म समयबाट डढेको ठूटो मान्छे
म चट्टानबाट चोइटिएको दर्शनढुंगा
म सयपत्रीको झ्याँगबाट अलग्गिएको क्यातुक्के फूल
म चामलभित्रको अमिल्दो धानको बिया
म बाटाभरि पोखिएको तोरी, कोदो, गहु, मकैको दाना ।
म भाचिएको पूलको मक्किएको फलेक
म भुत्ते कोदालीको फुटेको बिड
म घुर्मैलो, मैलो, फाटेको आकाश
म दुखाइएको आत्माको बिरक्तिएको दिन
म गाउ समाजमा हेपिएको, थिचिएको
आखामा फूलो परेको बोक्सो, बोक्सी भनि आरोप लागेको
तिनको शब्दमा एक अलक्षिन अनुहार
अब म -पारीजातको शिरीषको फूलकी
आफूभन्दा आधा उमेरभन्दा कम भएकी
सकमबरी जस्ती तिमीलाई
समयमा नै प्रेम गर्न नसक्ने
आर्मीबाट मात्र होइन
बहराइन साउदी, कतारमा
उट गोठालो गर्दा गर्दै
कोरीया, जापान, यू एस र यू के मा
साझ बिहान काम गरेर
पेन किल्लर खादा खादै
आफ्नो जीवनबाटै रिटायर्ड सुयोगबीर
मेरो तुलना कसरी तिमीसित हुन सक्छ र !
म लिलबहादुर क्षेत्रीको बसाइको
भर, अभरमा सघाउ, पघाउ गर्ने
दूरगम, गाउघर, छर छिमेक डुल्ने
बाख्रा धपाएर हिड्ने मोटे कार्की
तिमी बसाइ उपन्यासको संघार नाघेर
बाहिरको संसार टेकी सकेकी
क्यानाडा, पोर्तुगाल, इजरायल, सुजरल्याण्ड घुमिसकेकी
पोष्ट मोर्डन झुमासित
म के भला कुसारी गरौ र !
बरू बिन्ती !
बिर्सी देउ
सम्झेर मलाई हर युधिष्ठिरहरू
जो तिमीलाई बेच्ने दाउमा बसेका छन
छोडी देउ मलाइ
सोचेर हर रामहरू
जो तिमीलाई अग्नि परीक्षाको नाममा
तिम्रो शरीरमा आगो सल्काउन उताउलिएका छन
मान्छौ भने-
हर युगमा तिमी सिता नबन
हर युगमा तिमी द्रौपदी नबन
बरू श्रमले पासांगलामु भएर रमाऊ
यतार्थमा भृकुटीमा आफूलाई सजाऊ
पल पल पारीजात भएर लम्क
अत्यचारमा झाँसीकी बाइ बनेर चम्क।
अब –
मात्र सम्झ एउटा निस्कलन्कित मोटे कार्की
मात्र सम्झ एउटा प्रेम गर्न नजान्ने प्रौढ सुयोगबीर
बस कहिले मलाई याद नगर
म समयबाट डढेको ठूटो मान्छे
म समयबाट डढेको ठूटो मान्छे ।
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल : अबुधाबी, यू ए ई
