Skip to content


भ्रष्टहरूको बिगबिगी भएको गुनासो बढेपछि त्यस्तालाई ठिंगुरामा ठेल्न अदुआ अड्डा खोलियो। त्यसबाट आगो भएका धनधान्यले भरिपूर्ण नेता–कर्मचारी र तिनका कार्यकर्ता–स्वजन पंक्ति अदुआ सुकाउन तल्लीन छन्। म भने निकै आशावादी छु।

बडेबडे मुस्तण्डाहरूले फुलो परुञ्जेल आँखा लगाएर पनि हत्याउन नसकेको अदुआ प्रमुखको कुर्सीमा विराजमान हुने मान्छे चानचुने पक्कै होइनन्, जसले शुरूमै प्रतिकूल परिस्थितिलाई लाराक्लुरुक पारेर आफू अनुकूल बनाउने खूबी देखाउनुभो। मिडिया, कालाकोटे, नागरिक समाज, अधिकारकर्मी खिर्लिप्पै उल्टिंदा पनि उहाँको आँटको आगे सबै छुसी माखो माफिक हुन पुगे।

छनकछन्द हेर्दा दह्रो नेताको खोजीमा रहेका नेपालीहरूको तिर्सना मेट्ने पहलकदमी पनि उहाँबाटै पो होला जस्तो देखिन्छ। उहाँ अदुआको कुर्सीमा बस्नासाथ नेपाल भ्रष्ट देशहरूको विश्व सूचीको ११६औं स्थानबाट उपियाँ झैं फड्केर १३९ औं खुट्किलोमा पुगेको छ। भ्यागुते उफ्राइको डिङ्ग हाँक्नेहरू पछारिएर बाटोमुनि ट्वारट्वार गरिरहेको वेला उहाँले बबाल शुभलक्षण देखाउनुभएको छ।

उहाँले लिस्नो प्रयोग गरेको आजपर्यन्त था’छैन, तथापि कताकताबाट जहिल्यै टुप्पोमै झुल्किनुहुन्छ। उहाँको सर्वत्र प्रशंसित कलाको बखानमा व्यर्थै गला दुखाउनुको साटो पाठकलाई म सोझै उहाँले नेपाललाई शून्य भ्रष्टाचारको विन्दुमा पुर्‍याउने कार्ययोजनाबारे मन्थन गर्न डाक्नुभएको भेलामा लैजान चाहन्छु।

“तपाईंहरू भ्रष्टाचार विरोधी कि श्वेतपोशी?”

अड्डाको प्राङ्गणमा सरोकारवालाहरूबीच अदुआ प्रमुखले वजनदार लवज र तिखो नजरको तीर छोडेपछि सेतो कुर्तामा ठाँटिएर अघिल्लो पंक्तिमा बसेकी युवतीले झ्ट्ट बर्को ओढिन्।

“हामी सब भ्रष्टाचार विरोधी!”

सामूहिक भाका गुन्जिएपछि ज्यानदार अदुआ प्रमुखले तरंगित हुँदै आफ्नो नजरलाई बुट्टे बर्कोबाट उठाएर चारैतिर घुमाए।

“ल ठिक छ …”, झुसिल्किरे जुँगामुन्तिरको खाइलाग्दा ओठमा किन्चित मुस्कान छर्दै उनले भने, “हामीले छोटो समयमै साढे ६ हजार उजुरी फर्छ्योट गर्दै चार करोड बिगो असुल्दा देशमा भ्रष्टाचार ह्वात्त घटेको छ।”

“अब भ्रष्टहरूले भ्रष्टाचार गर्न बिर्सेलान् त?” कोही उत्सुक भयो।

“नबिर्से असुल उपर बढाएर चारदेखि पाँच हुँदै क्रमशः १० र १५ करोडतिर पुर्‍याइने छ।”

“थोकलाई छाडेर खुद्रा मसिनातिर मात्र केन्द्रित हुनुभो भन्छन्…।”

“हेर्नुस्, थोपा–थोपा मिलेरै समुद्र बन्ने हो। मागे जति अधिकार नपाउँदा अलिकति अप्ठ्यारो भने भएकै हो।”

“कस्तो अधिकार नपुग्या हो कुन्नि?”

“सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग जस्ता निकायहरूलाई अदुआ मातहत बनाउँदा गजब हुन्थ्यो। लेनदेनमै भ्रष्टाचार हुने भएकाले ब्याङ्क–वित्तीय संस्था, बीमा कम्पनी, क्यासिनो, अन्तशुल्क, भ्याट, कर प्रशासन सबै अदुआ मातहत आउनुपर्छ। अँझ् वार्षिक बजेट बनाउने अर्थ मन्त्रालय र राष्ट्र ब्याङ्कलाई समेत यतै लेराउँदा भ्रष्टाचार भयो कि भन्ने शंकै साफ हुन्थ्यो।”

“सबै तपाईंकै झोलीमा हालिदिएर सरकार चाहिं कुन चौरमा चरेर बसोस्?”
“भ्रष्टाचारजन्य कार्यको अनुसन्धान, तहकिकात र अभियोजन सम्बन्धी काम गर्दै आएकोमा न्याय निरुपणको जिम्दारी पनि हाम्रै हुनुपर्छ भन्नेसम्म हो। एकद्वार प्रणाली मार्फत छरितो सेवा र पारदर्शी प्रदर्शन गर्ने पवित्र मनोकांक्षामाथि आशंका नगरियोस्, कुनै खाले अप्टिक नलगाइयोस्।”

“अनि संबिधान, ऐन–नियम सबै बदलेर गणतन्त्र–लोकतन्त्रलाई पनि अदुआतन्त्र भन्ने?” अब पत्रकार उत्सुक भए।

“नाममा के छ?” प्रमुखले आफ्नो कुरा छाडेनन्, “हाम्रो बाधा अड्काउ फुकाउन संबिधानमा अदुआको काममा अडङ्गा लाउने ऐन–नियम अडङ्गा लागेको हदसम्म बदर हुनेछ भन्ने एउटा धारा मात्र थप्दा पनि हुन्छ।”

“बाधा अड्काउ फुकाउ त तपाईंलाई साह्रै फाप्छ पनि क्यारे!” पत्रकारले व्यङ्ग्य गरे।

“मेरो मौनतालाई कमजोरी ठान्दै प्याच्च बोल्ने/लेख्ने नगर” प्रमुखको धैर्यले पनि हात उठायो, “अदुआतन्त्र आए’सी तिम्लाई नि हेरम्ला।”

हिमाल खबरपत्रिका
१४ पुस २०७०
29 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *