खन्टी पोइल बाइगै


फागुनको अन्तिमतिर ढकमक्क फक्रेका लालीगुरासका फूलहरूको सुगन्ध बोकेर बतास हतार हतार सबैलाई घचेट्दै भागेझै लाग्दथ्यो। त्यही बतासले बोकेर फिजाएझै मंगलसेनका टोलटोल र घरघरमा एउटा खबर समेत फैलियो–

खन्टी पोइल बाइगै ।

खन्टी नाम सुन्दा वा भन्दा कर्णप्रिय लाग्दैन । झन् खन्टीको सुन्दर मुहार मिलेको जिउडाल तथा सुशिल बानीव्यहोरासँग त उनको नाम पटक्कै मेल खाँदैन । नराम्रो नाम राखेमा सन्तानको अल्पायुमा मृत्यु हुँदैन भन्ने विश्वासका कारण उनका आमाबुवाले खन्टी नामाकरण गरेका थिए रे ।

करिब एक महिना अघि मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आएको बेला उनले पतिको नाम हिरण्य लेखाएकी थिइन । उनको फोटो खिच्दा उनको आँखामा न त बैशको उन्माद नै थियो न त चँचलता वा रँगिन सपना । आँखामा उदासीभाव झल्किन्थ्यो । आज अचानक अर्को ब्यक्तिसँग पोइल गएको समाचारले ध्यानाकृष्ट हुनु स्वाभाविकै थियो ।

उत्सुकतावश म कम्प्युटरमा नाम टाइप गरेर उनको फोटो सहितको विवरण खोजी हेर्न थाले । कार्यालय सहयोगी फाउचेले खन्टीको फोटो कम्प्युटरमा देखेर सोध्यो –

खन्टी पोइल गएको समाचार तमिले पन सुन्या ह्वो कि ।

के भएको रहेछ त फाउचे –

मैले प्रश्नमाथि प्रश्न नै राखे ।

फाउचेभन्दा अगाडि अर्को कार्यालय सहयोगी झपट बोल्यो –

होरीको राम अर्थात् मेलामा खन्टी र भैरे प्रेमबन्धनमा बाँधिएका हुन् । रामको बेला मन परेको केटा र केटीले प्रेमबिवाह गर्नु यहाँको सामान्य चलन हो । कुनै कुनै मेलामा त ५० भन्दा बढी जोडीले घरबार बसाउँछन् ।

भैरे अर्थात् खन्टीको नयाँ पोइको विवरण कम्प्युटरमा खोजी हेरे । फोटोसहितको विवरण देखियो । भैरेको फोटोमा पनि कुनै आकर्षण देखिएन । उमेर ४५ वर्ष थियो । उनकी पत्नीको नाम लेखिएको थिएन। फोटोसहितको मतदाता नामावली दर्ता गर्न सात आठ महिना अघि हाम्रो कार्यालयबाट टोलीहरू गाउँ गाउँमा गएको बेला उनको फोटो र विवरण लिइएको रहेछ।

मलाई झन् उत्सुकता लाग्यो । पैचालिस वर्षमा प्रेमविवाह । भैरेको बैशलाई सलाम । मनमनै भने ।

बिचरा भैरे । विवाह गरेको दुइ वर्षमै विशुलाई गुमाएर विक्षिप्तझै भएको थियो –

फाउचेले सहानुभूति जतायो ।

खन्टीको कहानी पनि कम दुखदायी छैन । खसम बम्बैबाट नफर्केको १५ वर्ष भयो रे । मापैलाई आफ्नी श्रीमतीको नापै माया पनि रहेनछ –

झपटको प्रतिक्रिया ।

हलुका सवारी चालक कालु पनि कतिखेर आइपुगेको रहेछ । खन्टी र भैरेको प्रेमप्रसंग सुनाउन उ हतारियो र रमाइलो शैलीमा भन्यो –

एउटा फिलिममा राजेश हमालले करिश्मा मानन्धरको अगाडि घुँडा टेकेर प्रेमप्रस्ताव राखेझै खन्टीलाई एक्लै भेटेको मोकामा भैरेले विवाहको लागि याचना गर्यो । खन्टीले पनि सहर्ष स्वीकार गरेपछि दुइजना हातेमालो गरी सँगै घरतिर लागे रे ।

बिहान बेलुका खानाखाने ठाउँमा चिया पसलमा र बजारमा समेत गरी करिब ३० जना जतिको प्रतिक्रिया सुनिसकेपछि खन्टी र भैरेको विवाह प्रसंगलाई सामान्यीकरण तपाइँ समक्ष पेश गर्न उपयुक्त ठाने । जुन यसप्रकार छ–

खन्टीसँग विवाहबन्धनमा बाँधिएको छ महिनापछि हिरण्य नोकरीको खोजीमा बम्बैतिर लागेको थियो । हुन त केही अछामीहरू भारतको जुनसुकै शहरमा गए पनि बम्बै गएको नै भन्न रुचाउँछन् चाहे त्यो गोरीफन्टा नै किन न होस् । तर खन्टीको पहिलो प्रेम अर्थात् हिरण्य विवाहको केही समयपछि साँच्चिकै बम्बै नै गएको थियो ।

खन्टीका लागि उनको सर्वश्व भनेको नै उनको खसम थियो । उनी विदेश जाने कुराले उनको छाती चरक्क चर्कियो । कैयों रात अनिदो बिताइन । विदेश नजान अनुनय गरिन । तर उनको केही लागेन । हिरण्य बम्बै जाने बेलामा आधा घण्टासम्म रुँदै उनको पछि पछि लागेकी थिइन खन्टी ।

बम्बैबाट पहिलोपटक त हिरण्य ६ महिनामा नै घर फर्किएको थियो । दोश्रोचोटी बम्बै गएपछि भने उ कहिल्यै फर्केन । खन्टीका आँखा सुर्योदय र सुर्यास्तमा सँधै त्यही बाटोतिर हुन्थे जुन बाटो हुँदै हिरण्य आँखाबाट ओझेल भएको थियो । उराठ दिन त जसोतसो बित्थे तर राती जति कोल्टे फेरे पनि काट्न मुश्किल हुन्थ्यो । पतिलाई संझेर उनले बगाएका आँशु एकोहोरो बगेको भए बम्बैसम्म नै पुग्थे होला ।

लामो समयदेखि विछोड र विरहमा पिरोलिएकी खन्टीलाई मनको भारी बिसाउने काँध आवश्यक थियो । सहारा दिने हात आवश्यक थियो । तर उनलाई सहयोग गर्न खोज्ने आँखामा बासना मात्र हुन्थ्यो । योवनको प्यास मात्र देखिन्थ्यो ।

भैरे अरुभन्दा केही फरक थियो । उ खन्टीलाई निस्वार्थ रुपमा सहयोग पुर्याउँथ्यो । साँचो प्रेमको कमी उसलाई पनि उत्तिकै खट्केको थियो । उसकी प्यारी विशु खर काट्न गएको बेला भीरबाट लडेर मरेपछि उ पनि त मायालु स्पर्शका लागि तड्पिएकै थियो । तर आफ्नो अभावभन्दा पनि उ खन्टीको अभावलाई महत्व दिन्थ्यो । आफ्नो वेदना त उ रक्सीको घुटकासँगै निलिहाल्थ्यो । अछाम मदिरा निषेधित क्षेत्र घोषित भए पनि सबैभन्दा बढी मदिरा खपत त त्यही हुन्थ्यो नै ।

सेतो पोशाकमा सजिएका युवा र वयोवृद्ध सँगसँगै गोलो घेरामा घुमेर रमाइलोसँग होरी खेल्दैथिए मंगलसेन दरबार अगाडि । समवेत स्वरहरूले आकाश गुंजायमान थियो । रातीको समय थियो । टहटह जुन लागेको थियो । सिर्र सिर्र बतास चलिरहेको थियो । होलीको रमाइलो भर्न आएका अछामीहरूको जमातमा खन्टी पनि थिइन । भैरे पनि थियो ।

यस्तो मनमोहक वातावरणमा पनि खन्टी एक्लै टोलाइरहेकी थिई । मन एकतमासको भएको थियो । निराशामा डुबेको मन निचोरिएर आँखाबाट पोखिन खोज्दैथियो । खन्टीलाई छोएर गएको हावाले भैरेको कानमा के भन्यो कुन्नी । भैरे सरासर खन्टीको अघिल्तिर गयो ।

मदिराको नशा पनि हुँदो हो । प्रकृतिको मात पनि थपिएको थियो । भैरेका ओठ चल्न थाले ।

खन्टी तिमी किन मबाट टाढा मात्रै भैराख्छयो । मसित रिसाएको भए मेरो गालामा थप्पड हान । मलाई गाली गर । तर तिमी यसरी एक्लै टोलाएर बसेको म हेर्न सक्दिन । तिमीलाई मेरो रक्सी खाने बानी मन नपरेको भए म आजैदेखि छोडिदिन्छु । म तिम्रो मुहार खुशी ल्याउन जे पनि गर्न चाहन्छु । मेरो मन सधै तिमी नजिक आउन चाहन्छ । तिमी र म एक्लाएक्लै मरेसरी बाँच्नुभन्दा सँगै एक अर्काको सहारी बनी बाँच्न सक्छों ।

खन्टीले आफ्नो टाउको सुस्तरी भैरेको काँधमा बिसाइ । केही बोलिन । आँखाबाट आँशु झरिरहे । मनको बोझ हलुका भएको महशुश गरी ।

भोलीपल्ट हावाको बहाइसँगै मंगलसेन तिमिल्सेन जयगड साँफे कमलबजार बिनायक जतासुकै खन्टी पोइल गएको समाचार फैलियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *