Skip to content


भव्य महलको प्राङ्गणमा ठूलै विजयोत्सवको तयारी झैं ध्वजापताका फहराइएको देखिन्छ, तर चरोमुसो छैन मानौं खुशीको माहोल बिथोल्न कुनै बज्रपात भयो। बेखुस वातावरणमा केही हतास अनुहारहरू दायाँ–बायाँ नहेरी सरासर महलमा प्रवेश गरे।
“जन्ती लिएर गएका बेहुली अर्कैसँग चम्पट् भइछन्… ”, सडकमा रेला सुनियो। “अनि जन्ती?”

“भोज खान नपाइने भए’सी लाखापाखा लागे क्यार! भत्खौरेहरू त इन्तु न चिन्तु भई ढल्या छन् रे!”

भित्र बैठक कोठाको माहोल भने गम्भीर छ। ‘मार्रा’ भन्न नपाउँदै पासा पल्टिएर च्याँखे थाप्नेहरूको भीडमा पर्दा सपना हो कि विपना खुट्याउन नसकेका जुवाडे जस्तो तन्द्रालोकमै देखिन्छन् सब। शानदार सोफामा विराजमान आकृतिले लामो मौनता तोडे, “हामी हारेकै हौं?”

“विकासे तितेकरेला जस्तो पार्टी चाउरिएर मरिच बनिसक्या था’छैन? २०६४ पछि भुईंतिर हेर्न नबिर्सेको भए अहिले पछारिंदा यसरी तोरीबारी देख्नुपर्ने थिएन।” “तर, हामी हार्‍यौं भनेर मेरो अन्तरात्माले पत्याउँदैन।”

“जनताले अरूलाई नै पत्याइसके।”

“बिस्तारै बोल्नुस्, संकटको घडीमा कस्तो टर्रो बोलेको” सोफामा बस्नेले निधार खुम्च्याउँदै आदेश दिए, “यसको कारण पत्ता लगाऔं, कमरेडहरू।” “१८० सीटमा मोहर लगाइदिने तपाईं नै सोध्नुस्, निकटका सितनभोगी बुद्धिजीवीहरूलाई।”

“तिनको नाम नलिनुस्। विदेशी ब्राण्डका खट्टो चाख्न पाउन्जेल यो देशको एक्लो अधिपति तपाईं नै हो भन्दै भोट र सीटको ठेक्का लिए। अहिले तिनै मोरा गल्ती–कमजोरीको फेहरिस्त सुनाउँदै हिंडेका छन्। एउटा फट्यांग्रो त टेलिभिजन अन्तर्वार्तामा मलाई नै शास्त्र पढाउँदैथ्यो” भव्य सोफावाला कुम झ्ट्काउँदै कराए। “हामी भौतिकवादीहरूले भावनात्मक कुरा गरेर हुँदैन, परिस्थितिको ठोस विश्लेषण गर्दै ठोस कदम चाल्नुपर्छ।”

“बताउनुस्…”

“भौतिक विज्ञान भनेकै रूप, रंग र आकार भएको भारयुक्त ठोस वस्तुको अध्ययन गर्ने शास्त्र हो। त्यसैले हामीबाट ठोस बाहेकका कदम चालिनुहुँदैन” हात मोल्दै एक कामरेडले मुख मिठ्याए, “त्यो छब्बिसेमा चुनाउ हारेको कामरेडहरूलाई ल्याउन कसो नमिल्ला त?”

“हेर न यिनको घरज्वाईं जस्तो लुब्ध चाला!” ठोस सिद्धान्तवाला कामरेड दिक्क भए।

“उहाँ लुब्ध होइन, अलिक क्षुब्ध हुनुभा’छ। उहाँलाई आफ्नो जनवाद प्रयोग गर्न दिऊँ, केन्द्रीयता मसँग सुरक्षितै छ” सोफाका कमरेडले हस्तक्षेप गरे, “ठोस कदम सुझाउनुस्।”

“मौकामा हीरा फोर्नु भन्छन्। अनिकालको वेला जो हात सो साथ गर्ने हो, नत्र मुश्किल पर्छ।”

“फड्के खान जाने कुरा नगर्नुस्, हामीले चुनाव हारेकै होइन भन्ने पार्ने कुनै ट्याक्टिस निकाल्नुस्। एउटा हिन्दी फिलिममा हारेर पनि ‘बाजिगर भन्ता है’ भने जस्तो कुनै जुक्ति झिक्नुस्।”

“त्यही ट्याउटिस र फ्याउटिस गर्दागर्दै भेउ पाउन छाडेर यो हविगत भो। फिलिममा त जे पनि भन्ता है नि”, कुनातिर बसेका कमरेड र्झ्किए।

“कसले भन्यो हामी हार्‍यौं? वाहियात् कुरा गर्ने?” कमरेड सिद्धान्तवीर कड्किए। “हामी हार्ने जातै हैनौं”, लाष्टाँ सोफाका कमरेडको उर्बर भेजामा बिजुली चल्यो, “जनताले हाम्रै अजेण्डालाई जिताएका छन्!”

“सामान्यजनले नबुझनेगरी यसलाई सैद्धान्तीकरण गरिदिनुस्, अध्यक्ष कमरेड, ताकि धेरै प्रश्न नउठोस्”, सामूहिक आशा जाग्यो।

“रूपमा क्रान्ति र अजेण्डासँगै हिंडेको देखिए पनि सारमा ती दुई सरल रेखामा गतिशील हुन्छन्। हाम्रो गतिसँग तालमेल राख्न नसक्ने धेरै अजेण्डालाई विगतमा पाती चढाएर देउरालीमा थन्क्याएकै हो। हामी र हाम्रो अजेण्डा दुई भिन्न रेखामा चलायमान रहने हुँदा हामीले हारेजस्तो देखिंदा पनि हाम्रो अजेण्डाले जितिरहेको हुन्छ। हामी कि पूरा जितिरहेका हुन्छौं कि त आधा। यसपटक आधा जितको अवस्था हो।”

हिमाल खबरपत्रिका
३० मंसिर २०७०
15 December 2013

Leave a Reply

Your email address will not be published. Required fields are marked *