Skip to content


सिद्धार्थनगर-१३, रूपन्देहीका स्रष्टा पृथ्वी शेरचनले एकैसाथ तीन कृति प्रकाशित गरेका छन् । भीमखोला बहुलाउँदा (नाटक), चीन भ्रमणको डायरी र सोभियत युनियन र बलगेरिया भ्रमणको डायरी (दुई नियात्रासङ्ग्रह) स्रष्टा शेरचनका प्रकाशित कृति हुन् ।

‘भीमखोला बहुलाउँदा’ नाटक कृति कालीगण्डकीको सेरोफेरो र स्थानीयबासीका पीडा, मर्म एवं उहापोहले सिर्जित नाट्य कृति हो । सर्सर्ती हेर्दा तत् क्षेत्रवासीका समस्या र उच्छवास भए पनि कृतिले आमनेपालीका मझधार पीडालाई सटिक तवरबाट उठाएको छ । आम समस्याहरू जुन जतिखेर पनि बाढीका रूपमा भित्रिएर औसत मानिसका सपनाहरू बगाउन सक्छ भन्ने साङ्केतिक सोचले भरिपूर्ण छ नाट्यकृति । जातिपाती समस्या, धनी-गरिब मानसिकतासँगै शिक्षा, रोजगार, अनेकन् घरायसी समस्या सिर्जित विम्ब उठान गर्दै नाटककार शेरचनले सबैका लागि सधैँका लागि मानवीय सत्कर्मको खाँचोलाई साथ दिनुपर्ने सन्देशलाई प्रष्ट्याएका छन् ।

यता चीन भ्रमणको डायरी र सोभियत युनियन एवं बलगेरिया भ्रमणको दुवै डायरी शीर्षकीय मर्म अनुसार चीन, सोभियत सङ्घ र बलगेरियाकै सेरोफेरोमा केन्दि्रत छन् । कृतिको शीर्षक डायरीका रूपमा लिपिबद्ध गरिए पनि नियात्रा शैलीमा लेखिएका छन् । अत्यन्तै सरल एवं सुरुचिपूर्ण लेखन शैलीका कारण नियात्राकार शेरचनले पाठकलाई चीन भ्रमणको डायरी पढ्दा त्यतैतिर लग्छन् भने सोभियत युनियन र बलगेरिया पनि पुर्‍याउँछन् । सोभियत युनियन भ्रमण नियात्राकार शेरचनले बीसको दशकताका नै गरेको कारण कतिपय सन्दर्भ र विषयवस्तु अहिले पढ्दा निक्कै कौतुहलपूर्ण र रोमाञ्चक लाग्छन् नै । अझ चीनको भ्रमण त नियात्राकार शेरचनले त्यसअघि नै गरेका कारण तत्परिवेशदेखि अहिलेको चीनको उन्नति एवं प्रगति आफैँमा अनौठो र लोभलाग्दो लाग्छ । श्रीमती शान्तादेवी शेरचनद्वारा तीनवटै कृति प्रकाशित गरिएको हो ।

मधुपर्क २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *