जुन दृश्य देख्दा मलाई असह्य हुन्छ, त्यही दृश्य देख्नु परिरहेछ, यहाँ, बारम्बार । विचरी, मेरी आमा ! अनि चिसोमा बिहानै उठेर भान्छाभित्र ड्युटीमा लाग्छिन् ।
सत्तरी वर्षको आदरणीय उमेरमा पुगेर पनि ? अझ त्यसभन्दा उदेकलाग्दो कुरा, घरैमा छोराबुहारी भएर पनि ।
बुहारी त बुहारी नै निक्ली, दाइले एकदिन आमाको भात जस्तो कसैले पकाएको पनि मिठो छैन ! के भनिदियो, तब के चाहियो ?
उता बूढी…ममत्व भनेको पनि कस्तो हुँदोरहेछ…। छोरालाई मिठो खुवाउने धुनमा बिहानबिहानको चिसो खाइरहेकी थिइन् । उसै त डबल निमोनियाँ भएको छाती, त्यसमाथि फोक्सो कमजोर । म छँदै पन्ध्र दिन अस्पतालमा राखेर ल्याएको थिएँ ।
यस्तो दिन पनि देख्नुपर्दोरहेछ ।
मसँग अरू उपाय छैन । कारण…। मेरो त मृत्यु भइसकेको छ । सडक दुर्घटनामा । फुटपाथैमाथि मोटर चढेर मलाई किचिमिची पारेर एउटा कार भागेको थियो । को थियो, यो त देखिएन ।
मलाई लाग्छ, त्यो जानाजान गराइएको दुर्घटना थियो ।
शत्रु ? घरमै सर्पिनी बसिरहेकी छ भने बाहिर किन खोजिरहनुपर्यो । त्यसको नातोमा पर्ने एउटा थियो सहरकै कुख्यात गुन्डा… पत्रपत्रिकाहरूमा छाइरहने …जसका भरौँटेहरूलाई एउटा सङ्केत दिए पुगिहाल्छ ।
अनि त्यो भनेको….मेरै दाइकी स्वास्नी ।
बाँचेकै बखत पनि म कतिपल्ट सपना देख्थँे, त्यो आइमाई आफ्नो लोग्नेबाहेक हामी परिवारका मासु टुक्राटुक्रा पारेर बीच बाटामा बसेर बेच्न बसिरहन्थी ।
किन त्यसलाई नै देख्थेँ, त्यस्तो कृत्य गर्दै रहेको, अनुमान त्यसै पनि लगाउन सकिन्छ ।
त्यसैकारण त मेरी आमाले शासना भोगिरहेकी छिन् ।
मलाई धेरै माया गर्थिन्, कान्छो सन्तान भएर हो कि, तर ममता त भन्ने कुरा नै यस्तै होला…दाइलाई पनि लाग्दो हो, भाइलाई भन्दा आमाले मलाई बढी माया गर्छिन्, जस्तो ।
बुबा पनि नभएको अवस्थामा मलाई केही भयो भने मेरी आमाले कति दुःख पाउलिन्, मलाई बेलाबेलामा भय जागिरहन्थ्यो । नभन्दै त्यही भयो जुन मलाई डर थियो ।
आमा बेहोसै हुने गरी रोइन्…। मेरो दुर्घटनामा ।
अनि म टाढा जान सक्थेँ त ? छोरा छ, बुहारी छे, नातिनातिना छन्, तापनि मेरी आमा एक्ली छिन्, मलाई राम्ररी थाहा छ ।
तब मैले छोड्न सकिनँ, यस घरको परिधि ।
यही परिधिमा रहेर मैले कति कुरा देख्नु परिरहेछ…कतिपल्ट आँसु झार्दै, कतिपल्ट दाह्रा किट्तै…।
म केही गर्न सक्दिनँ, आमाले मलाई देख्न सक्दिनन् ।
आमा खोक्न थालिन्, विचरी । यति चिसोमा । जहिले पनि नराम्ररी खोक्छिन्, मलाई राम्ररी थाहा छ । म बिहानबिहान सिरकबाट बाहिर निस्कनै दिन्थिनँ । अझ ओछ्यानमै मनतातो पानी पुर्याइदिन्थेँ ।
दाइको त अभिनय मात्र चल्ने हो, पहिलेदेखि, राम्रै गरी थाहा भएकै कुरा हो ।
उता हेर्छु, बुहारी भनाउँदी लोग्नेलाई भन्दै थिई-“बूढी खोक्दै छे, खानामा थुकसुक पर्ला, होस गर्नू, भन् जा ।”
लोग्नेचाहिँ निस्कियो लुसुक्क । अस्वाभाविक लाग्न सक्छ, अहिले यो विवरण, तर यहाँसम्म ल्याउने यही पुच्छर लुकाउने श्रीमान् थियो । मेरै दाजै ! जसले स्वास्नीलाई आफ्ना आमाबाबुभन्दा निकै माथिको पक्ष हो भन्ने अघोषित रूपमै सिद्ध गर्न केके मात्र अभिनय गरेनन् विगतमा !
तब यो दिन आउनु अस्वाभाविक हुन्छ ?
एकरात रक्सीको सुरमा घरबाट फनफन्ती निस्केर हिँडेका थिए । आमाले नै थाहा पाइन्, आफ्नो मुटुको टुक्रा यसरी रातबिरात निस्कँदै छ, रुँदै आएर मलाई भनेकी थिइन्-“दाइलाई ल्या । हेर, रातबिरात कता गइरहेछ रक्सीको सुरमा ।”
कुद्दै गएपछि बल्ल भेटेको थिएँ, भेट्नासाथ के भने, थाहा छ ?
-“मलाई पनि थाहा छ, मेरी स्वास्नी कस्ती छे, तर आमाले मेरी स्वास्नीलाई यसो भनिन्, उसो भनिन्, म घर जान्नँ ।”
भित्रभित्रै क्षुब्ध भए पनि मैले आमाको त्यही छोरालाई ल्याउनु परेको थियो, जो आमैसित विद्रोहमा उत्रिएको थियो ।
अब यस्तालाई आफ्नै जन्मदातृ मातालाई प्रिय पत्नीले जे भने पनि चित्त फाट्ला त ?
त, हेरूँ, भान्छामा निस्केको छ, महोदय ।
-“तातोपानी खानुपर्ने…।” आहा, कति अमृत वचन दिए आमालाई ।
-“हैन, मलाई अस्तिदेखि नै खोकीले च्यापेको छ ।” आमाले छोरालाई समात्दै भनिन् ।
-“ए, औषधि खानुपर्छ त्यसो भए ।” भन्यो यति, मात्र यति, यस्तो पहिलेदेखि नै चल्दै आएको थियो ।
आफ्नो कोठामा पस्न लागेको छोराको हात समातेर खुप आसिलो हुँदै बूढीले भनिन्-“बाबू … मलाई भित्रबाट कमजोर भएको जस्तो छ । आज मासु खान पाए हुन्थ्यो ।”
आमाको बोली झर्न पाएको थिएन, महोदय बम्के-“खै र पैसा ? आमालाई थाहै छ नि, मेरो जागिर छैन । यसोउसो गरेर अलिअलि पैसा आउँछ, छोराछोरीको स्कुलफिसमै जान्छ ।”
अनि लुत्त भित्र पस्यो ।
भित्र झन्डै झ्वाट्ट खोलिएको दैलाले लागेको प्रियालाईं…किन ? किनभने अरूले के कुरा गरे, आफ्नो कुरा पो काटिरहेको छ कि भनेर सुनिरहने तिनै प्रियाको बानी पहिलेदेखि नै चलिआएको थियो । अनि एउटा कुरा गर्यो भने अर्काे कुरा सुनेर अनर्थको भुइँचालो ल्याउने काम हुन्थ्यो, यस घरकी मालिक्नीको । मालिक्नी त भन्नुपर्ला नि, त्यही पदवी प्राप्त गर्न सबैलाई काटकुट गर्न अघि सर्थी ।
-“के भन्यो आमाले ?” लोग्नेको पारो हेरेर कुरा गर्न ज्यादै सिपालु छँदै थिई ।
महोदय बोलेनन् । यति त आमाको माया पनि त लाग्दो हो ।
-“यो ल्याइदे उ ल्याइदे भनी होली, हैन ?” श्रीमान् नबोलेको देखेर बल पो चढ्यो ।
महोदय अझै चुप थिए । रिस त उठेकै हुनुपर्छ, तर के गर्नु ! प्रकट गर्न सक्दैनथे, श्रीमतीको कृपामा दालभात चलिरहेको थियो । त्यसैले पो हो कि !
-“आफ्नै बैङ्कको पैसा झक्िनू भन्नु क्या ! अँ, साँच्चै बूढीको बैङ्कमा भएको पैसा हाम्रोमा सार्ने होइन ? मेरो खातामा सारिहाल्नू, नत्र पछि के हो, के हो । बूढाले जमाइदिएरै त गएकै हो बा…। अनि भाइको पनि कति पैसा छ, दराज खोलेर कहाँकहाँको चेकबुकहरू छन्, हेर्नू न । एउटा ठाउँको त पत्तो पाइयो ।”
लोग्नेचाहिँ नबोली किताब पढ्न थाल्यो । लोग्नेको त्यही प्रिया भने लुगा पट्टयाउनतिर लागी ।
लुगा पट्टयाउँदा पट्टयाउँदै केही सम्झेझँै गरेर भनी-“आज के पाकेछ ? त्यही आलुकाउली, सागघाँस त होला नि, हैन ? जानु त मासु ल्याउनू । मैले नखाएको पनि कति भो ।”
-“कति भो र अस्ति भर्खर मैले एउटा पार्टीबाट प्याकेटमा ल्याइदिएको हैन ?”
-“त्यो त प्याकेट भो…सानोसानो चिकेनको टुक्रा । होस्, मलाई त्यति खुवाउन उसलाई मर्याजस्तो हुन्छ ।” अर्कातिर फर्की ।
खुइयय गर्दै महोदय बाहिरिए । एकैछिनमा मासु ल्याएर कोठामा लुकायो ।
-“आमा कता गइन्, चाँडै खाएर आफ्नो कोठामा जान भन्न लागेको त…।”
आमा ! आमा भने छोराबाट त्यस्तो सुन्नेबित्तिकै आफ्नो कोठामा दौडिएर पुगिसकेकी थिइन् । बुबा र मेरो फोटो नजिक पुगेर रोइरहेकी थिइन्, घ्वाघ्वा ।
-“आज मेरो कान्छो छोरो भएको भए यस्तो दिन देख्नुपर्थ्यो…!”
-“केलाई पर्थ्यो आमा । म यहीँ त छु नि ! ईं….म अहिल्यै पसल गएर …।” तर आमा किन सुन्थिन् । म सीमापारि थिएँ, सुन्ने-सुनाउने हकमा । रोइरहिन् ।
-“आमा !” भन्दै आइपुग्यो प्यारो छोरो । हातमा खानाको थाली लिएर ।
-“म त भोकले आमा…ल, खाना खानू । त्यसलाई आज अफिस छिटै जानुपर्ने भयो रे । म पनि बाहिर गइहाल्नुपर्छ । एउटा काम पाइएला जस्तो छ…।”
आमाले आफ्नो आँसुको ख्याल नगरी भनिन्-“हिँड त म पस्किदिन्छु ।”
-“पर्दैन, पर्दैन । आमा यो खाना खानू । बच्चाको टालोसालो धुनु छ, धोएर खाई जान्छु ।”
-“दिउँसो बच्चालाई सुताएपछि म धोइदिइहाल्छु नि ।”
महोदय निस्के । माथि भान्छामा दम्पति हाँसखेल गर्दै मासुको परिकार पकाउन थाले । तारतुर पारे । छोराछोरीलाई खुवाए, आफूले खाए । तृप्त भए ।
माथि मासुको परिकार, तल आमालाई आँसुको परिकार ।
यस्तो दृश्य, म बूढाबूढीकै अघिल्तिर पनि झलझल्ती सम्झन्थेँ जब आफ्ना प्यारो त्यही छोराले ‘दुःख पायो बिचरा…स्वास्नीले त्यसलाई मायै गर्दिन’ भन्थे ।
अब समय दिउँसो हुनतिर लम्केको दृश्य छ ।
कौसीमा आमा बच्चालाई काखमा लिएर सुताइरहेकी थिइन् । श्रीमान् निस्किए । छोरीलाई स्कुल पुर्याएर जान्छु बोली झारेर ।
श्रीमान्की हिरोइन निस्की, सोह्रसिँगार गरेर ।
सासूअगाडि पुगेर भनी-“आमा ! बच्चाको टालो खाटमुन्तिर छ है…अघि भर्खर हगेछ । सोफामा राखेको अस्ति पार्टीमा लगाएर गएको कुर्तासलवार पनि धोइदिनू है ?”
आमा बुहारी गएतिर हेर्न थालिन्, हेर्दाहेर्दै आँखाभरि आँसु जमे ।
-“मेरो कान्छो छोरो भएको भए…नपढेको भएकाले मलाई यस्तो गाह्रो भएको…बूढाले राखिदिएको पैसा झकिेर… मैले के गर्थें ! छोराले पनि राखिदिएकै छ तर कसलाई लिएर जानु खै झक्िन । अब त्यहाँसम्म जान पनि नसक्ने भएँ, यस्तो बुढेसकाल कसैलाई नआओस्…।”
हे भगवान् ! मैले यस्तो दिन पनि देख्नु परिरहेछ ।
बिन्ती । बिन्ती मलाई एक पटक आमाको अघि जान दिनू । बिन्ती । उनलाई मेरो साह्रै खाँचो छ । बिन्ती ।
कति एक्ली छिन् मेरी आमा !
उः उः, रुन थालिन्-“मलाई काल पनि आउँदैन ।”
आफ्नै लोग्नेले जोरेको घरमा उनी शरणार्थी भएकी छिन् ।
उनी आमा हो कि यस घरको गृहसहायक ?
बुहारीको यस्तो चुरीफुरी छोरालाई पनि त भन्न सक्थिन्, तर छोरै त्यस्तो परिदिएपछि भन्न कहाँ जाने ? त्यस्तो भनेको, अरू त हैन, आफ्नो जीवनका लागि आफ्नी प्रिया महत्त्वपूर्ण शक्ति हो भन्ने कुरा ।
बिहेको भोलिपल्टै देखिसकेकी थिइन्, आफूले नखाईनखाई टन्न खुवाइदिएर हुर्काएको जेठो छोरो त…हँ ! बुहारीका लागि ठिक्क !
बरू छोरीको विवाह भएको भए त्यति रुन पर्दैनथ्यो होला ।
सासूकै कर्मको फल हो कि ? यो अनुमान नलाग्ने कुरै छैन, जोकोहीलाई, सहजै लाग्न सक्छ । के गरिनन् र विचरी मेरी आमाले…आफ्नी छोरी सानैमा बितेकाले बुहारीलाई छोरीकै रूपमा त माया गरिनन् कि ? के यही गल्ती थियो ? मैले त त्यही भनिदिएको थिएँ-“आमा … आवश्यकताभन्दा बढी माया गर्दा जे पनि हुन सक्छ ।”
-“कसैको माया नपाएर यस घरमा आएको हैन म ।” श्रीमान्जीकै उपस्थितिमा हुकूम भएको थियो आमा र मलाई । आमाले छोरी ठानेर माया बर्साएको बुहारीको ।
अझ भन्न त मलाई पनि बाँकी थियो, कुकुर्नीलाई बढी माया गर्यो भने मुख चाट्छ आदि । त्यो काम आमालाई गर्दै थिई, फोहोर हुल्ने र झक्िने मुखबाट । अनि स्वास्नीलाई बढी माया गर्यो भने लात हान्छ भन्ने भनाइ पनि राख्न त मन थियो, दाजैको स्थितिबाट पछि के थाहा…के हुन्छ, के हुन्छ । भनिनँ ।
जब भतिजी जन्मी, एघार दिनको समयमा घरकी बुहारीले आफ्नो रणचण्डी स्वभावलाई खुला प्रदर्शन गरिदिई मानौँ देखाउन खोजिरहेकी हुँदी हो, मलाई कसैले कम ठान्नु हुन्न ।
आमाले सुत्केरी बुहारीलाई तातामसिनो खुवाउन आफै मासु किनेर ल्याइन्, छाला र हड्डी खुवाउन हुँदैन भन्दै फलमासु, फलमासु छानेर दिन्थिन् । अनि बुहारी, लौ हेरियोस् कस्ती रहिछे, लोग्नेलाई भन्थी-“तेरो आमाले मलाई मासु पनि गनेर दिन्छे ।”
सासूचाहिँ बुहारीलाई खुवाउन पर्छ भनेर कहिले के ल्याउँथिन् कहिले के ल्याउँथिन् । बुहारी भने क्रेट भरेर अन्डा ल्याउँथी र आफै पकाउँथिई, खान्थिई, अन्डा गनेर अफिस जान्थिई । आमालाई चाहिने सबै कुरा म नै ल्याउँथेँ, तर महोदय सानोसानो कुरामा पनि निगरानी छाड्दिनथी, जस्तो-स्याम्पुको बोतलमा चिह्न लगाएर राख्थी । चलाउला कि, हँ ? फूर्ति दिन फ्रिजदेखि भान्साका सबै विद्युतीय सामान ल्याएर छाती फुलाएर देखाउँथी । हामीलाई त पहिल्यै भान्सा अलग गराइदिइसकेकी थिई । तिनमा लाग्ने बिजुली खर्च पनि तिरेर फूर्ति दिँदा हुन्थ्यो नि, विचरा बूढाबूढीलाई तिराउने कृपा गर्थी ।
लोग्नेचाहिँ भाइको उपस्थितिले अप्ठेरो मानेर हो कि भन्थ्यो-“हेर, यस्तोयस्तो सामान ल्याउँछौ, मेरो जागिर छैन, बिजुली…।”
भनिहाल्थी-“हाम्रो माथि सबमिटर राखिदिनू भन्नू नि त त्यसो भए…हाम्रो बिजुलीको खर्च तिरिदिउँला ।” वाह … यस्तो महानता देखाउने बुहारीको हातमा मेरी आमालाई छाडेर जानुपर्यो मैले । दैव पनि किन यति निठुर भएका होलान् ।
अनि त आमाको बूढी हाड घोटिएको घोटियै ।
कहिलेसम्म ? मेरी आमाको दुःख कहिलेसम्म ?
मेरो मृत्यु हुनासाथ तीव्र गतिले चलचित्रका दृश्यहरूझै घरमा परिवर्तन देखिन थाले, फटाफट । अनुमान लगाउन सकिन्छ, मेरो असामयिक निधनमा कति खुसीको वर्षात् भयो होला ।
जस्तो धेरै समयदेखिको आशा थियो, हिरोइन निकै गद्गद देखिन थालिन् । मलाई त सराप्न म मरेपछि पनि छाडिनन् भने बाँच्ता केके मात्र गरिनन् होला …
म कहिल्यै बिर्सिदिनँ, मैले नै घरमा सारा खर्च काँधमा बोकिरहेको थिएँ । दाइलाई भर्खर जागिरबाट निकाला गरिएको थियो ।
अर्काकी छोरीको कमाइ खाने कुरै आउँदैनथ्यो । तब आफ्नै भात खाइरहँदा पनि, खाँदाखाँदै, कतिपल्ट, कतिपल्ट ढोकापछाडिबाट मलाई सरापिरहन्थी । सुन्ने नै गरेर । मलाई आफ्नै खाना पनि अमन हुन्थ्यो ।
आमालाई चित्त बुझ्ने कुरै भएन, जेठो छोरासामु आफ्नो चित्त फाटेको कुरा राख्थिन् ।
छोराचाहिँ पहिल्यै प्राणप्रियाबाट सुनिसकेका हुन्थे, नभए सीधै आमासामु आउँदैनथे । अनि त प्राणप्रियाको मुखारबिन्दबाट जेजे बहाना बनाइएको थियो, त्यसैलाई मिलाएर महोदय सफाइ दिन्थे-“हैन, त्यसको बहिनीको पैसाको ब्याग कसले चोरिदियो, त्यसैले भुतभुताइरहेकी रे ।”
मानाँै मेरो कानै छैन, मानाँै मेरो विवेक नै छैन, आफ्नी स्वास्नी र सालीको प्रसङ्ग आयो कि मेरा दाजै यसरी सफाइ पेस गर्थे ।
तब सालीचाहिँ पनि यहाँ आएर सबसित धमास दिन एक रत्ति पनि धक मान्दिनथी । त्यसको फूर्ति कहाँसम्म बढेको, एकदिन फोन गरेर बूढाबूढीलाई धम्काइछ-“मेरो दिदीलाई तिमेरुले छोयो भने पनि पुलिस ल्याएर समात्न लगाउँछु । ”
दिदीकहाँ आउनु पर्यो, लाजसरम मजाले निलीओरी हिँड्ने खलकलाई के छ र … आइदिई ।
अनि पति महोदय त महोदय नै भइहाले । के हुनु, सालीको सफाइ पेस गर्ने काम भइहाल्छ, भयो पनि-“त्यसले माफी मागी ।”
बडो कृपा गरी । माफी मागी । धन्य …अब यस्तो ससुराली खलक हैन, श्रीमान् भनाउँदा कस्ता रहेछन् । निक्लिए ।
यहाँ पो छ त कुरो ।
दिदीचाहिँ के गर्थी ? आफ्ना लागि त्यस्तरी ज्यान दिने बहिनीलाई व्यवस्था गरिदिन कौसीमा एउटा कोठा थप्न आग्रह गर्थी । बुबा र म हुँदा समेत ।
भनी आनन्दले-“आधा पैसा म हालिदिउँला ।”
वाह … अनेकन् बदमासीबीच फैलँदै गरेको सुकुम्बासी टोलबाट आएकी यस हिरोइनबाट योभन्दा राम्रो अरू कुन संस्कारको अपेक्षा गर्नु …
साहस कम्ती छ त ?
भने, अहिले हामी दुवै छैनाँै उपस्थित रूपमा, के छाड्थी ? लोग्नेलाई भन्दै गरेको मैले थाहा नपाएको कहाँ हुँ र -“बूढीको सहीछाप लगाएर बैङ्कबाट भएजति सबै पैसा झकिेर कोठा थपाँै न । बैनीज्वाइँ हामीसँगै हुँदा राम्रो पनि । मदतसदत पनि हुन्छ । आफन्त भनेको सबैलाई चाहिन्छ क्या ।”
आफन्तको अर्थ मेरो दाजैलाई सिकाउँदै थिई जसलाई राम्ररी थाहा भएको परिणाम अहिले निस्किरहेको थियो ।
लोग्नेको अदेखमा बहिनीचाहिँलाई भन्दै थिई-“बैङ्कबाट पैसा नझििकउन्जेल मात्र हो…त्यसपछि त बूढीलाई पख् न…म जान्या छु ।”
सम्भवतः त्यो जान्दिन, म यहीँ छु, त्यसले सरापेकी बूढीको छोरो…शरीर अवश्य मर्यो होला, तर मेरो आत्मा…आमावरिपरि नै रहेर रक्षा गर्न खोजिरहेछु । मलाई पहिल्यै शङ्का थियो, र त भन्थँे-“यो आइमाई हामीले सोच्न सकेभन्दा पनि ज्यादै खतरनाक हो ।”
मेरो कुरा कोही पत्याउँदैनथे, पछिपछि बिस्तारै थाहा पाउन थाले, त्यो भिन्नै कुरा ।
म आफ्नी आमालाई एक्ली छाडेर कहाँ टाढा जान सक्छु र … त्यस्ता खतरनाक जन्तुहरूसित आमालाई छाडेर जान सक्छु होला ?
अबको दृश्य कुन अनौठो हुन्थ्यो र … बिहान आउँथ्यो । रात त्यही भएर बित्थ्यो । बूढी हाड हाड घोटिँदै थिई, तर कति ? कति ?
विचरी आमाले घर जोर्नुभन्दा पहिला डेरामा बसेर दाइ र मलाई कति सङ्घर्ष गरेर हुर्काइन् । बुबाको सङ्घर्ष आफ्नै ठाउँमा छँदै थियो, तर आमाहरूको झन् चर्को हुँदोरहेछ । आफ्ना केटाकेटी भोकाउलान्, रोगाउलान्…देखि सबैसबै, कुरामा ध्यान पुर्याउनुपर्ने ।
के मेरी आमाले सुख पाउने दिन आउँदैन ?
जब एक्लै बसेर बुबा र मेरो तस्बिर अगाडि आँसु टम्म पारेर बस्छिन्, तब लाग्छ, कति आसले, कति सपनाले आफ्ना सन्तानलाई संस्कार सिकाइन्, तर नतिजा…… शङ्का गर्ने ठाउँ कतै छैन, दाइ र मलाई सिकाएको संस्कार एउटै त थियो ।
सबै कुरा आफ्नै भोगभागको कुरा पो हो कि …
आज पनि बिहानी आयो, तर केही भिन्न लाग्दैन ।
आमा सानो नातिको हेरचाह गर्दै थिइन्, आफ्नो काखमा राखेर ।
दिन सप्रिएकै हो त ?
त्यो आइमाई आज भान्छामा थिई । पकाउँदै ।
पकाइवरी दुवैले खाए, छोराछोरीलाई भरपेट खुवाए ।
लोग्नेहरू आफ्नोआफ्नो बाटो लागे, ‘आमालाई खाना खानू’ भने ।
नाति सुतेपछि आमा गइन् भान्छामा । भन्नै पर्दैन, यति बेरसम्म बिहानको एक कप चियाको भरमा बसेकी बूढीको पेटमा के चल्दै होला ? बुझ्ने कसले !
उनले खाना पस्किन् । छोराबुहारीको हातबाट बनेको खानाले आज स्वाद फेर्न पाइने भयो । त्यति लाग्नु स्वाभाविकै हो । फिल्टरपछाडि कचौरा राखिएको रहेछ । खोलिन् । मासुको परिकार रहेछ । बुहारीले त आज अचम्मै गरिछे त ।
उनले अचम्म मान्दै खाना खाइन् । पेट भरिएजस्तो भयो ।
दिउँसभरि नाति हेरेर बसिन्, अरू ड्युटी नै के हुन्थ्यो र …बुहारी आई । आउनेबित्तिकै भान्छामा गई । केही छिन बित्न नपाउँदै आमा नजिक हानिँदै आई ।
यताउता केही होइन, सीधै आमाको चुल्ठो समातेर आफ्नो अवतार देखाउन थाली-“तँ राक्षस्नी बूढी । मैले दिउँसो खान राखेको मासु खाइदिइस् ?”
त्यसपछि आमालाई भुत्लाइदिई । त्यसको त्यस बेलाको रूप पुराणशास्त्रमा वणिर्त राक्षस्नीको रौद्र रूपभन्दा कम्ती थिएन ।
मेरी आमालाई भुत्लाउने…म कसरी हेरूँ ?
हेर्छु, आमा दौडेर आफ्नो कोठामा पुगिन् । भुइँमै पछारिएर डाँको छाड्न थालिन्, बच्चीजस्तो घ्वाघ्वा । योभन्दा चित्त दुखाइ अरू के होला ?
आमा … आमा …
म भएभरको सास निकालेर चिच्च्याएछु, तर सुन्दिनन् ।
लौ … लौ … यो के गर्न लागिन् ?
आमाले नजिकै रहेको चुलेसीले आफ्नै टाउकोमा हान्न थालिन् । किन मेरो मात्र खप्पर यस्तो भन्ने शैलीमा ।
आमा … त्यसो नगर आमा … बिन्ती …
हे भगवान् … मलाई एक…एकपल्ट मात्र …केवल एकपल्ट मात्र भए पनि आमासामु जान दिनोस् प्रभु । आमालाई रोकँू…… उनलाई सुरक्षित स्थानमा राखेर र्फकन पाउँ…।
उः उः रगत बग्न थाल्यो हृवालहृवाल …बिन्ती भगवान् … बिन्ती …एकपल्टलाई…केवल एकपल्टलाई…बिन्ती …
मधुपर्क २०६८ माघ

tocuh my herat ….
Yo katha bastav mai dardarak ra pida dayik xa. yo nitanta satya ghatna jo hamro samaj ma ghatirahekaxan tara dherai kam sanchar madhyam ma auxa jo purush ya mahila jasle le aama ra buba lai man, samman , maya ra udarpan dekhauna sakdaina ma uniharu lai pashu ko upanam dinxu ra dheekar garxu ko nepal aama lai ki yesta nirahi lai kina janma diyau???????????????
I wept ,,,,,
Yo katha bastav mai dardarak ra pida dayik xa. yo nitanta satya ghatna jo hamro samaj ma ghatirahekaxan tara dherai kam sanchar madhyam ma auxa jo purush ya mahila jasle le aama ra buba lai man, samman , maya ra udarpan dekhauna sakdaina ma uniharu lai pashu ko upanam dinxu ra dheekar garxu ko nepal aama lai ki yesta nirahi lai kina janma diyau???????????????