स्रष्टाको आन्दोलन मुखर हुनु जरूरी छ – हरिगोविन्द लुइँटेल

  • by


(वि.सं. २०१५ साल फागुन महिना २८ गते काठमाडौंँको ढुङ्गाअड्डामा जन्मनु भएका हरिगोविन्द लुइँटेलको साहित्यिक यात्रा वि.सं. २०३१ सालमा “परोपकार”पत्रिकामा प्रकाशित ‘मान्छेको म’ शीर्षकको निबन्धबाट प्रारम्भ भएको हो । वि.सं. २०४३-४४ मा “उत्साह” साहित्यिक मासिकको कार्यकारी सम्पादकको रूपमा काम गर्दै र २०४८ देखि “मूल्याङ्कन” मासिक र वि.सं २०५२ देखि “नवयुवा” मासिकको सम्पादन गर्दै आउनुभएका लुइँटेल स्रष्टा आन्दोलनमा २०३७ देखि निरन्तर लागिपर्ने जुझारू योद्धा हुनुहुन्छ । उहाँले वि.सं २०३७ को “सडक कविता क्रान्ति”मा सहभागी भई स्रष्टा आन्दोलनको आन्दोलन सुरू गर्नुभएको थियो । २०३६-३७ को “सडक कविता क्रान्ति”को क्रममा काठमाडौँंको काष्ठमण्डप चोकमा आयोजित कार्यक्रमा उहाँले प्रथम पटक कविता बाचन गर्नु भएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलन होस् या २०४६ सालको जनआन्दोलन होस् वा २०६२/०६३ को जनआन्दोलन होस्, सबैमा उहाँले रचना र अन्य विविध गतिविधिमार्फत् उल्लेख्य योगदान पुर्‍याउनुभएको छ । यस क्रममा उहाँ २०४६ मा १ पटक र २०६२-६३ मा ६ पटक गिरफ्तारीमा पर्नुभएको छ ।

साहित्य र पत्रकारिताका माध्यमबाट परिवर्तन र अग्रगमनको स्वरलाई मुखर बनाउने कार्यमा सदैव सक्रिय, स्रष्टा आन्दोलनमा छुटाउनै नमिल्ने एक नाम हरिगोविन्द लुइँटेलसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको स्रष्टा-आन्दोलनवार्ता यहाँ प्रस्तुत छ ः)

१. तपाईं स्रष्टा आन्दोलनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

-एउटा साँच्चिको स्रष्टा सधैंँ समाजको अग्रगमनको पक्षमा रहेको हुन्छ । समाजमा विद्यमान होची-अर्घेलीहरूबाट ऊ संवेदित रहेको हुन्छ । त्यसैले ऊ समाजको अग्रगामी रूपान्तरणमा लागि परिरहेकै हुन्छ । त्यसैले अग्रगमनको आन्दोलन र स्रष्टा एकअर्कामा निरन्तर जोडिएर रहेका हुन्छन् ।

२. ‘स्रष्टाको काम सडकमा सशरीर उत्रने होइन, सिर्जनामार्फत् जनतालाई सडकमा उत्रन प्रेरित गर्ने हो’ भन्ने भनाइप्रति तपाईंको धारणा के छ ?

-स्रष्टाहरू भनेका समाजका अति नै संवेदनशील प्राणीहरू हुन् । आमसर्वसाधारण जनताभन्दा उनीहरू एक कदम अगाडि नै हुन्छन् । त्यसैले उनीहरूले जनताका विशेष मुद्दाहरूमा जनतालाई साथ दिने मात्र हैन, अगुवाइ नै समेत पनि गर्ने गर्छन् । यसले उनीहरूको रचना र रचनाकारिताको विश्वासको आधार सिर्जना गर्छ । खासखास विशेष परिस्थितिमा उनीहरूले जनतालाई सडकमा, चोकमा, सङ्घर्षका मैदानहरूमा, न्यायप्राप्तिको लडाइँका हरेक मोर्चाहरूमा सशरीर नै पनि साथ दिने गर्छन् । यसो गर्नु जरूरी छ तर स्रष्टाले मूलतः आन्दोलनमा ऐक्यवद्ध रहने भनेको सिर्जनामार्फत् नै हो । सिर्जनामा सक्रियता र सिर्जनामार्फत् अग्रगमनको सेवा नै स्रष्टाको मूल चरित्र हो र हुनुपर्छ भन्ने मलाई लाग्छ ।

३. ‘स्रष्टाले सधैँ प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ, स्रष्टा आन्दोलन कहिल्यै रोकिँदैन’ भन्ने भनाइसँग तपाईं सहमत, असहमत के हुनुहुन्छ ?

-स्रष्टा सधैंँ अग्रगामी हुने हुनाले ऊ सधँैं प्रतिपक्षीजस्तो देखिने गर्छ । ऊ सधैँं समाजलाई यथास्थितिभन्दा अगाडि बढेको देख्न चाहन्छ । ऊ रोकिँदैन, ऊ सन्तोषी हुँदैन । सधँैं हिजोभन्दा आज, आजभन्दा भोलि ऊ समाजको बढोत्तरी चाहन्छ । त्यसैले स्रष्टाको निरन्तरको प्रतिपक्षी भूमिकाप्रति मेरो सहमति छ तर प्रतिपक्षी हुनु भनेको अराजक हुनु चाहिँ हैन । प्रतिपक्षका नाममा विरोधका लागि विरोधवाला राजनीतिक प्रचलनप्रति भने म सहमत हुन सक्दिन । अराजक ढङ्गले निरन्तर गनगन मात्र गरिरहने, नकारात्मकताको खेती गर्ने, अरूको उछित्तो मात्र काटिरहने र आफू भने केही पनि नगर्ने, अरूलाई अर्ति, उपदेश मात्र दिइरहने प्रवृत्तिप्रति चाहिँ मेरो विमति नै छ । स्रष्टा हुँ भन्ने नाममा आफ्नो विज्ञता र जानकारी बेगरकै विषयहरूमा पनि हल्का र अवस्तुवादी सिर्जना गर्नु चाहिँ बेकारको र गलत कुरा हो ।

जहाँसम्म स्रष्टाको आन्दोलनको प्रश्न छ, यो निरन्तर कायम रहने कुरा हो । जनताको अग्रगमनको आन्दोलन कहिल्यै रोकिन्न । रूप बदलिएको हुन्छ तर जनताको आन्दोलन सधैँं चालू नै हुन्छ । जनतासंँग स्रष्टा जोडिएको हुनेहुनाले स्रष्टाको आन्दोलन पनि रोकिन्न । स्रष्टा एकहदसम्म द्रष्टा पनि हुने हुनाले र उसको दृष्टि सूक्ष्मभन्दा पनि सूक्ष्म पक्षहरूमा पनि पर्ने हुनाले स्रष्टाको सक्रियता अन्य जनताको भन्दा ज्यादा नै हुन्छ । त्यसैले आमजनता चुप रहँदा पनि स्रष्टा भने क्रियाशील नै रहन्छ । गणतन्त्रको युगमा भर्खरै प्रवेश गरेको हाम्रोजस्तो समाजमा त स्रष्टाको आन्दोलन झन् मुखर रूपले जारी हुनु जरूरी छ ।

४. २०४६ सालमा तत्कालीन निरङ्कुश शासनविरूद्ध स्रष्टाहरूले गरेको आन्दोलनमा तपाईं पनि सहभागी हुनुहुन्थ्यो । त्यसबारे तपाईँका अविस्मरणीय सम्झनाहरू के के छन् ?

२०४६ को जनआन्दोलनका लागि आधारभूमि निर्माण गर्न विद्रोही र प्रगतिशील कवि-कलाकारहरूले लामो सङ्घर्ष गरेका थिए । त्यसको उत्कर्ष थियो- चैत ३ गते काठमाडौंँ, सरस्वती सदन, त्रिचन्द्र कलेजको प्राङ्गणमा लेखक-कलाकारहरूले गरेको कालोपट्टी प्रदर्शन । यसको तयारीको क्रममा एकेडेमीको गेटमा गर्न तय भएको सो प्रदर्शन तीन घण्टा अगाडि मात्रै सरस्वती सदनमा गर्ने टुङ्गो गरियो । केही प्रतिगामी लेखक-कलाकारहरूले सुराकी गरेर मण्डले सरकारलाई सघाएको कारण सुरूमै हस्तक्षेप हुने देखेर ठाउँ सारिएको थियो । त्यो ठाउँ परिवर्तनको खवर गर्न पुतली सडकको एउटा रेस्टुराँमा बसेर हामी केही लेखक-कलाकारले गोप्य योजना बनाएका थियौं । तीन घण्टाभित्रमा हाम्रो योजना सफल भयो । प्रतिगामीहरूलाई योजनाको सुइँको पनि नदिन त्यत्तिका लेखक कलाकारहरूले देखाएको प्रसंनीय अनुशासनको संझना म सधैंँ गरिरहन्छु । करिव १७५ जना जतिको सामूहिक गिरफ्तारीका क्रममा वयोवृद्ध कवि युद्धप्रसाद मिश्रको जोशिलो उपस्थितिको पनि मलाई सम्झना भैरहन्छ ।

५. स्रष्टा आन्दोलनको सम्झनामा स्थापित ‘सिर्जना, चैत्र ३’ नामक संस्थाले पोहोरबाट आफ्नै नामभित्र रहेको चैत ३ गतेलाई पनि सम्झिन छाड्यो । यसबारे तपाईं के भन्न चाहनुहुन्छ ?

-‘सिर्जना, चैत्र ३’ साहित्यिक अभियानलाई चैत ३ को प्रदर्शनमा संलग्न केही लेखकहरूले केही वर्ष अगाडि बढायौं । २०४६ चैत ३ को घटनालाई नेपाली समाजले नबिर्सोस् भनेर यसलाई अघि बढाइएको थियो । हाल यो अभियान यसको सचिवालय “मूल्यांकन” मासिकको कार्यालयमै सीमित हुन पुगेको छ । ‘सिर्जना, चैत्र ३’ को भेलामा २ वर्षअघि उठेको स्रष्टाहरूलाईर् सङ्गेट्ने खुकुलो तर “छाता” प्रकारको मोर्चा जरूरी छ भन्ने आवाजले मूर्त रूप लिएर २ वर्षपछि “लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मंच” स्थापना भई २०६२-६३को आन्दोलनमा राम्रो भूमिका खेल्न पुग्यो तर त्यो पनि पछि निस्क्रिय हुन पुग्यो । मलाई के लाग्छ भने, अव गणतन्त्र नेपालको “शाही” शव्द हटेको एकेडेमीले यी कामहरूको जिम्मा लिनुपर्छ । २०४६ को चैत ३ वा २०६२ को चैत ३० जस्ता दिनहरूलाई सम्झने र तिनको आदर्शलाई उँचो राख्ने काममा अव राज्य स्वयं संलग्न हुनुपर्छ ।

६. तपाईँसमेत केन्द्रीय तहमा रहनुभएको २०६२/०६३ को जनआन्दोलनमा स्थापित ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ को अचेल कुनै गतिविधि देख्न पाइएको छैन । यसको औचित्य समाप्त भइसकेको हो या अझै केही बाँकी छ ?

-हो, २०६२/६३ को जनआन्दोलनमा स्थापित ‘लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च’ अहिले निस्क्रिय रहेको छ तर यसको औचित्य समाप्त भएको छैन भन्ने मलाई लाग्छ । कारण, जुन लोकतन्त्रका लागि हामीले संयुक्त मञ्च बनायौं, त्यो लोकतन्त्र अझै खतरामुक्त भएको छैन र यसलाई जनताको पक्षमा काम गर्ने जनमुखी चरित्रको बनाउनु अझै बाँकी छ । लोकतान्त्रिक संस्कृतिको निर्माणका लागि स्रष्टाहरूले मिलेर धेरै नै काम गर्नु बाँकी छ । एकेडेमीलाई वैचारिक रूपले समावेशी नबाएर र एकपक्षीय बनाएर ठूलो गल्ती गरिएको छ । समावेशी भएको भए एकेडेमीको मञ्चलाई प्रयोग गरेर पनि स्रष्टाहरूको संयुक्त पहललाई कुनै न कुनै रूपमा जीवित गर्न सकिन्थ्यो ।

७. जनआन्दोनका बेला लोकतन्त्र पक्षधर स्रष्टाहरू मिलेर एउटै मञ्चमा कार्यक्रम गर्छन् तर जनआन्दोलन सकिएपछि तिनै स्रष्टाहरू मन्चमा पनि आफूले माया गर्ने राजनीतिक दलको अनुहार खोज्नथाल्छन् । यस्तो प्रवृत्तिलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ ?

-यसबारेमा यथार्थवादी हुनुपर्छ भन्ने म ठान्छु । समाजमा दलमा सम्बद्ध र दलमा असम्बद्ध दुवै थरी मान्छेहरू हरेक तब्कामा हुने गर्छन् । उनीहरूको प्रतिनिधित्व हुने गरी कुनै पनि मञ्च निर्माण गर्ने कोशीस हुनुपर्छ । यो भनेको कुनै पनि त्यस्तो मञ्चमा सवैको सरोकारलाई संवोधन गर्ने कार्यक्रम र संरचना तयार गर्नु हो । दलीय व्यवस्थामा दलहरू अगाडि आउनुलाई नराम्रो मान्नु जरूरी छैन । दललाई गन्दै नगन्ने र दललाई मात्रै सर्वस्व ठान्ने दुवै प्रवत्ति गलत हुन् ।

८. ०६२ /०६३ को स्रष्टा आन्दोलनको गर्भबाट जन्मिएको संस्था ‘स्रष्टा, चैत्र-३०’ ले चैत महिनाको कुनै एक दिनलाई स्रष्टा दिवस घोषणा गरियोस् भन्ने प्रस्ताव गरेको छ । यसप्रति तपाईंको धारणा के छ ?

-यो राम्रो प्रस्ताव हो । चैत ३ अथवा चैत ३० लाई स्रष्टा दिवसको रूपमा मनाउने परिपाटी बसाल्न सके त्यसले भावी पुस्तासम्ममा स्रष्टाहरूको लोकतान्त्रिक दायित्वबोधको भावना जगाइरहने छ । काठमाण्डौं त्रिचन्द्र कलेज सरस्वती सदनछेउमा एउटा “चैत्र ३ स्मृति स्तंभ” खडा गर्न सके देश-विदेशका लेखकहरू यहाँ आउँदा भेला हुने एउटा थलो पनि हुन्थ्यो र उनीहरू एउटा आत्मप्रेरणा बोकेर फर्कन्थे भन्ने ठानेर हामीले केही प्रयत्न पनि थालेका थियौं, तर सरकार फगत एक सय वर्ग फुट जग्गा उपलब्ध गराउन पनि तयार भएन ।

९. परिवर्तनका लागि ज्यानको बाजी थाप्ने कतिपय स्रष्टाहरू परिवर्तनपछि राजनीतिक दलका कारिन्दाजस्तै बनेका उदाहरण छन् । यसबारे तपाईं के भन्न चाहनुहुन्छ ?

-कोही राजनीतिक दलका राम्रा कार्यकर्ता नै बनेमा म त्यसलाई राम्रै मान्छु । असल नेता, असल कार्यकर्ताको खाँचो छ देशलाई । यहाँ त कारिन्दा बनेर पो समस्या भएको हो त । तपाईंले भनेजस्तो उनीहरूले हिजो परिवर्तनका लागि ज्यानको बाजी थापेका हुन् तर अब व्यक्तिगत स्वार्थको खेलमा तिनले आफूलाई डुबाएका छन् । उनीहरू यसरी चारीवाज कारिन्दा बन्नुमा उनीहरूको दलसमग्रकै चरित्र नराम्रो हुँदै जानु पनि प्रमुख कारण हो भन्ने मलाई लाग्छ ।

१०. अन्त्यमा २०६२ साल चैत ३० गतेको स्रष्टा आन्दोलनमा प्रहरीले तपाईंको टाउकोमा बेस्सरी लाठी प्रहार गरेको थियो । अहिले त्यो घाउ बल्झिन्छ कि बल्झिदैँन ?

-हो, बानेश्वरको उकालोमा खुला सडकमा पुलिसले जुलुसमाथि लाठी बर्सायो । मेरो टाउकोमा हानेर एउटा लाठी, काँधमा हानेर अर्को लाठी भाँच्यो । उपचार गर्ने क्रममा जिउ खोलेर हेर्दा डडाल्नुमा सिमि्रक रङका राता मुस्लाहरू परेका डामहरू तीनवटा रहेछन् । मैले यसरी लाठी खानु कुनै अनौठो कुरो मानेको छैन । हज्जारौं नेपालीहरूले राजतन्त्रको प्रहार खेपेका हुन् । हज्जारौंले ज्यानैसमेत गुमाएका हुन् । त्यतिखेर आन्दोलनको बेलामा खाएको लाठीको चोटभन्दा पनि मलाई आन्दोलनका उपलब्धिहरू व्यवस्थित हुन नसकेकोमा दुःखाइ अनुभव हुन्छ । यो व्यवस्थित गर्नलाई पनि लामो भित्री-बाहिरी सङ्घर्ष जरूरी पर्छ भन्ने कुरामा पनि म प्रष्ट छु ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *