Skip to content


काठमाडौ, माघ २४ –
काठमाडौंलाई अँझैं हुस्सुले छोडेको थिएन । हिउँदको चिसोलाई चिर्दै सहरमा ल्होछारको रौनक सुरु हुँदै थियो, सधैंझैं बाइक र्‍याली अनि टुँडिखेल आसपास मौलिक वेशमा सजिएका तन्नेरीहरूको लर्को, झाँक्री, लामा र छाम नाच अनि सेलो कन्सर्ट । केही दिनअघि प्रज्ञा प्रतिष्ठानको एउटा कवि गोष्ठीमा एक तामाङ कविले कविता नै सुनाएका थिए, ‘ल्होछार सहर केन्द्रित रमझममा अल्भिmयो । गाउँको मौलिकतामाथि बेवास्ता हुँदै छ ।’ बिहान उठ्नेबित्तिकै कसैको फेसबुक स्ट्याटस् पढें, ‘म तामाङ हुँ तर ल्होछारबारे केही थाहा छैन ।’

सम्झें- पाँच वर्ष भएछ, गाउँको ल्होछार छुटेको । गएको दसैंमा घर जाँदा देखेको थिएँ- तीनवटा सालको खाँबो लडिरहेको र दुइटामा चाहिँ दज्र्यु र लुङदर फरफराइरहेको । झस्केंको थिएँ त्यतिबेला- पाँचपटक लुङदर फेरिएछन् आँगनमा । पाँचपटक लामाले स्याङ बजाउँदै दिएछन् मोलाम । आमा र बहिनीहरूले पाँच/पाँचपटक पकाएछन् खाप्से र आलुम । म भने सहरको ल्होछारमा कन्सर्ट नाचिरहेको रहेछु । पिइरहेको रहेछु, स्पोसन्र्ड टुबोर्ग ।

अघिल्लो दिन बुबाको फोन आएको थियो, ‘यसपटक जसरी नि आऊ । लामाले नि संझिरहनुभएको छ ।’

हुस्सु अँझै फाटेन । काठमाडौं अपारदर्शी देखिन्थ्यो । सहरका धेरै कुराहरू सायद अपारदर्शी नै हुन्छन् क्यारे । तर हाम्रो बाइकले चिसोलाई चुनौती दिँदै साँगा भन्ज्याङ क्रस गर्‍यो । सहरलाई जति पछाडि धकेल्दै गाउँतिर अघि बढ्थ्यौं, ग्रामीण दृश्यहरू उत्तिर्कै पारदर्शी बन्दै आँखा अगाडि नाच्न आइपुथ्यो । पँधेरोको सङ्लो पानीजस्तै । सालिमोको घाँसमा टप्किने शीतको चमकदार बुँदझैं ।

मोबाइलमा कुकुर भुक्यो । बाइक बनेपा, धुलिखेल, खावा हुँदै पाँचखालमा पुगेर ब्रेक लाग्यो । एसएमएसको ओभरलोडले इरिटेड बनाएपछि म्यासेज टोनमा बार्किङ साउन्ड राखेको थिएँ । एकजना हितैसीको म्यासेज रहेछ, ‘बाइक र्‍याली सुरु हुँदै छ, तपाईं कता ?’ फोन स्विच अफ गरें, लागें तामाघाटबाट पूर्वतिर । अब १४ किमि धूलाम्मे बाटोमा बाइक कुदाउनु छ । पछिल्तिर कथाकार दिलीप शाहको अधबैंसे ज्यान टाँसिएको छ । वर्ष दिनअघि ‘मुर्दार काठमाण्डु’ नामक कथा कृति निकालेका यी जाजरकोटे पनि यसपटक तामाङको ल्होछारको स्वाद लिन तिमाल गाउँ हुइँकिरहेका थिए ।

‘मुर्दार काठमाण्डु’ को हालखबर के छ ?’

हावा बत्तीएर मेरो प्रश्न खेतमा पछारियो सायद । उनले पाँचखाल फाँटमा फल्ने आलु र गोलभेंडाको पो कुरा गर्न थाले । खेतमा पानी थिएन । आलु र गोलभेंडा बोट सुकेनास लागेको थियो । आलीतिर सर्वत्र बिषादीका बट्टाहरू थिए । एउटा बट्टाको खोलमा लेखिएको थियो, ‘डाइथिन एम ४५ ।’

‘पानी नभएर बोट मर्‍यो ?’

दिलीपले पेसागत प्रश्न सोधे तरकारीमा बिषादी छरिरहेका एक किसानलाई । पेसागत किनभने यी जाजरकोटे स्रष्टा कृषि विकास बैंकका कर्मचारी हुन् ।

‘काँ हुनु हजुर । बिषादी धेरै भएर मरेको नि,’ कृष्णबहादुर दनुवार बोले ।

‘त्यसो भए किन हाल्नुहुन्छ बिषादी ?’

‘अब नहालीकन झन् हुँदै हुन्न,’ दनुवार बोले, ‘माटोको बानी बिग्रो हजुर ।’

दुवैजना हाँस्यौं । यता सहरमा हाम्रो बानी बिग्रियो, उता गाउँमा माटोको बानी । तरकारीको नाममा दिनहुँ बिषादी खरिद गरिरहेका छौं हामी । यो ग्लोबल मार्केटमा बिषादीको ग्लोबलाइजेसन नहुने कुरै भएन ।

बाइक झिकु खोलाको किनारमा गएर रोकियो । खराने भन्छ यो ठाउँलाई । पहिले पहिले खत्रीको पसल भनेर चर्चित पीपल चौतारोको झुपड बस्ती पूरै एन्टिक बनेछ । कुनै बेला यहाँ जात्रा लाग्थ्यो मान्छेको । डोजरले केही मास्तिरबाट बाटो जोतेपछि एकलासमा परेछ यो चौतारो । मान्छेको पाइला नपरेको सायद एक दशक पो भयो कि ? त्यतिबेलाको तात्तातो चिया र पाउरोटी अब सम्झनामा मात्रै ।

बोहोरे दोभानबाट मास्तिर बाइक सोझिन लाग्दा दायाँबायाँ दुवैतिर दुइटा छाप्राका भग्नावशेष देखिए । पलाञ्चोके र आसमानको घट्टको । बाँध पूरै पुरेको थियो कच्ची मोटर बाटोले । घट्ट नचलेको सायद थुप्रै वर्ष भइसकेको हुनुपर्छ । घट्टको सोली, गोलाकार चाक्लो डुंगा, म्हाने, घट्टको चरा केही पनि थिएन । धेरैपटक यहाँ मकैको बोरा बोकेर झरेको छु । माछा मारेको छु । भेंडाबारी र खरेलथोकबाट घट्ट झरेकाहरूसित रात/रातभर भूतको कुरा गरेको छु । राति अबेर जुन हेर्दै तामाङ सेलो गाएको छु । हजुरआमा पुल्ठो बाल्दै माथि रूपाटार वनसम्म लिन आउनुहुन्थ्यो ।

अहिले त्यही रूपाटार वनबाट मिनीटाटा झर्‍यो धूलो उडाउँदै । ड्राइभरले मिनीटाटाको हुडमाथि लाउड स्पिकर जोडेको छ, स्पिकरमा बजिरहेको छ, ‘ढिंगा चिका, ढिंगा चिका…।’

दुवैजना मौन । बाइकमात्रै ब्रुम ब्रुम…गरिहेको छ उकालोमा । चिउरीको बोट सुकेछ । देउरालीमा पाती चढाउने चलन थियो पहिले पहिले । थुप्रैपटक पाती चढाउँदै हजुरबाको पछिपछि पाँचखाल झरेको छु । हजुरबा हुनु हुन्न र देउराली पूरै धूलो माटोले छोपिएको छ । गाडीको टायरले बनाएको धूलाम्य माटोले हाम्रो अनुहारमा पनि हमला गर्‍यो । कोटेश्वरमा किनेको २०

रुपैयाँको मास्कले छोप्यो दिलीपको अनुहार ।

तीन घन्टा बाइकिङपछि तिमालको आधाबाट पुग्दा घरमा कुन्साङ लामाको मेडिटेटिभ मन्त्रको ध्वनि गुन्जिरहेको थियो । १० वटा गाविस समेटिएको काभ्रेको यो तिमाल क्षेत्र उक्लिने पहिलो उकालोको आधा बाटोमा यो गाउँ पर्ने भएकोले बटुवाले नाम दिए आधाबाटो । तामाङहरूले आधाबाट भन्न थाले । गाउँको भर्जिन नामचाहिँ डहुन्हान गाङ हो अर्थात् पीपल चौतारी डाँडा ।

‘लौ है पाहुनाहरूलाई फ्याफुल्ला’ सबैभन्दा पहिले कान्छी बहिनी जिस्किइन् । हेल्मेट फुकाल्नै पाएको थिइनँ । चीनबाट विस्तार भएको ताओ दर्शनको पछिपछि कुद्दै देशदेशावर लगभग भिक्षुझैं बनी हिँड्ने कान्छो भाइले तीर चलाए, ‘सहरकै ल्होछार मनाएको भए हुन्थ्यो नि ।’

पहिलोपटक आफ्नै घरमा पाहुना लागेझैं विरानोपनले चस्का दियो मनभित्र । पर्खालमा गुन्द्री ओछ्याइएको छ । टोलछिमेककाहरू भेला भएका छन् आँगनमा । घरभित्रबाट खाप्से पकाएको मिठो बास्ना नाकैमा आइपुग्यो । आँगनछेउ दुइटा खाँबो गाडिएका छन्, एउटा नयाँ र अर्को पुरानो । सबैभन्दा तल लुङदर र त्यसमाथि टाँगिएको दज्र्युले घरको छानो झकिझकाउ । हावाले बेस्सरी हल्लायो दज्र्यु । स्याङ बजाउँदै कुन्साङ लामा मन्त्र भन्दै छन् ।

‘यो दज्र्युको अर्थ के हो ?’ दिलीपले लामालाई सोधे ।

‘यसमा हामी सबैको नाम लेखिएको हुन्छ । ल्होखोर -वर्षचक्र) लेखिएको हुन्छ,’ बुबा अघि सर्नुभयो, ‘जति यो हावामा फरफराउँछ, ग्रहदशा उत्तिकै टाढा भाग्छ भन्ने विश्वास छ ।’ लामाले स्याङ बजाउन रोके । एकपटक बुम्बाको पानी छर्के खाँबोमा । कान्छो भाइले खाँबोको छेउ छ्योम्हे बत्ती बाले । चामलको पिठोबाट खाँबो गाडिएकै छेउ मण्डला बनाइएको छ । पाहुना आएका आफन्त र नातागोताहरू सबैजना लाइन लागेर चारैतिर उभिए, दुई हात जोड्दै । लामाले पितृ पुर्खाहरूको नाम भन्दै गए, लाइन लागेकाहरूले घुँडा भुइँमा टेक्दै निधारलाई पनि जमिनसम्म पुर्‍याएर ढोगे । अचम्म लाइनमा त दिलीप पनि पो उभिए ।

‘शाहले पनि त ल्होछार मनाए भैगो नि,’ उनी गम्भीर देखिए, ‘यसले एकअर्काप्रतिको सद्भाव र सम्मान बढाउँछ ।’ यसपछि उनले पनि त्यसैगरी ढोगे, लाइनमा उभिएकाहरूले झैं । यसपछि दिलीपले लामाको हातबाट सेतो टीका लाए ।

‘ल्होछारको अर्थ नयाँ वर्ष हो,’ दिलीपको जिज्ञासामा लामा कुन्साङ बोले, ‘तामाङहरूले चन्द्र पात्रोअनुसार यो पर्व मनाइन्छ । चीन, सिक्किम, भुटान र लद्दाखमा पनि यही पात्रोअनुसार मनाइन्छ ।’ आँगनमा भोजको तयारी चल्यो । आमाले भित्रबाट जम्बो कोकको बोटल ल्याउनु भो । बोटलमा कोक हैन कोदोस्की -कोदो प्लस ह्विस्की) थियो । तामाङहरू आइराख भन्छन् । ‘तिनपाने हो,’ आमाका नजर जाजरकोटे शाहवंशीय दिलिपतिर सोझिए, ‘मिठो छ अलिकति लिनुस् ।’

दिलीप मुस्कुराए ।

दिउँसो हामी लेकको यात्रामा निस्क्यौं । बाइकमै । कच्ची बाटोमा थचारिएको ज्यानलाई मर्मतसम्भार गर्न अलिक मास्तिरको गाउँमा पुगेपछि तीनपानेको सर्च गर्‍र्यौं । बरु यहाँ गुगल सर्च सजिलो भयो, तीनपाने गार्‍हो । एनटीसीको थ्रिजी चलेकै थियो, म्हाने र हिगीको एउटा फोटो खिचेर दिलीपले फेसबुकमा हाले । मैले नि स्ट्याटस चेेक गरें, न्युयोर्कबाट ङमिा पाख्रिनले डम्फु बजाएर नाचिरहेको फोटो हालेका छन् । गाउँका हरेक पसलमा बियर, ह्विस्की, रम र जिनका डब्बाहरू थिए । तीनपाने गायब । केही अघि समाचार पढेको थिएँ, ‘जोरपाटीमा १६ ग्यालिन घरेलु रक्सी प्रहरीद्वारा नष्ट ।’

‘यो हो ग्लोबल मार्केट, मल्टिनेसनल कम्पनीको प्रभाव,’ कृषि विकासवाला दिलीप अलिक बढी नै दार्शनिक देखिए, ‘सहरबाट जाने रक्सी नष्ट पारेर सरकार गाउँमा बियर र ह्विस्की पठाउँछ ।’

कोटतिमालमुनि मौली चौरमा एक हूल स्कुल ड्रेसवाला केटाकेटी भेटिए । स्कुल त ल्होछारको बिदा थियो तर गाउँका बच्चाहरू स्कुल ड्रेसमै बाख्रा चराइरहेका थिए, सायद फेर्ने नभएर । अनौठो के भने तिनीहरूमध्ये तीनजनासँग मोबाइल सेट थियो । बाख्रा बथान तोरीबारी छिर्नै आँट्दा उनीहरू मोबाइलमा झुम्मिएर हँसीमज्जाक गर्दै थिए । एउटाले मोबाइल लाउड गर्‍यो, ‘जिरे खुर्सानी’को मोबाइल भर्सन पो हेरिरहेका रहेछन् उनीहरू ।

एक घन्टाको उकालोपछि हाम्रो बाइक कोटतिमाल पुग्यो । तल बगरमा नागबेली सुनकोसी देखियो । अर्कोतिर सिद्धिचरण श्रेष्ठको ‘त्यो नीलगिरि फोरी बहने रोशी’ देखियो । रोशीको किनारै किनार बीपी राजमार्गमा गाडीहरू कुदिरहेका थिए । कथाकार गुरुप्रसाद मैनालीको कानपुर गाउँ मुनि । महाभारत पर्वतलाई तुवाँलोले बेरेको थियो । बादलमुनि अलिकति मुस्कुराए जुगल हिमाल र गौरी शंकर ।

‘त्यो थुम्कोमा के छ ?’ दिलीपले सोधे ।

‘बंकर’ मैले भनें ।

‘माओवादीको ?’

‘हैन ह्रिन्जेन दोर्जेको ।’

‘को हुन् यी दोर्जे ?’

दिलीपलाई बेलीविस्तार लाउनैपर्‍यो । त्यो बंकरवाला थुम्को तिमालको अन्तिम राजा ह्रिन्जेन दोर्जेको थियो । तामाङहरू त्यही थुम्कोमा ह्रिन्जेन दोर्जेको दरबार रहेको दाबी गर्छन् । तर तीन वर्षअघि पुरातत्त्व विभागले उत्खनन गर्दा दरबार हैन किल्ला प्रमाणित गर्‍यो । मकवानपुरमा दिग्वन्धन सेनलाई हराएपछि तिमाल हानेका पृथ्वीनारायण शाहले तीनपटकसम्म ह्रिन्जेन दोर्जेसँग युद्ध गर्नुपरेको थियो । अन्ततः १८१९ असोज २ गते सुनकोसी बगरमा मित लाउन बोलाएर ह्रिन्जेनलाई मारिएको इतिहास छ । अन्वेशक रवीन्द्र तामाङले यसबारे किताब नै लेखेका छन् ।

‘र, हामी ह्रिन्जेनकै सन्तान हौं,’ मैले भनें ।

‘म पनि त राजाकै सन्तान हुँ,’ दिलीप हाँसे ।

खासमा यिनी जाजरकोटे राजाका सन्तान थिए । राज्य एकीकरण भएपछि पनि लामो समय जाजरकोट रजौटाकै रूपमा थियो । खलंगा बजारका यी राजाका सन्तान यसपटक ल्होछार मनाउन तिमाल आइपुगे । तिनले प्रेमपूर्वक खाप्से खाए । तीनपाने निले । दज्र्युको मुन्तिर तामाङ पितृलाई ढोगे । लास्सो फ्याफुल्ला भने । तामाङ सभ्यताको उद्गम मानिने यो तिमाल क्षेत्रको सम्भावनामाथि उनले आँकलन गरे, ‘यहाँ कल्चरल टुरिजमको ठूलो सम्भावना रहेछ ।’

याङफेल लेकमा गुरु पद्मसम्भवले तपस्या गरेको तोङसुम कुण्ड, गेलुङ गुफा हुँदै तिमाल ग्योइखारमा प्रतिस्थापित स्वयम्भू, बौद्ध र नमोबुद्ध स्तूपा घुमेर फर्किंदा झमक्क साँझ पर्‍यो । झ्याउँकिरीहरू कराउन थाले ।

धन्न, मान्छेले धेरै कुरा बिर्सिसकेको भए पनि झ्याउँकिरीले आफ्नो लय भुलेका रहेनछन् ।

कान्तिपुर कोसेली
२०७० माघ २५

Leave a Reply

Your email address will not be published. Required fields are marked *