भाग्यमानी रैछौ सानु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।
झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे ।
डोली चढ्दा कस्ती भैछौ अन्तिम पटक हेर्छु भन्दै
खोला वारी बाटो कुर्दा पारी पुल तरिछौ रे ।
वाचा कसम हजार थिए साथमा तिम्रो चिनो मैले
फिर्ता गर्छु भन्दै जाँदा बेँसीबाटै झरिछौ रे ।
मलाई ज्युदै जलाएर पराईलाई साथ दिदै
मेरै अस्तु सिँन्दुर बनाई सिँउदो तिम्ले भरिछौ रे ।
भरतपुर-१३, गजलकुन्ज चितवन
जवाफ – सरस्वती न्यौपाने
गर्दिनथे मैले बिहे बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज, आफैँभित्र मरे कान्छा ।
भगाएर लैजाउ भन्दा आँट गर्न सकेनौ खै
पराईको सिँदुर लगाई अन्तै बिहे गरे कान्छा ।
घुम्टो बाट चिहाई हेरे देख्छु कि त तिम्लाई भनी
अन्तिम चोटी भेट्छु भन्दै डोली बाटै झरे कान्छा ।
तिम्रो माया मेरो संसार दैव लाग्यो हामीमाथि
महलभित्र खुशी छैन चिहानमै सरे कान्छा ।
खुशी अनि सपनासँगै म पनि त जल्दा आखिर
आफ्नै अस्तु आज आफै सिँदुर बनाई भरे कान्छ ।
