Skip to content


पछिल्लो समयमा नेपाली भाषामा गरिएका खास गरेर हिज्जे परिवर्तनको विषयमा कडा विमतिहरू उठेका छन्। ११ चैतमा ललितपुरमा भएको “नेपाली भाषाका प्रयोगकर्ता” हरूको भेलामा व्यक्त विचारहरूको सार संक्षेपः

जगदीश घिमिरे, साहित्यकार
आजको भेलामा कोही आयोजक र कुनै कार्यपत्र छैनन्। भाषाबाट पीडित हामी आफ्ना भावना, वेदना पोखौं र केही गर्ने संकल्प गरौं भनेर फोन सम्पर्कबाट भेला भएका हौं। शरच्चन्द्र वस्तीजीले केही कुरा राखेर शुरू गर्नुहुन्छ।

शरच्चन्द्र वस्ती, भाषाविद्
केही दिनअघि कान्तिपुर र नागरिक दैनिकमा लेखेको लेखमा आएका प्रतिक्रियाले हाम्रो भाषामा भइरहेको विसङ्गतिले मलाई मात्रै होइन अरूलाई पनि पीडित बनाएको जस्तो लाग्यो। अहिले हिज्जे र पदयोगसँग सम्बन्धित ५-६ ओटा समस्या छन्। बुद्ध अब बुध्द हुनेभयो। सरलताको नाममा जटिल बनाउने काम भएको छ। भाषा जिब्रोमा झुण्डिएको मीठो हुन्छ! नेपालभित्र र बाहिर सर्वस्वीकृत भइसकेका शब्दहरूमाथि आक्रमण नगरौं। हामी भाषिकातिर होइन एउटा समृद्ध भाषातर्फ उन्मुख हुनुपर्दछ। अबको पुस्ता हामीभन्दा धेरै तार्किक छ, हाम्रो पुस्ताले जस्तो टाउको हल्लाएर कुनै कुरा स्वीकार्दैन। कसैको कुरै नसुनी केही लादियो भने त्यो निरंकुशता हुन्छ, जुन उहाँहरूले भाषामा गर्नुभएको छ।

खगेन्द्र संग्रौला, साहित्यकार
नेपाली भाषाको सरलीकरणका नाममा भएका कुरालाई मान्ने हो भने मैले त शिशु कक्षामै भर्ना हुनुपर्छ। दशैं मैले मोटो श मा पढंे, आकाश मोटो श मै लेखिन्थ्यो। मलाई मेरै किताब छापिएर आउँदा शहीद सहिद भएकोमा भाषाको चीरहरणको सबैभन्दा बढी पीडा भयो। त्यसमा मेरो थर संग्रौला समेत सङ्ग्रौला बन्न पुगेछ। मेरो किताबको भाषा मेरो रहेन। र, त्यसले मलाई घोचिरहन्छ।

कृष्णा ताम्राकार, रेडियोकर्मी
रेडियोमा ५० प्रतिशत अशुद्ध बोल्छन्। दन्त्य सलाई तालव्य र तालव्य शलाई दन्त्य उच्चारण गर्छन्। तालव्य श लाई त आर्यघाटमै पुर्‍याइसकिएको छ। समाचारवाचन गर्नेहरूले ह्रस्व र दीर्घ के हो भन्ने बुझनुपर्छ। श, ष, स को उच्चारण फरक-फरक हुनुपर्दछ।

लोचन भट्टराई, गायिका
आफ्नो गायकीमा भाषालाई शुद्ध उच्चारण गर्ने प्रयत्नमा छु। छन्दको सूत्र जान्दा ह्रस्व, दीर्घ र विश्राम पनि थाहा हुन्छ। संवाद बोल्दा कहाँनेर कमा छ, कहाँ रोकिनुपर्नेछ भन्ने बुझनुपर्छ। गायन र समाचारवाचन दुवैमा यो लागू हुन्छ।

