साँझको आरती, ब्रहृमनाल र जलेका लासहरू

  • by


भनिन्छ मृत्यु बलिदान हो । मृत्यु वीरता हो, मृत्यु सहिद हो रातो झण्डाभित्र । मृत्यु इतिहास हो, मूर्ति शालिकका सुनौला शिलापत्रमा । मृत्यु सम्झना हो बाच्नेहरूलाई तर जति नै आदर्श भए पनि मृत्यु पतन पनि हो जिन्दगीको र अन्त्य हो अस्तित्वको ।

मृत्यु विनाश मात्रै हो मानव सभ्यताको, जवान श्रीमती र साना छोराछोरीको दर्दनाक पीडा हो । बूढा बाबुआमाको जिउँदो मृत्यु हो । छोराछोरीलाई हाइसञ्चो पनि हो । फरक यहीँनेर छ ।

‘लोग्ने मर्छ, स्वास्नी विधवा हुन्छे’, छोराछोरीको जिम्मेवारी उसकै काँधमा थपिन्छ । दोस्रो विवाह गरेर सन्तानको विचल्ली पार्न सक्दिन आमाको मनले । कुण्ठित पारेर इच्छाहरूलाई जिम्मेवारी बोक्छे एउटी विधवा स्वास्नी ।

‘स्वास्नी मर्छे’ लोग्ने ‘मलाम’ जाँदैन । स्वास्नीको मलाम गए दोस्रो विवाह गर्न नमिल्ने धार्मिक मान्यताले छोप्छ उसलाई । तेह्र दिन बितेपछि घरमा अर्की श्रीमती भित्रिन्छे । ऊ त्यसैमा मख्ख हुन्छ, भएका छोराछोरी पनि बिर्सेर ।

आखिर कति सस्तो हँ पुरुषहरूको भावना ?

सजिलै जहाँ पनि पोखिन सक्ने । स्वास्नी मरेको एक महिना नबित्दै अर्की स्त्रीको अँगालोमा बाँधिँदा के उसले बिर्सिसकेको होला हिजोसम्म अर्धाङ्गिनी भएकी स्वास्नीलाई ?

हुन त समय परिर्वतन भएको छ, लोग्ने मरेपछि बिहे गर्ने आइमाईको पनि कमी छैन अचेल, लोग्ने हुँदाहुँदै अर्काको लोग्नेसँग सल्किनेहरू पनि निक्कै छन् सहरमा तर पनि समग्र देश हेर्ने हो भने समय अझै पनि धार्मिक मान्यताहरूमा अडेको पाइन्छ ।

छोरा खोज्नेले दोस्रो विवाह गरेकै देखिन्छ । जति भट्याए पनि मुख्य सहर बाहेकका गाउँ बस्तीमा पुग्न सकेको छैन परिर्वतन ।

जवान छोराछोरी मरे बाबुआमा जिउँदै मर्छन् । बूढा बाबुआमा मरे छोराछोरी मुक्त हुन्छन् जिम्मेवारीबाट । स्वतन्त्र हुन्छन् कर्तव्यबाट ।

सबैले यस्तै सोच्छन् तर भन्न त मिल्दैन । बाबुआमा गुमाउँदाको पीडा बोक्ने सन्तानहरू पनि प्रसस्तै होलान् । उनीहरूको भावुकतालाई सम्मान गर्छु म पनि तर बाबुआमा बोझ बन्दै गएका छन् छोराछोरीलाई । अहिलेको परिवेशमा माया गर्ने सन्तान पाउन भाग्यमै लेख्नु पर्छ भन्छन् बूढाबूढी ।

आफू सधैँ जवान रहन्छु भन्ने सोचेर, बूढेसकालमा ब्ााबुआमा वृद्धाश्रम पठाउनेहरूको भीड निकै बढेको छ अचेल ।

थाहा छैन कुन अर्थमा सही छ बूढेसकालको सहारा भन्दै र स्वर्ग तार्ने विश्वासले छोरा जन्माउने परम्परा ?

उही विर्यबाट उत्पादित दुई वटा तत्त्वबीचको भिन्नता यति धेरै कसरी हुन्छ ?

एउटै कोखबाट निस्किने सन्तानलाई विभेद गर्नुको मूल्यमा यति फरक किन हुन्छ ?

के वैज्ञानिक रूपमै कम हो त छोरीको मूल्य ? होइन भने आज पनि छोरीलाई कमजोर पार्ने धर्मशास्त्रमा किन विश्वास गर्छ मान्छे ?

पशुपतिलाई साक्षी राखेर आर्यघाट सधैँ बलिरहन्छ, मूल्य सिद्धिएका शरीरहरूसँग । श्वासप्रश्वास हराएका फोक्सोहरूसँग ।

साँझको आरती हेर्ने लालसामा पशुपति प्राङ्गणमा ओर्लिएका मेरा पाइलाहरू टक्क अडिन्छन् जलिरहेको लासको दृश्यमा । अँध्यारिँदै गएको साँझलाई उज्यालो पार्दै दन्किरहेको चित्ताको आगो झन्झन् दन्किन्छ ।

छेउछाउमा झोक्राइरहेका आफन्तहरू लासको खरानीको प्रतीक्षामा छन्, कतिबेला बगाएर सक्ने होला बागमतीको पानीले यो लास भनिरहेजस्तो लाग्छ मनमनले ।

ओल्तिर तयार भइरहेको अर्को चिताले तान्छ नजर । त्यहाँ सुताउँदै गरेको लास देखेर आँङ सिरिङ्ग भएर आउँछ एकपटक, त्यो शरीर आफ्नै हो कि जस्तो लाग्छ मलाई । अब आगो झोसिन्छ भन्ने लागेर मन तर्सिन्छ एक पटक ।

कठै कति पोल्दो हो ?

के साँच्चै थाहै हुँदैन मरेपछि केही पनि ? प्रश्न सोध्छु आफैँलाई । फर्किन मिल्ने भए एक पटक चितामा सुत्ने रहर धेरै पहिलेबाट पलाएको थियो मनमा ।

जिउँदो छँदा उफ्रीउफ्री पाखुरा बजार्ने मान्छे, दुनियाँसँगै लैजान्छु भन्दै जुलुस निकाल्ने मान्छे, मरेपछि आफ्नै सन्तानले आगो लगाउँदा किन केही गर्न सक्दैन ?

म तेरो बाबु हुँ किन आगो लगाउँछस् ? भन्न किन सक्दैन ।

मलाई दिक्क लाग्छ मरेपछि आफ्नै सन्तानले आगो लगाउने परम्पराप्रति । आफ्नै छोराहरूले खरानी पार्ने जावो शरीरको कत्रो मोह मान्छेलाई ?

आखिर बाबुआमाको शरीर खरानी बनाउन त चाहिने रहेछन् नि छोराहरू ।

जाबो आगो लगाउँनकै लागि छोरा र छोरीमा यत्रो विभेद किन ?

कति हाँसउठ्दो धार्मिक मान्यता हाम्रो । छोराले दागबत्ती दिएमात्रै स्वर्ग तरिने कत्रो अन्धविश्वास मान्छेमा ।

यहाँनेर आफ्ना जन्मदिने आमाबाबुलाई आगो झोस्ने छोराहरूको मुटु साँच्चिकै बलियो हो त ? भन्ने लाग्छ मलाई ।

या फेरि लोग्नेमान्छेमा साँच्चिकै भावना हुँदैन प्रेमको ?

कि उनीहरूलाई जन्माउँदा नै आमाबाबुले कठोर मुटु दिएर जन्माउँछन् ?

होइन भने त्यही आँगनमा खेलेर हुर्कने भाइ र बैनीमा यस्तो भिन्नता किन ?

वास्तवमा आइमाईलाई प्रेमको प्रतिमूर्ति बनाएर पुरुषलाई पत्थर मन बनाउने हाम्रो सामाजिक सभ्यताले हामी आफँैलाई खोक्रो पारेको स्वीकारिरहेछौ हामी ।

त्यही आगो लगाउनका लागि छोरा खोज्ने परम्पराले छोरा र छोरीमा पारेको विभेदको खाल्डो जस्तै दर्दनाक लाग्यो बाबुआमाको शरीरलाई आगो लगाउने परम्परा ।

जिउँदाहरूले सोच्ने हो भने निदाएको जस्तै त हो मर्नुको अनुभूति । फेरि कसरी आगो सल्काउन सकिन्छ आफ्नै बाबुआमाको शरीरमा ?

कसरी बगाउन सकिन्छ आफू बसेको घरको खरानी ?

चिसो हुन्छ मुटु चिताका लप्काहरूमा । साँच्चिकै क्रूर लाग्यो मलाई मरेपछि खरानी बनाउने हिन्दू संस्कार । त्यो भन्दा त सिँगारेर बक्सामा राख्ने अनि सम्झनामा फूल चढाउने क्रिश्चियनहरू नै उच्च रहेछन् मृत्युको विचारमा ।

मन्दिरमा सन्ध्याकालीन घण्ट बज्यो । घण्टसँगै आरतीका दीपहरू बले । बलिरहेको चित्तामा घोरिएको मेरो मन गरुँगो पाइला लतार्दै आरती स्थल पुग्छ ।

मान्छेको खरानी र काठमाडौँको फोहोर बोकेर बगिरहेको बागमती भरिभराउ छ मान्छेको भीडले ।

श्रावणको अन्तिम सोमबार, फोहोर पानीमा डुबेर पाप पखाल्नेहरू गाँजामा लठि्ठएका जटाधारीहरू, जटाधारीहरूसँगै टाँसिएका केही युवाहरू जसलाई रोमाञ्चित हुँदै आफ्ना क्यामेरामा दृश्य उतार्ने विदेशीहरू । साँच्चिकै सकस लाग्छ पशुपति क्षेत्र ।

जटाधारी बनेर ड्रग व्यापार फैलाउनेहरू, कुकर्म गरेर धर्म गर्नेहरू, दानपात्र सोरेर वेश्या पाल्नेहरू, दक्षिणा थापेर जग्गामा हाल्नेहरू भिक मागेर चुलो बाल्नेहरू, मन्दिरमा छु भनेर लोग्ने र स्वास्नीको मुख टाल्नेहरू जस्ता खोज्यो त्यस्तै भेटिन्छन् यहाँ । मान्छेहरूको ठेलमठेल भीड अत्यासलाग्दो परिवेशले उकुसमुकुस छ समय । आरती हेर्ने उत्सुकता नहुँदो हो त म उतिखेरै सुइकुच्चा ठोकिसक्थें ।

धर्ममा कत्ति विश्वास छैन मलाई, नदेखेको स्वर्ग गइन्छ भन्ने पनि लाग्दैन ।

मरेपछि डुमै राजा ।

केको आपत्ति मरेपछि ?

स्वर्ग पुगेको खबर कुन चाहिँ मर्नेले दिएको छ र ?

मान्छेले स्वर्ग र नर्क जिउदो छँदा नै देख्छ र भोग्छ । हामी सन्तुष्ट हुँदाको अनुभूति कति मीठो हुन्छ ! के त्यो स्वर्गभन्दा कम होला ?

असन्तुष्टिको पराकाष्टा जति खतर्नाक ‘नर्क’ अरू के हुन सक्छ मान्छेको जीवनमा ?

‘जीवनको सन्तुष्टि स्वर्ग हो र असन्तुष्टि नर्क’ मैले देखेको स्वर्ग र नर्क त त्यही हो ।

त्योभन्दा बेग्लै परिभाषा छैन धर्मको । जति नै खोजे पनि मरेपछिको अनुभूति मर्नेले नै लेखेको पाइँदैन बेद, पुराण र शास्त्रमा ।

नजिकबाट आरतीमा सहभागी हुन पैसा तिर्ने खेल यहाँ पनि रहेछ । थाहा छैन दिनदिनै तिरिने पैसाले विकास कति भएको छ ? तर पशुपति छिर्नेहरूलाई सास्ती नभएको कहिल्यै छैन । भक्तजनहरूको सजिलोका लागि उठाइएको रकमले सजिलो परिवेश कहिले बनाउने हो त्यो त हेर्नै बाँकी छ । रकम असुल्ने प्रविधिको भने निक्कै विकास भएको रहेछ ।

नजिकबाट आरती हेर्न चार सय तिरेर पशुपतिको तेस्रो ढोकालाई अगाडि पारेर बस्छु म । मान्छेहरूको ठेलमठेल भीडले अत्तासिन्छ मन, आरती हेर्न बसेर बुहारीका कुरा काट्नेहरू, सासूलाई मर्न नसकेकी भन्ने बुहारीहरू, आफ्नै लोग्ने र तेस्रो पुरुषको कुरा गर्नेहरू, भीडको वास्ता नगरी सँगै रहेकी युवतीलाई अनेक ठाउँमा छुँदै चुम्बन गर्नेहरूले दिक्क पार्छन् मलाई ।

औडाहा हुन्छ सृष्टिको वीर्य शिवलिङ्ग नै ठान्ने मान्छेहरूको भीडले । हर समय यस्तै हो यो क्षेत्र । कर्म गर्दा आफ्नै आत्मामा विष्ट्याउनेले धर्म गर्न मन्दिर र मूर्तिमा दूध चढाउनु पर्ने !

पैसा असुल्ने होडमा! समयमा आरती सुरू नगर्नेहरूप्रति साँच्चिकै रिस उठ्छ मलाई ।

हेर धर्मको नाममा भएको अस्वाभाविक रकमअसुली ! साँझको आरती पनि बेचेर धन कमाउनेभन्दा अरू केही लागेन मलाई त्यो धकेलाधकेलमा ।

निस्केर हिँडुँजस्तो लाग्छ । फेरि आरती कस्तो हुन्छ भन्ने उत्सुकताले पशुपति डोरिएको बिर्सिन सक्दिनँ मैले । पुनः बस्छु बागमतीको पल्लो किनार नियाल्दै ।

त्यहाँ पनि लासहरूकै लर्को, बलिरहेका चिताबाट आरतीमा भुलेको मन फेरि मृत्युमा ठोकिन्छ ।

सग्लो मान्छेको मृत्यु !!

जन्मेपछि मर्नु शास्वत सत्य ।

फुलेपछि झर्नु त फूलले पनि पर्छ । फेरि किन पिरोलिन्छ मन मृत्युमा ?

किन दुख्छ मुटु मृत्युको खबर सुन्दा ?

किन र्झछन् आँखाबाट आँसु प्रकृतिको यो नियमप्रति ? प्रश्नैप्रश्नले भरिन्छ मन मृत्युको प्रसङ्गमा, जन्मेपछि मर्नुको यथार्थमा, फुलेपछि झर्नुको पीडामा ।

मान्छेको शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन भन्ने भनाइ कतिको सत्य छ ? त्यो त मर्नेहरूको आत्माले नै जान्ला तर मरेपछि नर्फकने शरीरको निकै माया लागेर आउँछ मलाई ।

यहाँनेर आत्मा र शरीरलाई छुट्टाछुट्टै व्याख्या गर्न सक्दिन मैले । शरीर मरेपछि अमर हुने आत्माको के मूल्य ? अनुभूति गर्ने शरीर नै नरहेपछि उडेर जाने आत्मालाई अमर हुन्छ भन्नुको मूर्खता स्वीकार्न सक्दैन मनले ।

लास देखेर हाँस्ने एउटी आइमाईको अनुहार चिथोर्न मन लाग्छ मलाई । मृत्युमा हाँस्नेे पनि हुँदारहेछन् । मेरा आँखाबाट आँसु झर्दै गर्दा आफूले अमरत्व प्राप्त गरेजस्तो गरी ऊ हाँसी रही ।

ब्रहृमनालमा लास सुताएर ब्रहृमलीन हुने धार्मिक चर्तिकला भन्दा पनि साँझको आरती, आरतीमा नाचिरहेका हजारौँ मान्छे, प्रज्ज्वलित दीपहरूमाझ चिर निद्रामा निदाउनुको शान्ति निकै सौन्दर्य र प्रिय लाग्यो । एक पटक पुगेर फर्क्यो मन ब्रह्मनालमा सुतिरहेको लासको अनुभूतिमा । मृत्यु यति सुन्दर पनि हुँदोरहेछ । त्यो साँझ मृत्युका थुप्रै अनुभूतिहरू समेटिए मनमा ।

आखिर मान्छेको अस्तित्व उभिउन्जेल मात्रै त रहेछ । फोक्सोबाट हावा बाहिरिएपछि, मुटुको धड्कन रित्तिएपछि न त मार्ने खेल, न त मर्ने खेल, न त सुनको लिस्नो न त चाँदीको थाल । चाहिँने एकभारी दाउरा या छ फुट जमिन न रहेछ । त्योभन्दा बढी लगेको देखिएन कुनै लासले ।

आरतीको अवलोकनमा पशुपति पुगेका मेरा पाइला मृत्युको नमिठो अनुभूति र बलिरहेका मावन शरीरको गन्धले विरक्तिदै त्यहाँबाट बाहिरिन्छन् ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *