इतिहास: पहिलो एसियाली सांस्कृतिक सम्मेलन

  • by


केही दिन अघि नेपालभाषाका महाकवि एवं कविकेशरी स्व. चित्तधर हृदयको ‘जिगु जातः’ (मेरो चिन्हा) नामक आत्मकथा पढिरहँदा उक्त पुस्तकको पृष्ठ नं. १६१ मा एक ठाउँमा ‘२००९ फागुन २९ गतेका दिन नःघल टोलमा मातृकाप्रसाद कोइरालाको सभापतित्वमा एउटा सभा बस्यो । यसले एसियाली सांस्कृतिक समन्वय समितिको नाममा एउटा अस्थायी समितिको स्थापना गर्‍यो । त्यसमा मलाई पनि कार्य समितिको सदस्य बनाइयो तर पछि यसबाट केही कार्य भएन’ भनी टिप्पणी लेखिएको पाएँ ।

यस ऐतिहासिक प्रकरणले उत्साहित भई त्यस समितिबारे खोजिनीतिमा लागेँ । फलतः तत्सम्बन्धी केही सामग्री फेला पारेँ । प्राप्त सोही सामग्रीको आधारमा उक्त समितिबारे सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरेको छु ।

विषय प्रसङ्ग यसरी सुरू हुन्छ-अन्तर्राष्ट्रिय जगत्मा नेपाललाई अगाडि लैजाने सद्उद्देश्य लिएर भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, प्रसिद्ध इतिहासकार बालचन्द्र शर्मा र प्रसिद्ध कवि केदारमान व्यथितको संयोजनमा नेपालमा एक विराट् एसियाली सांस्कृतिक सम्मेलन डाक्ने निर्णय गर्न नेपालका प्रमुख साहित्यकार-कवि-आलोचकको पहिलो बैठक मातृकाप्रसाद कोइरालाको सभापतित्वमा वि.सं. २००९ साल फागुन २९ गतेका दिन काठमाडौँको नःघल टोलमा नरेन्द्र रेग्मीको घरमा बस्यो ।

सम्मेलनलाई कार्यरूपमा बदल्न एउटा कमिटीको गठन गर्न उपस्थित साहित्यकारहरूको सरसल्लाहमा समितिको नाम एसियाली सांस्कृतिक समन्वय समिति-नेपाल राखियो । यस समितिको उद्देश्य एसियाली सांस्कृतिक सम्मेलनलाई कार्यान्वित गर्नु थियो ।

उक्त पहिलो बैठकमा मातृकाप्रसाद कोइराला, बालचन्द्र शर्मा, केदारमान व्यथित, सिद्धिचरण श्रेष्ठ, चित्तधर हृदय, स.रुद्रराज पाण्डे, भीमनिधि तिवारी, केशवलाल कर्माचार्य, लवबहादुर कपिल, लक्ष्मीप्रसाद देवकोटा, बाबुराम आचार्य, सत्यमोहन जोशी, भवानी भिक्षु, माधवलाल कर्माचार्य, पूर्णबहादुर एम.ए.आदि उपस्थित हुनुभएको दस्तावेज पाइन्छ ।

तदनुरूप १५ जनाको एउटा समिति बन्यो जसको चारजना पदाधिकारीहरू मध्ये सभापति पदमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, महामन्त्री पदमा भूतपूर्व प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र सहायक मन्त्रीद्वयमा पूर्णबहादुर एम.ए. र माधवलाल कर्माचार्य मनोनित गरियो । बाँकी सदस्यहरूमा बालचन्द्र शर्मा, केदानमान व्यथित, इतिहास शिरोमणि बाबुराम आचार्य, चित्तधर उपासक, बालकृष्ण सम, सत्यमोहन जोशी, स.रुद्रराज, सिद्धिचरण, भीमनिधि तिवारी र भवानी भिक्षु हुनुहुन्थ्यो । कोषाध्यक्ष पदको निम्ति भने तत्कालीन राजा समक्ष निवेदन गर्ने सर्वसम्मतिबाट पास भयो किनभने त्यतिखेर राजाले नै सांस्कृतिक जागृतिको निम्ति सक्रियरूपमा भाग लिइरहेका थिए ।

समितिको दोस्रो बैठक ३०.११.२००९ का दिन मातृकाप्रसाद कोइरालाको निवासस्थान त्रिपुरेश्वरमा बस्यो । तर सदस्यहरूको उपस्थिति कम हुन जाँदा कोरमको अभावमा सामान्य छलफल मात्र भई बैठक स्थगित भयो । त्यसदिन उपस्थित सदस्यहरूमा मातृकाप्रसाद, रुद्रराज, पूर्णबहादुर, भिक्षु तथा माधवलाल मात्र थिए । नवगठित समितिको क्रियाकलापको रूपमा समितिको पहिलो दिनको बैठकद्वारा मनोनित सदस्यहरूको स्वीकृतिको लागि १.१२.२००९ मा सहायक मन्त्रीको हैसियतमा माधवलाल कर्माचार्यद्वारा परिपत्र गरिनुका साथै ३.१२.०९ मा बस्ने बैठकमा उपस्थित हुनको लागि पनि आह्वान गरिएको रहेछ । त्यसमध्येमा बालकृष्ण समले मात्र स्वीकृति प्रकट गरेको पत्र प्राप्त भएको छ ।

समितिको तेस्रो बैठक ३.१२.०९ का दिन मातृकाप्रसाद कोइरालाको निवासस्थान त्रिपुरेश्वरमा बस्यो । उक्त बैठकमा नवनियुक्त सभापति लक्ष्मीप्रसाद देवकोटाको अनुपस्थितिमा सदस्यहरू मध्येबाट सिद्धिचरणको सभापतित्वमा बस्यो । बैठकमा सिद्धिचरण, बालचन्द्र शर्मा, माधवलाल, रुद्रराज, मा.प्र.कोइराला, भीमनिधि, भिक्षु, बालकृष्ण सम, केदारमान व्यथित, चित्तधर तथा पूर्णबहादुर आदिको उपस्थिति रहेछ ।

उक्त बैठकले सभाको मनसायको आधारमा समितिको लागि केही चिह्नहरू तयार पार्न बालकृष्ण समलाई जिम्मा दिइयो । साथै प्रचारको हकमा हाललाई केही नगर्ने, यसको रूपरेखा अङ्कित भइसकेपछि मात्र विस्तार गर्ने तथा यो समिति आयोजनाको रूपमा मात्र भएको हुँदा हाललाई समितिमा सदस्यता थप नगर्ने निर्णय गरियो ।

त्यसपछि विभिन्न कारणले अन्तमा यो समिति निस्क्रिय रही कुनै कार्य भएको पाइएन ।

यसरी तत्कालीन विशिष्ट साहित्यिक हस्तीहरू सम्मिलित भएर गठित महत्त्वपूर्ण एवं ऐतिहासिक समिति नेपाली साहित्यको साङ्गठनिक इतिहासमा अल्पावधि (फागुन २९-चैत ०३) सम्म करिब एक हप्ता मात्र देखापरेर कुनै ठोस कार्य गर्न नपाई इतिहासको गर्भमा विलीन भयो । तैपनि यसबाट भर्खरै राजनीतिक परिवर्तन भई देशमा आएको नौलो जागरणको बेला राष्ट्रिय साहित्य एवं संस्कृतिको समुत्थानको क्रममा यस समितिद्वारा अन्तर्राष्ट्रिय जगत्मा सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्ने दृढता जागृत हुँदाहुँदै अल्पायुमै विलीन हुन गएकोमा दुःख मनाउनुबाहेक केही गर्न नसकिने कुरामा चित्त बुझाउनु पर्ने रहेछ ।

मधुपर्क २०६८ माघ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *