गजल लेखनको पछिल्लो छिमलमा सशक्त हस्ताक्षरका रूपमा देखापरेकी गजलकार हुन् रेणुका थापा ‘सोलु’ । उनै गजलकारले आफ्नो पुस्तकाकृतिको उपस्थिति देर्खाएकी छिन् । अवसरको सगरमाथा (२०६८) मार्फत् ।

गजलकार थापाले भिन्न भिन्न स्वाद र पृथकपृथक् बान्कीका ५५ थान गजलहरू अवसरको सगरमाथामा सङ्ग्रहित गरेकी छिन् । मानवीय जीवनका आशा-निराशा, उतार-चढाव, दुर्गति-उन्नतिसँगै प्रेम-विरह र विसङ्गत सामाजिक बुनौटका बेग्लाबेग्लै धारहरूमा सलल्ल प्रवाहित छिन् गजलकार । वास्तवमा प्रेम-रोमान्स र सौन्दर्यका ज्यादातर गजल बाढीबीच रेणुकाले बौद्धिक चिन्तन र प्राज्ञिक बहसका कतिपय यस्ता सन्दर्भ उठान गरेकी छिन्, जहाँ धेरैबेरसम्म पाठकहरू अल्झिरहन रुचाउनेछन् । जस्तो ः

तर्दै थियौँ नदी हामी भेल आयो बीचमा
विछोडरूपी कारागारको जेल आयो बीचमा । (पृष्ठ ४९)

सडकमा बोलेजस्तो सदन स्वाभिमानले
तिम्रै मुद्दा हस्तक्षेपलाई बार बार्न खोइ सक्यौ र ! (पृष्ठ.४५)

राजनीतिकका दुरुह विम्ब, जातीय सोच र संस्कृतिको ज्यादति, समाजका प्रदूषित चिन्तन, वर्गीय विभेदका अन्यायपूर्ण सोच र परिवर्तित जीवनशैलीका थुप्रै विमति विरुद्ध गजलकार सोलुले सटिक र स्निग्ध गजल-गेठी बुनेकी छिन् । खासगरी एउटा शिक्षित र प्रतिबद्ध गजलकार भएकोले हुनुपर्छ उनी वैयक्तिक स्वार्थ सञ्जालको माछा माछा भनेर भ्यागुतो समाउन लगाउने प्रवृत्तिबाट मुक्त छिन् । अनि लोकतान्त्रिक चिन्तन र प्रजातान्त्रिक सोच, संस्कारको पहरेदारी गर्दै उनी समग्र मुलुकको मुहार फेर्नुपर्ने कुरामा विश्वस्त हुँदै भन्छिन् ः

घमण्डले फुलेका छौँ तिम्रा दिन फिरेपछि
झुपडीलाई भुल्यौ कठै सिंहदरबार छिरेपछि (पृष्ठ.२८)

खडेरीमा पानी दिनू
आँखाभरि नानी दिनू
राष्ट्रप्रेमी नेता देशका
जनता भाग्य मानी दिनू ।
(पृष्ठ.४३)

यसरी गजलको क्षेत्रमा तन्मय, प्रतिबद्ध र फरक सोचका साथ अघि बढिरहेकी गजलकार रेणुकाको जे जति सम्भावना र सतप्रयत्न उनका सिर्जना देखिएको छ, त्यसले उनलाई पहिलो कृतिको प्रकाशनका वावजुद धेरै चीज दिएको कुरामा शङ्का छैन । गजलकार रेणुकाको उपस्थिति ढिलै भए पनि एउटा उल्लेखित सम्भावनाका अर्थमा भविष्यमा व्याख्या हुने प्रशस्त आधारहरू सङ्ग्रहमा पाइन्छन् । त्रिविविका सह-प्रकाशन केशव पौडेलद्वारा प्रकाशित कृतिको मूल्य ७५ रुपियाँ मात्र राखिएको छ । सुन्दर बस्नेतको आवरण सुन्दर नै छ ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *