दायाँबाट हेरेँ
बायाँबाट हेँरे
आफ्नै प्रतिविम्वलाई
सधै अष्टबक्र पाए
राम्रै हो भन्थे यो ऐना
किन फेरि मलाई बांगो देखाउँछ ?
म आफै रनभुल्लमा परे
धेरैलाई सोधे म कस्तो छु ?
सग्लो मानिस जस्तै भने
भएन भनि घरको ऐना फेरि दिन भने
भएको ऐना चकनाचूर बनाए
अनि उसैलाई फिर्ता गरे
निक्कै धनुष्टंकार गरेपछि
उधारोमा अर्को ऐना पाए
केही दिन त सकुसल देखिन्थे
केही दिन बित्न नपाउदै
फेरि बाङ्गो देखिन थाले
अर्को ऐना लिन फेरि गए
रिसाएर ऐनावाल भन्छ
तिमी नै ठिक छैनौ
किन मेरो ऐनालाई दोष दिन्छौँ?
होइन सबै म राम्रो छु भन्छन ?
दुस्मन हुन् तिनीहरू
जो तिमीलाई राम्रा भन्छन
यो ऐना त्यस्तो होइन
जस्तो छ त्यस्तै देखाउँछ
त्यसो भए यो ऐना चाहिन्न
म आफूलाई कुरूप देख्न सक्दिन
ऐना होइन अब तिमीले
आफ्नै उपचार गर्नु पर्छ
दोषी छ तिम्रो सोच
गलत छ तिम्रो प्रवृति
ऐना बदलेर देखिन्नौ राम्रो
तिमी स्वयम बदलिनु पर्छ
तिमी त नाङ्गा बादशाह हौ
तिमीलाई राम्रो भन्नेहरू झुठो बोलिरहेछन
यो ऐनाले त्यही देखाउँछ
समाजले जसरी देखेको छ
ऐना फेरेर केही हुन्न
तिमी त झन झन बेरुपी भैराखेका छौ
