Skip to content

यो जिन्दगी खोइ कस्तो कस्तो


बाहिर साउने झरी मन भित्र चैते खडेरी
नसोचेको बाहानाले पाइला लार्खाराउँछन् घरी घरी
कहिले हारे जस्तो कहिले जिते जस्तो
नभएको प्यारो भएको सस्तो
कुनै पल जितमा पनि हार
अनि
कुनै पल हारमा पनि जित
खहरे हो कि नदी हो
अमृत हो कि जहर हो
बुझ्नै नसकिने यो जिन्दगी खोइ कस्तो कस्तो
विरहको बतासले निदहरू उँडाइ दिन्छ
अतितको झल्कोले घाउहरू बल्झाई दिन्छ
कहिले लुटिए जस्तो कहिले टुक्रिए जस्तो
परेलीको पानी बनिदिन्छ सस्तो
कुनै पल सपना पनि बिपना झैँ लाग्ने
अनि
कुनै पल बिपना पनि सपना झैं लाग्ने
हाँसो र रोदनको संगम हो कि
मिलन र बिछोडको ऐना हो
चिन्नै नसकिने यो जिन्दगी खोइ कस्तो कस्तो
रातहरूले दुखाउँछन्, दिनहरूले तर्साउँछन्
निस्पात बाँधिएको मनलाई चाहानाहरूले चर्काउँछन्
कहिले उदाए जस्तो कहिले अस्ताए जस्तो
टाढाको तिर्सना नजिक को सस्तो
कुनै पल आफैं भित्र बिरानो पन
अनि
कुनै पल बिरानोमा आफ्नो पन
भरोषा र विश्वासको बन्धन हो कि
धोका र भ्रमको पर्दा हो
भन्नै नसकिने यो जिन्दगी खोइ कस्तो कस्तो
यो जिन्दगी खोइ कस्तो कस्तो ?
लक्ष्मी अनुरागी

Leave a Reply

Your email address will not be published. Required fields are marked *