आर्थिक मन्दीले रनमायाको ब्यापार घटेको छ

  • by


परदेशका उराठलाग्दा दिनहरूको न्यास्रो, थकाइ र एक्लोपनलाई मेटाउँदै केही मनोरञ्जन गरौं भनी मेरो एक जना साथीले गएको डिसेम्बर महिनाको अन्तिम शुक्रबारका दिन उसको कोठामा साँझको खानको लागि बोलायो । आफ्नो ड्यूटी सकेर हतार हतार गर्दै म पनि उसको बासस्थान तर्फ लागें । आफ्नो गच्छेअनुसार खाना पिना समयमा नै बनाएछ । म पुगेपछि उसका अरु दुई जना साथीहरू पनि आए । सामान्य चिनाजानी भएपछि साथीले एउटा म्याकडोयल्स्को बोतल खाट मुनितिरबाट निकाल्यो । सलाद र केही स्नयाक्स् एउटा प्लेटमा सजाएर खाजाको बोतल गिलासमा अलि अलि खन्यायो । कसैले थोरै र पानी पेप्सी मिसाए, कसैले त्यत्तिकै सुड्क्याए । शुरु शुरुमा अलिक लजाए झैँ गर्दै थिए । पछि नशाले छुन थालेपछि सबै जना खुल्न थाले । अक्सर लोग्ने मान्छेहरू बसेका ठाउँमा बढी छाडा र मनोरञ्जनका कुरा निस्कन्छन् । नशाले काम बासनालाई उत्तेजना फैल्याउने काम गर्छ । यस्तो अवस्थामा मान्छेले आफूले गरेका करतूतहरू सबै ओकल्न थाल्छ । त्यँहा पनि एउटाले अलिकति अर्कोले अलिकति गर्दै कुराहरू निकाल्न थाले । ती तीन जना तीन थरीका देखिन्छन् । एउटा लामा लामा हात खुट्टा, दुब्लो शरीर भएको, लामो कपाल पालेको, हातमा के केका तान्द्राङ्ग तुन्द्रङ्ग माला भिरेको चरीनङ्ग्रे बाहुन जस्तो छ । अर्को धम्मरधूस कालो हेरी नसक्नुको प्रष्ट नेपाली भाषा बोल्न पनि नजान्ने धसिमुग्रे छ । अर्को तीखा तीखा कपाल भएको, भ्याल्टाक्क भूडी झुञ्डिएको, आँखाले घूम ओढेको मैला दाँत भएको मतवाली जस्तो छ । रक्सीको चुस्की तान्दै चरीनग्रेंले कुरा झिक्यो । यो रक्सीसँगै अर्को पनि भएको भए भनेर ठूलो आवाज निकालेर हिहिहिहिहि गर्यो । धसिमुग्रेले कुरा थप्यो, तिमी त त्यै रनमायाको कुरोमा गैहाल्छौ । मतवाली जस्तो बोल्यो, ए केटा हो तिमीहरू पनि त्यै केटीमा जान्छस् कि के हो ? मरन्च्याँसेले भ्याल्टेलाई उल्ली बिल्ली पार्ने शूरले दाइको कुरा त बल्ल पो थाहा भयो भन्दै कोठा नै थर्किने गरी हाँस्यो । धसीमुग्रेले थप्यो, बूढो त हेर्दा मात्रै पो सोझो रहेछ ।

मेरो काम भनेको तिनीहरूको प्रकृति र चरित्रको अध्ययन गर्नु थियो । तर मेरो क्रियाकलापले चरीनग्रेलाई शंका भएछ क्यारे ? उसले मुख फोर्यो, के हो दाइ चाहिँ हाम्रो मात्रै कुरा निकाल्ने आफूचाँहि नभन्ने ? भन्दै र्याखर्याख्ती पार्यो । धसीमुग्रेले सोध्यो, तपाईँ नेपालमा के गरी हाल्नु हुन्छ ? मैले जवाफ दिएँ, म मास्टरी गर्थें । मेरो कुरा भूईंमा खस्न नपाउँदै मरन्च्याँसे बम्कियो, साले मास्टर…हरू भने पछि भ्याल्टेले सम्झायो, हेर केटा ! तेरो बहिनीलाई वहँाले त बरबाद गरेको हैन होला नि ? च्यँासे अलिक शान्त भयो र सरी भन्यो । च्याँसेकी बहिनीलाई त्यसै गाँउमा पढाउने कुनै मास्टरले बर्वाद पारेको रहेछ । उसको आक्रोशमा म परें । धसिमुगे्रले अलिक जिब्रो लट्पट्याउँदै भन्यो, अरे हो ! सबै सरबा एकै हुदैन । तिमी चाँडै रिसाइ हाल्छ, प्याक थप । सबैले एक एक प्याक थपे । सबैले आ–आफ्ना कराहरू पालैपालो सुनाउँथे । तिनीहरू मध्ये भ्याल्टे अलिक कम बोल्थ्यो र तार्किक कुराहरू बढी गर्थ्यो ।

म सभामुख जस्तै रुलिङ्ग गर्दै जान्थे, तिनीहरू बिगतमा आफूहरूले गरेका आफ्ना क्रियाकलापहरू ओकल्दै जान्थे । धेरै जसो अपशब्द बोलेर समय जान्थ्यो । यस्तै छाडा कुराहरू बोलेर मजा लिन्थे । च्याँसेले रनमायाको सौन्दर्य कुरा निकाल्यो । धसिमुगे्रले एक हलको मेलो हाँस्दै भन्यो, “अरे त्यो माल त झिम्पाक मटेरियल हो” । उनीहरूले पालैपालो रनमाया कहँा गएको काया कैरन निकाले । कोही हप्तामा पाँच चोटी गए, कोही सातै दिन गए । ओभर टायम गरेर कमाएको र बोनसबाट आएको पैसा मात्र खर्च गरेनन्, तलबको सबै पैसा त्यतैतिर फ्याँके । पाकिस्तानी र बाङ्गलादेशीको लाइन देखेको भए तिमी छक्क पर्थ्यौ भन्दै च्याँसेले अचम्म मान्यो । मिस्री र भारतीयहरू पनि कम जाँदैनथे । मैले नै कति चोटी घण्टांै घण्टा कुर्नू परेको छ, धसिमु्ग्रेले आफ्नो अनुभव सुनायो । त्यत्रो पैसा के गरी होली ? सबै अचम्ममा परे । चरीनगें्र अनुहार रातो बनाउँदै शौचालयतिर पसेर निकैबेर हरायो । तिम्रो यही त आदत खराब भएको छ भन्दै धसिमुग्रेले गाली गरे जस्तो गर्यो । उमेरमा यस्तै हुन्छ भन्दै भ्याल्टे फिस्स हाँस्यो । तिनीहरूले अनुमान लगाए, आर्थिक मन्दी नभएको भए रनमायाको ब्यापार कति चल्थ्यो होला ? अहिले त तलबको पैसैले खाँन लगाउन नै पुग्दैन,कँहाबाट त्यस कँहा जानु ? च्याँसेले निरासा ब्यक्त गर्यो ।

देबे्र हातको कान्छी औलाले दाँतमा लागेको खानेकुरा कोट्याएर भूईंमा ओच्छाएको कागज माथि थुथु गरेर थुक्दै भ्याल्टे बोल्यो, हेर केटा हो ! मान्छे परिस्थितिको कठपुतली हो । रनमायाको विवशता तिमीहरूलाई थाहा छ ? कसैले पनि आफ्नो ईज्जत त्यसै दाउमा लगाउँदैन । उसले पनि बध्यताको भूमरी भित्र परेर यसो गर्न पुगी । उसले बाँच्नु थियो । आफ्नो टुटेको जिन्दगीलाई कहंी न कहंी किनारा लगाउनु थियो, ब्यवस्थापन गर्नु थियो । उसले त्यसै गरी के बिगारी ? तर औरतको ईज्जतमा दाग लागेको राम्रो हुदैन नि दाइ ? धसिमुग्रेले प्रतिवाद गर्न खोज्यो । तँ मधिसे सधैं तर्क मात्र गर्न खोज्छस् भन्दै चरीनगे्र बोल्यो । अरे ओ छोड्का ! के को मधिसे ? तपाईँ हामी एकै आमाको सन्तान हैन ? देख्नुहोस्, म एक मधेस एक प्रदेश चाहिन्छ भनेर हामी नेपाली बीचको सम्बन्ध बिगार्ने ब्यक्ति हैन । के भन्छ त्यसलाई ? उपराष्ट्रपति पदको लागि हिन्दीमा सपथ खाने त्यो परमानन्द की धर्मानन्द झा जस्तो आद्मी म हैन । पसिनामा बाँच्नको लागि यँहा आएको छु । तर बेइमान गरेर खाएको छैन बुझ्यौ ? के तपाईँ छुट्टीमा जाँदा बृजकिसोरको गेष्ट हाउसमा पूरा मनोरञ्जन गराएको छैन । ऊ दाइ पूर्वको छ, तिमी पोखराको छ, म मधेशको छु, मलाई देखाउँदै ऊ सर पहाडको छ । हामी सबै मिलेर बसेको छैन ? धसिमुग्रेका आँखा टल्पलाए । त्यँहा झगडा पर्ला की जस्तो भएको थियो । भ्याल्टेले सुसुपालतिर हेर्दै भन्यो, तँ च्याँसे पनि त्यत्तिकै हेपेर बोल्छस् । यो कालेले तँलाई आफ्नो साख्खै भाइ भन्दा नजिकको ठान्छ । सुुसुपालले धसिमुग्रेलाई अगाँलो हालेर मेरो काले दाइ भन्दै कुंिडएको मन साफ गरे ।

भ्याल्टले रनमायाको जीवन कहानी सुनाउन शुरु गर्यो । रनमाया कलिलै उमेरमा आफ्नो शारीरिक शोषणको शिकार भई । ऊ यस्तो हुनुमा गरीबि, सामाजिक चेतनाको कमी र महिला माथि हुने असुरक्षाको कारणले गर्दा हो । राजमार्गको किनारामा एउटा सानो भट्टी पसल थापेर बसेको रनमायाको परिवार त खासै ठूलो हैनथ्यो । रनमाया,उसका दुई जना भाइ, बाबु र आमा गरी जम्मा पाँच जनाको परिवार थियो । दिन, महिना र बर्षहरू जसैतसै बितेकै थिए । भट्टीको दोकान हो, अठार थरीका मान्छेहरू आउने नै भए । कोही राम्रै ईरादा लिएर आउँथे, कोही नराम्रो नियत लिएर पनि आउँथे ।त्यो मान्छेको बिवेक, विचार र चरित्रमा भर पर्ने कुरा हो । उनीहरूको काम धन्दा नराम्रो नभए पनि मानसिक विचारको दरिद्रता भित्र मरेको हाम्रो समाजले त्यो भन्दा माथि उठेर महिलाहरूलाई हेर्दैनथ्यो । बढेका छोरीचेली देखे पछि प्रायः असभ्य लोग्ने मानिसहरूको भिड लाग्छ ।” रनमायाको भट्टीको दोकानमा पनि त्यस्तै हुन थाल्यो । त्यँहा गाडी चलाउने ड्राइभरदेखि कलेज पढाउने प्रोफेसरसम्म, कार्यालयका पियनदेखि हाकिमसम्म, गा वि सका वडा सदस्यदेखि माननीय सांसदहरूसम्मको लाइन हन्थ्यो । आपत्ति र दूर्गति बाजा बजाएर आउँदैन भन्छन् । रनमायाको दूर्गतिको दिन निम्त्याए त्यसै जिल्लाका सि डि ओ साबले । एक दुई पटकको आवत् जावत् र हेराइले सि डि ओ साबको होशले ठाउँ छोड्यो । रनमाया कुनै पनि मुल्यमा उनलाई चाहिने भई । कुरा मिलाउन खासै गाह्रो थिएन । शुत्र प्रयोग मात्र गर्नु पर्थ्यो । उनकै कार्यालयमा काम गर्ने पियनद्वारा कुरा चलाए । पियनलाई पदोन्ति हुनु थियो । “त्यसै पनि अड्डा कार्यालयमा घूष लिन र गैरकानूनी रुपमा काम गर्न यिनै निरिह कर्मचारीको सहयता लिन्छन् । निम्न तहका कर्मचारीलाई काम अह्राउँछन् र आफू नजाने जस्तो हुन्छन् । ” सि डि ओले पनि त्यसै गरे । पियन आएर रनमायाकी आमासँग कुरा चलायो । अफिसमा टाइपिष्टको नोकरी लगाई दिने हो । पछि पदोन्नति हुन्छ, खरदार, ना सु हुँदै अधिकृतसम्म पुग्ने सभ्भावना बतायो । रनमायाकी आमाले आफ्नी छोरी अधिकृत भएर सेतो नं प्लेट भएको सरकारी गाडीमा सुकिला कपडा लगाएर आएको दिउँसै सपनादेखि । ढीलो नगरी आफ्नी कलिली छोरीलाई सि डि ओसँग भेट्ने आदेश दिई । पियनले रनमायालाई लिएर सि डि ओको अफिसभित्र गयो । रनमायालाई बस्ने इशारा गर्दै पियनलाई बाहिर जानको लागि सि डि ओले आँखा झिम्कायो ।

अलि अलि आँखा भित्र गडेको, अगाडि माथि पट्टीका दाँत अलिक छिचरा भएको, अग्लो ढाकाको टोपी लगाएको ख्याउटे ख्याउटे परेको सि डि ओले राता र रसिला ओठ बनाएर रनमायातिर हेर्दै भन्यो, हेर नानी ! म जे भन्छु त्यही मान्दै जाऊ, पछि ठूली मान्छे बन्छौ, यो अफिस तिम्रो हुन्छ,गाडी तिम्रो हुन्छ के के भन्यो के के ? अब रनमाया कमारी रहिन । जागीर दुई महिना पछि भन्छ, चार महिना पछि भन्छ, तीन महिना पछि भन्दै बर्ष दिन बित्यो र आखिर ऊ सरुवा भएर अन्तै गयो । रनमायाले आफूलाई छाँगाबाट खसेको भेटी । कुरा मिलाउन लैजाने पियनलाई सोधी, उसले जवाफ दियो, हाकिम सापको सरुवा भैहाल्यो,मैले कँहाबाट जागीर लगाइ दिऊँ ? जो हुनु भई सकेको थियो । रनमायाले आफूलाई सम्हाल्दै हिम्मत गर्दै भनी “यस साले कुकुरको टाइपिष्टको जागीर नै किन चाहियो ? पैसा त जसरी पनि कमाइन्छ कमान्छ” भन्दै यो पेशा अगाल्न पुगी । शुरुका दिनमा उसलाई अलिक अफ्ठ्यारो लाग्यो । उसले ज्यान छोडी । समाजले रनमायालाई थुक्यो । उसले पर्वाह गरिन । जवानी थियो ग्राहकहरू आफैँ आउँथे । आफ्नै लगानीबाट हामीलाई उधोग धन्दा सञ्चालन गर्न पैसा हुदैन, तर यस्ता काममा खर्च गर्ने पैसा जट्छ ।

भ्याल्टेले दार्शनिक पारामा महिला र सेक्सको परिभाषा गर्दै भन्यो, “यदि सूक्ष्म रुपमा अध्ययन गर्ने हो भने महिलाहरू हरेक पलमा बिभिन्न रुपमा शोषण भएका हुन्छन् । बिहान घरबाट निस्किए पछि घर नपसुन जेलसम्म एक प्रकारको भय र त्रास भइनै रहन्छ । स्कूल पढ्ने बालिकादेखि कलेज पढ्ने युवती हुन् वा काम गर्ने कर्मचारीदेखि गाउँबेसी मेला पात गर्ने महिला सबै कहि न कही त शोषित भएकै हुन्छन् ।” शोषणका प्रकारहरू फरक फरक हुन सक्छन् । कसैले शारीरिक शोषण गर्छ,कसैले मानसिक शोषण गर्छ,कसैले,सामाजिक शोषण गर्छ भने कसैले महिलाहरूको सौन्दर्यताको शोषण गर्छन् । शारीरिक, मानसिक र सामाजिक शोषण चाहिँ महिलाहरू प्रति गरिने जघन्य अपराध हुन् भने सौन्दर्यताको शोषण चाहंी प्रकृतिको नियम वा सामान्य परिस्थितिको उपज हो । लोग्ने मानिसहरूले महिलाहरूको सौन्दर्य शोषण विभिन्न प्रकारले गर्छन् । “कसैले उनीहरूका आँखा हेरेर, कसैले हाँसोबाट, कसैले अनुहार र दाँतबाट, कसैले कपालबाट, कसैले शारीरिक पुष्टता हेरेर आनन्द लिन्छन् । यी शोषणहरू प्राकृतिक नियम भित्र पर्दछन् । यसलाई अपराध मानिदैन । सामान्य जीवन शैलीको पद्धति जस्तै हो । जीव शास्त्रको आवश्यकता हो भनौं,” भ्याल्टेले तिनीहरूको क्लास लियो । रनमायाको कुरा चाहिँ उसको बाध्यताको पेशा हो, उसले हामीलाई त्यसै मनोसञ्जन दिएकी छैन, पैसा पनि लिएकी छ । अगाडि के भयो भनेर त्यसलाई नहेर्ने हो भने यँहाको अवस्थामा हामीलाई दोष छैन, त्यत्ति अपराध लाग्दैन । फरक हामी आफैँले आफूलाई कन्ट्रोल गर्नु पर्छ । भ्याल्टे खाटमा अडेसा लागेर लेट्यो । अरु दुईटा प्याक थप्नमा ब्यस्त थिए ।

एल एन सुवेदी “हस्ती”
मंगलबारे ५ ईलाम
हाल : दूवई यू ए ई

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *