बूढीगण्डकी र आँखुको दोभान । कञ्चन पानी तर छुट्टँिदैन नीलो हो कि कालो । पानी आफैँसँग आफैँ अँगालिँदै र फैलिँदै, सुनिन्छ स्वाँस्वाँको सुसाइ र मीठो संवाद । प्रेम बाँड्नु त त्यस्तो पो जसरी आँखुले बूढीगण्डकी र बूढीगण्डकीले आँखुलाई बाँडेको छ । मौनताले नै मौनता चिरेको त्यो एकान्त, त्यहीँ हराउँछ एकान्त पनि आफैँ र मौन संवाद गर्छ खै कुन्नि कोसँग !

सल्यनटारको पुछार, बुटार हो यो र यो नरसिंहधामका रूपमा परिचित छ । यसका गतिविधिहरूले गति लिन थालेको त्यति भएको छैन । धर्म, संस्कृति, प्रकृति, पर्यटन र विकाससँग जोडेर नरसिंहधामको यात्रा अघि बढाइएको छ । २०६७ मा सप्ताह पुराण, कवि गोष्ठीलगायतका विविध कामहरू गरेर यसलाई बढी प्रचारप्रसारमा ल्याउने कोसिस भएको थियो । माघे सङ्क्रान्तिको मौका पारेर रेडियो नेपालले देवघाटधाम र चतराधामसँग जोडेर राष्ट्रिय ध्यान आकषिर्त गरेको थियो । स्थानीय गोरखावासीसमेतलाई समेटेर एउटा समिति बनाएर त्यही समितिको अगुवाइमा अहिले सुन्दर मन्दिर, धर्मशाला, बृद्धाश्रम बनिसकेको छ र अन्य भौतिक निर्माण जारी छ । सुकीआना बटुलेर ३० लाख रूपियाँको लगानी भैसकेकको छ र अब त्यहाँ पुग्ने जो कोही पनि एक पटक टक्क उभिएर हेर्छ त्यो दृश्य र आनन्दित हुन्छ भित्रैदेखि । नरसिंहधाम पुग्न धादिङबेँसीबाट रिजर्भ गरिएको बस चढेर समूहमा यात्रा गरिएको थियो । त्यो यात्रा केवल कविता यात्रा मात्र थिएन । त्यहाँ यात्रा, जीवन, संस्कृति, प्रकृति र सभ्यताको खोजी पनि थियो । उमेरको बहुलता, विचारको पृथकता र अनुभूतिको फरकपना यात्राको सार पनि हो । सार सङ्ग्रह गरेर इतिहास र भविष्य जोड्ने कोसिसमा थियौँ हामी । २०६७ को त्यो यात्रा अरू यात्राहरूको दैलो प्रवेश पनि थियो ।

त्यसो त धादिङमा पछिल्ला दिनमा साहित्यिक गतिविधि निकै बढेको छ । समूहगत रूपमा वा व्यक्तिगत नै सही, नयाँ पुराना पुस्ता जुटेका छन् आपसमा । भानुप्रतिष्ठानले गएको असारमा धादिङबेँसीमा विशेष कार्यक्रम गर्‍यो । काडमाडौँबाटै पुगे राष्ट्रियस्तरका विभिन्न कवि र प्राध्यापकहरू । विभिन्न संयोजन र सहकार्यमा साउनमा बीपी जयन्ती, भदौमा मोती जयन्ती, असोजमा दसैँ शुभकामना, कात्तिकमा देवकोटा जयन्ती तथा केवलपुरे किसानप्रति श्रद्धाञ्जलिसभा, मङ्सिरमा नेत्रावती क्याम्पसमा जिल्लाव्यापी मावि, उच्चमावि र क्याम्पसस्तरीय फरकफरक तीन प्रतियोगिता र पुस मसान्त र माघे सङ्क्रान्तिमा नरसिंहधाममा काव्य संलाप । यी केही नमुना हुन् धादिङे साहित्यिक यात्राका । महिना खाली बितेन कुनै कार्यक्रम विना र जारी रहृयो साहित्यिक संलाप ।

वि.सं. २०६८ को माघे सङ्क्रान्तिमा नरसिंहधाममा फेरि मेला पनि लाग्यो र उत्सव पनि भयो । काठमाडौँदेखि पनि पुगे विज्ञ र रसिकहरू । जिल्ला पनि सर्लक्कै उभियो । स्थानीय एफएम रेडियो र पत्रपत्रिकाले विशेेष प्रचारप्रसार गरे र रेडियो नेपालको पनि उल्लेख्य भूमिका रहृयो । स्थानीय आदिवासी दरै र कुमालेहरूको प्राचीन संस्कृति सोरठी र घाटु घन्किए । भजनहरू पनि सुनिए खैँजडीमा । कटुन्जे, सल्यानकोटलगायतका ठाउँहरूसमेतलाई जोडेर बीबीसी नेपाली सेवाबाट समेत रन्कियो भजनमाथिको विशेष रिपोर्ट । कविहरूले वाचन गरे रसपूर्ण कविताहरू र विद्वान्हरूले विश्लेषण-व्याख्या गरे नरसिंहधामको प्राचीनता । इतिहासविद् प्रा.डा.राजाराम सुवेदीले यसको प्राचीनता लिच्छवी कालभन्दा अघि पुग्न सक्ने अनुमान गरे । भाषाशास्त्री प्रा.डा. मोहनप्रसाद तिमल्सिनाले पनि यसको प्राचीनताबारे खोजी हुनैपर्ने र यसले तत्कालीन मानवसभ्यता अध्ययनको ढोका खुल्ने बताए । वयोवृद्ध कवि डिल्लीरमण शर्मा अज्र्याल हुन् वा धादिङका पछिल्ला छिमलका राम्रा स्रष्टाहरू प्रकाश सापकोटा, दीपेन्द्र रिजाल, गोविन्द बुढाथोकी र कल्पना अधिकारी, मुरारी अधिकारीहरू हुन् वा धादिङबाटै उचाइ नापेका नवीनबन्धु पहाडी र दीपेन्द्रसिंह थापाहरू हुन् । सबैको आवाजले मुसार्‍यो नरसिंहधामलाई गत वर्ष पनि र यस वर्ष पनि ।

यसवर्ष मकर सङ्क्रान्तिमा नरसिंहधाम पुग्नु अघि पुस २८ गते साँझ धादिङबेँसीमा शब्द शिविर आयोजना गरिएको थियो । शिविरका प्रमुख पाहुना थिए – नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनतकुमार रेग्मी । प्रसिद्ध गजलकार ज्ञानुवाकर पौडेल, पुरानो पत्रिका अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा, कविहरू वासु अधिकारी, राममणि दवाडी, पत्रकार तथा कवि हरिविनोद अधिकारीको पनि मज्जाको उपस्थिति थियो । इतिहासविद् प्रा.डा.राजाराम सुवेदी, भाषाशास्त्री प्रा.डा. मोहनप्रसाद तिमल्सिना, साहित्यकार तथा राजनीतिज्ञ हरि सिम्खडालगायतका व्यक्तिहरूले शब्दशिविरलाई निकै ऊर्जापूर्ण बनाए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद आचार्य र आँखु खोलाका सम्पादकसमेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिनारायण निरौलाको साहित्यिक चेतना र साहित्य प्रेम रसमय थियो । २८ गते राति अबेरसम्म रचना वाचन र अन्तक्रिर्या जारी रहृयो । कविता लेख्नु एउटा कुरो त्यसको विवेचना गर्नु अर्को कुरा । आफ्नै कविताको धरातल बोध नहुनेहरू पनि ठूला कवि हुन्छन् तर त्यो बसाइँ साहित्यिक गहिराइ मापन र औचित्य खोजीमा केन्दि्रत थियो । आयोजकहरू भन्थे- गर्न खोजिएको पनि त्यसै हो । धेरैले भने -शब्दशिविर सार्थक रहृयो । भोलिपल्ट २९ गते बिहानै नवीनबन्धु पहाडीको उपन्यास कृष्णा र टीएन गोपीकृष्ण अधिकारीको लधुकाव्य ब्रहृमसभाको घुम्टी खोलियो । घुम्टी खोले नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव सनतकुमार रेग्मीले । यी विमोचनहरूलाई शब्द संवाद नाम दिइएको थियो । धादिङका उर्वर साहित्यिक चेतना युवामा हस्तान्तरण र युवाभित्र हार्दिकताको खोजी संवाद र शिविरको अभीष्ट थियो र भयो पनि त्यसै ।

बिहानको बसाइ सकेर एउटा ठूलै बस चढेर लागेका थियौँ – नरसिंहधाम । धादिङबेँसीबाट बिस्तारै चढेको उकालो, पहाडी सुगन्ध र कविहरूको गफ । टाढा देखिने दृश्य र तिनै दृश्यहरूको अवलोकन । घुम्ती काटेर बस उकालो चढ्दा निङालपानीबाट देखिने ज्यामरूङ र त्यहीँ बितेको आफ्नो बालापन । म केहीबेर घोरिएँ । त्यति नै खेर ब्युँझाए धादिङे पत्रकारहरू पोषनाथ अधिकारी र शिव सिलवालले । ज्यामरूङसँग जोडे कलाको तन्तु र जिस्क्याए पनि । कविहरूको भनाइ थियो – आज ज्यामरूङमै बसूँ । त्यो त मेरो सौभाग्य हुने थियो मैले थपेँ । पछि उनीहरूले नै मानेन् र भने सल्यनटारमा फणिकान्त छत्कुलीहरू पर्खिरहेछन्, जानै पर्छ । लक्ष्य बदल्नु पनि त भएन । ज्यामरूङमा कुनै दिन अर्कै एउटा कार्यक्रम गर्ने सहमतिपछि हामी गोलाभञ्ज्याङबाट टारीबेसी हुँदै आँखु तर्‍यौँ । कञ्चन आँखु, हरियो वा नीलो पानी । फेरि याद आयो मङ्सिर २१ गते नेत्रावती क्याम्पसमा सम्पन्न साहित्यिक प्रतिष्पर्धा र मङ्सिर २२ गतेको सल्यनबेँसी जात्राको । र्फकंदा बसमै रेकर्ड गरेको रेडियो नेपालको मधुवन कार्यक्रम । कार्यक्रम आफूहरूले डाउनलोड गरेर पेन ड्राइभमा राखेको सुनाए तन्नेरीहरूले । २२ गते जात्राबाट र्फकंदा भने गोलाभञ्ज्याङबाट हिँडेरै ज्यामरूङ गएका थियौँ । मुरारी अधिकारी, पोषनाथ अधिकारी, प्रकाश सापकोटा, दीपेन्द्रसिंह थापा र मेरो साइँलो भाइ रमेश लम्सालको हिँडाइमा जोड चलेको थियो । आमाले पकाउनु भएको थियो मङ्सिरे तरुल । खुब खायौँ तरूल, गालेको अचार र भैँसीको दही । खाना खाइसकेपछि हामी हिँडेरै स्याउलीको बाटो हुँदै धादिङ्बेँसी झरेका थियौँ त्यहीँ साँझ रातिराति गरेर । हामीलाई कुरिरहेका थिए हरिनारायण सर र हेमराज पौडेल । रातभरि गफ गर्‍यौँ कलासहित्य र राजनीतितबारे । बागलुङ फोन गरेर युवा नेता प्रकाश पौडेललाई समेत सुनाएका थियौँ धादिङको खबर । आँखु तर्दा नतर्दैर् सबै कुरा दोहोर्‍याए पोषनाथले र नवीनबन्धुले आफू छुटेकोमा पछुतो माने । दीपेन्द्रसिंहको भनाइ थियो – बाटो जति साँगुरो यात्रा त्यति मिठो । खुब हाँसेका थियौँ यो भनाइमा र फेरि हाँस्यौँ एकपटक । दीपेन्द्रजी फेरि रातो भए ।

गफैगफमा ढिस्क्यान चढेर सल्यनटार पुग्यौँ र स्थानीय रङसँग आफूलाई मिसायौँ । स्थानीयतासँग मिसिनु र त्यहीँको आत्मीयता र हार्दिकतामा बाणी भर्नु, त्यही हो सिर्जनाको मजा र सामथ्र्य । सल्यनटारमा भूमिको सुखापन तर संस्कृतिमा भेटिने रस, क्या संयोग दुईको । संस्कृतिको विविधता तर एकता सबैमा, क्या सिक्नुपर्ने कुरा । पान्धारेको तातोपानी र चिसो हावा फालेर टार भरि लहरै उभिएका रूखहरू । जीवन रसिलो पनि छ र कठिन पनि । जीवन सुखमय पनि छ र दुखमय पनि । सबैलाई संयोजन गर्नुछ चेतनाले र बाँच्नुछ आनन्दसँग । जीवन यात्रामा केके होलान् र हुन्छन् पनि तर तिनै कर्महरूको समग्रता जीवन हो । सबै क्षण कैद हुनेछन् स्मृतिमा तर रहन्न सधैँ उस्तै र उही । हो, त्यहीँको स्वर टिपेर सञ्चारमा पुर्‍याउने कोसिस र सिर्जनामा वाणी भर्ने प्रयास भने प्रतिध्वनित भइरहने छ भोलिहरूसम्म । त्यही प्रतिध्वनि हो हाम्रो जीवनको सार्थकता । निकै उत्सुकतापूर्ण र हार्दिक रहृयो साँझको त्यहाँको बसाइ र भोलि बिहानको नरसिंहधामको कार्यक्रम । सोरठी, घाटु, भजन, श्लोक, कविता, नृत्य, प्रवचन, पुराण र ८५ वर्षका पण्डित मोहनप्रसाद लामिछानेको उत्साह । निर्दोष अनुहारका स्थानीयवासी र तिनको आतिथ्य र संस्कृतिप्रेम । मन र आँखा त्यतै छोडेर त्यही साँझ फर्कियौँ धादिङबेसी ।

छयासी किमि लामो सडक आफ्नो छातीमा ओछ्याएर यात्रुहरूलाई राजधानी पठाउँछ धादिङ । कृषि उत्पादन तथा पशुपालन र अन्य घरेलु उत्पादनमा पनि उसको आफ्नै पहिचान र प्राप्ति छ । गणेश हिमाल, गौरीशङ्कर हिमाली शृङ्खला र तलतिर महाभारत पर्वतमाला । जाति, संस्कृति, रूपरङ र भूवनोट । यी हाम्रा काव्यिक स्रोत हुन् । आजमात्र हैन दैवज्ञकेशरी अज्र्याल, सुब्बा होमनाथ खतिवडा, सुब्बा केदारनाथ खतिवडा आदिको उपस्थितिले साहित्यिमा माध्यमिक कालदेखिकै योगदान छ । आजका यी कर्महरू तिनैलाई सम्झनु, तिनका पदचाप र योगदानलाई स्थायी बनाउनु र नयाँ पुस्तालाई अझ नयाँ र सहज बाटो दिनु हो । नयाँ बन्न र बनाउन पुरानो पनि थाहा पाउनु पर्छ र नयाँ भनेको के हो त्यो पनि जान्नु पर्छ । प्रत्येकले आफूलाई योजक ठान्नुपर्छ र संयोजन गर्नुपर्छ भन्ने लाग्छ । व्यक्ति इतिहासको निर्माता पनि हो र स्वयम् इतिहास पनि हो । नरसिंहधामको पुरानो धार्मिक इतिहास र तात्कालीन जीवन शैलीको अध्ययन एउटा पाटो होला र झट्ट हेर्दा साहित्यसँग त्यसको सम्बन्ध के भन्ने पनि लाग्ला तर मान्छेले उसको जीवन र इतिहास बिर्सेर न त नयाँ समाज बन्छ न त नयाँ युग । आफैँ, आफ्नै इतिहास र त्यसकै वैभव बिर्सेर त मान्छे कहाँ मान्छे हुन्छ र ? अर्काको रिस र अर्काप्रतिको अहँकारले मान्छेलाई खान्छ । इष्र्याले खग्रास हृदय अङ्गार हो, अङ्गारमा आगो हुँदैन । जीवन कोइला हुनुपर्छ र भर्भराउनुपर्छ आफैँभित्र । त्यही अन्तज्र्योतिले जीवनलाई सुकिलो पार्छ र बाटो देखाउँछ । अँध्यारो मन हुनेहरूको जीवन पनि अँध्यारो, कर्म पनि अँध्यारो, वर्तमान पनि अँध्यारो र भविष्य पनि अँध्यारो हो भन्ने मेरो विश्वास छ । जसले जे साधना गर्छ त्यही प्राप्छ गर्छ । झुसिलकीरा पुतली बन्छ र पुतली खरानी । जीवनलाई सहज बनाउने हो भने र छोड्ने हो भने अहङ्कार व्यक्ति नरसिंहधाम पुगोस् । त्यहाँ छ – विशाल ढुङ्गा र छरपष्ट ढुङ्ग्यानहरू । फरक फरक आकृति र त्यही आकृतिमा खै केके आरोपित गरेर मान्छे बेग्लै आनन्द र अतीत कल्पिरहन्छ । भीडहरूको साम्राज्य छिचोलेर एकान्तको राजधानीमा रमाउँदा हृदय हल्लिन्छ खुसीले । मान्छे सृष्टिकै उच्चतम नमुना तर कहिलेकाहीँ त्यही मान्छे विनाको एकान्त कति मीठो । कम्तीमा ५ किलोमिटर वरपर छैन मानव बस्ती र प्रकृति एक्लै छ । उसै त प्रकृति त्यसमाथि उही मात्र एक्लै । के छैन त्यहाँ ? फराक मैदान, मैदान टेकेर उभिएका हरिया पाखाहरू र सिलिक्क परेर सुइँकिँदा नदीहरू आँखु र बूढीगण्डकी । दुवै मिसिएको दोभान, ठीक पारि गोरखा जिल्लाको बोर्लाङको महादेवटारमा पर्ने राङ्दीघाट । धादिङका पचास गाविसमध्ये एक सल्यानटार र त्यसको पुछार बुटार । त्यहीँ जोडिन्छ चैनपुर पनि । सल्यनटार, बोर्लाङ र चैनपुर जोडिएर जुटेकोे समथर भूभाग र त्यहीँबाट अलिकति उठेको ढिस्को । ढिस्कोमै भर्खर प्राणप्रतिष्ठा गरिएका देव आकृति सहितको मन्दिर, धर्मशाला, वृद्धाश्रम र त्यहीँ हुने बुढ्यौली कुरा, तन्नेरी सम्झना र भविष्यका वार्ताहरू । मन्दिरको ढिस्क्यानमा उभिएर हेर्दा जता हेर्‍यो उतै भूस्वर्ग । लाग्छ हामी आफैँलाई हेरिरहेछौँ प्रकृतिको ऐनामा र मुस्कुराइरहेछौँ आफैँ ।

जस्ले मुसार्छ आँखाभरि ती दृश्य, हृदय पग्लन्छ र आनन्दको वर्षा हुन्छ रिमझिम । व्यक्तिगत जिन्दगीको भोकतिर्खा, पीडा, विस्मात वा उहापोह ! बाँच्नु छ सबैलाई । जीवन सबैलाई प्रिय लाग्छ तर प्रिय हुँदैनन् सबै घटना जीवनका । कतै रोइन्छ र कतै हाँसिन्छ पनि । कर्तव्य निर्वाह र निर्वाहकै लागि खेप्नु पर्ने सबै खाले अप्ठ्यारा । नकुँदिएको ढुङ्गा मूर्ति हुँदैन । नखोपिएको काठ बुट््टे झ्याल हुँदैन । हृदय नभत्कीकन मान्छे कञ्चन हुँदैन तर ती सबै भत्काइहरूलाई जोड्ने र फेरि सहज जीवन दिने औषधि प्रकृतिका यी कोमलतम दृश्यहरू हुन् । बाटाभरि ठोकिँदै र पैरिँदै झरेकै कारण नदी नदी भएका हुन् र शिशिर खेपेकै कारण प्रकृति यति प्यारी भएकी हो । प्यार बटुल्ने पहिलो सर्त पीडाको सञ्चयन पनि हो र धैर्य पनि हो । र्फकँदा यसरी गुन्गुनाएँ सबैले सुन्ने गरी –

जस्को दूध पिएर तृप्त छ गला आमा तिमी धादिङ
सारा शिल्प कुँदेर लाख छ कला आमा तिमी धादिङ
छाती भित्र तिमी पला प्रतिपला आमा तिमी धादिङ
तिम्रो ऋण तिरेर मुक्ति कसरी पाइन्छ आमा भन

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *