Skip to content


आफैंसँग झस्किएका यक्ष प्रश्नहरू
बेअर्थमा रिसाएका दुर्वाशा समयहरू
विनासित्ती निहुँ खोज्छन् अचेल
समय श्रापित अहिल्याका स्वप्नदोषहरू।

भग्न मन क्षेत्रबाट उत्खनित रहरहरू
असंरक्षित सपनाका असुरक्षित भ्रूणहरू
फलाक्दै दिनदहाडै इन्क्लाब दौडिन्छन्
मस्तिष्क चेतनाका लावारिस उद्घोषहरू।

असहज, असान्दर्भिक राज्यका कानूनहरू
फेरिन्छन् प्रत्येक फाइलका पुराना पृष्ठहरू
दम्भ नियोजित नियमका दफा दफामा
कुटिल योजना पस्कन्छन् युगका नाइकेहरू।

अतिरंजित स्वाभिमानमा औंला ठड्याउँछन्
नव नागरिक टेबलमुनिको लेनदेनमा
कठै! वागमती किनारमा अन्योल भेटिन्छन्
नागरिकता विनाका एक हूल बेवारिसेहरू।

सारहीन ‘इगो’ बाँचेका सीमा स्तम्भहरू
चोटै चोटले असहिष्णु बनेको सहिष्णुता
जबर्जस्त ढालिन्छन् उत्तेजनामा आस्थाहरू
अर्धविक्षिप्त लाग्ने यस समयका चेतनाहरू।

हिमाल खबरपत्रिका
१-३० कात्तिक २०६९
14 Oct- 15 Nov 2012

Leave a Reply

Your email address will not be published. Required fields are marked *