बाचुँ भनेर म जतिपल्ट
यस धरतीमा पाइला उचाल्छु
उतिपल्ट पराजित छु
मेरो मस्तिष्कले यहाँ प्रलयवेदना खप्दै छ
मेरो दृष्टिले यहाँ विकृत चेहरा नियाल्दै छ
मेरो पैतालाले यहाँ कठोरताको यात्रा गर्दै छ
(म भोको प्राण लिएर रुखो क्रन्दन ओकलिरहेछु)
कसलाई थाहा छ ?
म निषिद्ध सडकहरू हिँडेको
कसलाई थाहा छ ?
मैले मूलबाटो बिराएको
कसलाई थाहा छ ?
मैले नियास्रा बिरानीहरू बाँचेको
म जतिपल्ट
यहाँ एक्लोपनाको अनुभूति उघार्छु
उतिपल्ट म यहाँ उदाङ्गो भएको छु ।
युवामञ्च २०६८ पुस
