Skip to content


अचेल कथाकारले जुन स्थिति भोग्नु परिरहेछ, त्यो स्थिति कुनै आख्यानभन्दा कम छैन । वरिष्ठदेखि कनिष्ठ आख्यानकारले पाए उसमाथि नै सामाजिक यथार्थवादी उपन्यास लेखिदिन बेर छैन ।

यो एउटा हाइपोथेटिस अर्थात् प्राक्कल्पना मात्र हो । यथार्थ कति कठोर छ भने उसका सम्बन्धमा कुनै पनि श्रीमान् महानुभावले उसको बिन्तीपत्रलाई ध्यान दिएका छैनन् । कथा त झन् पछिको कुरो । भएको के हो भने लोकतन्त्रमा पनि बेकारी जीवन भोग्दाभोग्दा उसले आफ्नो सम्पूर्ण कथाकारिता बिर्सिने अवस्थामा पुगेको छ । पात्र छ, कथावस्तु छैन भनेसरि उसका सम्बन्धमा मान्छे छन् तर गरिदिने कोही छैनन् ।

केही मित्र सम्पादक अझै पनि उससँग उसका कथारचना माग्ने गर्छन् । नत्र त मुलुकभित्र कस्ता कस्ता कथा र कथाकारको उत्पत्ति भइसकेको छ । मोबाइल सेक्सदेखि सीडी सेक्ससम्मका कथा लेख्ने नवयुवा अनि आफ्ना पिताको लिङ्ग वर्णनदेखि समलैङ्गिक दर्शनसम्म आख्यान लेखेर पुरस्कृत हुने जमात र परम्परा बढिसकेको र बसिसकेको अवस्थामा ऊ निस्तेज हुन लागेको कथाकार हो भन्नु व्यर्थ त हुन्छ तर पनि लेख्नु कुनै अग्रजले भनेसरि सास फेर्नु जस्तो भएको छ उसका सन्दर्भमा । ऊ पनि यही सोच्तो हो । यद्यपि यो सोचेर मात्र त कथा बन्ने छैन । मुलुकको साहित्यले उत्तरआधुनिक फड्को मारेकाले होला, अब ‘मेन स्टि्रम’ अर्थात् मुख्य प्रवाहका सर्जकभन्दा किनारा पारिएका भनेर विज्ञापित भएका अपाङ्गता भएका, जातीय, बाध्यता, व्यर्थता ओगटेका पात्रबाट लेखिएका चुट्किला मात्र पनि ‘मास्टर पिस’ रचनामा दरिने भएर देखिएका छन् । अब यस्तोमा पनि के लेख्नु कथा ? ऊ यहाँ पनि सोच्छ । सोचाइको कुनै टुङ्गो र ढुङ्गो नभएकाले फरक भने पर्ने छैन, किनभने कथा त लेख्नु न हो ।

ऊ यति बेला पनि काखमा एक वर्षे छोरो च्यापेर आँखा चिम्ली ध्यानस्थ भएको छ । कथा सोच्न ? होइन महोदय । आफ्नो जीवनका अनेक असफलतालाई गणना गर्न । किन ? प्रश्न यहाँ पनि छ । किनभने कथा लेख्न दिमाग खियाउनुपर्छ, स्मृति गर्न वा गणना गर्न कुनै व्यायाम गर्नुपर्ने छैन, यसैले । साँच्चै जीवनमा कहाँ गएर गल्ती गरिएछ र यति कमजोर भइएछ ! बच्चा रुन्छ । ल्याक्टोजिन खुवाउनुपर्छ । ख्वाइन्छ नै । आमाचाहिँ काममा गएकी छन् । उसका बच्चाका लागि काम गर्न आउने परिचारिका गहुँ छर्न गाउँ गएकी गाउँकै एक लाहुरेसँग भागिछ । यसैले बच्चा हेर्ने मान्छे अरू कोही नभएर कथाकार महोदय नै यसरी ‘होम इरिटेट’ भएर बस्नुपरेको । ऊ दैनिकी ज्यालादारी जस्तो जीवन भोगिरहेकालाई केको चटारो र बाहिरिनु ? रोजगारमूलक श्रीमतीको तर्क । यसैले छोरो च्यापेर बस्नुपर्ने संविधान घरमा लागू भएको छ, यद्यपि मुलुकमा भने संविधानको अत्तोपत्तो छैन । ऊ यो सोचेर हाँस्छ, तिक्त हाँसो । जीवनमा खुलेर हाँस्न नपाएको त कति भएछ कति ! जस्तो मदिरावानलाई मदिरा खान नपाउँदा कस्तो हुन्छ ? त्यस्तै ।

यत्रो लामो भूमिका सोच्नु पनि व्यर्थ हो । आज उसलाई कथा लेख्नु छ, बस । कुरो यही र यति हो । कथाका लागि यति लामो बाटो जानु उसका लागि कथा खोजी त होला तर पाठकका लागि भने…? खाली ठाउँमा जे उत्तम हुन्छ, त्यही भर्नु राम्रो । किनभने यसका लागि वेबसाइटका अनेक साहित्यपृष्ठ हेरिएमा थाहा पाइन्छ, कथाप्रतिका जिज्ञासा, प्रतिक्रिया, स्याबासी आदि तर ऊ भने कुनै जिज्ञासा वा स्याबासीमा परेको कथाकार होइन, बरू प्रतिक्रियाका थुप्रोमा भने परेको छ । उसका कथामाथि निराशावादी, रिपिटेसन, नवस्वच्छन्दवादी, पुँजीवादी, राजधानीय, व्यर्थको, झूरादि प्रतिक्रिया थुप्रेका देख्न सकिन्छ ।

यसैले यति बेला कथा के लेख्ने भन्ने सोचमा ऊ आँखा चिम्लेर बसेको छ । बेलाबेला छोराका लागि ल्याक्टोजिन, सेरेलेक बनाएर ख्वाउने र आफूसहितको छोराका लागि लघुशङ्काबाट निवृत्त गराउने कार्य गर्दागर्दै समय घुमिरहेको छ ।

श्रीमती कामबाट बेलुका मात्र घर आउनेछिन् । छोराले के खाएको, नखाएको सोध्नेछिन् । खाना पकाउन लाग्दा आफ्नो कर्मलाई एकफेर पुनरावृत्ति गरी धिक्कार्नेछिन् र उसको बढेको दारीजुँगाप्रति गाली गर्नेछिन् । ऊ मौन भएर पितृसत्तात्मक व्यवस्था र पुरुषवादी सत्ताका अर्थहरू निफन्न थाल्छ । यद्यपि अर्थ भने केही निस्कने छैन, न कथा नै बन्नेछ ।

बाबा …! छोराले काखमै तुक्र्याएछ । उठाएर सुरुवाल फेरिदिएपछि छोरा आफ्नो बाल स्वभावलाई फेरि उमार्दै आकाशमा उडेको प्लेन हेरेर ऊँऊँ गर्दछ । ऊ आफ्नो कथा मनस्थितिलाई रोकेर ‘हो, बाबा हो’ भन्दै छोराले औंल्याएको नीलो आकाशतिर हेर्दछ । मन एक्कासि भरङ्ग हुन्छ । भरङ्ग तरङ्ग उठ्ने खालको । केके नजानिँदो अनुभूतिले कोपर्छ । मान्छेलाई सबभन्दा ठूलो समस्या भनेको उसको एक्लो हुनु र विरक्ति हो । यो वाक्यांश कथाको लागि सोच्छ ।

त्यही बेला उसको सोचाइमा बे्रक लाग्छ । श्रीमतीको मोबाइल कल । छोराले जाउलो खाएछ, खाएनछ ? सेरेलक कति खाएछ ? खोकी लागेको छ कि ? आदि इत्यादि प्रश्नको पेटारो । यथावत् उत्तर दिएर अफ गरेको केही छिनपछि फेरि मोबाइल बज्छ । यस पटकचाहिँ एक कथाकार नारी मित्रको कल रहेछ । कुरा हुन्छ । कथासम्बन्धी केही कुरा भएपछि ती कथाकार नारी मित्रले मोबाइलमा जेजे कुरा भनेकी छिन्, त्यो सुनेर हाम्रा यस कथाकार अर्थात् उसलाई कथा लेख्नु त के, घरमा नै बस्नु पनि र संसारमा रहनुको अर्थ पनि निरर्थक बोध हुन्छ । विस्थापितमाथि विस्थापित मान्छेको स्थिति कस्तो हुन्छ, त्यस्तै अनुभूत गर्दछ । कुरा के भने उसकी दिदी पनि महिला कथाकारमा दरिएकी स्रष्टा हुन् र उनले आफ्ना भाइ अर्थात् उसकाबारे कथा लेख्तै घर बिग्रनु र अंशवडा नहुनाको कारण ऊ नै हो र यसरी घर ध्वस्त भएको अनि दिदीले बिहे गरेर सन्तान जन्माउन नपाएको, सन्तान नजन्माएर बाउआमालाई पाल्नुपरेको आदि अतिशय गुनासोयुक्त विषयलाई प्रखर नारीवादी स्वरमा कथा लेखेर छपाएकी रहिछन् । यो उसको कथाकार नारी मित्रले भनेपछि वा उनीबाट यो कुरा सुनेपछि उसलाई कथा लेख्न त के, सोच्न पनि मन भएनछ भन्दा हुन्छ । झन् अतिशय विरक्तिले उसको मनभित्र भँगालो चल्न लागेको भान हुन्छ ।

उसो भए के गर्ने ? छोरा काखमा छ । घरमा दिक्क छ । परिवार रुष्ट छ । आफू एक्लो छ । आफ्नै परिवारमा पनि कति एक्लो भइएछ आफू र कति सरोकारहीन बनिएछ त ? प्रश्न सोचेर छोरालाई हेर्छ । मुटुभित्र भक्कानो चल्न थाल्छ तर रुनु पुरुषका लागि हानिकारक छ भन्ने भावले थामेर बरू कथै लेख्नु राम्रो हो, सोचेर लेख्न थाल्छ । ‘सम्बोधन छोरालाई’ कथाको शीर्षक सम्भवतः यही हुनेछ, अनि प्रारम्भ गर्छ कथा…छोरा, एक दिन तिमीले आफ्ना पिताको मर्म बुझ्नेछौ… …।

(यहाँ दुइटा कुरा देखा पर्दछ । एउटा सामञ्जस्यको रूपमा र अर्को भिन्नताको रूपमा । सामञ्जस्य के हो भने छोरालाई काखमा राखेर यसरी कथा लेख्ता झट्ट सम्झना हुन्छ, उसका पिताले पनि यसरी नै उसलाई काखमा राखेर कथा नलेखे पनि दन्त्यकथा भने सुनाएका हुन् । अनि भिन्नता के हो भने उसलाई लिएर पितालाई कहिल्यै यसरी कथा लेख्नै परेको छैन र सन्तान च्यापेको कठिनाइमा जति उसले अहिले भोग्नुपरेको छ तर पिताले यसरी भोग्नुपरेकै छैन भन्दा हुन्छ । हो, भिन्नता रहेछ भने यही नै रहेछ । आफ्ना पितामा र आफ्ना पुत्रका पितामा, होइन त ?)

युवामञ्च २०६८ चैत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *