सन् १९९७ मा कर्ण शाक्यले यस्ता पलहरू बेहोर्नु पर्यो कि, जुन पल ‘शत्रुले पनि कहिल्यै भोग्नु नपरोस् ।’ त्यो वर्ष तीन महिनाको अन्तरालमा शाक्यले दुई ठूला बज्रपात सहनु पर्यो । माया गर्ने जीवन सङ्गिनी र लाउँलाउँ खाउँखाउँ उमेरकी १७ वर्षीया छोरी निर्दयी भगवान्ले उहाँबाट चुँडालेर लग्यो । जीवनका ‘पल’हरूले सङ्गिनीभन्दा सन्तान प्यारो बनाइसकेको रहेछ । त्यो पल बितेको १४ वर्ष भैसक्दा पनि ‘फूल जस्ति छोरी’ आँखामा ननाचेको कुनै क्षण छैन शाक्यको । शाक्यले मनको बह पोख्नुभयो, ‘सपनामा अझै आइरहन्छिन्, उनका सम्झनाहरूलाई कुनै सिर्जनामा बिसाउने काम गर्छु ।’
मङ्सिर महिनाको पहिलो सोमबार, बिहान सवा नौ बजे । आतिथ्यता गर्न नपाउँदै उहाँले आग्रह गर्नुभयो, ‘कृपया मलाई लेखक भनेर उल्लेख नगरिदिनुहोला !’ त्यही आग्रहका कारण मैले यो आलेखमा शाक्यलाई ‘लेखक’ भनेर सम्बोधन गर्ने आँट खुलेर गर्न सकेको छैन । नगरौं लाखौं पाठकमाथि अन्याय ! गरौं लेखकीय मर्यादा नरहने डर !
परिस्थितिलाई आफू अनुकूल चलाउन जानेका सफल व्यक्तित्व शाक्यको जीवनमा झण्डै दुई दर्जन महìवपूर्ण ‘पल’हरू छन् । जसले असन-टुँडिखेलमा रमेको जीवनको साँघुरो घेराबाट उहाँलाई लाखौंको कर्ण शाक्य बनाइदियो । असनको स्याल बास्ने गल्लीमा सन् १९४३ मार्च ३० मा जन्मिनु भएका लेखक शाक्यले कहिल्यै ‘यो बन्छु’ भन्ने सपना साँच्नु भएन । न त स्कुल, कलेजमा प्रथम बन्ने प्रतिस्पर्धा नै स्वीकार्नुभयो । अचम्म त के भने ! आज लाखौंका लेखक बनेका शाक्य साथीहरूले प्रथम बन्नेहरूको सूचीमा नाम केलाउँदा, आफू अनुत्तीर्ण हुनेको नामावलीमा नाम खोजेर बस्नुहुन्थ्यो । ‘मैले कहिल्यै कुनै चिजको सपना साँचेन, न त कुनै आशा बोकेर हिँडे, पढ्ने बेलाका साथीहरू आफ्नो नाम प्रथम श्रेणीमा नभएर दोस्रो श्रेणीमा देखेपछि रुनुहुन्थ्यो ।’ शाक्यले भन्नुभयो, ‘मेरा कुनै सपना थिएन । म अनुत्तीर्ण हुनुपर्ने मान्छे, तेस्रो श्रेणीमा आफ्नो नाम पाएपछि खुसीले दङ्ग हुन्थें ।’
पढाइमा सधँै तेस्रो दर्जामा रहे पनि कर्ममा पहिलो दर्जाको नागरिकका रूपमा स्थापित व्यक्तित्व शाक्यलाई उच्च शिक्षा लिन भने विदेश जाने ‘भूतसवार’ भएछ । त्यतिबेलाको विदेश भनेको अहिलेको जस्तो अमेरिका, बेलायत, आदि थिएन । छिमेकी मुलुक भारत नै त्यतिबेलाको सबैभन्दा चल्तीको गन्तव्य थियो । भारत गएर पढ्ने विद्यार्थी भनेपछि रामै्र सम्मान हुन्थ्यो । लेखक शाक्यले तत्कालीन अनुभूति सुनाउँदै भन्नुभयो, ‘म त भारत जान लायकको विद्यार्थी पनि थिइन । सधँै तेस्रो श्रेणी ! कसरी जानु र भारत पनि ?’ उहाँको जीवनमा त्यही पल सर्वाधिक महìवको थियो । असनमा जन्मिएको हुनेखाने सुन व्यापारीको छोरो ! भारतमा गएर नपढौं भने पारिवारिक सम्भ्रान्तता आलोचित हुने डर ! गजबकै परिस्थितिले उहाँलाई जेलेर ल्यायो । विषय नै बदलेर भए पनि उहाँ १९६४ मा वन वातावरण विषय पढ्न भारत पस्नुभयो । वन वातावरण पढ्न त्यतिबेला सजिलै भारत सरकारले छात्रवृति दिन्थ्यो । वन वातावरणमै उहाँले बीएस्सीमा दोस्रो श्रेणी हासिल गर्नुभयो । जीवनको यही ‘परिवन्ध’ले उहाँलाई आजको चर्चित कर्ण शाक्य बनाएको अनुभव उहाँको छ । ‘फोरेस्ट्री’ पढ्ने क्रममा उहाँलाई भारतका सारा प्राकृतिक कुनाकाप्चा घुमाइयो । जसले उहाँमा प्रकृतिप्रतिको मोहमात्रै बढेन त्यही परिवन्ध ‘सोख’मा परिणत भयो । अनि उहाँ सजिलै नेपालको वन विभागमा जागिरे बन्नुभयो ।
प्रकृतिबाट सिकेको ज्ञान, सीप र अनुभवलाई उहाँले मुलुकमै पहिलोपटक प्रकृतिलाई पर्यटन व्यवसायमा जोड्ने व्यक्तिको पहिचान बनाउनुभयो । यस्तै गर्ने, गराउने क्रममा उहाँले मुटुमा सजाएका मायाका टुक्रारूपी छोरी र जीवनसङ्गिनी चुँडिएर जानुभयो । निर्दयी भगवान्सँग उठेको रिस बिसाउने चौतारी ‘शोकलाई सिर्जनामा बदल्नु मात्रै थियो ।’ अनि संयोजन गर्नुभयो, नेपाल भ्रमणवर्ष सन् १९९८ को । मुलुकमा पर्यटन आगमनको इतिहास तोड्दै त्यसको सफलता मात्रै हात परेन, देशले पर्यटन व्यवसायमा सम्भावना देख्यो । ‘जे सोच्यो त्यो बोल्ने, जे बोल्यो त्यो लेख्ने, जे लेख्यो त्यो गर्ने’ स्वप्नद्रष्टा शाक्यले एकपटक हिमाली यात्रा थाल्नुभयो । हिमालको काखमा बसेर चुरोट तान्दै गरेकी निश्छल युवतीले उहाँको यात्रामा पूर्णविराम लगाइदिइन । ‘दिनमा एक डिब्बा जति चुरोट पिउँछु होला’ भन्दै युवतीले दिएको बयानले उहाँको आँखा उघि्रयो । यात्रा रोकेर फर्किएका शाक्य कहिल्यै नगएको ‘नेता’को दैलोमा पुग्नुभयो र गिरिजाप्रसाद कोइरालालाई भेट्नुभयो । उहाँले मुलुकमा दैनिक पाँच करोड खिल्ली चुरोट खपत हुने जानकारी मात्रै गराउनु भएन । प्रत्येक खिल्लीमा ‘एक पैसा’ अन्तशुल्क लगाउने र त्यो रकमबाट क्यान्सर अस्पताल बनाउने प्रस्ताव राख्नुभयो । गिरिजाबाबुले त्यो प्रस्ताव सहर्ष स्वीकार गर्नुभयो । अनि स्थापना भयो बी.पी. कोइराला क्यान्सर अस्पताल । परिस्थिति र परिवन्धले अनेक रूपमा देखिनुभएका लेखक/प्राकृतिक पर्यटन उद्यमी शाक्य अहिले पनि प्रकृतिको कुरा गर्दा खुसीले पुलकित मात्रै हुनुहुँदैन, उहाँको आवाज दरिलो भएर निस्कन्छ । उहाँले केशरमहलमा रहेको स्वप्नबगैँचाको परिकल्पना सन् १९९८ मा साकार बनाइ छोड्नुभयो । उहाँकै परिकल्पनामा त्यसै वर्ष ककनीको माउन्टेन मेमोरियल पार्क स्थापना भयो । सन् १९९९ मा क्यान्सर सेवा आश्रम स्थापित भयो । टुँडिखेल सडक विस्तार भयो । यस्ता दर्जनौ ‘सकारात्मक सिर्जनाहरू’ भए । शाक्यको अनुभव छ, ‘समाजका लागि केही गर्छु भनेर गर्नु पर्दैन, राम्रो गरिदिए समाजसेवा आफँै हुँदोरहेछ ।’
‘लेखेको कुरा गरिछाड्ने’ आफ्नै मान्यता बनाउनुभएका लेखक शाक्यका प्रकृतिलाई लिएर लेखिएका ‘डोल्पो’, ‘टेल्स अफ काठमाडौँ’ र ‘इनकाउन्टर वाइल्ड लाइफ’ पुस्तक छन् । यत्तिले उहाँभित्रको लेखकीय आत्मा सन्तुष्ट हुन सकेन । सोचेको कुरालाई उहाँले २०६१ सालमा ‘सोच’को रूपमा पाठकसामु ल्याउनुभयो । सोचले मात्रै केही हुँदैन भन्ने मान्यता बोक्नुभएका लेखक शाक्यले सोचलाई सम्भव बनाउन चाहिने ‘खोज’लाई २०६५ मा पाठकसामु पस्कनुभयो । लेखेको गरिछाड्ने उहाँले त्यसलाई ‘म सक्छु’ भन्दै २०६७ सालमा पुस्तकका आकारमा पाठकसामु पस्कनु भयो । म सक्छु भित्रको एउटा परिकल्पनालाई उहाँले ‘पल’ चलचित्रका रूपमा बनाइ छोड्नुभयो ।
यो सबै यात्रा उहाँको अनुमानमा ‘वन विभागको जागिरे भैरहेको भए सम्भव हुने थिएन ।’ पाँच वर्ष जागिर खाएर बीचैमा जागिर छोड्न गरेको निर्णयको ‘पल’ उहाँका लागि अगाडिको भविष्यको खुला राजमार्ग थियो । निस्फिक्री जिन्दगीलाई ‘टिपेको साग’ भन्न रुचाउने शाक्यले भन्नुभयो, ‘चुनौतीपूर्ण जीवनले नै मानिसलाई क्रियाशील बनाउँछ । म जागिरे भैरहेको भए सिर्जनशील हुने थिएन
होला ! परिवन्धले मलाई आज यो स्थानमा पुर्याइदियो ।’ जागिर छोडेपछि केही समय विरक्तिएका सफल पात्र शाक्यको मनमा एकदिन होटेल बनाउने विचार पलायो । मन, बचन र कर्मले त्यो पेसामा अद्वितीय सफलता हात लाग्यो । समयलाई सरस्वती र पैसालाई लक्ष्मीका रूपमा लिने शाक्यलाई समय र पैसाको व्यवस्थापनको कुशल सीप छ । उहाँले भन्नुभयो ‘नचाहँदा नचाहँदै म स्वप्निल रहेछु । जसले मलाई केही गराउँछ । म कहिल्यै एकैपल्ट बम्बै जाने सोच्दिन, टिकट लिने, रेल चढ्ने, दिल्ली पुग्ने कुराबाट यात्रा सुरू गर्छु ।’
आजको १५ वर्ष पहिला देशको माहोल निकै डरलाग्दो थियो । त्यतिबेला लेखक शाक्यको अघिल्तिर दुईवटा अवसर थिए ः पलाएन भएर जाने या देशमै बस्ने । त्यसबेला उहाँले सोच्नुभएछ, ‘म मौरी भएर बाँचेको मान्छे, विदेशमा झिँगा भएर कसरी बस्ने ? मौरी सौन्दर्यमा रमाउँछ, फूल बिगार्दैन, झन उर्वर बनाउँछ । छोडेको घारबाट पनि सुगन्धित मैन बन्छ ।’ ‘जिन्दगी त्यो पो हो’ भनेर उहाँले मुलुकमै सम्भावना खोज्नुभयो । मुलुकमै बस्ने निर्णय गरेपछि मुलुकलाई बस्न योग्य कसरी बनाउने ? भन्ने चिन्ताले पिरोल्यो, शाक्यलाई । उहाँले सोच्नुभएछ, ‘म खुसी हुन, आनन्दित हुन मलाई कसैले खुसी दान गर्दैन ।’ त्यसैले उहाँले सोच लेख्नु भयो रे । नराम्रो हेर्न कुनै पनि अखवारका २० मध्ये १९ पाना हेरे पुग्ने बताउँदै उहाँले राम्रो हेर्न भने ‘दिव्य आँखा’ चाहिने जिकिर गर्नुभयो ।
आफूलाई लेखकभन्दा पनि ‘घटनाक्रमले सिर्जिएको मान्छे’ भन्न रुचाउने शाक्य शुभचिन्तकहरूलाई समय दिन नसकेकोमा भने अत्यन्त दुःखी हुनुहुन्छ । उहाँले अनुभव सुनाउँदै भन्नुभयो, ‘कतिले होटेलमा गयो भने चियाको पैसा लिँदैन भन्छन्, कतिले आफ्नो टिकटमा दिल्लीदेखि काठमाडौँ, उड्न दिएका छन् । त्यस्तै शुभचिन्तकले फोन गर्छन्, भेटौं भन्छन्, पाँच मिनेट भेटेर केही हुँदैन, समयकै परिबन्धले भेटघाट घटाएको छु ।’ उहाँ भेट्न नसकिएका शुभचिन्तकसँग क्षमादान माग्न चुक्नुहुन्न ।
अव्यवहारिक दर्शनलाई ‘जङ्क आर्ट’ भन्न रुचाउने शाक्य भन्नुहुन्छ, ‘कर्ण शाक्यको मैनबत्ती जतिसुकै उज्यालो भए पनि मेरो मुनिको अँध्यारो जाँदैन, त्यो हटाउन अर्को मैनबत्ती बाल्नैपर्छ ।’ मानिसको चिन्तन, संचेतना र विवेकको पर्दा नखुलेसम्म प्रगतिको यात्रा सुरू नहुने दृष्टि राख्ने लेखक शाक्य सकारात्मक सोचको पक्षमा उभिनुहुन्छ । विडम्बना समयको पल र परिस्थिति पनि कति निर्दयी भएर आइदिँदो रहेछ ! जसले मुलुकमा पहिलो क्यान्सर अस्पतालको सोच बनायो । प्रकृतिको पूजा गर्यो । स्वप्नद्रष्टा भएर स्वप्निल संसारलाई यथार्थमा उतार्ने कोसिसलाई साकार गर्यो । त्यही मान्छेको श्रीमती, छोरीलाई त्यही रोगले लग्यो । भएन भनेर लेखक शाक्य अहिले आफैँ क्यान्सर रोगले च्यापिनु भएको छ ! उहाँ यो पीडालाई ‘मोज’मा शब्दसागर बनाएर पस्कँदै हुनुहुन्छ । अन्तरङ्गको यो क्रम यतिबिघ्न गहिरियो कि, दुई घण्टाको समयसीमा साढे सात घण्टा लम्बियो । जीवनको अन्तरङ्ग सुनाउने र सुन्ने क्रममा त्यो दिन नत प्रिय लेखक शाक्यले खाना खान सम्झनुभयो, नत मलाई नै होस भएछ । साढे चार बजे छुट्टँिदा उहाँले कसेको अँगालो अहिले पनि उत्तिकै न्यानो अनुभूत भैरहेको छ ।
प्रस्तुति ः शिवराज योगी
मधुपर्क २०६८ माघ