धीरेन्द्र प्रेमर्षि, साहित्यकार
नेपाली मातृभाषीले अशुद्ध बोल्दा स्टायल मानिन्छ, हामीले बोल्दा मधेशीले गल्ती गरेको हुन्छ। भाषाको समस्याले फाटो बढाएको छ। ड र ढ को मुनि थोप्लो हुन्थ्यो, हराएको छ। देवनागरीमा लेखिने भाषामा कम्तीमा एकरुपता हुनुपर्छ।

नारायण ढकाल, साहित्यकार
लामो समयसम्म म मरेको लेखक भएर बसें, भाषाको सार्वभौमसत्ता गुमाएर आत्मसमर्पण गर्दै आफ्नो व्यवसाय गरिरहें। मेरो लेखनीमाथि सार्वभौमसत्ताको प्रयोग प्रुफरिडर र कम्प्युटरवालाले गर्नुहुन्छ। यो कार्यक्रमपछि अब बाँच्छु कि जस्तो लागेको छ। अभियानै नचलाई बाँचिन्न, म पनि बाँच्दिनँ।

हरि अधिकारी, समालोचक
मेरा कृतिमा पनि प्रुफरिडरले आकाशको श पातलो बनाइदिएका छन्। लेखक, पत्रकार, प्रकाशकहरूले मानक व्याकरणको आधारमा लेख्ने प्रण गरौं। म पनि यसमा सचेत हुन्छु।

नयनराज पाण्डे, साहित्यकार
अभियानलाई निरन्तरता दिनै पर्दछ। भाषाको विषयमा कानूनी लडाईं पनि लड्ने हो कि?

अभि सुवेदी, प्राध्यापक
भाषाको हिज्जे बदल्ने मात्र होइन, स्पेलर पनि आउँदैछ भन्ने सुनेको छु। यदि त्यो आयो भने स्थिति झ्नै बिग्रनेछ। त्यसैले सबै पक्ष मिलेर मानक बनाउनेतिर छिट्टै लाग्नुपर्छ।

गाउँले बलदेव, भाषाविद्
प्रज्ञा-प्रतिष्ठानको शब्दकोश अब काम लाग्दैन। त्यो कोश बनाउने कतिपय साथीले शब्दकोशमा एउटा र किताबमा अर्को लेख्ने गर्नुभएको छ। यो भ्रष्टाचार हो।

होम भट्टराई, भाषा सम्पादक
हामी अरूलाई गाली गरेर आफू आधिकारिक हुन सक्दैनौं। अंग्रेजीमा जसरी नेपालीमा पनि शुद्ध लेख्नुपर्छ भन्ने लेखकहरू एकदमै कम छन्। म आकाशको श मोटो राख्न सक्छु तर अकासको सक्दिनँ। शुरूको श मोटो राख्न सक्छु, तर त्यसो गर्दा रू दीर्घ राख्छु,ह्रस्व राख्दिनँ। अभियानका लागि अभियान र प्रतिकारका लागि प्रतिकार हो भने अगाडि नबढौं। भाषाका लागि हो भने बढौं। यो उहाँहरू भनेका को हुन्? त्यसो नभनौं, बरु उहाँहरूलाई पनि बोलाउनुपर्थ्यो।

खगेन्द्र संग्रौला
पहिला नेपाली भाषाको प्रकृति, प्रवृत्ति र मर्यादाबारे मतैक्यता भएकाहरूबीच भेला गरौं भनेर उहाँहरू लाई नबोलाइएको हो। यो प्रक्रिया अगाडि बढ्दै गएपछि निश्चित रूपमा आमन्त्रण गर्छौं। उहाँहरूको उपस्थिति र योगदान विना यो अभियान सफल हुनै सक्दैन।

केदार शर्मा, पत्रकार
उहाँहरू को हो भन्ने सम्बन्धमा एक, बृहत् नेपाली शब्दकोश मा जसले संशोधन गर्नुभएको छ; दुई, यस्तो लेख्ने पास र उस्तो लेख्ने फेल भनेर जसले पुस्तक लेख्नुभएको छ; तीन, जसले प्रज्ञा-प्रतिष्ठानमा ह मा शब्दकोश टुंग्याउनुभएको र सानोठिमीमा ज्ञ मा वर्णमाला टुंग्याउनुभएको छ।

शरच्चन्द्र वस्ती
प्रतिष्ठानले शब्दकोश निकाल्दा आफैंले पास गरेको नियम पालना गरेको छैन। कुन ठीक र कुन बेठीक भन्ने उसैलाई थाहा छैन। सिद्धान्त ठीक भएन भने शब्दकोश पनि मानक हुँदोरहेनछ।

कमल दीक्षित, अन्वेषक
म अध्यक्ष हुँदा साझाप्रकाशनले आफू गोरखा भाषा प्रकाशिनी समिति वा नेपाली भाषा प्रकाशिनी समितिको छोरा-नाति भएकाले समितिकै व्याकरण पछ्यायो। त्यो बेला कोश निस्किसकेको थिएन, हामी २०२० सालतिर निस्केको नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने)लाई मानक मान्थ्यौं। २०४० सालमा निस्केको बालकृष्ण शर्माको कोशलाई मान्यौं कि मानेनौं बिर्सें, त्यसपछि प्रज्ञा-प्रतिष्ठानको कोशलाई मान्न थाल्यौं। जगदम्बा प्रकाशनले पनि त्यसैलाई मान्थ्यो। अहिले मानक कोश चाहिएको छ, नेकशुले जस्तै। गोपाल पाण्डे असीमको ह्रस्वदीर्घको सवाई थियो, जसमा भाले नाउँ ह्रस्व लेख पोथी नाउँ दीर्घ जस्ता सरल नियमहरू थिए। अहिले मानक भाँडिएको छ। म त प्रकाशक पनि हुँ। मैले केमा टेक्ने?

ललितपुर भाषा भेलाका सहभागी।
नगेन्द्रराज शर्मा, सम्पादक
शब्दकोश निस्कँदा मलाई रिजल्ट निस्के जस्तो हुन्छ― खोल्न पनि डर लाग्ने। समस्या आइसकेपछि निष्कर्षतिर लाग्नुपर्छ। जसलाई बढी दुखेको छ, जोसँग समय र जाँगर छ उनीहरू चार-पाँच जनाको एउटा समिति बनोस् मानकको लागि, हामी पछि लागौंला।

कृष्ण धरावासी, साहित्यकार
बजारमा निस्केका मेरा १९ ‘टा किताब एकअर्कासँग मिल्दैन। अब त हात जता घुम्यो त्यतै घुमाइदिन्छु। गरीबलाई ह्रस्व पनि लेख्छु, दीर्घ पनि। हामी सूचनाप्रविधिको जमानामा छौं, ह्रस्व होस् कि दीर्घ अब की थिचेपछि आउने हुनुपर्‍यो। त्यसो भयो भने कोहीसँग झ्गडा गर्नुपर्दैन।

रोचक घिमिरे, सम्पादक
५१ वर्षदेखि रचना को सम्पादन गरें, अब फेरि विद्यार्थी जीवन शुरू गर्नुपर्ने भएको छ। भाषा बिगिँ्रदा पाठक, लेखक, पत्रकार सबैलाई टाउकोदुखाइ भएको छ। ती पण्डितजीहरूलाई पनि भएको रहेछ, मेरो पत्रिकाको भाषाले विद्यार्थीमा अलमल भयो भन्दैथिए। तर मैले फेर्न मानिनँ। लेखकहरूले पनि आफूले लेखेअनुसार नछाप्ने प्रकाशकलाई पुस्तकै नदिए भयो। यो अभियानका लागि टीम बन्नुपर्दछ।

करुण ढकाल, भाषा सम्पादक
क्याम्पसमा पढाएको नियम पत्रिकामा लागू हुँदैन। अग्रजहरूलाई आफूले प्रयोग गर्दै आएको भाषाका रूप परिवर्तन हुँदा चिन्ता लागेको रहेछ। कतै व्यक्तिगत स्वार्थले उत्प्रेरित गरिरहेको छ कि जस्तो पनि लाग्यो। जस्तो, संग्रौला सरलाई स माथिको थोप्लो हटाउँदा चिन्ता लागेको रहेछ। अरबी, फारसीलाई जस्ताको तस्तै राख्ने अनि संस्कृतबाट आएको स माथिको थोप्लो हटाउने कुरा मलाई पनि चित्त बुझ्ेन। हामीलाई मिलनबिन्दु चाहिएको छ। भाषाको विषयमा जुँगाको लडाईं हुनुहुँदैन।

अविनाश श्रेष्ठ, सम्पादक
साझामापदण्ड बनाउनुपर्दछ। नेपालीहरू नेपाल बाहिर पनि छन्। दार्जीलिङ, आसामतिर बस्नेहरूलाई हामीलाई भन्दा बढी समस्या छ। उनीहरूले डा. कुमार प्रधानलाई सम्पादक बनाएर नेकशुले जस्तै किताब निकालेका छन्।

कृष्णमुरारी भण्डारी, स्तम्भकार
मेरो स्तम्भ मोही माग्ने ढुंग्रो लुकाउनेको ढुंग्रोमा ङ् हालिदिएका छन्। लेखकहरूले कम्तीमा आफ्नो नाम, स्तम्भ, शीर्षकमा परिवर्तन नगर भन्नेबाट शुरू गर्ने कि?

तारालाल श्रेष्ठ, टिप्पणीकार
एकै ठाउँका एउटा प्राध्यापकले बीच ह्रस्व लेख भन्छन् अर्कोले दीर्घ। तर प्रज्ञा, साझा त्रिवि ठीक होइन भनेर हामीले मानक बनाउने आधार के? हामीले बनाएको मानक रद्दीको टोकरीमा जाँदैन भन्ने ग्यारेन्टी के?

जगदीश घिमिरे
मानक बनाउने हामी प्रयोगकर्ता हौं।

डा. गोविन्दराज भट्टराई, प्राध्यापक (इमेलमार्फत)
भाषाशास्त्रीहरूले गरेको परिवर्तनले हाम्रो जीवनलाई असर नगर्ला भन्ने सम्झ्ेको थिएँ, तर आफ्नै उपन्यासको अन्तिम प्रुफ हेर्दा झ्स्किएँ। मैले ४०औं वर्ष लगाएर सिकेका र सिकाएका अंग्रेजी भाषाका ध्वनि र वर्णलाई हामी प्रयोक्तालाई सोद्धैनसोधी फेरिदिने को होला, मलाई चिन्ता लाग्यो।

किशोर नेपाल, पत्रकार (इमेलमार्फत)
पछिल्लो समय सरकारी, गैरसरकारी र निजी क्षेत्रका शिक्षण संस्थाहरूमा भाषा र साहित्य पढाउने र सिकाउने मान्यजनहरूले नेपाली भाषाको हुर्मत लिनुभएको छ।

नरेन्द्रराज प्रसाई र ईन्दिरा प्रसाई, साहित्यकार (इमेलमार्फत)
नेपाली भाषालाई सच्याउने भनेर विकृत पारिँदैछ। भाषासँग जिस्कनु सांस्कृतिक अपराध हो। व्याकरण र भाषालाई निमोठ्दै लगेपछि यसका प्रयोगकर्तालाई मर्का पर्छ।

ललितपुर घोषणापत्र, २०६८

भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, सर्वत्र प्रचलित शुद्ध-स्वाभाविक हिज्जेलाई जबरजस्ती परिवर्तन गर्न खोज्नु भाषामाथि अन्याय गर्नु हो। भइरहेको प्रचलन बिथोलेर सरलताका नाममा जटिलता र दुर्बोध्यता थप्ने यस्तो अनधिकार चेष्टाले भाषामा अव्यवस्था सृजना गर्दछ।

हिज्जेका समस्या विभिन्न प्रकृतिका छन्। मुख्य समस्या चाहिं लामो समयदेखि व्यापक चलनचल्तीमा रहेका शुद्ध शब्दहरूलाई तिनको हिज्जे बिगारेर विकृत बनाइनु नै हो। यस्ता शब्दहरूबाट श-ष हटाएर तिनको ठाउँमा पातलो स मात्र राख्ने, शुरू र बीचमा रहेको दीर्घ इकार-उकारलाई ह्रस्व बनाउने प्रचेष्टा कुनै पनि दृष्टिले उपयुक्त होइन। शब्दको रूपात्मक तथा ध्वन्यात्मक पक्ष र त्यसले पार्ने प्रभावप्रति देखिएको यो असंवेदनशीलताले भाषाको ओज र सौन्दर्यमा समेत नकारात्मक प्रभाव पार्दछ। संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै राखेर अन्य भाषाबाट त्यसैगरी आएका शब्दमाथि मात्र गरिएको यो लहडबाजीले नेपाली भाषालाई अनुदार एवम् छुवाछुतवादी छवि दिएको छ।

तसर्थ हिज्जे लगायतका विभिन्न समस्याबाट उन्मुक्ति दिलाएर नेपाली भाषालाई सहज-स्वाभाविक गतिमा अघि बढाउनुपर्ने बृहत्तर दायित्वको बोध गर्दै जुनसुकै भाषाबाट आएका भए पनि, लोकव्यवहारमा पचिसकेका तत्सम शब्दको इकार-उकार, श-ष-स आदि नबिगारी जस्ताको तस्तै लेख्ने। जस्तै ―

नीर, तीर, चीफ, जीप, टीचर, टीम, ठीक, डीन, बीच, भीड, मीटिङ, रीट, लीलाम, सीट, स्टील, हीटर आदि।

समीप, शरीर, शहीद, अपील, कारीगर, खरीद, गरीब, जमीन, जागीर, तपसील, तस्बीर, तारीफ, तालीम, दलील, नजीक, नजीर, नतीजा, नसीब, पनीर, रईस, वकील आदि।

खूबी, छूट, तूफान, फूटपाथ, बूट, भूल, भूटान, स्कूटर, स्कूल, लूट आदि।

अटूट, कपूत, कसूर, कानून, कार्टून, जुलूस, देहरादून, नमूना, बावजूद, मजदूर, मजबूत, म

सूस, सबूत आदि।

शर्त, शर्बत, शहर, शान, शायद, शायर, शायरी, शिकार, शुरू, शेक्सपियर, शेखी, शेयर, शेर, शो रूम आदि।

कुश्ती, कोशिश, कोशी, खुशी, चश्मा, जोश, दशैं, निशान, निशाना, पेशा, पिशाब, फेशन, बेहोश, मशाल, मालिश, मुश्किल, लाश, सिफारिश, होश, होशियार आदि।

परम्परागत रूपमा दीर्घ लेखिंदै आएका शब्द यथावत् लेख्ने। जस्तै ―

कीरो, खीर, चीसो, चूलो, जीउ, तीतो, नीम, पीठो, पीर, पीरो, भीड, मीठो, मीत, रीस, शीत, हीरा, बीस, तीस, चालीस, ठूलो, दूध, धूलो, पूरा, फूल, बूढो, मूला आदि।

नेपाली भइसकेका तत्सम शब्दमा प्रत्यय लगाउँदा मूल शब्दको ह्रस्व-दीर्घ, श-ष-स आदि जबर्जस्ती नबिगारी लेख्ने। जस्तै ―

जोशिलो, विश्वासिलो, विदेशिनु, तुषारो, पोषिलो, वर्षेनि, पुष्ट्याइँ, दुष्ट्याइँ, प्रष्ट्याउनु, वर्षिनु, स्वीकार्नु, पूर्वी, पूर्वेली, एकवर्षे, दुईवर्षे आदि लेख्ने प्रण हामी नेपाली भाषाका प्रयोगकर्ताहरू गर्दछौं।

प्रकाशित मिति: १६-३० चैत २०६८

हिमाल खबरपत्रिका
वर्ष २१, अङ्क २३
पूर्णाङ्क ३०७

Leave a Reply

Your email address will not be published. Required fields are marked *