हुँदा पैदा पुत्री, हृदय जननीको खुश हुने
यिनैका हाँसोले भवनबीच शान्ति स्थिर हुने
यिनै रक्षा गर्ने प्रणयसितले भाइ-बहिनी
यिनैलाई हेरी पलपल हुने तुष्ट जननी ।

यसरी छोरी जन्मिँदा समग्र घर-आँगन उज्यालो भएको अनुभूति अभिव्यक्त गर्ने कवि हुन् । गोविन्द ढुङ्गाना ‘छोरो सुस्त मनःस्थितिको हुँदा’ काव्य प्रकाशित गरिसकेका ढुङ्गानाको दोस्रो काव्यकृतिका रूपमा देखापरेको छ- समीक्ष्य ग्रन्थः ‘आहत मातृहृदय’ खण्डकाव्य ।

प्रस्तुत खण्डकाव्य शास्त्रीय वर्णमात्रिक छन्दको बुनोटमा बान्किलो बनेर बसेको छ । यसमा पूर्वार्द्ध र उत्तरार्द्ध गरी दुई भाग रहेका छन् । पूर्वार्द्धमा ३ खण्ड छन् भने उत्तरार्द्धमा ६ खण्ड मङ्गलाचरणको थप १ पद्यसमेत गर्दा कुल २२१ पद्यमा आबद्ध छ ‘आहत मातृ-हृदय’ । यीमध्ये १९१ पद्य शिखरिणी छन्दमा निबन्ध छन् भने २० पद्य वियोगिनी, ९ पद्य दू्रतविलम्बित र १ पद्य मालिनी छन्दमा समेत देखापर्दछ । सबै छन्दहरू शास्त्रीय नियमको पालनाले सहज र सुललित बन्न पुगेका छन् । खण्डकाव्यको भावभूमि शीर्षकले सङ्केत गरेझैँ आहत-प्रताडित मातृ-हृदयको वेदनामय अभिव्यक्ति नै हो । छोरीको जन्म हुँदा अत्यन्त हषिर्त बनेको मातृहृदय उनी सुस्त मनकी भैदिनाले आहत बन्न पुग्दछ, अनि विधाताको पत्थरिलो मनमाथि नै यस्तो प्रश्न उठ्दछ ः

न ता बोल्छ्यौ केही न त शयन छोड्छ्यौ अझतक
टुलूटुलू हेर्दै शयनबीचमै मूत्र र मल
गरी सुत्छ्यौ बाबू, अजिङ्गर सरी भै यति किन ?
विधाता कस्ता हे यिनीतिर भयौ पत्थर मन ?

यसरी थालिन्छ पीडा, अनि यो मन्थर हुँदै हुन्न र समग्र रचनाभरि छताछुल्ल भएर पोखिन्छ । छोरीको विकलतासँगै जोडिएर व्यथाचक्र चुलिँदै जान्छ र यसले सिङ्गो जीवनलाई विषाक्त तुल्याउँछ । नारीजीवनको पीडा, समाजको क्रूर ठट्टा र मर्मभेदी घृणा अनि चरम उपेक्षाका साथै छोरा र छोरीमा विभेद व्यवहार गर्ने अप्ठ्यारो सामाजिकताका समस्यामूलक विसङ्गतिमय सन्दर्भहरूलाई पनि काव्यकृतिले उजागर गरेको छ ।

छोरीको जन्म, खुसीयाली, उनको मानसिक सुस्तता, विधातामाथि गुनासो, निको पार्न विविध उपचार, प्रयत्न, व्रत-उपवासको परिपालनाको बयान पूर्वार्द्धमा देखापर्दछ । सुस्त मनःस्थिति भएकी छोरीको पीडाले थिलथिलिएकी नारीको हृदयमा अर्को बज्रपात पर्दछ-वैधव्यको । आँप टिप्न रूखमा चढ्दा अग्लो रूखको हाँगा भाँचिएर एकैचोटि तल भुइँमा बजि्रएर पतिको तत्काल प्राणान्त हुन्छ । पीडा शमनका लागि भगवदर्चना र प्रार्थना चल्दछ । यहीँनेर विधवाप्रति समाजको नकारात्मक भावबोध, नारी-पुरुषमा विभेद-दृष्टि अनि नारीप्रति गरिने अमानवीय दुव्र्यवहारको चित्रण गर्दै यो अग्नि-प्रश्न राखिएको छ ः

….बनायो यो कसले नियम नरको मात्र असल ?
हुने नारीमात्रै किन नि विधवा बोक्सी कुटिला ?

बालबालिका सुस्त मनःस्थितिका हुनुको कारणको पनि चर्चा गरिएको छ यहाँ । आखिरमा छोरी ठूली हुनु, निको नहुनु, बिहे हुन नसक्नु आदि समस्याहरू एकपछि अर्को थुपिँ्रदै जान्छन् तर काव्यका अन्त्यमा दुनियाँको उपेक्षा र घृणा पाए तापनि भगवतीको शरणागत बनेर बाँच्ने दृढता प्रकट गर्दै यस्तो प्रार्थना गरिएको छ ः

पुरानो पाखण्डीपन सकल उच्छेदन गरी
जगाई नारीमा अतुल बल सामर्थ्य लहरी
नराम्रा ती सामाजिक थिति म उल्टाउन सकूँ
दिनोस् खूबी दुर्गा ! जगमग दियो बालन सकूँ ।

यसरी ‘आहत मातृ-हृदय’ खण्डकाव्य करूणरसमूलक छन्दोमय भावप्रधान मर्मस्पर्शी रचनाका रूपमा देखापर्दछ । यहाँ सुस्त मनःस्थितिकी छोरी, विकट वैधव्य र सामाजिक प्रताडनाले थिलथिलिएकी नारीको पीडा-वेदनाले सघनता पाएको छ । सुस्त संवेदनाग्रस्त समाज र अन्धो विधातामाथि गरिएको गुनासो र असन्तोषको मूल स्वरका बाबजूद अन्त्यमा आशाको उज्ज्वल प्रकाश-रेखाको अवलम्बन गर्दै खण्डकाव्यले पूर्णता पाएको छ ।

समग्रमा काव्य भावप्रवाही, अलङ्कारमण्डित एवं सरल, सुबोध र सम्प्रेषमय भाषाले संवेद्य बनेको छ । कथानकको झीनोपन, विधागत स्वरूपको धीमापन र परिष्कारन्यूनताले केही अलमलिएको जस्तो चाहिँ लाग्दछ ।

कृति : आहत-मातृहृदय (खण्डकाव्य)
कवि : गोविन्द ढुङ्गाना
प्रकाशक : नारायण ढुङ्गाना
प्रकाशन : २०६८, वैशाख
पृष्ठ ः:४७+२१
मूल्य : रू. १००।-

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *