केदारनाथको ‘शिर’ डोलेश्वर महादेव

  • by


उपत्यकाका प्रसिद्ध ऐतिहासिक तीन सहरमध्ये भक्तपुर सहरबाट दक्षिण-पूर्वी कुनोमा अवस्थित सिपाडोल गाउँमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर काठमाडौँबाट पनि धेरै टाढा छैन । काठमाडौँबाट सूर्यविनायक गणेशमन्दिरतिर लाग्ने मोड भक्तपुरको पहिले ट्रलिबस रोकिने ठाउँसम्म पुगेर त्यहीँबाट सिपाडोल जान बस समाएर सूर्यविनायक गणेशमन्दिरको बायाँतिरबाट पन्ध्र मिनेट जत्तिकै बिमला नाम गरेको खोलावारी सिपाडोल बसपार्क पुगिन्छ । त्यहाँबाट पूर्वतर्फको कच्ची सडक हुँदै पैदल तल ओर्लेर बिमला खोलामाथिको पुल तरेर उकालो लगभग आधा घन्टा हिँडेपछि डोलेश्वर मन्दिर भेटिन्छ । पर्यटन वर्ष सन् २०११ को अवसरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा अनेक नारा र कार्यक्रम राखेर खर्चिलो तामझाम गरिए पनि सो स्थान र मन्दिरको कुनै चर्चा गरिएन ।

भारतको उत्तराखण्डस्थित पवित्र केदारनाथ धामसँग प्रत्यक्ष सम्बन्ध जोडिएको तथा केदारनाथकै शिर भाग भएको प्रमाणित भैसकेको डोलेश्वर महादेव मन्दिर यदि अन्यत्र भैदिएको भए त्यहाँ कत्रो सुन्दर व्यवस्था गरिन्थ्यो होला, त्यहाँ कति मान्छेको कसरी ओइरो लाग्थे होलान् हामी अनुमान नै गर्न सक्तैनौँ । सिपाडोल गाउँ र त्यस आसपासको इलाकाको काया पलट नै भैसक्थ्यो धेरै धेरै पहिले नै तर हामी भने माल पाएर पनि चाल नपाउनेमा पर्‍यौँ । यो अत्यन्तै दुःखद र दुर्भाग्य हो । हामीले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको डोलेश्वर महादेव जस्तो पवित्र धामका सम्बन्धमा यथोचित प्रबन्ध र आवश्यक प्रचार प्रसार केही पनि गर्न सक्तैनौँ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं आधुनिक पर्यटकीय दृष्टिले समेत अत्यन्तै सुन्दर सम्भावना बोकेको केदारनाथको शिर भाग मानिएको डोलेश्वर महादेव मन्दिर वास्तवमा भक्तपुर जिल्लाको सिपाडोल गाउँको मात्र सम्पत्ति होइन त्यो त सम्पूर्ण नेपाल राष्ट्र र हिन्दू विश्वसमेतको साझा सम्पत्ति र तीर्थस्थल हो ।

भारतको उत्तराखण्डस्थित यमुनोत्री, गङ्गोत्री, केदारनाथ बदरीनाथसमेत कन्याकुमारीसम्मको यात्रा गरेर चारैधाम पूरा गरेर फर्केको मैले भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेवको सम्बन्धमा भरतमणि जङ्गमद्वारा एक पत्रिकामा प्रकाशित लेखमार्फत केही वर्ष अगाडि मात्र मैले जानकारी पाएको हुँ । भारतको उत्तराखण्डस्थित श्री महादेवको ढाडस्वरूप मानिएको केदारनाथको शिलालाई दुवै हातले छोएर शिरले टेकेर र अङ्गालो मारेर आफैले दर्शन गरेर आएको हुनाले केदारनाथको शिर भाग स्वीकार गरिएको भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेवको यो सन्दर्भ उठान गरेको हुँ ।

डोलेश्वर महादेव विशाल कालो पत्थरको शिवलिङ्ग राँगोको टाउको (शिर) झैँ माथि उठेर दायाँतर्फ कोल्टो परेर ढल्केको छ र चाँदीको नागले बेष्ठित भएर रहेको अति सुन्दर देखिन्छ । सुन्दर शिवलिङ्गको बायाँतर्फ त्रिशूल, डमरू र पित्तलको बञ्चरो गाडिएको छ । मन्दिरको पश्चिम मूलद्वारको दुवैतिर ठूला कलश राखिएका छन् । मन्दिरको चारैतिर ३-४ का द्वारहरू रहेका छन् र उत्तरतर्फको द्वार अगाडि जल बगिरहने हुनाले सधैँ बन्द रहने गरेको छ । ९० सालको भूकम्पमा तीन तल्ले झिँगटीको छाना भएको मन्दिर भत्किएपछि सोही ठाउँमा गुम्बज आकारको छाना भएको भुइँतले मन्दिर बनेको हो जसको शीर्ष भागमा पित्तलको गजुर र पहेँलो कपडाको पताका फहराई रहेको देख्न सकिन्छ । मन्दिरको छाना वरिपरिको पहेँलो चँदुवाको तल हरियो रङको फेर (बोर्डर) रहेको छ । मन्दिरको छानाको चार कुनामा त्रिशूल रहेका छन् भने मन्दिरको दायाँ ठूलो घन्टा र बायाँपट्ट िसानो घन्टा रहेका छन् । मन्दिरको दाहिनेतर्फ अर्थात् दक्षिणतर्फ एकसय बीस (१२०) धार्नीको पत्थरको त्रिशूल गाडिएको छ जसमा ८४९ नेपाल संवत् कुँदिएको छ । मन्दिरको पश्चिमतर्फको मूलद्वारको अगाडिको प्राङ्गणमा शिलाको बसाहा (नन्दी) को मूर्ति स्थापित छ । मन्दिरको दक्षिणपूर्व कुनो अर्थात् शिलाको त्रिशूल अगाडि दीप प्रज्ज्वलनका लागि वरिपरि दियोको स्थान रहेको छ भने रङ्गीचङ्गी टायल लगाइएको बिमलादेवीको सानो चिटिक्क परेको मन्दिर छ ।

मूल मन्दिरको दक्षिण पश्चिम कुनोमा रहेको अर्को सानो मन्दिरमा पहिले नारायणको मूर्ति रहेकोमा २०३४ सालमा चोरी भएपछि हाल शिवलिङ्ग स्थापना गरिएको छ । मन्दिरको बायाँ अर्थात् उत्तरतर्फ अविरल जल प्रवाह भइरहने ढुङ्गेधारा छ भने दायाँतर्फ भजन कीर्तनका लागि पक्की सत्तल र अग्निकुण्ड छ । बिहान बेलुका नित्य पूजा र आरतीको बेलामा त्यहाँ भेला हुने भक्तजनद्वारा सत्तलमा भजन कीर्तन हुने गर्दछ । श्रीमद्भागवत र शिवपुराण लगाएर उठेको चन्दा र दानबाट सो लामो दुई तले सत्तल निर्माण भएको हो । मूल पुजारी जङ्गम थरका मानिसहरूले सम्भवतः मल्ल राजाहरूको पालादेखिनै पूजाआजा गर्दै आएको बताइन्छ । अरू ढोका विशेष दिनमा मात्रै खोलिन्छ भने पश्चिमको मूलढोका सधैँ खोलिन्छ । मूल ढोकाको रूपमा प्रयोग भए पनि चारै ढोकाको चौकोसको आकार भने अलगभग एकैनासको छ । वर्षको ३ पटक वैशाख/जेठमा पर्ने अक्षय तृतीया, केदारनाथको शिर घोषणाको वाषिर्कोत्सव भदौ ६ गते र शिवरात्रीको दिनमा सर्वसाधारण भक्तजन आफँैले मन्दिरभित्र शिवलिङ्ग छोएरै पूजा र ढोग दर्शन गर्न पाउने चलन छ । अरू बेला भक्तहरूको फूलमाला पूजा सामान र भेटी आदि पुजारीहरूद्वारा मात्र चढाउने व्यवस्था छ ।

उत्तर, पूर्व र दक्षिणतर्फ अग्लाअग्ला हरिया डाँडाहरूले घेरिएको र बीचमा रमणीय थली परेको जमिनमा अवस्थित डोलेश्वर महादेवको मन्दिरको वरिपरि गोदावरीको सङ्गमरमरले सजाइएको छ भने वरिपरिको प्राङ्गण परिसरमा ठाडो पारेर इँटा बिछ्याइएको छ । मन्दिर परिसरको उत्तरमाथि सिपाडोल-माली गाउँ र पूर्वतर्फ चित्तपोल, दक्षिणतर्फ गुण्डुगाउँ र पश्चिमतिर सूर्यविनायक पर्दछन् । मन्दिर परिसर बाहिर ठूलो सिँगारिएको तोरणसहितको द्वारले यात्रुहरूको स्वागत गर्दछ भने परिसरभित्र दायाँतिर केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको कार्यालय, सिपाडोल-६ भक्तपुर, स्थापना २०६१ लेखिएको ठूलो साइनबोर्ड दृष्टिगोचर हुन्छ । मन्दिरको मूलद्वारसँगै भित्तामा एक शिलापत्र टाँसिएको छ जसमा यस्तो अङ्कित छ ः ॐ नमः शिवाय-भारत उत्तराञ्चलका केदार पीठाधीश्वर जगद्गुरु श्रीश्रीश्री १००८ श्री भीमाशङ्करलिङ्ग शिवाचार्य माहास्वामीबाट डोलेश्वर, बिमलेश्वर र सिपारे भनिने यस शैव मन्दिरलाई श्री केदारनाथजीको शिरोभागका रूपमा प्रमाणित एवं घोषणा गर्दै यस शिलापत्रलाई अनावरण गरिएको दस्तावेज पढ्न पाइन्छ ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *