सन् १९६० को दशकसम्म देशभित्र विज्ञान प्रविधिको उच्च शिक्षा हाँसिल गर्ने अवसर नभएकाले विज्ञानका विद्यार्थीलाई राम्रो श्रेणीमा उत्तीर्ण भई कोलोम्बो प्लानको छात्रवृत्ति प्राप्त गरेर भारतमा उच्च अध्ययन गर्न जाने अवसर पाउनु नै सबैभन्दा ठूलो उपलब्धि मानिन्थ्यो। राम्रो श्रेणीमा उत्तीर्ण हुन नसके भविष्य नै बिग्रिने डरले विज्ञानका विद्यार्थी त्यति बेला पाठ्य पुस्तकबाहेक अन्य किताब सामान्यतया पढ्दैनथे। पढाइ बिग्रिने डरले अभिभावक तथा शिक्षकले समेत विज्ञानका विद्यार्थीलाई पाठ्य पुुस्तकबाहेक अन्य किताब पढ्न निरुत्साहित गर्थे। मैले पनि विद्यार्थी जीवनमा पाठ्य पुस्तकबाहेक अन्य कुनै किताब पढिनँ। मलाई आज पनि सम्झना छ, भारतमा वनस्पतिशास्त्रको स्नातकोत्तर (एमएस्सी) तहमा अध्ययन गरिरहँदा लामो बिदामा घर आउँदा रेल र बसमा यात्रा गर्दा पनि म कुनै पाठ्य पुस्तक पढिरहेको हुन्थँे। बिदाका दिनमा पनि नियमित केही घण्टा पाठ्य पुस्तक पढ्ने गर्थेँ।
उच्च अध्ययनका लागि सन् १९६९ मा जर्मनीमा गएपछिमात्र ममा आफ्नो अध्ययनको विषयबाहेकका किताब पढ्ने बानी विकसित भएको हो। जर्मनीमा सानै उमेरदेखि आमाबाबुले आफ्ना छोराछोरीलाई किताब पढ्ने बानी बसाल्न प्रेरित गर्दा रहेछन्। छोराछोरीले राम्ररी लेखपढ गर्न जानेपछि आमाबाबुले रोचक तथा आकर्षक चित्रसहितका बालकथा वा बालकविताका किताब किनेर ल्याइदिन्थे। यसरी सानै उमेरदेखि जर्मनहरूमा किताब पढ्ने सस्कृति विकसित भएको मैले अनुभव गरेँ। जर्मन समाजमा भिज्दै गएपछि ममा पनि विस्तारै पाठ्य पुस्तकबाहेकका किताब पढ्ने बानी बस्न थाल्यो।
हुन त जर्मनीमा स्नातकोत्तर तहको विद्यार्थी छँदा पनि मेरो अधिकांश समय आफ्नो पढाइसँग सम्बन्धित किताब पढ्नमै बित्थ्यो। विद्यावारिधि गर्दा पनि आफ्नो अनुसन्धानसित सम्बन्धित किताब र जर्नलहरू पढ्नमै बढी व्यस्त हुन्थेँ। तथापि दिनहुँ बस वा ट्राममा भ्रमण गर्दा वा कतै छुट्टीमा भ्रमणमा निस्कँदा आफ्नो अध्ययनको विषयबाहेकका केही किताब सधैँ हुन्थे। रेलवे स्टेसन वा विमानस्थलमा प्रतीक्षारत छँदा पनि हातमा सधैँ यस्तै कुनै किताब हुन्थ्योे।
विदेशी विद्यार्थीलाई जर्मनीमा साथी बनाउन त्यति सजिलो थिएन। साथीहरूबीचको सम्बन्ध धेरैजसो ‘हाइहेलो’ मै सीमित हुन्थ्यो। म पनि त्यति बेला साथीभाइसँग धेरै घुलमिल हँुदिनथेँ। धेरैलाई अनौठो लाग्न सक्छ, जर्मनीमा विद्यावारिधिको अनुसन्धान गरिरहँदा मैले धेरैपटक कैयन् दिनसम्म कसैसँग एक शब्द नबोलेर समय बिताएको छु। म आफ्नै अध्ययन र अनुसन्धानमा व्यस्त रहन्थे। त्यो एक प्रकारको मौनब्रतजस्तै हुन्थ्यो। यस्तो अवस्थामा मेरो लागि फुर्सदको समय बिताउन आफ्नो अध्ययनको विषयबाहेकका कुनै रोचक किताब अभिन्न मित्र बन्थ्यो। त्यति बेलादेखि लागेको किताब पढ्ने बानी अहिलेसम्म छुटेको छैन। पछि गएर मलाई राति सुत्नुअघि केही नपढी नहुने बानी बस्यो। यो बानी आजसम्म छुटेको छैन। केही नपढी रातमा मलाई निद्रा लाग्दैन। सुत्नुअघि केही पढ्नु मेरो लागि ‘स्लिपिङ पिल’ खानुजस्तै भएको छ।
प्रिय ‘सिद्धार्थ’
जर्मनीमा एक जना साथीबाट क्रिसमसमा पहिलोपल्ट जर्मन साहित्यकार हरमन हेस्सेले लेखेको किताब ‘सिद्धार्थ’ उपहारस्वरूप प्राप्त गरेको थिएँ। उक्त किताब जर्मन भाषामा थियो। त्यति बेलासम्म म जर्मन भाषामा पोख्त भइसकेको थिएँ र जर्मन भाषामा लेखिएका किताब पढ्न र राम्ररी बु‰न कुनै समस्या थिएन।
‘सिद्धार्थ’ मलाई अत्यन्तै मनपर्ने उपन्यास हो। त्यस किताबमा जीवनको अर्थ खोज्न हिँडेका युवक सिद्धार्थले विद्वान् गुरु, साधु, सन्तबाटभन्दा डुंगा खियाएर नदी पार गर्न यात्रीलाई सहयोग गर्ने एक सामान्य व्यक्तिबाट बढी ज्ञान प्राप्त गरेको उल्लेख छ। यो छोटो उपन्यासका एक एक वाक्य जीवनोपयोगी र ज्ञानवर्द्धक लाग्छ। तीमध्ये मलाई सबैभन्दा प्रभावित पारेको वाक्य हो, ‘विसन कान मान मिट्टाइलेन, वाइसहाइट आबर निख्ट’। अर्थात् ज्ञान (‘नलेज’) बाँड्न सकिन्छ तर बुद्धिमता (‘विजडम’) बाँड्न सकिन्न।’ उदाहरणका लागि बुद्धको उपदेशबाट धेरैले जीवनोपयोगी ज्ञान प्राप्त गरे तर तीमध्ये कोही पनि आजसम्म अर्को बुद्ध बन्न सकेको छैन। आइन्स्टाइनका सिद्धान्तको ज्ञान धेरैलाई छ, तर दोस्रो आइन्स्टाइन अहिलेसम्म जन्मेको छैन। ‘सिद्धार्थ’ मैले धेरैपटक पढेको छु। हरेकपल्ट त्यत्तिकै राम्रो लाग्छ।
हरमान हेस्सेको अतिरिक्त जर्मनीमा अध्ययनरत छँदा हाइनरिख ब्योल, थोमस मान, गुन्टर ग्रासआदि प्रसिद्ध जर्मन साहित्यकारका केही कृति पनि पढेको थिएँ। त्यसमध्ये मलाई मन परेका केही किताबमध्ये थोमस मानको ‘बुडेनब्रुक्स’ र हाइनरिख ब्योलको ‘ग्रुपेन बिल्ड मिट डामे’ (‘ग्रुप पोटे्र विद लेडी’) हुन्। ‘बुडेनब्रुक्स’ मा एक सम्भ्रान्त र सम्पन्न परिवारको पतन हँुदाको वेदनात्मक वर्णन छ भने हाइनरिख ब्योलको ‘ग्रुप पोटे्र विद लेडी’ मा दोस्रो विश्व युद्धताक जर्मनीका सामान्य व्यक्ति, विशेषगरी महिलाले भोगेका दुःखद् अनुभवको मार्मिक वर्णन। हरमान हेस्से, हाइनरिख ब्योल, थोमस मान, गुन्टर ग्रास चारै जना नोबेल पुरस्कार विजेता साहित्यकार हुन्।
जर्मनीमा छँदा त्यहाँको लोककथा, संस्कृति तथा इतिहाससम्बन्धी केही किताब पढेको थिएँ। यसै सिलसिलामा हिटलरको प्रसिद्ध संस्मरण ‘माइन काम्फ’ र अमेरिकी लेखक विलियिम सिररद्वारा लिखित दोस्रो युद्धसम्बन्धी किताब ‘द राइज एन्ड फल अफ द थर्ड राइख’ पढेको थिएँ। यो मोटो किताबमा जर्मनीमा सन् १९३३ देखि १९४५ सम्म एडल्फ हिटलरको उदय र पतनका साथै दोस्रो युद्धको विस्तृत वर्णन र सूक्ष्म विश्लेषण छ। करोडौँ प्रति बिक्री भएको यो बेस्टसेलर बीसौँ शताब्दीमा लेखिएका इतिहासका किताबमध्ये सबैभन्दा उत्कृष्ट मानिन्छ।
त्यसैगरी जर्मनीमा छँदा प्रसिद्ध केही रुसी, फ्रान्सेली तथा अमेरिकी लेखकका शास्त्रीय कृतिहरू पनि जर्मन भाषामा पढेको थिएँ। तीमध्ये लियो टाल्स्टायको ‘अन्ना करेनिना’ र नोबल पुरस्कार विजेता बोरिस पास्तरनाकको ‘डाक्टर जिभागो’ अनि ती उपन्यासमा आधारित चलचित्र मलाई निकै मन परेका थिए।
वैज्ञानिकका संस्मरण
जर्मनीमा छँदा र पछि नेपालमा फर्केपछि प्रसिद्ध वैज्ञानिकहरूको आत्मसंस्मरण तथा उनीहरूले लेखेका चर्चित किताबहरू पढेको थिएँ। ती सबैको चर्चा गर्नु एक अखबारी लेखमा सम्भव छैन। त्यसैले तीमध्ये मलाई विशेष मन परेका केही किताबको मात्र यहाँ चर्चा गर्न चाहन्छु। वैज्ञानिकद्वारा लेखिएका र मलाई धेरै प्रभाव पारेका केही किताब हुन्- जेम्स वाट्सनको ‘द डबल हेलिक्स’, क्रिस्चियान द ड्युभका ‘भाइटल डस्ट’, स्टिफन हकिङको ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’, अहमद जिवेलको ‘भोयज थ्रु टाइम’ र एपीजे अब्दुल कलामको ‘विंग्स अफ फायर’।
जेम्स वाट्सनको ‘द डबल हेलिक्स’ मा अनुवांशिक तत्व डीएनएको संरचना पत्ता लगाउने अनुसन्धानको क्रममा भएका विभिन्न घटनाको रोचक वर्णन पढ्न पाइन्छ। वैज्ञानिक अनुसन्धानसमेत ईर्ष्या, द्वेष, अस्वस्थ प्रतिस्पर्धाजस्ता नकारात्मक सोचबाट कसरी प्रभावित हँुदोरहेछ भन्ने यथार्थ ‘द डबल हेलिक्स’ मा पढ्न सकिन्छ। डीएनएको संरचनासम्बन्धी अनुसन्धानमा संलग्न छँदा जेम्स वाट्सन क्याम्ब्रिज विश्वविद्यालयमा पोस्ट डक्टोरलको युवा अनुसन्धानकर्ता थियो। उता अमेरिकामा दुईपटक नोबेल पुरस्कार विजेता रसायनशास्त्री लिनस पाउलिङ पनि डीएनएको संरचना पत्ता लगाउने अनुसन्धानमा जुटेका थिए। त्यति बेला लिनस पाउलिङका छोरा पिटर पाउलिङ पनि क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धानरत थिए। उनले आफ्नो बाबुका लागि जेम्स वाट्सन र उनका सहकर्मीको अनुसन्धानको प्रगतिको जासुसी गर्थे र अमेरिकामा रहेका बाबुलाई खबर पठाउँथे। तथापि जेम्स वाट्सन र क्याम्ब्रिजका उनका सहकर्मी फ्रान्सिस क्रिक तथा मौरिस विल्किन्स डीएनएको संरचना पत्ता लगाउन पहिलोपल्ट सफल भए। यो सोध नतिजाका लागि उनीहरूलाई सन् १९६२ मा नोबल पुरस्कार प्रदान गरिएको थियो। युवा वैज्ञानिकले पनि अनुसन्धानमा महान् उपलब्धि हाँसिल गर्न सक्छन् भन्ने त्यो राम्रो उदाहरण थियो। डीएनएको संरचना पत्ता लगाउनु जीव विज्ञानको क्षेत्रमा क्रान्तिकारी उपलब्धि मानिन्छ। ‘द डबल हेलिक्स’ विज्ञानका, विशेषगरी जीव विज्ञानका हरेक विद्यार्थीले पढ्नै पर्ने उत्कृष्ट किताब हो।
नोबेल पुरस्कार विजेता जीव रसायनशास्त्री द ड्युभद्वारा लिखित ‘भाइटल डस्ट’मा पृथ्वीमा जीवको उत्पत्ति र विकासलाई जीव रसायनिक कोणबाट व्याख्या गरिएको छ। यस किताबमा द ड्युभले पृथ्वीबाहेक ब्रह्माण्डका अन्य कैयन् ग्रहमा पनि जीवको अस्तित्व हुनुपर्ने युक्तिसंगत तर्क पेश गरेका छन्। उनको भनाइ थियो, पृथ्वीबाहिर जीव भेटिएमा आश्चर्य मान्नुपर्दैन, बरु नपाइए आश्चर्य मान्नुपर्छ। निकट भविष्यमा पृथ्वीबाहिर जीवको अस्तित्व प्रमाणित गर्न वैज्ञानिकहरू सफल हुनेमा द ड्युभ पूरा विश्वस्त देखिन्छन्।
‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ मा हकिङले ब्रह्माण्डको उत्पत्ति र त्यससँग सम्बन्धित ‘बिग ब्याङ’, ‘ब्ल्याक होल’, स्थान र समय (टाइम एन्ड स्पेस) जस्ता भौतिकशास्त्रका अति जटिल विषयलाई सर्वसाधारणले बु‰ने सरल भाषामा व्याख्या गरेका छन्। ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बीसौँ शताब्दीमा सबैभन्दा बढी बिक्री भएका किताबमध्ये एक हो। भनिन्छ, विज्ञान विषयमा लेखिएका किताबमध्ये यति लोकप्रिय किताब इतिहासमा अरू छैन। स्नायुरोग मस्कुलर डिस्ट्रोफीबाट पीडित हकिङको शरीरका सम्पूर्ण भाग पक्षाघातबाट प्रभावित छन्। उनी बोल्न, चल्न र लेख्न सक्दैनन्। उनी एक विशेष कम्प्युटरमार्फत आफ्ना विचारहरू सम्प्रेषण गर्छन्। यस्तो अवस्थामा पनि उनले ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’ जस्ता उत्कृष्ट कृति लेखेर विश्वलाई आश्चर्यचकित बनाइदिएका थिए।
रासायनिक प्रतिक्रियामा परमाणुहरू जोडिने र छुट्टिने प्रक्रियाकोे वास्तविक दृश्य वैज्ञानिकहरूका लागि झन्डै २ हजार ४ सय वर्षसम्म अदृश्य रह्योे। तर, सन् १९८७ मा इजिप्टेली मूलका अमेरिकी रसायनशास्त्री अहमद जिवेल पहिलोपल्ट त्यस्ता दृश्यहरू प्रत्यक्षरूपमा प्रदर्शन गर्न सफल भएका थिए। त्यसका लागि उनी नोबेल पुरस्कारबाट सम्मानित भएको थियो। आफ्नो आत्मसंस्मरण ‘भोयज थ्रु टाइम’ मा अहमद जिवेलले एक विकासशील देशका वैज्ञानिकले अनुसन्धानको क्षेत्रमा हाँसिल गरेका सफलताको कथा र व्यथा वर्णन गरेका छन्।
यसैगरी सम्पूर्ण औपचारिक शिक्षा आफ्नै देश भारतमा प्राप्त गरेका अब्दुल कलामले ‘विंग्स अफ फायर’ मा भारतमा विज्ञान प्रविधिको विकासमा राज्य र राजनीतिज्ञले देखाएको प्रतिबद्धताको वर्णन गरेको पाइन्छ। एपीजे अब्दुल कलामलाई भारतको मिसाइल प्रविधिका पिता मानिन्छ। भारतमा आणविक विज्ञान, अन्तरिक्ष विज्ञान र मिसाइल प्रविधि विकासमा अतुलनीय योगदान पुर्याएका अब्दुल कलामले विद्यावारिधिको औपचारिक उपाधि हाँसिल नगरे पनि विश्वका दर्जनाँैै अतिप्रतिष्ठित विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका छन्। अहमद जिवेल र अब्दुल कलामद्वारा लिखित ती किताब विशेषतः विकासशील देशका वैज्ञानिकका लागि ठूलो प्रेरणाको स्रोत हुन सक्छन्।
नेपाली साहित्य
नेपाली साहित्यका किताब पढ्न थालेको भने विगत छ/सात वर्षदेखिमात्र हो। रत्न पुस्तक भण्डारबाट २०६२ मा मेरो आत्मसंस्मरण ‘वैज्ञानिक गेारेटामा’ प्रकाशित भएपछि नेपाली स्रस्टासँग मेरो सत्संग बढेको हो र म नेपाली साहित्यतिर आकर्षित हुन थालेको हँु। ‘वैज्ञानिक गेारेटामा’ को लोकप्रियताबाट हौसिएर लेखिएका र कान्तिपुर र नागरिक दैनिकमा प्रकाशित विज्ञान- प्रविधिसम्बन्धी लेखरचनाको संग्रह ‘अँध्यारोमा एक काँटी सलाई- जीवनमा विज्ञान’ २०६७ मा रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो। ‘वैज्ञानिक गेारेटामा’ को छैठौँ संस्करण केही दिनअघि प्रकाशित भएको छ भने ‘अँध्यारोमा एक काँटी सलाई’को दोस्रो संस्करण र विज्ञान- प्रविधिसम्बन्धी लेखरचनाको एक अर्को संग्रह प्रकाशोन्मुख छ। ‘वैज्ञानिक गेारेटामा’ को लोकार्पण गर्दै कृष्णचन्द्रसिंह प्रधानले भनेका थिए, ‘यो किताब लेखेर दयानन्दले नेपाली साहित्यमा प्रवेश गरेका छन्।’ तथापि म आफूलाई स्रस्टा होइन, वैज्ञानिक नै ठान्छु।
अहिलेसम्म मैले थोरै नेपाली स्रस्टाको मात्र किताब पढ्न भ्याएको छु। नाम चलेका धेरै नेपाली स्रस्टाको कृति पढ्न पाएको छैन। पढ्ने कोसिस गर्दैछु। अहिलेसम्म लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, कृष्णचन्द्रसिंह प्रधान, ध्रुवचन्द्र गौतम, मोदनाथ प्रश्रित, जगदीश घिमिरे, गोविन्दराज भट्टराई, नारायण वाग्ले, रमण घिमिरे, प्रमोद प्रधान, नारायण ढकाल, शारदा शर्मा, देवेन्द्र भट्टराई, रमेश विकल, गणेश रसिक, मञ्जुल, अम्बर गुरुङ, ईशान गौतम, केशरी वज्राचार्य, व्याकुल पाठक, प्रतीक ढकाल आदिका केही कृति पढ्न भ्याएको छु।
हिजोआज अवकाशप्राप्त जीवन बिताइरहेको छु। किताब मेरो लागि फुर्सदको समय बिताउने प्रमुख माध्यम बनेको छ। विज्ञान र साहित्य दुवै विधाको किताब पढ्ने गरेको छु। मलाई अहिलेसम्म विज्ञान विषयमा लेखिएको सर्वोत्कृष्ट किताब स्टिफन हकिङको ‘ए ब्रिफ हिस्ट्री अफ टाइम’ लाग्छ भने साहित्यतर्फ हरमन हेस्सेको ‘सिद्धार्थ’।
(लेखक नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का पूर्वउपकुलपति हुन्।)
