पात्रहरू ः- (१) रमेश- (संस्थापक), (२) कृष्णप्रसाद- (प्रधानाध्यापक) र (३) श्यामदास, गेहेन्द्रभूषण, शारदारमण, तेजप्रकाश, रामबाबु, अशेष, सरुभक्त, ध्रुव, शारदा, बिमल, छायाँदत्त, कृष्ण र सौरभकिरण (क्रमशः नर्सरी, एल.के.जी., यू.के.जी., एक, दुई, तीन, चार, पाँच, छ, सात, आठ, नौ र दस कक्षाका विद्यार्थीहरू ।)

(पूर्वपश्चिम फर्किएको चार तले स्कूल छ । कक्षाकोठामा शिक्षक र विद्यार्थीको सामान्य कल्याङ्मल्याङ् आवाज आउँछ । दुई घण्टी लागेको आवाज सुनिन्छ । त्यत्तिकैमा केही विद्यार्थीहरू बाहिरिन्छन् । कोही धारातिर, कोही ट्वाइलेटतिर त कोही स्कुल पछाडितिर लाग्दछन् । स्कूलको दक्षिणमा चौर छ । त्यहाँ आँपको विशाल रूख छ । त्यही रूखको बोटमुनि बसेर संस्थापक रमेश विद्यार्थीहरूको चर्तिकला हेरिरहेका छन् ।)

रमेश ः- (चारैतर्फ नजर घुमाउँदै र बाहिरिएका विद्यार्थीहरूलाई सङ्केत गर्दै) ए बाबुहरू ! यता आओ, यता आओ । (नर्सरीदेखि दस कक्षासम्मका एकएक गरेर विद्यार्थीहरू विस्तारै विस्तारै डराउँदै त्यहाँ जम्मा हुन्छन् ।) ल, भन त, यत्तिका विद्यार्थीहरू एकै चोटी किन बाहिरिएका ? (त्यत्तिकैमा प्रधानाध्यापक कृष्णप्रसाद पनि त्यो जमातमा मिसिन आइपुग्छन् ।) अब भन त श्यामदास, यहाँ हामी एकैचोटी बाहिरिएका जम्मा कति जना भयौँ ?

श्यामदास ः- (औँलाले देखाउँदै) वान्, टु, थ्री…..फोर्टिन । टोटल फोर्टिन जना, सर !

रमेश ः- अहँ, जानेनौ । आफूले आफैँलाई गन्न विर्संदा कहिल्यै ठीक भन्न सकिन्न । यहाँ हामी जम्मा पन्ध्र जना छौँ । कुरा बुझेको हो ?

गेहेन्द्रभूषण ः- पन्ध्र जना भनेको वान्, टुको कति जना हो, सर ?

कृष्णप्रसाद ः- फिप्टिन हो, गेहेन्द्रभूषण ! (ठूला कक्षाका विद्यार्थीहरू मुस्कुराउँछन् ।)

रमेश ः- ल भन, स्कूल पछाडि गएर तिमीहरू के के गर्छौ ?

शारदारमण ः- (अघि सर्दै) म त पिसाव फेर्छु, सर !

रमेश ः- दिशापिसावको लागि चर्पी बनाइदिएको छ । त्यहाँ पो दिशापिसाव गर्नुपर्छ, हैन र ?

तेजप्रकाश ः- (डराउँदै) त्यहाँ त भूत बस्छ, सर । म त जान्नँ ट्वाइलेट-स्वाइलेट ।

रामबाबु ः- (अझ अघि सर्दै) हो, सर ! ट्वाइलेटमा कालो टाउको, लामा-लामा दारा, केस र नङ्ग्रा भएको भैँसीजत्रो भूत बस्छ । म पनि जान्नँ ट्वाइलेट ।

रमेश ः- (छक्क पर्दै र कृष्णप्रसादको मुहारतिर हेर्दै) हँ, के भन्छन् यिनीहरू, सर ?

कृष्णप्रसाद ः- (आश्चर्यचकित नजरले) हैन, खै, यिनीहरू नै जानून्, सर ! (विद्यार्थीतिर फर्केर) के भनेको त्यसो ?

रामबाबु ः- हो, सर । ट्वाइलेटमा ट्वाइलेट-भूत बस्छ । एकान्त पारेर हामीलाई लैजान्छ र खान्छ ।

अशेष ः- त्यो ट्वाइलेट-भूत ट्वाइलेटमै बस्छ रे । ट्वाइलेट सफा गर्ने दिदीले भनेको जहाँ फोहोर छ, त्यहीँ बस्छ रे त्यो भूत ।

सरुभक्त ः- यी साना बच्चाहरूले ट्वाइलेटमा जथाफावी फोहोर गरेकाले डर देखाउन ती दिदीले त्यसो भन्नुभएको हो, सर !

ध्रुव ः- मैले पनि सुनेको छु, सर । पिसाव फेर्ने ठाउँमा दिशा गर्ने र दिशा गरेपछि पनि पानी नहाल्ने गरेकाले दिदीले गाली गर्दै यस्तो फोहोर गरेमा भैँसीजत्रै लामालामा सिंह भएको ट्वाइलेट-भूत आएर यहीँ बस्छ भन्नुभएको थियो ।

शारदा ः- त्यसै दिनदेखि यी सानासाना भाइबहिनीहरू स्कूल पछाडि जान थालेका हुन्, सर !

बिमल ः- मैले नजाओ, ट्वाइलेटमै जाओ भनेको थिएँ तर यिनीहरूले मानेनन् ।

छायाँदत्त ः- यी साना भाइबहिनीहरू ट्वाइलेट जान छोडेपछि ट्वाइलेट पनि सफा छ ।

रमेश ः- (वाक्क हुँदै) ओहो, यो के भएको ? चर्पी दिशा गर्न र पिसाव फेर्नकै लागि त बनेको हो नि । खै, कुरा बुझेको ?

कृष्ण ः- सर, स्कूल पछाडि दिशापिसाव गर्दिनाले चारैतिर दुर्गन्ध फैलिएको छ । कहिलेकाहीँ कक्षाकोठामै ह्वास्सै गन्ध आउँछ ।

सौरभकिरण ः- हाम्रो कक्षाकोठाको हालत पनि उस्तै छ । देखे जतिलाई त हामी स्कूल पछाडि नजाओ भन्छौँ तर अघिपछि गइहाल्दा रहेछन् ।

रमेश ः- हेर, बाबु हो ! चर्पीमा दिशापिसाव गर्यो भने फोहर त्यहीँ रहन्छ । दिशा गरेपछि पानी हाल्दिँदा दिशा भित्रभित्रै खाल्डोमा जान्छ । फिनेल छर्किनाले रोगका किटाणु पनि मर्छन् र दुर्गन्ध पनि बाहिर आउन पाउँदैन । त्यसैले दिशा गरेपछि पानी हाल्न भने भुल्नुहुन्न । अनि धारामा गएर सावुनपानीले राम्ररी हात धोएर मात्र काक्षाकोठामा पस्नुपर्छ । जथाभावी दिशापिसाव गर्नाले, फोहर गर्नाले र फोहोर फाल्नाले वातावरण प्रदूषित हुन्छ । हामीलाई रोग लाग्छ । हामी विरामी पर्छौँ । विरामी भएपछि के हुन्छ, थाहा छ ?

श्यामदास ः- (केही उत्साहित हुँदै) थाहा छ, सर । बुवाले अस्पताल लग्नुहुन्छ । डाक्टरले सुई लगाइदिन्छ । सुईदेखि मलाई त डर लाग्छ ।

गेहेन्द्रभूषण ः- अहँ, म त विरामी हुन्नँ । म त सुई लगाउँदिनँ । धेरै दुख्छ ।

कृष्णप्रसाद ः- उसो भए जथाभावी फोहोर गर्ने बानी छाड्नुपर्छ । विरामी भयौ भने औषधी खानैपर्छ । सुई पनि लगाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले ट्वाइलेटमा मात्र दिशापिसाव गर्ने गर । कुरा बुझेको हो ? (स्वीकारोक्तीस्वरूप सबै जना मुण्टो हल्लाउँछन् ।)

शारदारमण ः- कुरा त बुझेँ, सर ! म त स्कूल पछाडि पनि जान्नँ र ट्वाइलेट पनि जान्नँ । आफ्नै घरको ट्वाइलेटमा दिशापिसाव गरेर आउँछु । मलाई त ट्वाइलेट-भूतदेखि डर लाग्छ ।

कृष्णप्रसाद ः- (हैरान हुँदै) ए बाबा, कुरा त बुझ न । भूत-सूत केही पनि हुन्न । यो संसारमा मान्छे र अरू प्राणी मात्रै छन् । निर्जीव वस्तुहरू पनि छन् तर भूत-सूत भन्ने कुरै छैन ।

रामबाबु ः- सर ! मान्छे मरेपछि भूत बन्छ रे । फोहोरी मान्छेलाई भूतले खान्छ रे । मलाई पनि भूतदेखि डर लाग्छ ।

रमेश ः- खै, कुरा बुझेको ? आजसम्म कसैले भूत देखेकै छैन । कसैले देखेको कुरा गर्छ भने त्यो उसको भ्रम हो । भ्रममा अल्झनु प्रगतिको ढोका बन्द गर्नु हो । दिशापिसाव लागेमा रोक्नुहुन्न । तुरुन्तै चर्पीमा जानुपर्छ ।

कृष्णप्रसाद ः- हेर बाबु हो ! मेरो कुरा सुन । तिमीहरूले जताततै फोहर गर्दिनाले हैरान भएर दिदीले भूतको कुरा उठाउनुभएको हो । फोहोरमा रोगका किटाणु जन्मन्छन् तर भूत जन्मदैन । ती किटाणुहरू हाम्रो हात, कपडा, माटो, पानी, हावा आदिका माध्यमबाट हाम्रो शरीरमा प्रवेश गरे भनेचाहिँ हाम्रो जीवन नै खतरामा पर्छ । (त्यत्तिकैमा तीन घण्टी लागेको आवाज आउँछ ।)

सौरभकिरण ः- भूत मान्छेको हल्ला मात्रै रहेछ । हल्लाको पछि लाग्दा पछुताउनुपर्छ । हल्लाले सत्यलाई ढाकेका धेरै उदाहरण छन् । त्यसमध्ये यो भूतको हल्ला पनि एक हो । (विद्यार्थीहरूतिर फर्केर ) ल, साथीहरू ! ट्वाइलेट जान डर लाग्नेहरूले मसँग सहयोग माग, म साथमा हुन्छु ।

रमेश ः- स्यावास, सौरभकिरण । ल, अब भूतदेखि डराउने कुरा छाड । फोहोर गर्नदेखि डराओ । मनमा लागेका कुराहरू निर्धक्कका साथ हामीलाई भन्न नहिच्किचाओ । आफू सफासुग्घर हुने र आफ्नो वरपरको वातावरण सफासुग्घर पार्ने बानी बसाल । तीन घण्टी पनि लागिसक्यो । हाम्रा कुरा बुझेको हो भनेचाहिँ अब कक्षाकोठातिर जाओ ।

सबै विद्यार्थीहरू ः- (एकै स्वरमा) सरी सर । अब हामी भूल दोहर्याउने छैनौँ ।

रमेश ः- लौ, भई गो बाबुहरू ! अब कक्षाकोठामा गएर पढ । (सबै विद्यार्थीहरू जान्छन् । कृष्णप्रसाद र रमेश मुखामुख गर्छन् ।)

(विस्तारै विस्तारै पर्दा खस्दै जान्छ ।)

०६७.०७.०५, शुक्रबार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *