घाम कठ्याङ्ग्रिएकै बेला एकदिन कल्याणजी आउनुभयो ।-‘एउटा कविता लेखिदिनु पर्यो, कमलजी !’ कविता मानौँ बिहान चिया खाएजस्तै सरल छ र म तुरुन्तै दिऊँ । मलाई सम्झना छ र कुरा झण्डै १०-१२ वर्ष अगाडिको हो । -‘बुझ्नु भएन ? एउटा पत्रिका छ त्यसका लागि । केही बौद्धिक होस्, केही दर्शन पनि होस् हामीलाई मनपर्ने जस्तै । क्या त्यही रोकाको कविता जस्तै ।’
मैले पनि लेखेँ र दिएँ उसलाई ।
मन,
विचार,
अनि चौबाटो
र त्यसमा अवस्थित म ।
जीवनको…….
केही यस्तै छ त्यसको स्वरूप र आज पनि म चकित हुन्छु, कसरी लेखिएछु त्यो कविता ? किनकि मैले रचेका कविताहरूमध्येको सबभन्दा उत्कृष्ट थियो त्यो । पछि जति कोसिस गरे पनि त्यस्तो कविता रच्न सकिनँ मैले । सायद जीवन यस्तै हुँदोरहेछ-‘एर्फडलेस’ । प्रयास गर्दा पनि तयार नहुने कुरा आफैँ हुँदोरहेछ । अनि लाग्छ- जीवनका सब उत्कृष्ट कुरा अप्रत्यासित नै हुँदा रहेछन् ।
एकदिन यस्तै साँझसाँझतिर । स्थान रत्नपार्कको एउटा सानो पसल । वास्तवमा आकासे पुलमुनिको चियापसल । मेट्रो सहरको विशेषता केही यस्तै लाग्छ कविताजस्तै । मान्छे नै मान्छे, दौडधूप अनि गाडीहरूको ठेलमठेल । मेरो अगाडि दिलीपदाइ निश्चिन्त अनुहार लिएर बस्नुभएको छ एउटा स्टुलमा । उहाँलाई म केटाकेटीदेखि नै चिन्छु । उहाँ पनि स्वच्छन्द कविताजस्तै हुनुहुन्छ । हाम्रो अघिल्तिरबाट कलेजका एक जोडी ठिटाठिटी गुडुल्किँदै जान्छन् झण्डै पतिपत्नीको ‘मूड’ मा ।
दिलीपदाइ भन्नुहुन्छ-‘कमल, बिहे गर्दैनौ ? गर अब ।’ म जुन प्रश्नबाट भाग्दै आएको छु सधैँ सधैँ त्यही प्रश्न कोट्याउनुहुन्छ उहाँ सुरूमै । उहाँको बानी नै छ केही यस्तै-‘फ्र्याङ्क’ र सहृदयी पनि ।
-‘के गर्नु दाइ ! काठमाडौंमा आफू बाँच्न त यस्तो कठिन छ, झन् स्वास्नी, परिवार पाल्न……।’ म केही अलमल उत्तर दिन्छु । -‘बुझेनौ, बिहे भन्ने कुरा समयमै गर्नुपर्छ । यसको लागि जागिर-सागिर चाहिँदैन के ! मान्छेको जीवन भनेको यस्तै हो कचाककुचुक गरेर भए पनि चल्छ क्या !’
दिलीपदाइको जीवनको एउटा छुट्टै विशेषता रहेको छ । अरूभन्दा छुट्टै आज पनि म उहाँलाई त्यही लयमा पाउँछु धेरै हदसम्म । तर विगतका केही वर्षमा उहाँमा केही परिवर्तन आएको छ । आयामिक रूपमा मात्र । तात्त्विक रूपमा हैन । जीवनप्रतिको लालसा र विश्वास उहाँमा कठिन कालमा पनि रहेको थियो तथा आज पनि त उत्तिकै छ त्यो । केही गुमाउँदा पनि उहाँ प्राप्त गर्नुहुन्थ्यो र मलाई लाग्छ यसमा जीवनको विशिष्ट आनन्द लुकेको छ ।
दिलीपदाइको एउटा योग्यता छ उहाँ दुई धु्रवलाई एकसाथ राखेर मजाले बाँच्न सक्नुहुन्छ । यस्तैमा एकदिन उहाँलाई भेटेँ असनतिर चियापसलमा । पसल पनि छ उही नामको । एउटा तरुनीतरुनी आइमाई चिया उमाल्दै छे स्टोभमा । उसका सानासाना छोराछोरी सडकका बादशाह बनेका छन् । दिलीपदाइ हाँस्दै भन्नुहुन्छ-
-‘मलाई बजारतिर रेस्टुराँमा चिया खानुभन्दा यस्तैमा खानु मजा आउँछ । आफूलाई पनि ढाडस मिल्ने, उनीहरूको पनि जीवन चल्ने । हे-हे-हे….कस्तो समाजवादी सोच छ है मेरो ?’
म उहाँको यस्तो समाजवादी सोचलाई विश्लेषण गर्न घोरिने चेष्टा गर्दैहुन्छु-‘समाजवादी सोच……!’ फेरि उहाँ भन्नुहुन्छ-
-‘अस्ति व्यापारमा पचासहजार नाफा कमाएको थिएँ, आज तीसहजार ‘लस’ भयो । काठमाडौँ कस्तो गजब छ है ! मान्छेले मान्छेलाई सक्दो ठग्छ । पैसाको होड मच्चिएको छ ।’ जो जिता वही सिकन्दर’ । हेर न हार्नेले यस्तै नाङ्लेपसल थाप्छ गल्छेडोमा र जित्नेले…..। बढो मजा आउँछ मलाई यहाँ । त्यसैले त लागेको छु म यसमा । हा..हा..हा… । मान्छे नै मान्छे, रहर नै रहर, दौडधूप, रङ्गीचङ्गी, पैसैपैसा……कस्तो मज्जा है !’
अहिले म उहाँलाई अगिको समाजवादी आनन्दबाट बेग्लै पुँजीवादी प्रतिस्पर्धातिर लग्न सकिराखेको हुँन्न । मेरो अगाडि एउटा अनुहार छ फगत् दिलीपदाइको ।
-‘कमलजी, म त दिक्क भइसकेँ । केही उपाय निकाल्नु न कसरी बाँच्ने ? यो स्कुल न त राम्ररी चल्छ, न भङ्गै हुन्छ । आर या पार केही निष्कर्ष त हुनुपर्छ । अरू नै केही काम खोजिन्थ्यो । कसरी बाँच्ने सधैँ यस्तो द्वन्द्वमा ?’
कल्याणजीको आफ्नै दुखेसोको पहाड छ । म आफैँ त द्वन्द्वमा बाँचेको छु । कसरी उपाय दिऊँ ! चोकनेर नै चौबाटो छ र त्यहीँ म खडा छु । कल्याणजीलाई म के उत्तर दिऊँ ? उपाय खोज्दै छु । जीवनका महत्त्वपूर्ण प्रश्नको उत्तर अझै आउन बाँकी नै छ ।
एकदिन म र दिलीपदाइ चिया खाँदै थियौँ, कल्याणजी आउनुभयो अनि भन्नुभयो- थाहा छ ब्रहृमपुरी नजिकको त्यो ठूलो बरको रुख त काटेछन् नि !’ उहाँको अनुहार र अभिव्यक्तिमा पीडा स्पष्टै झल्किरहेको देखिन्थ्यो ।
उहाँ केही बढी नै सजग र सचेत हुनुहुन्छ जीवन र जगत्प्रति, त्यसैले व्यवहारिक प्रश्नले बढी नै लखेट्छ, दुःख दिन्छ उहाँलाई । कल्याणजीको जीवन पनि बढो गजब कै छ । म कहिलेकहिले उपमा दिनुपर्दा उहाँको जीवनलाई हजारीप्रसादको निबन्धसँग गाँस्थेँ । उहाँ थोरैमा धेरै आनन्द लिनुपर्छ भन्नुहुन्छ र सधैँ असन्तुष्टि पाइन्छ उहाँमा । उहाँलाई जीवनमा सबैभन्दा बढी प्रभावित पार्ने व्यक्तित्व हुन्- जे.कृष्णमूर्ति र कवि ‘अज्ञेय’ । यी दुईका व्यक्तित्वले कति प्रज्ञा थपे उहाँमा त्यो त म भन्न सक्तिनँ ।
आज आकासे पुलमुनि चियापसलमा बस्दा म उहाँलाई यसै सन्दर्भमा सम्झँदै छु । दिलीपदाइ निश्चिन्त वरपर भागदौडमा नजर दौडाउँदै हुनुहुन्छ ।
मलाई स्मरण छ प्रथमपटक उहाँले कृष्णमूर्तिलाई (वास्तवमा किताबलाई) भेट्दा भन्नुभएको थियो-‘कमलजी, बढो गजबको किताब हात लागेको छ । अवश्य केही होलाजस्तो लाग्छ ।’
त्यो किताब थियो-‘फस्ट एन्ड लास्ट फ्रिडम’ । र वास्तवमा किताब पनि थियो गजबै ।
कृष्णमूर्ति हरेकपल सतत अवलोकन र सजगको कुरा गर्नुहुन्छ । सत्यलाई कुनै नाम दिनुहुन्न उहाँ, खाली त्यसलाई ‘जुन त्यो हो’ भन्नुहुन्छ । जीवन र ज्ञानप्रतिको उहाँको देशना गजबै छ । म पनि प्रभावित भएँ किताब पढेर, तर…. ।
त्यसदिनदेखि कल्याणजीमा एउटा बानी पर्यो अवलोकन गर्ने र सजगता अपनाउने । केही हदसम्म त्यो बानी आज पनि विद्यमान छ उहाँमा । केही हदसम्म त्यसले आयामिक अन्तर पनि ल्यायो पनि, तर तात्त्विक अन्तर खै !
एकदिन मैले सोधेँ पनि-‘कल्याणजी, यो अवलोकनबाट के पाउनुभयो त ?’
-‘धेरै कुरा । तर बाहिर त केही देखिँदो रहेनछ । कविता लेख्दा, चित्र कोर्दा वा सङ्गीतको आनन्द लिँदा के हुन्छ ? खाली अनुभूति त हुने हो नि । हैन ?’
म ट्वाल्ल पर्छु मात्रै । यति बौद्धिक, यति दर्शन जान्नेले लेख्न नसक्ने कविता ?
जीवनको विरोधाभाषलाई यत्तिको नजिकबाट हेर्दाहेर्दै पनि खै परिष्कार गर्न सकिँदोरहेनछ । कल्याणजीले अज्ञेयलाई उद्धृत गरेको ‘दुःखले सबैलाई परिष्कार गर्छ’ वाक्यले पनि कुनै काम गरेन यहाँ । सायद जीवनको सबैभन्दा ठूलो विशेषता पनि यही नै हो क्यारे ! दिलीपदाइलाई केही मतलब छैन यस्तो तर्क, ज्ञान-दर्शनको, तर एकदम मजामा बाँच्नु भएको छ । कल्याणजीमा केही बढी नै छ ज्ञान र आत्मचिन्तनको प्रवृत्ति, तर उल्टो बढी निरास र चिन्तित बन्नु भएको छ । अनि मलाई अचानक भन्न मन लाग्छ-जीवनका नियम त्यहीबाट सुरू हुन्छन्, जहाँ नियमहरू ध्वस्त हुन जान्छन् । नत्र यस्तो परिष्कृत चिज पनि यस्तो
असन्तुष्ट ? यत्तिका दिनपछि म एक्लै कोठामा छु । रातको सन्नाटालाई चिर्दै विचार र मनका तरङ्गहरू तछाडमछाड गर्दै छन् । हातको सिक्काको एउटा पाटामा दिलीपदाइको आकृति छ भने अर्कोमा कल्याणजीको । अनि म कहाँ छु, त ?
सिक्का वर्तुलमा घुम्दै छ कतै । त्यो पनि व्यर्थै, मेरो मस्तिष्कमा एउटा प्रश्न मच्चिएको छ बेसरी- ‘के मान्छेको उद्देश्य यही इँटाद्वारा निर्मित पर्खालभित्रको खालीपन हो त ?’ यसभित्र उसले के-के सङ्गालेको छैन र ! खुशी, आनन्द, सुख, महìवाकाङ्क्षा…….!
यो मान्छे जानेर होस् या नजानेरै होस् चौतर्फी घेराभित्र सबैभन्दा बढी के कैद गर्छ ? शून्य । जसको कुनै गन्ती नै छैन यहाँ, तर पनि ……।
आज साह्रै उदास भएको छु । मलाई जीवनको एउटा निक्र्यौल चाहिएको छ । मैले कल्याणजीलाई एउटा उपाय, एउटा सुझाव दिन सकिनँ, तर खै (!) दिलीपदाइबाट केही सापट लिन पनि जानिन नि ! पशुपतिको पूर्वपट्ट िखुड्किलाबाट झर्दा पारिपट्ट िमूर्दा पोलेको धूँवाले आकास फुस्रो रङले रङगाएको देखिँदै थियो । मनमा मच्चिएको हुँडुलोले थरीथरीका विचारका रङ्गबिरङ्गी आकार उत्पन्न गर्दैछन् र मार्दै पनि छन् । केही दिनअघि कतै पढ्न पाएको इलियटको कविताको दुई पङ्क्ति मात्रै छ (सायद तारानाथ शर्माको कुनै किताबमा हो ।)-
म बूढो भएँ…….म कुप्रियँ
यी म मेरो सुर्वालमाथि सुकिएर लाउँछु ।
गीताको ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ को भाव पनि हृदयमा यथावत् सङ्गालेकै छु र गौशाला नजिकै चौबाटोमा आइपुगेको छु । साँझका लट्ठेबत्तीहरूले चोक, सडक झलमल्ल पारेका छन्, तर दूरदूरसम्म तन्किएका यी सडकहरूतिर आँखा दौडाउँदा टाढाटाढा अनन्तसम्म पनि रात छिप्पिएको स्पष्टै देखिन्छ । वाफ रे । मलाई निकै ढिला भइसकेछ । मैले यत्ति सहजै लेखिदिएको कविताको नियतिले मलाई अझ लखेट्दै छ । अनि म सम्झन्छु फेरि-
मन,
विचार,
अनि चौबाटो
र त्यसमा अवस्थित म ।
म कविताको मूल्य चुक्ता अझै गर्दैछु ।
पिँडारीचोक, जनकपुर
मधुपर्क २०६८ माघ
