कवि छविरमण सिलवालद्वारा पछिल्लो समयमा लिखित तीसवटा कविताहरूको सङ्ग्रह हो, मनको शिविरबाट । यी कवितामा वर्तमानको अन्योल, त्रासदी र मानवीय पीडा छ । बोधगम्य भावका कवितामा अनुभूतिको सुन्दर इन्द्रेणी देख्न सकिन्छ । उनका कविताहरू चिन्तनको गहनताभन्दा स्मृतिको स्वतन्त्रताबाट भुलभुलाएका छन् । प्रकृति र मानवताको तादात्म्य, भाषाशैलीको गद्य गेयात्मकता अर्थगत सहजता उनका कविताको सेरोफेरो हो । कविले कविताका माध्यमबाट मानव र प्रकृतिको नाता जोडेका छन् । सरलभाषा परिचित लय र दैनिक जनजीवनबाट टिपेका प्रतीकहरू बुनेर सरल र सारगर्भित कविता सिर्जना गर्छन् उनी । मानव जीवनलाई सजीव तवरले रचनाशिल्पमा चित्रण गर्न उनी अग्रसर छन् । विकृति र विसङ्गतिप्रति उनी सटीक र चोटिलो प्रहार गर्छन् । उनका विचार गर्विला छन् । जीवनका तथ्यकथ्यलाई उनले लेखनमा उतारेका छन् । जीवन र जगत्बारे उनले काव्यिक तर्क, वितर्क गरेका छन् । कवितामा उनी एकाङ्की, शान्त र भावुक भएर पोखिन्छन् । अनुभव र अनुभूतिलाई उनी सूक्ष्म, गम्भीर र सुन्दर ढङ्गले प्रस्तुत गर्छन् । कवितामा जीवनको ज्ञान र अन्तरआत्माको संवेग सम्प्रेषण गर्छन् ।

कवि सिलवाल जीवन र जगत्मा डुबेर, रूझेर र भिजेर कविता लेख्छन् । सामाजिक बन्धनको विरोध, व्यक्तिगत स्वतन्त्रताको समर्थन र सत्यतथ्यको उद्घाटन नै उनको सिर्जनात्मक पाटोको मूलपक्ष हो भन्न सकिन्छ । समाजमा प्रचलित जडमान्यता र आडम्बरप्रति तीखो व्यङ्ग्य र आलोचना गर्छन् उनी । भोगेका र अनुभव गरेका दैनन्दिनी, इमान्दारिता र सरलता उनका सिर्जनात्मक गुण हुन् । उनले वास्तविक जीवनजस्तो छ, लेखनमा दुरूस्तै काव्यिक तस्बिर उतारेका छन् । उनी परिवेशलाई जस्तो देख्छन्, त्यही लेख्छन् । कवि समाजका लागि आशा गर्दै र उत्साह छर्दै प्रतिबद्धताकासाथ सिर्जनशील कलम चलाउन जुर्मुराएका छन् । कवितामा प्रस्तुत जीवन, यात्रा, दर्शन र व्यङ्ग्यले पाठकको मनलाई छुन्छ ।

नेपालमा आजसम्म भएका सबै परिवर्तन स्वार्थी र दरिद्र नेताहरूको पेट भर्ने माध्यम बनेको देख्दा कवि मन रूष्ट छ । कविले सामाजिक चेतना र मानवीय संवेदनाका कुरा उठाएका छन् । आम मान्छेको पीडालाई सूक्ष्मतापूर्वक स्पर्श गर्न चाहेका छन् । समाजका तीता सत्यहरूलाई उजिल्याउने प्रयास गरेका छन् उनले । कवितामा देश डुबाउने र जनता सताउने प्रवृत्तिको विरोध छ । समयका स्वरहरूलाई गहन चिन्तनको जलप लगाएर चम्काएका छन् कविले । कविताको अन्तर्वस्तु र शिल्पको कसीमा बाँधेर हेर्दा नेपाली कविता लेखनको प्रवाहमा अर्थपूर्ण उपस्थिति जनाउन सक्षम छन् । विविध भावभूमि र विषयवस्तुमा विभाजित र विस्तारित उनको काव्यसिर्जनाको कच्चापदार्थ भनेका जीवन अनुभूति, राजनीतिक विकृति र विद्रुपता एवं प्रेम र हार्दिकता हुन् । उनी देशको अन्यौलपूर्ण अवस्थाप्रति दुःखी र आक्रोसित छन् । अनुभूतिको प्रगाढता, कविताको अन्तर्वस्तु र शिल्पप्रति कवि सिलवाल सचेत छन् । काव्य लेखनमा नवीन प्रयोग, निजी शैली र प्रखरताको बढी महत्त्व हुने हुँदा त्यसतर्फ कविको विशेष ध्यान जानु जरूरी छ ।

कृति ः मनको शिविरबाट (कवितासङ्ग्रह)
कवि ः छविरमण सिलवाल
प्रकाशक ः काभ्रेली साहित्य समाज
संस्करण ः ०६७ मङ्सिर
पृष्ठ ः ८०
मूल्य ः रू. १००।-

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *