अहिलेका चर्चित कवि डा. विष्णुविभु घिमिरे २०२७/०२८ तिर झापा ज्यामिरेगढी क्षेत्रका नाम कहलिएका मास्टरमध्ये पर्थे । झन् उनले पढाउने अरनिको प्राथमिक विद्यालयको त सबैभन्दा प्रिय शिक्षक । हुन त उनले एसएलसी मात्र पास गरेका थिएनन् । तैपनि त्यो बेला मास्टर हुन एसएलसी नै ‘काफी’ थियो । मास्टर भएपछि गाउँमा ठूलो इज्जत हुने भइनैहाल्यो । कमाइ पनि राम्रै थियो । तैपनि किनकिन मनमा सन्तोष थिएन । कुनै कुराको अभाव खट्किरहेको थियो । यस्तैमा एकदिन कक्षाकोठामा पढाइरहँदा घिमिरे एक्कासि बाहिर निक्लिए । आकाशतिर आँखा डुलाए । उनलाई अरू बेलाको भन्दा आकाश निकै ठुलो लाग्यो । त्यसैबेला मनले भन्यो-‘संसार यति ठूलो छ तर तँ यहीं सड्ने भइस् । त्यसैले अहिले नै जागिर छोड् र क्याम्पस पढ्न सहर जा ।’ हुँदाखाँदा जागिर छोडेर क्याम्पस पढ्न जानु चानचुने कुरा थिएन । यो कुराले उनलाई निकै छट्पटीमा पार्यो । ‘तर बिहान हुँदा नहुँदै जति नै दुःख पाए पनि क्याम्पस पढन् जाने निष्कर्षमा पुगेँ,’ घिमिरेले जिन्दगीको त्यो स्वणिर्म पल सम्झिए । भोलिपल्ट आफ्नो निर्णय पिताजीलाई सुनाए । सुरूमा थोरै आनाकानी गरे पनि अन्ततः उहाँले पनि स्वीकृति दिनुभयो र त्यसको केही दिनपछि मनभरि अथाह सपनाको पोको बोकेर भद्रपुर आइपुगे । मेची क्याम्पसमा आई.ए. मा भर्ना भए । निकै मिहिनेत गरेर पढे । राम्रो अङ्क ल्याएर पास गरँे । बी.ए. विराटनगरबाट पास गरे तर पनि उनको सपना विराटनगरले पूरा गर्न सकेन र २०३५ सालमा एमए गर्न काठमाडौँं आए ।
विराटनगरमै हुँदा घिमिरेले कविका रूपमा राष्ट्रिय पहिचान बनाइसकेका थिए । साहित्यिक गतिविधिमा पनि उत्तिकै सक्रिय थिए । उनीसँगै अशेष मल्ल, कृष्णभूषण बल, महेश प्रसाई, नारायण तिवारी, शेखर गिरी, इन्दिरा प्रसाईलगायतका साहित्यकार मिलेर स्थापना गरेको युवा साहित्यिक परिवारलेे देशभर चर्चा कमाएको थियो । परिवारका सदस्यहरू नियमितजसो एकै ठाउँमा भेला भएर कविता सुन्ने र सुनाउने गर्थे । जसले उनको कविता लेखनमा थप निखार ल्याउन सहयोग पुर्यायो । यता काठमाडौँ आएपछि पनि उनी साहित्य लेखन तथा गतिविधिमा थप सक्रिय हुन थाले । कवितासँगै उनको रूचि नाटकमा पनि थियो । त्यसैले अशेष मल्लसँग मिलेर २०३८ सालमा सर्वनाम नाट्य समूह स्थापना गरे । सडक नाटकमार्फत् जनतालाई परिवर्तनको पक्षमा लड्न अभिप्रेरित गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगे । यसरी सर्वनाममा व्यस्त हुँदाहुँदै उनको काँधमा नयाँ जिम्मेवारी थपियो, साहित्यिक मासिक गरिमाको सम्पादक । यो उनका लागि चुनौती र अवसर दुवै थियो । गरिमाले नेपालको समग्र साहित्य लेखन तथा साहित्यिक पत्रकारिताको प्रतिनिधित्व गर्ने भएकोले पनि यसमाथि सबैको ध्यान जान्थ्यो तर आफ्नो मिहिनेत र लगनशिलतामा विश्वास गर्ने घिमिरेले गरिमालाई एउटा नयाँ उचाइमा पुर्याए । गरिमालाई यो अवस्थासम्म ल्याउन उनको महत्त्वपूर्ण योगदान रहेको चर्चा अचेल पनि निकै हुने गर्छ । गरिमाको सम्पादकको रूपमा २०३९ देखि सुरू भएको यात्रा ०४७ मा उनी आफैँले बिट मारे । घिमिरे भन्छन्, ‘एक ठाउँमा बस्दा सद्दाम हुसेन भइन्छ भन्ने डरले गरिमा छाडेँ ।’ तर योबीचमा उनको सबै किसिमका साहित्यकारसँग चिनजान र उठबस भयो । कुन लेखकको कुन स्तरको रचना गर्छ भन्ने मात्र होइन् अधिकांश लेखकको हस्ताक्षर नै ठम्याउन सक्ने भएका थिए, घिमिरे ।
‘गरिमा छाडेपछि प्राध्यापन पेसामा आकषिर्त भएँ र पाटन क्याम्पस पढाउन थालेँं,’ घिमिरे ती दिन सम्झदै भन्छन्, ‘तर महिना दिन बित्न नपाउँदै हरिहर विरही र केशवराज पिँडालीले विमोचनको सम्पादन गरिदिन अनुरोध गर्नुभयो । मैले पनि नर्कान सकिन ।’ त्यसपछि उनी बिहान लेक्चर र दिउँसो सम्पादकको भूमिकामा देखिन थाले । एउटा विशुद्ध साहित्यिक पत्रिकाको सम्पादन गरिहेको मान्छेलाई ‘कमर्सियल म्यागजिन’को सम्पादन गर्नु नौलो मात्र होइन, थोरै कठिन पनि थियो । त्यसमाथि संस्थापक सम्पादक नै भएपछि झन् धेरै चुनौती थिए । छोटै समयमै धेरै पाठकको मन जित्न सफल भयो, विमोचन । जसले उनको सम्पादकीय क्षमतामा नयाँ आयाम थपिदियो । विमोचनलाई पनि सफलताको शिखरमा पुराएपछि ०५४ सालमा उनले त्यहाँबाट पनि बिदा लिए र राजनीतिक साप्ताहिक नवसुरूचीको सम्पादन गर्न थाले । यसरी उनी साहित्यिक पत्रिका, कर्मसियल म्यागजिन हुँदै राजनीतिक पत्रिकाको सम्पादक हुन पुगे तर गरिमा र विमोचनको जस्तो सन्तुष्टि नवसुरूचिबाट पाएनन् ।
सुरूचि छाडेपछि उनले कुनै पत्रिकाको सम्पादन गरेनन्, विशुद्धरूपमा प्राध्यापन तथा साहित्य कर्ममा लागे । साहित्यिकसभा, सम्मेलन, गोष्ठीहरूमा नियमित सहभागी हुन थाले । पुस्तक विमोचन कार्यक्रममा अतिथि बन्न भ्याइनभ्याई भयो । यस्तैमा, २०६० सालको एकदिन उनलाई अमेरिकामा रहेकी बहिनीले फोन गरेर एउटा कविता सङ्ग्रहको विमोचनको बन्दोबस्त मिलाइदिन र कार्यक्रमको अतिथि बनिदिन आग्रह गरिन । बहिनीले भने अनुसार उनले नेपाल प्रज्ञा प्रतिष्ठानको कमलादीस्थित भवनमा कविता सङ्ग्रहको विमोचन गरिदिए । कार्यक्रम राम्रैसँग सम्पन्न भयो तर साँझ घर र्फकने बेला आफूदेखि नै रिस उठेर आयो । आफ्नो अल्छिपनाले भरिएको दैनिकीदेखि दया जागेर आयो । प्रत्येक कार्यक्रममा उनले गर्ने भाषण मात्र होइन्, सुन्ने स्रोता पनि उही हुन्थे । कुनै नयाँपन थिएन् । त्यहीबेला उनले शङ्कर लामिछानेको एउटा भनाइ सम्झिए-‘जीवन एक प्राध्यापक हो । सधँै सिकाइरन्छ ।’ लामिछानेको यही भनाइले नै उनलाई पीएचडी गर्ने आत्मविश्वास दिलायो र कमलादीदेखि नयाँ बानेश्वरसम्म आइपुग्दा जसरी भए पनि पीएचडी गर्ने निधो गरेँं । चार वर्षको अनवरत् अध्ययन, अनुसन्धान र लेखन पछि २०६७ सालमा उनी विद्यावारिधि गर्न सफल भए । ‘मैले नामको अगाडि डा. झुण्ड्याउन पीएचडी गरेको होइन,’ आफूले पीएचडी गर्नुको कारण अर्थ्याउँदै घिमिरे भन्छन्, ‘आफूलाई सक्रिय बनाउन तथा आफैँलाई सजाय दिन पीएचडी गरेको हुँ ।’
घिमिरे साहित्यकार हुन् तर न त उनले साहित्यमा विद्यावारिधि गरेका हुन्, न कलेजमा पढाउने विषय नै साहित्य होइन । उनको विषय संस्कृति पो हो । त्यसो भए साहित्य र संस्कृतिको कस्तो सम्बन्ध हुन्छ त ? साहित्यमा संस्कृतिको कस्तो प्रभाव हुन्छ ? ‘कुनै पनि असल साहित्यको सिर्जना संस्कृतिकै पृष्ठभूमिमा हुन्छ,’ संस्कृतिमा विद्यावारिधि गरेका घिमिरे भन्छन्, ‘संस्कृति भित्री कुरा हो भने साहित्य बाहिरी तर यिनीहरू एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् ।’ उनले भनेको कुरा किन पनि सही हो भने महाभारत, रामायण, भागवत गीता हाम्रो धर्म संस्कृति मात्र होइन उच्चकोटिको साहित्य पनि हो । त्यसैले पनि होला, साहित्य र संस्कृतिको ‘फ्युजन’ भएर नै घिमिरे सुन्दर कविता रचना गर्न सफल भएका छन् । घिमिरेकोे सङ्ख्यात्मकरूपमा कविताहरू ज्यादै कम छन् । कहिलेकाही वर्षौंसम्म उनका कविता पाठकहरूले पढ्न पाउँदैनन् । आखिर किन त ? कवि घिमिरे भन्छन्, ‘कविता त हृदयबाट प्रस्टुफित हुने कुरा हो । त्यसैले बारीमा मकै फलाए जसरी कविता फलाउन सकिदैन ।’ थोरै पागल नभई कविताको सिर्जना गर्न नसकिने र पाठकमा पनि पागलपनको आवश्यकता पर्ने उनको ठम्याइ छ । उनको विचारमा साहित्यको अन्य विद्यामा जस्तो योजना, बौद्धिकता र कृत्रिमता नहुने भएकोले पनि कविताको सिर्जना गर्न कठिन छ । यसको लागि त हृदयबाट भावना प्रस्फुटित हुनुपर्छ ।
डा. घिमिरेले नेपाली साहित्यलाई कठघरामा उभिएर (२०४५) र काँडाकाडाँमा टेकेर (२०५७) गरी दुईवटा कविता सङ्ग्रह उपहार दिएका छन् भने उनले लेखेको टेलिफिल्म जनैको साँचो (२०४९)र र सहयात्रीले धेरै दर्शकको मन जितेको थियो । उनले ०५६ देखि ०६० सम्म र ०६३ देखि ०६४ सम्म गरी दुईपटक साझा प्रकाशनको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । त्यस्तै, उनी नेपाली लेखक सङ्घको महासचिव र नेपाल प्रज्ञा प्रतिष्ठानका सभासद्समेत रहेका छन् ।
उनले कतै पढेका थिए-‘तिमी केही बन्न चाहन्छौ भने कसैसँग तुलना नगर र अर्कोजस्तो बन्न नखोज । यदि तिमी ऊजस्तै भयौं भने तिम्रो पहिचान कहाँ हुन्छ ?’ यो भनाइलाई उनले जीवनको दर्शन मानेका छन् । त्यसैले उनी कहिले कोहीजस्तो बन्न खोजेनन् । उनी असल ‘विष्णुविभु घिमिरे’ हुँदा नै खुसी छन् । उनलाई प्राध्यापक, सम्पादक र साहित्यकारको रूपमा पाएको सफलताले एउटा बेग्लै आत्मसन्तुष्टि दिलाउँछ । फेरि जीवन भनेको नियतिमा चल्ने चिज हो । जहाँ राम्रो/नराम्रो, गाह्रो/साह्रो भन्ने केही हुँदैन । ‘यो त केवल अनुभूतिमा फरक पर्ने कुरा हो,’ उनी आफ्नो जीवनदर्शन सुनाउँछन्, ‘आफ्नै विश्वासमा रमाउनु पर्छ । आफ्नै विश्वासमा बाँच्नुपर्छ ।’
मधुपर्क २०६८ माघ
