Skip to content

ईश्वरले एउटा ढोका बन्द गरे अर्को खोल्दिन्छन्

  • by


एकनास परेको झरीका कारण मिङयाङ सुधारगृह (मा.वि.) को स्वागतकक्ष पनि ठिहिर्‍याउँदो र निर्जन भएको हुन्छ । लीन मेयुन त्यही कक्षको एक कुनामा रहेको लामो टेबुलको एक छेउमा बसेर प्रतीक्षा गर्न थाल्छिन् । आफ्नै मुटुको बढ्दो धड्कनका कारण ताइवानस्थित त्यस बालसुधारगृहको शून्यता झन् झन् भयावह लागिदिन्छ, त्यसैले उनी आफैँलाई सम्झाउँछिन्-‘शान्त, शान्त । जे होला, बिलकुल नरिसाउनू ।’ आखिर निकै लामो प्रतीक्षापछि ढोका खुल्छ र एउटा सल्लाहकारसँग एउटा किशोर देखापर्छ । उसैको नाम याङ हो । उनले निकै वर्षअघि देखेको ख्याउटे केटो बढेर अग्लो जवान भएको थियो । अलिअलि लजाएजस्तो उसको भोला अनुहार देख्ता उनलाई आफ्नो छोरो तेङ देको झलक्क सम्झना हुन्छ ।

आफ्ना सामुन्नेमा अप्ठ्यारो मान्दै उभिएको त्यस किशोरलाई देख्नासाथ अनायसै उनका आँखामा आँसु छलछलाउँछ । यही त्यो केटो हो जसले तीनवर्ष अघि उनका छोरालाई मारेको थियो, छातीमा छुरी धसेर । मौन हेराहेर गर्छन् उनीहरू एकार्कालाई, मानूँ कठ्याङ्गि्रँदो मौसमसँगै उनीहरूको भावना पनि कठ्याङ्गि्रँएको थियो । एकछिनको मौनता भङ्ग गर्दै याङ भकभकाउँछ-‘स-स्स-स्सिरस्मती यू, (उनका घरपट्टकिो नाम) के म तपाईंलाई अङ-अङ-अङगालो मारुँ ?’ ऊ पनि बर्बर आँसु झरिरहेको हुन्छ । यन्त्रचालित हल्लिन्छ उनको टाउको स्वीकृतिमा र एकसाथ कस्छ याङले उनलाई अँगालोमा बेस्सरी । अनियन्त्रित भावावेशमा ऊँ रुँदै कराउँदै भन्छ ! ‘मलाई अपसोच छ ! मलाई माफ गर्नोस् । म गलत रहँेछु । मलाई अपसोच छ !’ उनलाई झन् झन् निचोर्दै ऊ कराउँदै हुन्छ र झन् झन् रुँदै हुन्छ र त्यसैसँग उनलाई पनि आफ्ना हृदयमा अहिलेसम्म परेको पीडा र घृणाको गाँठो फुक्दै गएको अनुभव हुन्छ । साँच्चै बल्ल कुनै सिक्रीमा जकडिएजस्तै अचेल आफ्नै मन उन्मुक्त भएजस्तै लाग्छ उनलाई ।

– – – – – –

त्यो दिन पनि यस्तै चिसो थियो । सत्र वर्षे तेङदेले मामाको छोरासँग बार्बक्यू (खोला, जङ्गलतिर माछा सिकार मारेर पोलिखाने चलन खासमा त्यस्तो अँगेनो) जाने योजना गरेको थियो । तर काम सक्दा धेरै ढिलो भइदियो । त्यसैले उनीहरूले स्याङ एन स्कुलको चौरमा सुटुक्क छिरेर राति अबेलासम्म डुल्ने विचार गरे । तर चौरमा पुग्नेबित्तिकै साथीहरूले-‘ढिलो गरेकोमा तैँले सजाय खानुपर्छ । दशपल्ट कान समातेर उठ-बस गर’ भने । तेङले उठबस सक्न लाग्दा चौरको अर्कोपट्ट िभएका अर्को हुल केटाहरूले देखेर उसले उनीहरूलाई जिस्क्याएको ठानेछन् । अनि त निहुँ खोजेको भन्दै आएर ‘माफ माग्’ भन्न थाले । भनाबैरी सुरू हुनासाथ हानाहान परिगयो । रक्सीको सुरमा तातेका केटाहरू जथाभावी कुट्न थाले र त्यही हुलमुलमा पन्ध्र वर्षे याङले तेङको छातीमा फलफूल काट्न ल्याएको छुरीले हानिहाल्यो ।

लगत्तै थाहा त भयो तर हुनु नहुने भइसकेको थियो । केटाहरूले टाप कसिहाले । कोही बाँकी थिएन । तेङ दे ले त्यही दिन पाएको ज्याला रकम आमालाई दिनु भनेर भाइलाई दियो र अन्तिम सास फेर्‍यो ।

क्रिसमसको बिहान लगातार बजेको घन्टीसँगै लीनको सङ्कट सुरू भएको थियो । ‘म कहिल्यै बिर्सिन सक्तिँन’ उनी भन्छिन् ‘मानूँ चट्याङ् परेको थियो र सारा संसार मेरै वरिपरि फन्का पारिरहेको थियो । खबर यति भयानक थियो, सुन्नासाथ म ठाउँका ठाउँ ढलेछु बेहोस भएर ।’ अनायसै उनको हात घाँटीको सिक्रीमा पुग्छ, उही तेङ देको कोसेली, उसको कमाई । त्यही दिन, आफ्नो प्यारो छोरो गुमाएको त्यही क्षणदेखि उनका दिन आँसुमा डुब्छन् । कहिलेकाहीँ त यतिसम्म हुन्छ, मध्यरातमा कसैले ढोका ढकढक्याएको सुन्छिन् उनी र हतारहतार खोल्छिन्, तर कोही हुँदैन त्यहाँ ।

– – – – – –

लामो कानुनी प्रक्रियाले उनको पीडामा वृद्धि नै गरिदिन्छ । पहिलोपल्ट अदालतमा याङलाई देख्ता उनलाई पत्यारै लाग्दैन त्यो सानो फुच्चे केटो त्यति निर्मम हुनसक्छ भनेर । त्यसमाथि उसले कठघरामा उभिएर झुट्टो बोल्यो । अझ उसको बयान न एकनास थियो न उसको भावभङ्गीमा अलिकति पश्चात्ताप झल्किन्थ्यो । लीनलाई उसलाई उतिबेलै समातेर पट्टापट्ट झापट लाउनुजस्तै रिस उठेको थियो । झन् मुर्दाघरमा तेङको लास देख्ता त के भन्नु, उनलाई आफ्नै छाती चिरिएजस्तै भयो । साँच्चै, विचराको छाती नाइटोसम्मै चिरिएको थियो अङ्ग्रेजी अक्षर वाइको आकारमा । आक्रोशपूर्ण ती क्षणमा उनलाई सम्बन्धित जति एकएकलाई मारिदिन मन लाग्थ्यो । हुन पनि अदालत जाँदैपिच्छे उनले झोलामा छुरी लुकाएर लगेकै हो । पूरापूरा बदला लिन उनले अठोट गरेकै हो । तर त्यो स्थिति कहिल्यै आएन बा भनाँै उनी त्यहाँसम्म पुग्नै सकिनन् ।

उल्टो उनले आफैँलाई संसारबाटै विच्छेद गराइन् । ढोका बन्द गरेर एक्लै रुँदारुँदै उनी निदाउँथिन् र रुँदारुँदै ब्यूँझिन्थिन् । न समयको ख्याल हुन्थ्यो न कामको । न करेसाबारी झारमा पुरिएको पत्तो हुन्थ्यो न लाएका र अरू कपडा फोहर भएकै ।

हो, आफन्त र इष्टमित्रहरूले उनलाई सघाउने प्रयास नगरेका होइनन् । तर पीडाले उनलाई अन्धी बनाइदिएको थियो । इलान प्रान्तका कारागार-मैत्री स्वयंसेवक क्यू सोङसान प्रथमपल्ट लीनसँग भएको भेट सम्झिन्छन् । उनका शब्दमा लीन पीडामा यसरी हराएकी थिइन् कि उनको हरेक क्षण छोराको सम्झना र उसका हत्याराप्रतिको चरमघृणामै मात्र घुमिरहन्थ्यो पहेँली, दुब्ली र होस हराएजस्ती विचरीले उसलाई नजाऊ भन्न सकेकी हुन् न बस भन्न ।

त्यस रात क्यू र उसकी पत्नी लीनकैमा बसे तर एकशब्द आदान-प्रदान नभै रात बित्यो । केही दिनपछि फेरि जाँदा उनको गेटमा प्रायः लगाइरहने ताला लागेको थिएन । क्यू सरासर भित्र पस्ता लीन भुइँमै लम्पसार परेकी थिइन्, पूरै बेहोस्-मिर्गीको दौरा परेजस्तै । क्यूले हतारहतार अस्पताल पुर्‍याए र त्यसपछि पनि अस्पतालले छुट्टी नदिउञ्जेल उनको हेरचाह गरे ।

सबभन्दा ठूलो कुरा-उनलाई बदलाको चाहना त्याग्नै कठिन भैरहेको थियो । हरपल उनको मन याङ र उसका सारा परिवार मरेको देख्न लालायित हुन्थ्यो । त्यसपछि उनी गोप्य तवरमा उसका बाबुआमाको खोजी गर्न थालिन् । यसै क्रममा पहिलोपल्ट उनले याङकी आमालाई बस बिसौनीको उखरमाउलो भीडमा फूल बेच्तै गरेको देखिन् । उनको लोग्नेचाहिँ एकै हातले-अर्को हात मोटर दुर्घटनाका कारण काट्नु परेको-फूल दिने, पैसा लिने र फिर्ता दिने काम गरिरहेका थिए । त्यसबेला बल्ल लीनका मनमा उनीहरूप्रति सहानुभूति उब्जियो । उनीहरू पनि उनीजस्तै गरिब रहेछन् । उनलाई आफ्नै पति लामो समयसम्म ओछ्यान परेको सम्झना भयो । त्यसै भएर त उनले पनि अर्काको भाँडा मोल्न, कार धुन र आफ्नै करेसाबारीमा तरकारी लाउन थालेकी थिइन् । याङका बाबुआमा पनि उनीजस्तै परिस्थितिको सिकार भएका थिए । अदालती खर्च र क्षतिपूर्तिको रकम जुटाउन उनीहरूले सडकमा फूल बेच्नु परिरहेको थियो ।

सडकपारिबाट उनीहरूलाई हेर्दै जाँदा कताकता उनलाई आफ्नो अघिसम्मको आक्रोश पग्लिँदै गएजस्तै अनुभव भयो । ‘मैले उसलाई (याङलाई) मारे पनि मेरो छोरो त फर्किदैन । बरू मेरो घृणाले यो घरलाई पनि रुवाउँछ,’ उनका मनले भन्यो । ‘यदि मेरै छोरो दोषी भएको भए के म पनि यसैगरी क्षमाको आशा गर्दिनथेँ होला र ?’

तेङ दे बितेको करिब दुई वर्षपछि क्यू सोङसानसहित याङका बाबुआमा क्षमा माग्न उनका घर आए । बूढाबूढी नै उनका अगाडि घुँडा टेकेर बरबर आँसु झार्दै रुन थालेपछि उनको मनको रहलपहल आक्रोश र घृणा पनि पखालियो । दुवै आमाहरू अँगालोमा बाँधिएपछि त लीनका छातीमा थुप्रिएको एउटा ठूलो भारै हट्यो । अन्तमा उनले तेङ देको मृत्यु भएको परिस्थितिलाई स्वीकार गरिन् ।

लगत्तै सायद एक रात सपनामा तेङ देले उनलाई भन्यो-‘आमा, मलाई ठीक छ यहाँ । कृपया मेरो कारणले तपाईं पनि अब अरू कुनै पीडा नबोक्नोस् । तपाईंका मनमा गढेको घृणाले तपाईंको स्वास्थ्यलाई नै हानी गर्नेछ । त्यसैले कृपया, मेरा निमित्तसमेत आफ्नो ख्याल राख्ने गर्नोस् ।’

ब्यूँझनासाथ उनलाई त्यस हत्यारा याङको सम्झना भयो- त्यसले कस्तो अनुभव गरिरहेको होला ? यस विचारले पिरोल्न थालेको तीन दिनपछि उनले क्यूलाई फोन गरेर याङसँग भेट गर्ने इच्छा प्रकट गरिन् ।

– – – – – –

भेटेको दुई दिनपछि नै त्यस किशोर-युवाले उनलाई पहिलो पत्र पठायो । अनि त्यो पत्रले साँच्चै एउटा विशेष चिरस्मरणीय सम्बन्धको सुरूआत गरायो । तबदेखि याङ आफ्नो हालचालबारे नियमित रूपमा पत्र लेख्नथाल्यो । चाडपर्वका बेला त ऊ शुभकामना कार्ड पनि बनाएर पठाउँथ्यो जसले उनलाई आफ्नै बारेमा पनि याद दिलाउँथ्यो । जस्तो-‘आमा, कृपया आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोला । सधैँ बेलाबेला साथीहरूसँग घुम्न जाने गर्नुहोस् । सुन्दर प्राकृतिक दृश्यावलोकन गर्नुहोस् । त्यसले तपाईंलाई फाइदा गर्नेछ ।’

छ वर्ष सुधारगृहमा बसेपछि याङ जमानतमा छुट्यो । उसको सर्वप्रथम कुनै काम गर्ने र अदालतले तोकेको क्षतिपूर्ति रकम चुक्ता गर्ने विचार थियो । तर लीनले ‘पछि तिरे पनि हुन्छ । पहिले पढाइ गर र कुनै सीप सिक’ भनिन् । उनको यस उदारताको कारण न आफन्तले बुझे न याङका नातेदारले । सबै छक्क परे । लीनले नै प्रष्ट्याउँदै भनिन्-‘मलाई त्यो (रकम) मिनाहा गरेकोमा कुनै पश्चात्ताप छैन । मैले आफ्नो छोरो त गुमाएँ, मेरो यस पीडाका कारण अर्को किशोर पनि बर्बाद भएको हेर्न चाहन्न म ।’

उनी एकपल्ट गल्ती गर्न पुगेको मान्छेले पनि अवसर पाए समाजलाई योगदान गर्नसक्छ भन्नेमा विश्वास गर्छिन् ।

उनको सुझाव अनुसार नै ऊ स्कुल भर्ना भयो र यतिखेर ऊ खाद्य प्रशोधन विषयको स्नातक तेस्रो वर्षमा छ । अचेल घरमा आउने इष्टमित्रलाई उनी माध्यमिक उत्तीर्ण विद्यार्थीको बिदाइमा स्कुलमा आयोजित कार्यक्रममा याङ, उसकी आमा र उनको संयुक्त फोटो र उसले सुधारगृहबाट लेखेका एक चाङ पत्रहरू देखाउन भुल्दिनन् । सँगै उनको टिप्पणी हुन्छः ‘ईश्वरले एउटा ढोका बन्द गरे अर्को खोल्दिन्छनर ।

अङ्ग्रेजीबाट अनुवादः अनुवादक-प्रकाशमणि दाहाल

मधुपर्क २०६८ माघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *