आज सारै मुडअफ छ उसको । भान्छाको कुरा सम्झदा उसको अनुहार लाजले रातो भयो । उसले दायाँबायाँ पल्याकपुलुक हेर्‍यो । साथै मनमनै थकथकायो! “खान बस्दा स्वास्नीले भात जीउमा फालिदिनु कम बेइज्जती हो ? अलिकति नछलेको भए दालभातको स्नान हुन्थ्यो । छोराछोरीको अगाडि के लडामती गर्नु भनेर बाहिर निस्केँ ।”

कुरा चाहिँ यसरी बढेको थियो! “छोरीको बिहाको कुरा आएको छ….सबै बुझ्दा राम्रै देखिन्छ । अब खर्चबर्चको जोरजाम गर्ने होइन….?” श्रीमतीले भात पस्किँदै गर्दा भनेकी थिई । “ए..ए..लगभग खर्च कति लाग्ला ? यताउता बुझेकीछ्यौ ?” पस्किरहेको भात हेर्दै उसले सोधेको थियो । उसकी श्रीमतीले उत्साहित हुँदै बताएकी थिई’ “महँगीले गर्दा सबै….छोई नसक्नु छ । कम्तीमा पनि नौ दस लाख….लाग्छ होला ।”

रकम सुनेर ऊ एकदमै झस्केको थियो! “आम्मा…माऽऽ आ यत्रो पैसा मैले कताबाट ल्याउने ?….दुई चार लाखको कुरो हो भने सञ्चयकोषबाट ऋण सापट र नपुगे साथीभाइहरूसित रोइकराई झार्न सकिन्थ्यो होला नौ दस लाख ।” त्यसपछि स्वास्नीको हर्षको पारो लरक्क तल झरेको थियो तर आवाज भने निक्कै माथि चढ्यो ।

तपाईं कुन जमानामा हुनुहुन्छ ? हँ ! मान्छे हाँस्ने कुरा नगर्नुहोस् । दुईचार लाखले त इङ्गेजमेन्ट पनि हुँदैन । लोग्ने मानिस भएर अलि स्मार्ट त हुनुपर्छ । बालबच्चा जन्माएर दुई छाक भात दिएर मात्रै पुग्छ ? उसको कम्पडा पनि निक्कै रन्क्यो । के दिनमा पाँच छाक तिमीहरूलाई ख्वाउनुपर्‍यो मैले । सकिन्न यत्रो रकम जुटाउन….कि दिउँसै लुट्नुपर्‍यो,… कि रातमा अरूको घर फोर्न जानुपर्‍यो ।”

छोराछोरी दुवै मुखामुख गर्दैथिए । भान्छाकोठाको अवस्था रापिँदै र बाफिँदै थियो । स्वास्नीले छोरीतिर फर्केर व्यङ्ग्य कसेकी थिई उसलाई- “देख्यौ तिम्रा बाउको तालवेतालको कुरा । यस्तो मान्छेले झन् अरू…के गर्न सक्लान् ?’ छोराछोरीले पनि टाउको हल्लाउँदै मौन समर्थन जनाउँदै थिए । त्यो बल पाएर झर्ने स्वर अकासियो! “दुनियाँले छोरीको बिहा चोरेर….घर फोरेर गरेका छन् ? तपाईंका साथीहरूले तेत्रो बन्दोबस्त लुटेरै गरेका हुन् ? ऊ पनि के कम लाज त बचाउनै पर्‍यो! बढ्ता मुख नचलाऊ । नसक्ने कुरो मैले कसरी गर्ने ?….त्यति पैसा सक्तैसक्तिनँ । तिमी आफैँ जुटाउ कहीँबाट….मुख भने खुब चलाउन सक्छ्यौ ।” कुरा बीचैमा उछिन्दै कराई-यस्ता कामै नलाग्ने हुतीहारा….सिल्पट । उसलाई त्यसपछि खपिनसक्नु भो । दाहिने हात के उचालेको थियो क्रोधले, ऊ भन्दा पहिला….. “लौ….. जाउ त… यही नै खोज्या होइन । ” भन्दै दाल भात उसको आङमा हुत्याएकी थिई श्रीमतीले ।

यसबेला ऊ सडकमा लखरलखर हिँड्दै विचारमग्न छ । आ….सब बेकार हो, मरेपछि केई न केई, कोही न काई । यो मायाको अन्तरित पाशमा, छोराछोरी, बाबुआमा, लोग्नेस्वास्नी, धनसम्पत्ति प्रत्येक चिज क्षणभङ्गुर हुन् । कुनै समयमा एकजना साथीले भनेको उक्ति ठ्याक्क घाँटी लाग्यो -“भज गोविन्दम् भज गोविन्दम् । भज गोविन्दम् मूढमते । पुनरपि जननं, पुनरपि मरणं । पुनरपि जननी जठरे सयनं….भज गोविन्दम् मूढमते ।। अहो ! साँच्चै, गुहुमुतका थाङ्नामा म ढल्दैछु र गल्दैछु । हरे ! कस्तो निस्सार र एकमय छ मेरो जीवन ! पिँध बिनाको लोटा जस्तो…..।’….च र् र् र् ध्याच्च ..गाडीको ब्रेक जोरले लाग्छ । ऊ तर्सेर थर्र् काँप्छ साथै चालकले बेस्सरी हपार्छ, “ए..दाइ के चाला हो …? आँखाकान छैन ? ….के खालको मान्छे….होला….।” केही नसुनेझैँ ऊ हस्याँङफस्याँङ गर्दै बाटो काट्छ । एउटा निश्वाससँगै सुस्केरा हाल्छ, “जतासुकै डरैडर, घरमा स्वास्नी छोराछोरीको, अफिसमा हाकिमको, वरिपरि समाजको र बाहिर पनि निर्धक्क घुम्न नपाउनु मोटरगाडीले सिद्धियाइदेला कि भन्ने डर । मान्छे डरमुक्त कहिले होला….?….सायद आफैँ सिद्धेपछि ।”

ऊ सडकमा मन खेलाउँदै एकसुरले बगिरहेको छ तर थाहा छैन उसलाई कता जाँदैछ ? बिहानको भात छाडेर निस्केको तर भोक भने उसलाई रत्तिभर छैन । झ्वाट्ट सम्भिmँदै खल्ती छाम्छ । ‘ल पर्स पनि छुटेछ । बरबराउँदै घडी हेर्छ । घडीले साढे एघारलाई नाघ्दै छ सँगसँगै ऊ बाटोको सानो मोडलाई पार गर्दैछ ।….प्याँ प्याँ..अप प् प् प्याँ..प्याँ.. जोरका झड्का हाय जोरो से लगा… शादी बन गई उमर कैदकी सजा…प्याँ..प्याँ..अप प्प् प्याँ…प्याँ…। पाइला टक्क अडियो र उसको सोचाई विच्छेद भयो । अनायास बोल्यो! “यो खप्पर भने बोकेकै रहिछु… मोबाइलको घाँडो । उसैले गरेकी होली, आ…जति गर्छे गरोस्….” मोबाइल बजिरहृयो । आखिर मोबाइल थाक्यो । एकाएक उसको ध्यान रिङटोनमा पुग्यो! “आफूलाई रिङटोन भर्न आउँदैन, हिजो बेलुका छोरोलाई राम्रो टोन राख्दे भनेको त यस्तो गीत पो भरेछ । कत्ति पल्ट टोन फेर्नु ? के के भर्छ, कहिले मुन्नि बदनाम हुई डार्लिङ तेरे लिए, कहिले सीलाकी जवानी….। जमानै यस्तो छ, सबै ठाउँमा यस्तै कुराको चर्चा हुन्छ । रेडियो, टेलिभिजन, न्युजपेपरमा कुनै गहन विषयभन्दा युवक-युवतीका मसल्स, ओठ, स्तन र नितम्बले अधिक ठाउँ पाउँछन् । उनीहरूको पनि के दोष ? जे बढी बिक्छ त्यही पस्किन्छन् ।” बजारको भीडलाई छल्दै लगातार ऊ गइरहेको छ । मोबाइल बज्छ । झर्किदै गनगनाउँछ, “यसले सासै खाइसकी । रिसिभ गर्दै ठर्रो बोल्छ, अँ भन के भो तिम्लाई….एकतारे….मो….। बीचैमा काट्दै उताबाट बोल्छे! “केही भाको छैन । अघि कत्ति मोबाइल गरेँ, किन नउठाको ? रिसाको हो ?” “नकराउ धेरै । बहुत टेन्सन भो, अहिले घर फर्किन्न । लजमा सुत्छु आज । मोबाइल नगर्नु अब । उसले घुक्र्याउँछ । उताबाट जिस्किँदै भन्छे, …..के आज नफर्किने,….उतै लजमा सुत्नुहुन्छ ? साथमा कोही छ कि सँगै सुत्ने ? “भयो चुप लाग, बढी कुरा नगर चार्ज सिद्धियो ।’ उसले लाइन काट्दै संवाद टुङ्ग्याउँछ । बिरक्त हुँदै सोच्छ,- “शनिबार त हो, के को फिक्री ? न घर ढलेको छ न वन डढेको केवल मन बलेको हो । हिँडिदिन्छु कहिल्यै नसिद्धिने यो बाटो ।” प्याँ..अप् प् प् प्याँ..प्याँ.. जोरका झड्का…। झनक्क रिसाउँछ र मोबाइलमा पोख्छ, “…कति गरेको, तिम्लाई फेरि मोबाइल नगर भन्या होइन….?” तर उताबाट तुरून्तै अर्को स्वर आउँछ’ “होइन म मुरारीप्रसाद, नमस्कार दाइ चिन्नु भएन ? हिजो भाउजूसित पनि कुरा भाकोथ्यो ।” अर्कैको स्वर सुन्दा अलि रल्ल पर्छ र चिन्छ तुरून्तै “अह…यो त लमी पो हो….। … ‘हलो दाइ…।’ बल्ल जवाफ दिन्छ, “नमस्कार भाइ चिने, चिनेँ । अँ भाइ के भो त्यो कुरा ?” मुरारीप्रसाद हौसिँदै फलाक्न थाल्छ, “यस्तो केटा नफुत्काउँ हजुर नगरपालिकाको ठूलो ठेक्दार हो । कपनमा चारतले मार्बलैमार्बलको घर छ । केटाको बाउले पनि धोबीखोलाको बालुवा बेचेर करोडौँ कमाएका छन् । दाइजोपात पनि त्यस्तो नचाहिने रे…।” कुरा सुन्दा प्रफुल्लित हुँदै बोल्छ ऊ “कति राम्रो विचार र संस्कार रहेछ ।” कुरा उछिन्दै उताबाट भन्न थाल्छ- तर हजुर समय सुहाउँदो इज्जत धान्नुपर्ने देखिन्छ ।” ऊ खिन्न भएर प्रश्न गर्छ! “मलाई केही थाहा छैन, केके गर्नुपर्ने हो ? सबै खुलस्त भन्नुहोस् ।” मुरारीप्रसाद मध्रुो स्वरमा भन्न थाल्छ, “त्यही त हो नि, जुँगा हेरेर मान्छेको भाउ हुँदोरहेछ हजुर । खास भन्ने हो भने तेत्रो डिमान्ड छैन । लुगाफाटा, फर्निचर, भाँडाकुडा, गरगहना, यस्तै हो । फर्माइस सुनेर हतास हुँदै सोध्छ, “ओहो । सुन त बेपत्ता महँगो छ । क-कसलाई, कति…कति आनाको गहना…।” हाँस्दै बीचैमा मुरारीप्रसाद बोल्छ, के आनाको कुरा गर्नुभको…हजुर ! सुनपानी छर्केर चोख्याउने हो र ? बिहाका लागि पो त ।….जग्गा हो भने धेरै राम्रो… ।” “ए…ए…, भाइ थाहा भएन मलाई, राम्ररी खुलाउनुस् न ।” लमी थाकेँ झैँ खोक्न थाल्छ, र सुरू गर्छ, “मलाई बाध्य नै पार्नु भो, ल सुन्नुहोस् राम्ररी । केटाको बाउ आमालाई २-२ तोलाको सिक्री, दिदी बहिनीलाई १-१ तोलाको औँठी साथै लुगाफाटा । अहो ! कस्तो बिर्सेको….बिचरा केटाचाइँले एउटा गतिलो सिक्री मात्रै खोज्या छ । ऊ हडबडाएर बोल्छ, भन्नुस्, त्यसलाई कति को सिक्री….। उताबाट खोक्दै भन्छ, कस्तो ठण्डी लागेर । ए अँ….२-३ तोलाको उसको घाँटी मै हराउँछ । दिए भो नदिए भो । त्यही ४-५ तोलाको सुहाउँछ हजुर । किनभने मान्छे पनि ज्याङ्गो खाइलाग्दो छ ।………। हलो हलो टावर टिपेन कि क्या हो हजुर । “अचानक दुवै लाइन काटिन्छ । “हलो”…”हलो” मोबाइलको सुरमा कुनै मान्छेसँग ढ्याक्क ठोकिन्छ । त्यो मानिस रन्थनिएर कराउँछ । ऐय्या….कस्तो मान्छे तपाईं । कान मोबाइलमा भए पनि आँखा त बाटाँ हुनुपर्छ नि । “सरी” । एकछिन ऊ बक्क पर्छ । खुसी हुँदै कल्पिन्छ, “आहा ! राम्रै भो लाइन काटिएर । क्या नकचरो परेछ लिसो जस्तो काउछो । अपर्झट बाटोकै कुनामा गणेश मन्दिर देख्छ, र दुईहात जोड्दै सोच्न थाल्छ, एउटा कुरा राम्रो भो । भोकै दर्शनले एक किसिमको ब्रत नै भयो आज । मन्दिर घुम्दै जाँदा मोबाइल बज्छ । नम्बर हेर्छ । कुँडिन्छ- त्यही मोरोले गरेछ….पिछै नछोड्ने भो । “उठाउँ कि नउठाउँ, दुई मन हुन्छ । उठाउँदै अल्छीपाराले बोल्छ- हलो अँ भन्नुहोस् । हजुर अघि काट्यो, यो नेपालमा मोबाइलको कामै छैन…. ।

“ठीक भन्नुभो मुरारी भाइ, यस्तै हो यो ठाँडो पैसाको काल….।” मुरारीप्रसाद कुरा, मोड्दै सोध्छ, अब पक्का सम्झूँ हजुर । साइत निकाल्ने भनुँ…..? “होइन भाइ, हतार नगरौँ अलिकति मलाई चिन्ता भइरहेको छ । मुरारीप्रसाद विनम्रतापूर्वक सम्झाउँछ, चिन्ता लिनुपर्दैन हजुर । केही खोट छ भने म टालटुल पारिहाल्छु…..। भित्रभित्र झनक्क रिस उठ्छ उसलाई र प्रसङ्ग फेर्दै सोध्छ, “ए भाइ, त्यस घरमा कुकुर पालेका छन् ? लमी एकछिन अकमक्क हुन्छ र बोल्छ, बिहा र कुकुर को के सम्बन्ध छ र हजुर ? एए, बुझे कुुकुर दाइजो दिनु पर्दैन, केटाको आफ्नै जापानिज पप्पी छ । सधैँ ऊसँगै सुत्छ ।….हजुर, हलो…हलो…के भो यो मोबाइललाई ?… हलो ।”……..मुरारीप्रसादले उतापट्टि खकार थुकेको सुन्छ ।……..। अँ हँ…हुँ…..माइन्ड नगर्नुस् है भाइ म एउटा कुरा भन्छु । त्यो सिक्रीले कुकुरलाई बाँधे कसो होला…? मुरारीप्रसाद जिल्ल पर्छ । अनि आत्तिदै कराउँछ’ “आम्मै ! के भाको हजुरलाई लाखौँ पर्ने गहनाले कोई…कुकुर-बिरालोलाई बाँध्ला…..? आहो !””हो….बल्ल बुझ्नुभो, महँगो भएर नै त्यो मान्छेको जिउमा भन्दा कुकुर बिरालो, भेँडाको गर्दनमा धेरै सुरक्षित रहन्छ ।” “….ल म बौलाएँ । के कुरा होला ? जनावरलाई सुनको सिक्री, मानिसलाई के नि….दाम्लो ? “लमी लामो सास फेर्छ थकितझैँ ।” हेर्नुस भाइ, दुईचार हजारमा मान्छेको ज्यान जान्छ । लाखौँको माल घाँटीमा बाँधे के हाल हुन्छ ? हिन्दीमा एउटा उखान छ-आ बैल मुझे मार ।” “भयो हजुर ! मेरोले काम गर्न छोड्यो….मैले केइ बुझिन…गिदी सिद्धियो ।” दिक्क भएर कुरा टुङ्ग्याउँन खोज्छ तर ऊ कुरा जारी राख्छ, अघिको उखानजस्तै आफ्नै विज्ञापन हुन्छ र टाउको गिँड खोलामा सुनको सिक्री झोलामा । बरू कुनै जनावरको घाँटीमा सुनको सिक्री भएको कोही पत्याउँदैनन् । सुरक्षित भएन त ? कन्यादान दिएर छोरी चाँडै विधवा बनाउनु छैन मलाई….। उसले एक सासमा भन्छ यी सबै ।

“हे दैव ! ए दाइ, बरू खर्च गर्न सक्तिनँ भन्नुस् कुरै सिद्धियो….। लास्टमा यत्रो धोका । मुरारीप्रसाद आक्रोश पोख्छ ।” “ल त मुरारी भाइ मेरो मोबाइलले पनि यहाँ धोका दियो…… चार्ज सिद्धियो । ” ऊ मुस्कुराउँदै लाइन काट्छ । छातीमा अड्केको ठूलो ढुङ्गा पन्छाएझैँ उसले हलुका महसुस गर्‍यो । एउटा पुरानो गीत गुनगुनाउँदै सोच्छ-पार पाइयो ।…टीनटीन….टीनटीन…..टीनटीन….ऊ झल्याँस्स भएझै टक्क रोकिन्छ र ध्वनि पहिल्याउँछ, “अरे !…..यो त मेसेज टोन हो । कहाँबाट आयो फेरि, यो टाउकोलाई घरमै फाल्नुपर्ने…..।’ मेसेज पढ्न थाल्छ,। ‘सरी बाबा, खुसीसाथ घर फर्किनुस् प्लिज, शान्ति ।” एकाएक उसको छातीभित्र कुनै चिज गुटमुटिँदै मुटु-कलेजोसित निचोरिए आँखामा पुगी रसायो । आफैँलाई सोध्यो “कहाँनेर म चुकेँ ? र कहाँ हराएँ ?” भाव तरङ्गहरू स्फुरण भई तछाडमछाड गर्दै बग्नथाले । मैले उसलाई बुझ्न सकिनँ । कठै बरा । जमानामा स्नातक गरेकी आइमाई, त्यही घरको जुठाभाँडासँग बग्दै रछ्यानमा डुबिरहेकी छे । कम्ता टेन्सन छ उसलाई ? घरव्यवहार चाडपर्व, नातागोता, विवाह-व्रतवन्ध कति हो कति ? चारैतिरको पीरैपिरले सुकेर भाङो भैसकेकी छे । मलाई त के भार छ र ? कमाएर ल्याइदिने मात्र हो । यस्तै खण्डित ऊहापोहमा विहृवल भयो । अब उसको पदचाप साँगुरिँदै विलम्बित हुनथाल्यो । झ्वाट्ट केही सम्झी झट्टपट्ट जवाफ फर्काउन थाल्छ मोबाइलमा, सरी पि्रया दुःख नमान । म छिट्टै आउँछु, सागर ।

मेसेज पठाएर उसले हल्का महसुस गर्‍यो र कैयौँ दिन तृषित खडेरीमा एक झर पानी परेझैँ उसको रूग्ण मनमा ज्यान आयो । एउटा गहिरो उच्छवाससँगसँगै ऊ टक्क रोकियो र पूरा फरक्क फक्र्यो आफ्नै नीड दिशातिर । यस अविरल पथमा उसका अविराम पाइला सरासर मन उद्वेगसरि चपल-चालित छन् । अधीर भई ऊ सोच्छ, आज यो कस्तो लामो बाटो लाग्यो मलाई ? ए भगवान् । कहिले सिद्धिने….होला ?” प्रथम मोडमा पुगी अचानक ऊ चिप्लियो…. च र र झड्याम्म….ड्याम्म….

एउटा बेतोड कारको ठक्करसित अर्को भयावह पाश्र्वअसर….। छताछुल्ल देह साथै एउटा उग्र कोलाहलबीच एउटा चर्को आवाज सुनिन्छ, “राम ! राम ! मान्छे त…. सिद्धियो !”….. प्याँ..अप.प.प.प्याँ..प्याँ.. जोरका झड्का हाय जोरो से लगा…। हतास अर्को एक चिच्याउँछ जोडले, “उठाउ मोबाइल उसको घरबाट होला….।” तत्कालै कोही मोबाइल टिप्दै मलिन स्वरमा बोल्छ, “हलो….हलो….।” प्रत्युत्तरमा दुई शब्द खालि शब्दहीन भएर प्रकट हुन्छन्, ‘बाबा….कहाँ….?………। तुरून्तै बत्ती झ्याप्प निभ्छ । लामो श्वास फेर्दै त्यो बोल्छ, हरे ! चार्ज सिद्धियो……।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *