा दुईवटा विशेषता भएको बताउनुभएको छ । पहिलो त झमक महिला, त्यसमा पनि सपाङ्ग होइन । अरूले जीवन पाएर पनि केही गर्न सकेका छैनन् । प्रकृति भनौ वा भाग्यले ठगे पनि झमकले परिश्रमले जितिन् । दोस्रो, अरू कल्पना गरेर लेख्छन् तर उनले जीवनको भोगाइ र त्यसबाट उब्जेका अनुभूति पोखेकी छन् । उनकै आमा आशादेवी घिमिरेले त छोरीले नेपाली साहित्यको नोबल पुरस्कार पाएको प्रतिक्रिया दिइन् । उनलाई योभन्दा खुसीको दिन यसअघि कहिल्यै आएको थिएन रे । पुरस्कार प्रदान गर्ने घोषणा गरेदेखि अर्पण गरेपछिसम्म पनि एकथरि साहित्यकारहरू भनिरहेकै थिए, झमकलाई सहानुभूतिस्वरूप मदन पुरस्कार दिइयो, खासमा कृति त्यति उचाइको होइन । आजभन्दा ४६ वर्षअघि अर्थात् २०२२ सालमा महिला साहित्यकार -उनी पनि सपाङ्ग थिइनन्) पारिजातले नै पहिलोपटक महिला साहित्यकारका तर्फबाट मदन पुरस्कार पाएकी थिइन्, ‘शिरीषको फूल’ उपन्यासका लागि ।

झमक हातको साटो देब्रे खुट्टाले लेख्छिन् । न त उनीसँग औपचारिक अध्ययन नै छ । सङ्कल्प, मान्छेभित्रका योद्धाहरू, आफ्नै चिता अग्नीतिर, झमक घिमिरेका कविताहरू, सम्झनाका बाछिटाहरू, अवसानपछिको आगमन, क्वाँटी सङ्ग्रह र त्यसपछि जीवन काँडा कि फूल ? लेखेर नेपाली साहित्यको क्षितिजलाई फराकिलो पार्ने काम गरेकी छन् उनले । सानैदेखि बोल्न, हिँड्न र हातले समेत लेख्न नसक्ने झमकले मदन पुरस्कार पाउनुलाई कतिले भावनात्मक रूपमा हेरे त कतिले यसलाई ठूलै उपलब्धिका रूपमा लिए । मूल्याङ्कन आ-आफ्नो हो । व्यक्तिगत विभिन्नताभित्र रुमल्लिएको नेपाली समाजमा गरिने मूल्याङ्कनमा पनि विविधता पाइन्छ जुन स्वाभाविकै हो ।

जर्नेल मदन शमशेर राणाको स्मृतिमा रानी जगदम्बाले २०१२ साल असोज १० गते स्थापना गरेकी थिइन् मदन पुरस्कार । सुरुमा चार हजार राशि र २०६१ सालदेखि दुई लाख रुपियाँ राशि भएको यो पुरस्कारको महिमाले ग्रहण गर्ने साहित्यकारलाई सगरमाथाको उचाइमा पुर्याइरहेको छ । गुठीको मूलधन भने यसका लागि ३५ लाख छ । पछिल्ला वर्षमा ‘एकपटक मदन पुरस्कार पाइसकेका व्यक्तिलाई साधारणतः अर्कोपटक पुरस्कार दिइने छैन’ भन्ने थपिएको छ जसले यसको उचाइ झनै बढेको छ । पहिलोपटक २०१३ सालमा सत्यमोहन जोशीको गद्यकृति ‘हाम्रो लोक संस्कृति’, चित्तरञ्जन नेपालीको सामाजिक शास्त्र ‘जनरल भीमसेन थापा’ र डा बलराम जोशीको विज्ञानकृति ‘अधिकविभव स्थिरविद्युत् उत्पादक’ लाई प्रदान गरिएको थियो ।

मार्मिक र मार्गदर्शन लेखनमा आफूलाई डुबाउन सफल लेखिका झमकले मदन पुरस्कार पाएपछि सँगै २०६७ सालको जगदम्बाश्री ग्रहण गरेका ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ बोलको कालजयी गीतका रचनाकार दुर्गालाल श्रेष्ठले आफ्नो भावनालाई यसरी पोखे, ‘यसपालीको मदन पुरस्कार पाउने स्रष्टा हुन्, सुश्री झमक घिमिरे । उनी यो पुरस्कारको निमित्त अद्धितीय पात्र हुन् । मेरोमा भन्दा उनको यो प्राप्तिमा म बढी प्रफुुल्लित छु ।’ गजबको कुरो त, मदन पुरस्कार पाउनेको आरती गर्ने परम्परा । पुरस्कार वितरण होइन रे, अर्पण । अनि पुरस्कार दिनेको हात तल र थाप्नेको हात माथि । पुरुष होस् वा महिला, मदन र जगदम्बाश्री पाउने त्यो दिनको ‘बहुलो’ । पुरस्कार समर्पण गर्ने समारोहमा ‘जेन्डर बायोस’ हुन्न रे । उनीहरू ‘देवतुल्य समान’ हुँदारहेछन् ।

गुठीका अध्यक्ष कमलमणि दीक्षितले पुरस्कार प्रदान गर्नुअघि झमकका नाममा एकजना कविले लेखेका हरफ सुनाए,

राम्रो उत्कृष्ट लेख्यौ, झमक ! हृदयको धौ फुकाएर लेख्यौ,
लेख्यौ आफ्नै कहानी, समयसित जुधी जे निहारेर लेख्यौ ।

काँडा हो जिन्दगानी, दुःख अनि सुखको फूल हो जिन्दगानी,
भन्ने सन्देश घोली अभिलिखित गर्यौ देशको यो कहानी ।

दीक्षितले झमकले संसारलाई एउटा सारपूर्ण शास्त्र दिएको बताउँदा सभाहलबाट तालीको गुञ्जनले सद्भाव थपेको थियो झमकलाई । जस्तोसुकै प्रतिकूल परिस्थितिसँग पनि सङ्घर्ष गरेर विजयी बन्न सकिन्छ भन्ने सन्देश ‘जीवन काँडा कि फूल ?’ पुस्तकले दिने उनको निष्कर्ष थियो । अघिल्लो वर्षसम्म ६७ वटा पुस्तक पुरस्कृत भएका छन्, ६५ साहित्यकारका । झमकजस्तै गतवर्ष पनि मदन पुरस्कार पाउने व्यक्ति थिए, बैतडीका नरबहादुर साउद । दुई दशकदेखि हृविल चेयरको सहायतामा बाँचिरहेका उनले ओछ्यानमै बसेर नेपालको बालीनालीको नालीबेली केलाउने ग्रन्थ लेखेका थिए । गुठीको रमाइलो पक्ष हो सर्वोत्कृष्ट कृतिमात्र चयन गर्ने, त्यो पनि १४, १५ जनाको विद्वत समूहबाट र पारित गर्नुपर्ने साधारण सभाबाट । कतिपटक त निर्णय उल्टाएको छ साधारण सभाले । अनि कतिपटक त सर्वोत्कृष्ट कृतिको अभावमा पुरस्कारले ‘राहत’ पाएको रहेछ ।

झमकले ‘जीवन काँडा कि फूल ?’ को भूमिकामा लेखेकी छन्, ‘जीवनलाई सृष्टिको सुन्दर फूल भनेर अर्थ्याइदिएँ अहिले मैले । खोइ मैले अर्थ्याइदिएको जीवनभित्र स्वयं आफ्नो जीवन पर्छ कि पर्दैन ? कुन्नि थाहा छैन ।’ झमकले पुस्तकमा समेटेका आत्मजीवनीपरक निबन्धहरूमध्ये समाजले बुझेको सौन्दर्यभित्र म, आशाको त्यो त्यान्द्रोसम्म, कापीकलम पाएको त्यो पल, विभेदको युद्धमा म एउटा बोझ, नामसँग विद्रोह, ऋतुधर्म र बैंस, जातीय विभेदहरूबीच म, स्वतन्त्रता भोग्ने रहर, अप्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान र जीवन काँडा कि फूलले पाठकलाई झमकको अनुभूतिलाई सोच्न बाध्य तुल्याउँछन् ।

‘एउटी निर्दोष बालिकाको अगाडि आएर उसको मृत्युको माग गर्दा त्यो बालमस्तिष्कमा कस्तो आघात पर्थ्यो, बाठाहरूको जमातले पटक्कै सोचेन, संवेदनशीलता बाल मनमस्तिष्कलाई विचारै नगरी प्याच्च बोल्थ्यो । बोल्नेलाई थाहा हुँदैनथ्यो । त्यसको चोट एउटी निर्दोष बालिकामाथि कुन रूपमा पर्थ्यो ? म यस्ता कुराहरूले पनि कोपरिन्थँे साह्रै नमिठोसँग पटकपटक ।’, आशाको त्यो त्यान्द्रोसम्म शीर्षकको निबन्धका यी पङ्क्तिले झमकको लेखनलाई सहजै अनुमान गर्न सक्छ पाठक । विकलाङ्ग शरीर र असाधारण मानसिक शक्तिको चमत्कार देखाएकी छन् झमकले पुरस्कृत यो कृतिमा । लाग्छ, विश्वमै उनको यो फरक र आश्चार्यजनक बौद्धिकताले पृथक छाप पार्नेछ । पुरस्कृत समरोहमा पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले भन्नुभएको थियो, ‘अब नेपाली साहित्यका क्षेत्रमा साथै राज्यले नै झमक घिमिरेको व्यक्तित्वको प्रचारप्रसार गरी विश्वलाई ध्यानाकषिर्त गर्ने वातावरण तयार गर्नु बुद्धिमानी हुन्छ ।’

हो, वास्तवमै झमकले सबैलाई जीवनलाई फूलको आँखाले हेर्नुपर्ने पाठ सिकाएकी छन् । उनको ‘जीवन काँडा कि फूल ?’ को यथार्थ चित्रणलाई प्रत्येक नेपालीले आत्मबोध गर्नु अहिलेको आवश्यकता देखिएको छ । साहित्यलाई घृणा गर्ने र तल्लो तहमा राख्नेहरूलाई पनि यो सबक भएको छ तर जीवनलाई फूल भनी परिभाषित गर्ने झमक स्वयंले नै खुट्याउन सकेकी छैनन्, उनको जीवन चाँहि काँडा वा फूल ? झमकको लेखनबाट यो पङ्क्तिकारले निष्कर्ष निकालेको छ, झमक तिम्रो जीवन काँडाबीच फुलेको सुन्दर फूल हो । यही फूलमा तिमी सधैं सधैं मुस्कुराउ !

मधुपर्क २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *