प्रिन्सिपल चन्द्रप्रकाश जोशी निकै तनावमा थिए । तनावको मुख्य कारण थियो कलेजमा अतिरिक्त समय पढ्ने वातावरण मिलाउँदा पनि रिजल्ट नराम्रो आउनु । यस पटकको परीक्षामा अरूको तुलनामा उसको कलेजको रिजल्ट निकै ‘पोर’ भएको कुरा उसले अरू कलेजका प्रिन्सिपलसँग गरेपछि थाहा पाएको थियो । विशेषगरी फाइनल सेमेस्टरका विद्यार्थीको इन्टर्नशीपको रिजल्ट झनै खत्तम थियो । अघिल्ला ब्याचका विद्यार्थीहरूको इन्टर्नसिपमा कसैकसैको मात्रै सी ग्रेड आउँथ्यो र धेरैको ए ग्रेड आउँथ्यो भने यसपालि कसैकसैको ए ग्रेड र धेरैको सी ग्रेड आएको थियो । यसकारणले पनि प्रिन्सिपल जोशी तनावमा थिए । साथै कतिपय विद्यार्थीहरू पनि तनावमा थिए । इन्टर्नसिपको ग्रेडकै कारणले आफ्नो क्यारियरमै धक्का लाग्ने भएकाले विद्यार्थीहरू चिन्तित थिए ।
तनाव शान्त होला कि भनेर प्रिन्सिपल जोशीले कलेजको एक चक्कर लगाए तर उनको तनाव घट्नुको साटो झन् बढ्यो । धेरैजसो विद्यार्थीहरू पढ्नमा भन्दा खेल्नमा र मनोरञ्जनमा डुबेको देखेर उनको तनाव झन बढ्यो । उनले देख्यो केटाहरू बास्केटबल खेल्नमा मस्त थिए । कत्ति केटा र केटीका जोडीहरू पर कुनातिर बसेर प्रेमलीलामा व्यस्त थिए । कोही क्यान्टिनमा चुरोटको धुवाँ उडाउँदै हिपप म्युजिकको धुनमा मस्त थिए । कोही मोबाइलमा एसएमएस पठाउन र च्याट गर्न व्यस्त थिए । यी सबै अस्तव्यस्त दृश्य देखेर प्रिन्सिपल जोशीले मनमनै सोचे, ‘पढ्ने विद्यार्थीहरू यस्ता भएपछि कसरी राम्रो रिजल्ट आउँछ ।’
कलेजको एक चक्कर घुमेर प्रिन्सिपल जोशी पूर्ववत् आफ्नै कक्षमा गएर थचक्क कुर्सीमा बसे । उनको गर्हुँगो बोझ थाम्न गार्हो भएर त्यो कुर्सी एक पटक चुइँय गरेर करायो । कुर्सीको आवाज सुनेर प्रिन्सिपल जोशी आफैँ पनि एक पटक झसङ्ग भए र समालिएर बसे ।
पियन कृष्णले पानी ल्याएर टेबुलमा राखिदियो । उनले त्यो पानी घटघट पिए र लामो सास फेरे । यसो गर्दा उनलाई अलिकति हलुका भएको महसुस भयो ।
उनी सोच्न थाले, अब अभिभावकहरूको चित्त कसरी बुझाउने ? यति महँगो र नाउँ चलेको कलेज भइकन पनि यस्तो नराम्रो रिजल्ट आएकोमा कसलाई दोष दिएर पन्छिने,
फ्याकल्टीलाई ? विद्यार्थीलाई ? कि कलेज व्यवस्थापनलाई ?
दिनहुँजसो अभिभावकहरूका फोन आइरहेका छन् । अब त झनै बढी आउँछन् । प्रायः सबैजसो अभिभावकको एउटै जिज्ञासा अथवा एउटै चिन्ता हुन्छ कि उनीहरूका केटाकेटीको पढाइ कस्तो भइरहेको छ ? नियमित कलेज आइरहेका छन् कि छैनन् ? घरबाट कलेज जान भनी हिँडेका केटाकेटी अन्तै पो बरालिने गरेका छन् कि ? आन्तरिक तथा वाह्य परीक्षाहरूमा कस्तो गरिरहेका छन् ? आदिइत्यादि ।
अभिभावकहरूको जिज्ञासा र चिन्ता थाहा पाएर खुसी पनि हुने गर्छन् उनी । हरेक अभिभावकले आफ्ना केटाकेटीको पढाइ र उसको व्यक्तिगत आचरणका बारेमा अलिअलि चासो र चिन्ता लिनु आवश्यक पनि छ भन्ने ठान्दछन् उनी । यसैगरी केटाकेटीलाई धेरै स्वतन्त्रता अथवा छुट दिँदा उनीहरू गलत दिशामा जाने सम्भावना हुन्छ भन्ने पनि ठान्दछ ऊ । सही दिशामा भन्दा गलत दिशामा छिटो कदम चाल्ने प्रवृत्ति धेरै बढिसकेको छ अचेलका युवापुस्तामा । विश्वव्यापी बन्दै गएको पश्चिमा संस्कृतिको प्रभावबाट हाम्रा विद्यार्थीहरू पटक्कै अलग छैनन् । विशेषगरी हुँदाखानेका भन्दा सहरी क्षेत्रका हुनेखानेका छोराछोरीहरू पश्चिमा संस्कृतिप्रति धेरै झ्याम्मिएका छन् । त्यसैले पश्चिमाहरूको संस्कृति र सभ्यताबाट हाम्रा युवा विद्यार्थीहरू धेरै नै प्रभावित पनि छन् । उनीहरूकै सिको गरेर पिकनिक, पार्टी, डिस्कोलगायतका गीतसङ्गीतमा झुम्ने र रम्ने बानी हाम्रा विद्यार्थीहरूमा पनि धेरै बढिसकेको छ ।
केही समयअघि उनले अखबारहरूमा पढेका पनि थिए, सहरकै एउटा कलेजका दर्जनौँ विद्यार्थीहरू कलेजकै युनिर्फममा बिहानै एउटा डान्स रेस्टुरेन्टबाट पक्राउ परेका थिए । यसैगरी सहरका विभिन्न कलेजमा पढ्ने छात्राहरू सहरकै विभिन्न मसाज पार्लर र होटलहरूबाट अनैतिक क्रियाकलापमा संलग्न भएकै अवस्थामा पक्राउ परेका थिए । विद्यार्थीहरू यसरी बिगि्ररहेको अवस्थामा अभिभावकहरूले देखाउने चासो र चिन्तालाई उनले स्वाभाविक मानेका छन् ।
हुन त उनको कलेजमा एउटा सिस्टम नै छ विद्यार्थीहरू नियमित कलेज नआएमा, पढाइमा प्रगति गर्न नसकेमा वा आचरण नराम्रो भएमा अभिभावकलाई खबर गर्ने । यति हुँदाहुँदै पनि कतिपय अवस्थामा सबै विद्यार्थीका बारेमा जानकारी लिन र अभिभावकलाई खबर गर्न समय लाग्ने भएकाले जागरुक अभिभावक आफैँले पनि चासो लिनुपर्छ भन्ने उनको मान्यता पनि छ ।
अस्ति भर्खरै केही विद्यार्थीलाई कारवाही भयो । कसैलाई अनुशासनको कारवाही भयो त कसैलाई नियमित कलेज नआएकोमा र ढिलो आएको कारण बिहानको पहिलो कक्षा छुटाएकामा कारवाही भयो । कारवाहीस्वरूप ती विद्यार्थीहरूले तोकिएका विषयहरूको आन्तरिक परीक्षा दिन नपाउने भए । आन्तरिक परीक्षा दिन नपाउनुको सीधा अर्थ हुन्छ फाइनल परीक्षा पनि दिन नपाउनु । यति कारवाही नै विद्यार्थीका लागि पर्याप्त थियो । तर यति हुँदाहुँदै पनि कत्ति विद्यार्थीहरू सुधि्रएका छैनन् । त्यसैले प्रिन्सिपल जोशी कहिलेकाहीँ रिसाएर भन्ने गर्छन्, ‘धनी बाउका बिग्रेका छोराछोरी ।’
कलेजको नियमित कार्यतालिका अनुसार अभिभावक र फ्याकल्टीको मिटिङ भयो । छलफलका लागि विद्यार्थीहरूलाई पनि बोलाइएको थियो । एउटा अभिभावकले आफ्नी छोरीतिर औँल्याउँदै सोध्यो, ‘मेरी छोरीको पढाइ कस्तो छ ?’
पाँचौ सेमेस्टरको क्लास को-अर्डिनेटरसमेत रहेका अर्गनाइजेसनल विहेवियर विषयका फ्याकल्टी सन्तोष लिम्बूले उक्त विद्यार्थीको परफरमेन्स सिट हेरेर मुख बिगार्दै भन्यो, ‘तपाईंको छोरीको पढाइमा ध्यानै छैन ।’
‘कता छ त उसको ध्यान ?’ अभिभावकले सोध्यो ।
‘त्यो त उसैलाई सोध्नुपर्छ ।’ फ्याकल्टीले भन्यो । त्यहाँ उपस्थित विद्यार्थीहरू मुखामुख गर्दै हाँस्न थाले । त्यो छात्राले लाजले हो वा बाबुको डरले हो, टाउको निहुर्याई । उसको बाबु रिसले चुर भयो ।
अर्को अभिभावकले भन्यो, ‘मेरो छोराको रिजल्ट किन यति पोर ?’
‘उसले आफ्नो पढाइमा सुधार गर्नै सकेको छैन ?’ उसलाई पढाउने एउटा फ्याकल्टीले भन्यो ।
‘अतिरिक्त समय पढाउँदा पनि किन यस्तो ?’ अभिभावकले सोध्यो ।
‘त्यही कुरा त हामीले पनि बुझ्न सकिरहेका छैनौँ ।’ फ्याकल्टीले भन्यो ।
त्यसपछि त्यो अभिभावकले आफ्नो छोरोतिर हेर्यो । उसको छोराले डराउँदै टाउको निहुर्यायो । अरू विद्यार्थीहरू पनि डराएजस्ता देखिए । किनभने पालो सबैको आउँदै थियो ।
प्रिन्सिपल जोशी अभिभावक र फ्याकल्टीबीचको कुराकानी ध्यान दिएर सुनिरहेका थिए । कुरा सुनेर उनलाई छटपटी भइरहेको थियो । अर्को वर्ष कलेजको रिजल्ट अझै तल झर्ने भयो भनेर उनलाई चिन्ता लाग्न थालेको थियो ।
विदेशको सुविधासम्पन्न विश्वविद्यालयमा पढेर आएका हुन् प्रिन्सिपल जोशी । त्यसैले आफ्नो कलेजमा पनि पढाइको गुणस्तर कायम राख्न सबै प्रकारका सुविधा र सहुलियत दिनुपर्छ भन्ने मान्यता छ उनको । पठनपाठनका क्रममा चाहिने भौतिक सुविधादेखि विद्यार्थीहरूको मनोरञ्जन र खेलकुदका लागि चाहिने सबै प्रकारका सुविधाहरू उपलब्ध छन् उनको कलेजमा । फ्रेसर्स पार्टी वा फेयरवेल पार्टीका लागि पुग्नेगरी प्रशस्त स्पेस भएको सुविधासम्पन्न क्यान्टिन पनि छ उनको कलेजमा । त्यसैले त्यो क्यान्टिनको कुनाकुनामा बसेर विद्यार्थीका जोडीहरूले प्रेम साटासाट गर्ने अवसर पनि सजिलै प्राप्त गरेका छन् । कतिपय अवस्थामा असहज र अपाच्य अवस्थामा पनि देखिने गर्छन् यस्ता प्रेमजोडीहरू तर तिनलाई देखेर पनि नदेखेझैँ गरेर हिँड्नुपर्छ अरूले । त्यस्तो दृश्य देख्दा जोसुकैलाई पनि विदेशकै कलेजमा छु जस्तो लाग्न सक्छ ।
एक दिन प्रिन्सिपल जोशी घुम्दै गरेको अवस्थामा एकजोडी विद्यार्थी त्यस्तैगरी प्रेम साटासाट गरिरहेको अवस्थामा भेटिए । त्यो देखेर प्रिन्सिपल जोशीले झोँक्किएर भने, ‘यो के गरेको ? थाहा छ तिमीहरू अहिले कहाँ छौ ?’ प्रेममा लीन जोडी कालोनीलो हुँदै त्यहाँबाट उठेर हिँडे । त्यो दिनदेखि प्रिन्सिपल जोशीले त्यो जोडीमाथि सधैँ निगरानी राखिरहे तर त्यो दिनदेखि उनीहरू त्यस्तो अवस्थामा कहिल्यै पनि भेटिएनन् । स्मरणीय कुरा के हो भने उनीहरू आफ्नो ब्याचका उत्कृष्ट विद्यार्थी हुन् । दुवै जनाले छात्रवृत्ति पनि पाएका छन् । पढाइमा अब्बल विद्यार्थीहरू प्रेममा पनि अब्बल रहेछन् । सम्भवतः यही कारणले प्रिन्सिपल जोशीले उनीहरूमाथि अनुशासनको कारवाही गरिहाल्न चाहेनन् ।
अचेल अभिभावकहरूको एउटै जिज्ञासा सुनिन थालेको छ कि केटाकेटीहरू समयमा घर आउँदैनन् । अचेल फोन गर्ने अभिभावकहरूले यस्तै प्रश्नहरू मात्रै सोध्ने गर्छन् । ती अभिभावकहरूलाई थाहा नभएको हुनसक्छ कि कलेजमा पढाइको गुणस्तर कायम राख्न अतिरिक्त समय पढ्ने वातावरण पनि मिलाइएको छ । त्यसैकारण कलेजमा फुलटाइम फ्याकल्टीको सङ्ख्या बढाइएको छ र विषयगत टिचिङ असिस्टेन्ट अर्थात् टीएहरू पनि राखिएका छन् । यसले गर्दा जुनसुकै सेमेस्टरका विद्यार्थीहरू बिहान साढे छ बजेदेखि तीन बजेभित्र जुनसुकै समयमा फुलटाइम फ्याकल्टी अथवा टीएहरूसँग आएर पढ्न सक्छन् वा आफूलाई परेको समस्या समाधान गर्न सक्छन् ।
अतिरिक्त समय पढ्ने र पढाउने गरिएकाले धेरै विद्यार्थीहरू नियमित कक्षाको समयपछि पनि कलेजमा बिताउँछन् तर सबै विद्यार्थीहरू पढ्नकै लागि कलेजमा बिताउँछन् वा अरू कामले अन्तै गएर समय बिताउने र घरमा चाहिँ ढिला पुग्छन् ? यो प्रश्न सोचनीय भएकोतर्फ भने प्रिन्सिपल जोशीले सोचेका थिएनन् । त्यसैले केटाकेटीहरू किन ढिला घर आउँछन् भन्ने अभिभावकहरूको प्रश्नमा प्रिन्सिपल जोशी एउटै उत्तर दिन्थे, ‘अचेल कलेजमा पढाइको गुणस्तर कायम राख्न अतिरिक्त समय पढ्ने र पढाउने व्यवस्था गरिएको छ ।’ त्यसबाहेक प्रोजेक्ट वर्क, असाइन्मेन्ट र रिपोर्ट राइटिङ र क्लास प्रेजेन्टेसनका लागि कम्प्युटर ल्याब र लाइब्रेरीमा समय बिताउनुपर्ने हुँदा पनि विद्यार्थीहरू घर जान ढिला हुने गरेको कुरा पनि उसले प्रायः सबै अभिभावकलाई सुनाउँथ्यो । हो न हो अभिभावकहरू पत्याइहाल्थे र चुप लाग्थे । फिस नबढाइकनै अतिरिक्त समय पढाउने व्यवस्था गरेकोमा कतिपय अभिभावकहरू प्रिन्सिपल जोशीलाई धन्यवाद पनि दिन्थे । अभिभावकहरूले खुसी भएर धन्यवाद दिएको सुनेर प्रिन्सिपल जोशी राम्रो काम गरेँछु भनेर खुसी हुन्थे ।
यो थियो केही समयअघिको कुरा तर अहिले समयले कोल्टे फेरेको छ । अभिभावकले धन्यवादको साटो धेरैथरि प्रश्न गरेर प्रिन्सिपल जोशीलाई हैरान पार्ने गरेका छन् । त्यसैले प्रिन्सिपल जोशी अहिले पहिलाजस्तो त्यति खुसी छैनन् ।
प्रिन्सिपल जोशीकै अनुकम्पाले कलेजमा पढाइबाहेक बेलाबेलामा हुने बिजिनेस पार्टी, वर्कसप र सेमिनारहरूले गर्दा विद्यार्थीहरूले थप ज्ञान तथा सीप आर्जन गर्ने र रोजगारबजारमा आफूलाई एक्स्पोज गर्ने र सेल गर्ने राम्रो अवसर पनि पाउने गरेका छन् । यसका साथै हरेक वर्ष हुने फ्रेसर्स पार्टी, फेयरवेलपार्टी, काउन्सिल डे लगायत कलेजको वाषिर्कोत्सवका अवसरहरूमा पनि विद्यार्थीहरूले भरपुर मनोरञ्जन र आनन्द लिने अवसर पाउँदै आएका छन् । यी अवसरहरू प्रेमजोडीहरूका लागि सुनौला अवसर पनि हुन् । यस्तै अवसरमा तिनले कलेजको कुनै कुनामा बसेर आफ्नो इच्छा पूरा गर्ने अवसर पनि प्राप्त गर्दछन् ।
अस्ति भर्खरै कलेजमा फेयरवेल पार्टी भएको थियो । विद्यार्थीहरूले बिहानदेखि राति अबेरसम्म विभिन्न कार्यक्रम र नाचगान गरेका थिए । त्यसको भोलिपल्ट बिहानै एक हूल विद्यार्थी प्रिन्सिपलकहाँ गएर रिपोर्ट गरे पार्टीमा केही असहज क्रियाकलाप भयो भनेर । प्रिन्सिपलले जङ्गिएर सोधे, ‘के भयो पार्टीमा ? रक्सी पिएर झगडा गरे ?’
‘झगडा होइन सर…।’ विद्यार्थीहरूले एकै स्वरमा भने ।
‘त्यसोभए के भयो त ?’ प्रिन्सिपल जोशी फेरि जङ्गिए ।
केही विद्यार्थीले अलिअलि लजाएर भने, ‘टङ किस, बडी टचिङ…. केके हो केके ।’
‘कसले गर्यो त्यस्तो ?’ प्रिन्सिपल जोशीले अलिकति संयमित भएर सोधे ।
विद्यार्थीहरू मुखामुख गर्न थाले, कोही बोलेनन् । त्यसपछि प्रिन्सिपल आफैँले भने, ‘ल ठीक छ, मुखले बोल्न गार्हो छ भने लेखेर देऊ । म तिनीहरूलाई सस्पेन्ड गरिदिन्छु ।’
पार्टीमा असहज क्रियाकलाप गर्नेहरूको नाउँ लेखेर विद्यार्थीहरू गए । नाउँ हेर्दै प्रिन्सिपल जोशीले टाउको हल्लाए र मनमनै भने, ‘ए, तिमीहरू हौ त्यस्तो गर्ने ? अब थाहा पाउँछौ तिमीहरूले ।’
प्रिन्सिपल जोशीले तुरुन्तै फ्याकल्टी मिटिङ राखेर त्यस्तो असहज क्रियाकलाप गर्ने तीन जोडी विद्यार्थीलाई सस्पेन्ड गरिदिए । विद्यार्थीहरूले माफी माग्दै थिए तर प्रिन्सिपल जोशी आफ्नो निर्णयमा अडिग रहे ।
त्यसपछि विद्यार्थीहरू केही अनुशासित देखिए । प्रिन्सिपल जोशी आफैँ पनि कलेज तथा क्यान्टिनमा घुमेर विद्यार्थीहरूको क्रियाकलाप निरीक्षण गर्न थाले । हातमा किताब लिएर कलेजको कुनाकुनामा टाँस्सिएर बस्ने केटाकेटीहरू सचेत हुन थाले । अबेरसम्म कक्षाकोठामा बसेर पढ्ने विद्यार्थीहरूमाथि पनि निगरानी हुनथाल्यो ।
तर त्यो निगरानी पनि फेल खायो । अतिरिक्त समयको चरम दुरूपयोगको एउटा नमूना यस्तो थियो ।
क्लिनर वसन्तीले शौचालय सफा गर्ने क्रममा कमोडभित्र पानीमा तैरिरहेको दुई वटा प्रयोग गरिएका कन्डम देखी र यो खबर तुरुन्त प्रिन्सिपल जोशीसमक्ष पुर्याई, ‘सर, कलेजको पुरुष शौचालयमा दुई वटा खोल भेटियो ।’
‘केको खोल ?’ प्रिन्सिपल जोशीले कुरा नबुझेर सोधे ।
क्लिनर वसन्तीले लजाएर भनी, ‘खोल क्या सर.. ,।’
प्रिन्सिपल जोशीले बल्ल कुरा बुझ्यो र भन्यो , ‘ए… ।’
खबर सुनेर प्रिन्सिपल जोशी एकछिन् अवाक भए । त्यसपछि तुरुन्तै फ्याकल्टी र टीएहरूलाई बोलाएर प्रिन्सिपल जोशीले आफ्नो निर्णय सुनाए, ‘अबदेखि अतिरिक्त समय पठनपाठन बन्द । दुई बजे पछाडि कुनै पनि विद्यार्थीलाई कलेज परिसरमा बस्न नदिनू ।’
अकस्मात प्रिन्सिपल जोशीको यस्तो निर्णय सुनेर सबै फ्याकल्टी तथा टीएहरू अचम्ममा परे । उनीहरूले केही बुझेनन् किन अकस्मात् यस्तो निर्णय लिइयो भनेर ।
मधुपर्क जेठ, २०६९
