Skip to content


नेपाली निबन्धमाथि केही शब्द पोख्नुपर्दा मैले एउटा सुविधा खोजेको छु। नेपाली निबन्ध-लेखनको आदिकालदेखि चर्चा गर्न सक्ने सामर्थ्य मसँग छैन। त्यसैले मैले निबन्धलाई बुझ्न थालेको वा आफू हुर्किएको समयको सेरोफेरोमा यो लेख बुन्दैछु। त्यो हो, विक्रमको ५० र ६० को दशकले चर्चेको कुल दुई दशकको अवधि, जसलाई ‘समकालीन’ भनेर सम्बोधन गर्नेछु।

तर ‘समकालीन’ भन्ने पदावलिले जति सुविधा दिएको छ, त्यसभन्दा बढी दुविधा दिएको महसुस पनि गरेको छु। किनकि, आज निबन्ध सूत्र वा संरचनामा लेखिन्न। जसरी हिजो ‘कला’ भन्दा चित्रकला वा मूर्तिकला भन्ने बुझिँदै आएकोमा आज ‘कला’ को विधाभित्र चित्रकला र मूर्तिकलासँगसँगै प्रतिस्थापन (इन्स्टलेसन), मल्टिमिडिया र ‘पर्फर्मेन्स’ आदि समाहित भइसकेका छन्।

यसैगरी निबन्धभित्र आज बहुल प्रयोग हुँदै र गरिँदै आएका छन्। एक प्रकारको क्रमभंगता देखिन्छ, निबन्धमा। संस्मरण, आत्मानुभूति, नियात्रा, प्रोफाइल, अन्तर्वार्ताका बहुल संरचना भित्र विचार, दर्शन, अनुभूति, भावना, निजात्मकता, वैयक्तिकता-निर्वैयक्तिकता, विश्वजनिन चेतका बान्की र ज्वारहरू एकैसाथ उठेका देखिन्छन् । निबन्धमा दिनानुदिन नयाँ हस्ताक्षरहरू देखिँदैछन् जो नूतन चेत र नवीन प्रयोगका संवाहक बनेका छन्।

निबन्धमा आख्यानमा झैं स्वैर कल्पना (फ्यान्ट्यासी) प्रयोग गर्नेहरू पनि देखिएका छन्। रोशन शेरचनको पछिल्लो निबन्ध संग्रह ‘धोबीघाट एक्सप्रेस’ भित्रको ‘धोबीघाट एक्सप्रेस’ नै शीर्षकको निबन्ध र कुमार नगरकोटीका अक्सर सबै निबन्ध यस्तै कोटीमा पर्दछन्।

निबन्धका ‘समकालीन’ चित्र कोर्ने यस प्रयासमा म यस कालखण्ड अघिका आफ्ना अग्रज र पूर्ववर्ती निबन्धकारहरूलाई सम्मानपूर्वक स्मरण गर्दछु। र, बिटल्स समूहका जोन लेननले एल्भिस प्रेस्लेको सम्मानमा ‘इफ देयर वाज नो एल्भिस देयर इज नो बिटल्स’ भने जस्तै गरी भन्छु, ‘उनीहरू थिए र नै त हामीहरू छौं आज।’ तर, यति भनिसक्दा पनि एउटा गुह्य खुट्याउन चाहिँ खुट्टा कमाउन्न। त्यो के भने, उनीहरू र हाम्राबीचको सम्बन्ध पिता र पुत्रजस्ता हुन्, हामीले उनीहरूको ‘जिन’ बोकेका छौं, तर आफ्नै अस्तित्वमा त्यसलाई नवीकरण गरेर।

यस अर्थमा हाम्रा पूर्ववर्ती निबन्धकारहरू गोधूलिमा देखिने ‘सिलहुयेट्स’ जस्तामात्र हुन्। मित्र निबन्धकार रोशन शेरचनको शब्द पैचो लिएरभन्दा उनीहरू हाम्रा निम्ति आदर्शमात्र हुन्। त्यसैले उनीहरूबाट प्रेरणा लिनु एउटा कुरा हो, तर उनीहरू हिँडेकै बाटो हिँड्नु कुनै जरुरी छैन। अबको निबन्धको युग नयाँ हस्ताक्षरहरूले नै हाक्नु पर्नेछ। जुन सम्भावना अहिले प्रखर देखिँदैछ।

संख्यात्मक हिसाबले बहुल नेपाली निबन्धकारको पृष्ठभूमि कविता देखिन्छ। स्वाभाविक पनि छ, जुन देशका महाकवि नै महान् निबन्धकार हुन् भने त्यस देशमा कविहरू उत्तिकै वलशाली निबन्धकार हुनु कुनै आश्चर्य होइन। हाम्रा धेरै स्थापित कविहरूले उत्तिकै उम्दा निबन्धका सँगाला निकालेका छन्। जसमा पर्छन्, श्यामल, ईश्वरवल्लभ, हरि अधिकारी, मञ्जुल, गोविन्द वर्तमान, रोशन शेरचन, भीष्म उप्रेती, रमण घिमिरे, प्रकाश सायमी, भूपिन, गीता त्रिपाठी, शारदा शर्मा, संगीत आयाम आदि।

यसैगरी काव्य विधामा दह्रो उपस्थिति जनाइसकेका कतिपय कविहरूले उत्तिकै ओजपूर्ण फुटकर निबन्ध प्रकाशन गर्दै आएका छन्। उनीहरूलाई म ऊर्जाको इन्द्रसरोवर भन्न रुचाउछु, जसमा मानक कृतिहरू प्रकाशन गर्न सक्ने पूरापूर सामथ्र्य छ। यस्ता हस्ताक्षरका नाम लिनुपर्दा म मनु मञ्जिल, चन्द्र घिमिरे, रमेश क्षितिज, बुद्धिसागर, सीमा आभास, अभय श्रेष्ठ, सरस्वती प्रतीक्षा, विनोदविक्रम केसी, ज्योति जंगल आदिका नाम छुटाउन्नँ।

काव्यात्मकता, विम्बात्मकता, अन्तर्दृष्टि कवि-निबन्धकारका निबन्धका सबल पक्ष हुन्। तर, निबन्ध (र, साहित्यका सबै विधा) को मुटु बोधगम्यता भने उनीहरूको लेखनमा कहिले सघन त कहिले विलुप्त पाइन्छ। कविले बोधगम्य निबन्ध लेख्न सक्छन् भन्ने कुराको सशक्त प्रमाण महाकवि लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरू हुन्। उनको ‘के नेपाल सानो छ?’ भन्ने निबन्ध जति काव्यात्मक, सुललिल छ, उत्ति नै बोधगम्य पनि। तर, कतिपय अवस्थामा कविहरूले आत्मालाप र अतिशय भावुकताका कारण बोधगम्यता गुमाउन पुग्दछन्। यसमा कविहरूले ध्यान पुर्‍याउनु वाञ्छनीय छ।

यसैगरी नेपाली निबन्धकारितामा मूलधारका (साहित्यिक पत्रिकाबाट बिल्कुल होइन) पत्रकारहरूको दह्रो उपस्थिति देखिँदैछ। कतिपय निबन्धकारहरू कवि र पत्रकार दुवै देखिएका पनि छन्। अभय श्रेष्ठ वा विनोदविक्रम केसी यस्ता उदाहरण हुन्। मूलधारको पत्रकारिताबाट निबन्धात्मक कृतिहरू लेखेर प्रशंसा बटुल्नेहरूमा देवेन्द्र भट्टराई, मोहन मैनाली, दीपक सापकोटा आदि पर्दछन्।

निबन्धकै विधाभित्र अटाउन सक्ने व्यक्ति-चित्र अर्थात् प्रोफाइल लेखनलाई पत्रकार देवेन्द्र भट्टराईले नयाँ उचाइ दिएका छन्। तर, सँगालो ननिकाले पनि केही मूलधारका पत्रकारका निबन्ध ऐतिहासिक महत्त्वका छन्। ‘शिक्षक’ मासिकको असोज २०७० को अंकको नारायण वाग्लेको राष्ट्रकवि माधव घिमिरे माथिको आलेख ‘शताब्दीको भाका’ यस्तै एक उदाहरण हो।

दुई मनिषीहरू किसुनजी र जगदीश घिमिरेको महाप्रस्थानपछि मनोज दाहालले लेखेका ‘मुक्त आत्माको महाप्रस्थान’ र ‘जब मृत्युको बोध हुन्छ’ अतुलनीय ‘ओविच्युरी’ हुन। त्यसैगरी राजकुमार बानियाँको ‘भूपू स्कुले’ अनि यज्ञशको ‘कपालमा के छ हजुर?’ अनुभूति, संवेदना र बोधगम्यताका त्रिवेणी हुन्।

पत्रकारहरू वसन्त बस्नेत, घनश्याम खड्का, रामशरण बजगाईं, जनकराज सापकोटा आदिले पनि उम्दा लेख्दै आएका छन्। कविहरू जस्तै पत्रकारहरूका पनि सबल र दुर्वल दुवै पक्षहरू छन्। वस्तुनिष्ठता र सम्प्रेषणीयता पत्रकारका सबल पक्ष हुन् भने अतिशय वर्णनात्मकता र रिपोर्ताजले उनीहरूको लेखनलाई साहित्यको गरिमाबाट च्युत पार्न सक्छ। यस उपर पत्रकारले ध्यान दिनु जरुरी छ।

मानक निबन्धकार र कृति

यस कालखण्डमा किशोर नेपाल, शिव अधिकारी, युवराज नयाँघरे, गणेश रसिक, अम्बर गुरुङ आदिले ओजनदार निबन्ध सिर्जेका छन्। तर, ‘समकालीन’ निबन्धबारे चर्चा गर्दा म पाँच निबन्धकारहरूको नाम श्रद्धापूर्वक लिन्छु। डीपी भण्डारीलाई यस कालखण्डका एक मानक निबन्धकार मान्छु। उनका सबै कृतिहरू उत्कृष्ट हुँदाहुदै पनि ‘मृगस्थली’ सर्वोत्कृष्ट कृति हो। अभि सुवेदीको ‘कार्पेट टाँगिएको आकाश’ एउटा मानक कृति हो। तर हिजोआज सुवेदीका लामाभन्दा पनि छोटा निबन्धहरू स्तम्भका अवतारमा अखबारका पानाभरि देखिन्छन्। यसो हुनुको मुख्य कारण आमवृत्त (पब्लिक स्पेयर) सम्म पुग्ने उनको अभीष्ट हुन सक्छ। सुवेदीकै पछिल्लो समालोचकीय कृति ‘साहित्य र आमवृत्त’ ले साहित्यलाई किन र कसरी आमवृत्तसम्म पुर्‍याइँदै छ वा पुर्‍याइनुपर्छ भन्ने कुरामाथि गहन चर्चा गरेको छ। अखबारकै स्तम्भमार्फत अन्य निबन्धकारहरू पनि आमवृत्तसम्म नपुगेका होइनन्।

डीपी भण्डारी, खगेन्द्र संग्रौला र शारदा शर्माले स्थूल आमवृत्त निर्माण गरेका छन्। र, साथसाथै उनीहरू मानक निबन्धाकृति पस्कन पनि चुकेका छैनन्। शारदा शर्माको ‘अग्निस्पर्श’ एउटा कोशेढुंगा हो। अर्का निबन्धकार नारायण ढकालले नियात्राको सँगालो ‘शोकमग्न यात्री’ लाई आफ्ना अमर उपन्यास ‘प्रेतकल्प’ कै उचाइमा लगेका छन्। उता खगेन्द्र संग्रौलाका सबै निबन्धाकृतिहरू ‘घोडा, ईश्वर र मेरा बा’, ‘सम्झनाका कुइँनेटा’ र ‘आफ्नै आँखाको लयमा’ को भन्दा को कम छन्।

यस लेखको बिट मार्नुअघि म संक्षिप्तमा निबन्धको बजारबारे चर्चा गर्छु। कविता र आख्यानको दाँजोमा नेपालमा निबन्ध कमै लेखिएको पाइन्छ। त्यसैले यसको पाठक र बजार स्थिर छ। यसलाई म सकारात्मक रूपमा लिन्छु। किनकि, उपन्यासजस्तो निबन्धको बजार हुन्थ्यो भने आज छद्म लेखकको बिगबिगी हुन्थ्यो र उपन्यास जस्तै निबन्ध पनि विरूप बन्दै जान्थ्यो।

भलै निबन्ध कमै लेखिएको होस्, थोरै नै सही निबन्धकारहरूको उपस्थिति ओजपूर्ण देखिन्छ। यदि मलाई पछिल्लो दुई दशकका पाँच उम्दा उपन्यासहरूको नाम सुझाउन भनियो भने मलाई त्यो भन्न हम्मेहम्मे पर्नेछ, तर म पछिल्ला २० वर्षमा लेखिएका २० पठनीय निबन्धाकृतिको फेहरिस्त निमेषभरमा प्रस्तुत गर्न सक्छु। निबन्धको गरिमा र सामर्थ्य मापनका लागि शायद यति नै यथेष्ट हुन्छ कि?

Leave a Reply

Your email address will not be published. Required fields are marked *