Skip to content


पोखरा काव्य महोत्सव २०७१ की प्रमुख योजनाकार कवि सरस्वती प्रतीक्षाले प्रस्तावनामै भनिन्, ‘कविताको पनि शल्यक्रिया गरिनुपर्छ र लागेको रोग देखाइदिनुपर्छ।’

हुन पनि त्यस्तै भयो, उत्सवको दोस्रो दिनको परिचर्चामा। नेपाली कविता : हिजो र आज विषयक सत्रमा होस् वा कविताको रचना प्रक्रिया विषयक बहसमा, नेपाली कवितामाथि गम्भीर रूपले बहस हुन अझै बाँकी रहेको, र नेपाली कविताको इतिहासभरि अहिलेसम्मको समालोचनाले निक्र्यौल गर्न बाँकी धेरै समस्याहरू रहेको कुरा छर्लंगिएर आएको छ। यी बहसहरूले यो पनि झर्लंग्याएका छन्, कि आजको युगमा नेपाली कविताको मुहार, प्रतिभावान् युवा कविहरूको तुफानी लेखनले जग्मगाएको छ।

नेपाली कविताको हिजो र आजको बसहमा कतिपय प्रतिनिधि र मानक मानिएका कविहरू केवल हिजोको गर्भमा बाँचिरहेको प्रतीत भयो। देवकोटा-लुसुन प्रज्ञा प्रतिष्ठानले भर्खरै भारतमा सम्पन्न गरेको काव्ययात्रामा भोगिएको यथार्थ होस्, वा पोखरा काव्य महोत्सवमा भोगिएको अनुभव होस्, दशकौंदेखि लेख्दै आएका अधिकांश कविहरू केवल कविताको ‘हिजो’को प्रतिनिधित्व गरिरहेका छन् र कविताको ‘आज’ को बागडोर भने नयाँ पुस्ताका कविहरूले आफ्नो हातमा लिइसकेका छन्।

यो स्वाभाविक त हो, तर विश्वका धेरै देशहरूमा नदेखिएको एउटा उल्लेख्य घटना हो। हो, आख्यानका क्षेत्रमा विश्‍वभरि नै नयाँ पुस्ताले जबरदस्त हस्तक्षेप गरिरहेको छ, तर कविता अझै पनि अधिकांश मुलुकहरूमा अग्रज पुस्ताकै हातमा छ। दक्षिण कोरियामै हेर्ने हो भने, नयाँ पुस्ताका नयाँ प्रतिभासँग काँधमा काँध मिलाएर आधुनिक कविताको राजमार्गमा अहिले पनि उत्तिकै सशक्तताका साथ हिँडिरहेका छन्, कवि को ऊन र उनका समकालीन र वर्तमान कोरियाली कविताका प्रतिनिधि अनुहार उनीहरू नै हुन्। भारतीय कविताको परिदृश्य पनि लगभग एके रामानुजन र केकी दारुवालाजस्ता अग्रपुस्ताकै कविहरूको हातमा देखिन्छ। केरिबियाली कवितामा अझै पनि भलेरी ब्लुम र डेरेक बाल्कोट, बंगलादेशमा कैसर हक, क्यानाडामा माग्रेट एटवुड, अफ्रिकामा वोले सोयिङ्काकै पुस्ताको नेतृत्व कायम छ। तर नेपालमा परिदृश्यमा तीव्र परिवर्तन आइरहेको देखिन्छ, र यस बदलिँदो परिदृश्यलाई अग्रज पुस्ताले पनि स्वीकारेको प्रतीत हुन्छ। त्यसै आसयले हुनुपर्छ, कवि सुलोचना मानन्धरले पोखरा काव्य महोत्सवमा मञ्चबाटै उद्घोष गरिदिइन्, ‘आज, कोइलाझैं भर्भराउँदा युवा कविहरूलाई देख्दा लाग्छ, कविताको वास्तविक युग सुरु भइरहेको छ र यसलाई यिनै युवाहरूले समालिरहेका छन्।’ कवि श्यामलले पनि स्वीकारे, ‘अब हाम्रो कवितामा अलिअलि खिया लागिसकेको छ।’

हाम्रा अग्रज कविहरू क्रमश: नेपथ्यमा पर्दै जानु र युवापुस्ताका कविहरू कविताको परिदृश्यमा अग्रभागमा देखा पर्दै जानुले केही कुराको संकेत गर्छ। पहिलो, नयाँ पुस्ताले आफ्नो समयको मागअनुसार जुन भाष्य र विम्ब विधान तय गरेको छ, त्यो आजको युगको सापेक्षतामै तय गरेको छ, र पुरानो भनिएको पुस्ताले परिष्कारवादी दृष्टिकोणकै कारण र आफूले दशकौंदेखि वकालत गर्दै आएको राजनैतिक आग्रहकै कारण स्वयंलाई नवीन शैलीमा ढाल्न सकिरहेको छैन। दोस्रो, आफूले दशकौं लगाएर निर्माण गरेको काव्यविधान र शैलीलाई कविहरू त्यति छिटै परिवर्तन गर्न सकिरहेका पनि हुँदैनन् तर बदलिँदो समयले नयाँ काव्यव्याकरणको माग गरिरहेको हुन्छ। नेपालको सन्दर्भमा अधिकांश राजनैतिक विश्वासधाराले आम नेपालीको पीडा निराकरण गर्न नसकेको घामजत्तिकै छर्लंग छ। त्यसैले समयको अदालतमा प्रभावविहीन सिद्ध भएका सिद्धान्तका हिमायती कविहरूलाई राजनैतिक विचारधाराका भ्रमजालबाट विभ्रम भएका पाठकहरू स्वीकार गरिरहेका छैनन्।

आजको युगमा पनि निरन्तर लेखिरहेका अग्रज पुस्ताका कतिपय कविहरूसँग अब केवल एक एेतिहासिक मूल्यमात्र बाँकी रहेको देखिन्छ, तर उनीहरूका कविताले बदलिएको परिवेशबाट उठेका नयाँ पुस्ताका पाठकहरूसँग सक्रिय संवाद गर्न सकिरहेका छैनन्। जसरी नयाँ पुस्ताका कविहरू देश र विदेशमा पनि निरन्तर विस्तारित हुँदै गएको नेपाली कविताको आयतनमा आफैंलाई सेलिब्रिटीको रूपमा प्रस्तुत गर्न सफल भइरहेका छन्, सो अग्रज पुस्ताले गर्न सकिरहेको प्रतीत हुँदैन। यसका केही महत्त्वपूर्ण कारणहरू छन्। पहिलो, ती अग्रज पुस्ताका कविहरू क्रमश: प्रयोगशील देखिँदैनन्, र दशकौंअघि स्थापित शैलीकै आधारमा आफैंलाई प्रस्तुत गरिरहेका छन्। दोस्रो, उनीहरूका कविताले जुन वैचारिक आग्रह र उद्देश्यलाई आफ्नो प्रमुख कथ्यको रूपमा अंगीकार गरेको थियो, समयले त्यस उद्देश्यलाई कि त पूर्ति गरिसक्यो, कि त अप्रासंगिक तुल्याइसक्यो, र उनीहरू नयाँ कथ्य निर्माण गर्न सकिरहेका छैनन्। कतिपय कविहरू भने दशकौंदेखि नयाँ कविता लेख्न नसकी, अथवा नयाँ कृति दिन नसकी अप्रासंगिक पनि बन्दै गएको प्रतीत हुन्छ। अझ कतिपय कविहरू कथ्यभन्दा पनि कविताको स्वरूप, शास्त्रीयता, छन्द वा अनुप्रसासजस्ता काव्यशास्त्रीय कुरामा अल्झिरहेका छन्, जसको प्रांसङ्गिकता क्रमश: घटदै गएको भान हुन्छ। कविता बढीभन्दा बढी तर्क र विषयवस्तुको नवीनतामा केन्द्रित हुँदै गएको छ। यस अर्थमा, नेपाली कविहरूको युवा पुस्ता धेरै अगाडि बढिसकेको छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा : युवा पुस्ताका यी कविहरू, जहाँ बसेर लेखे पनि विभिन्न कार्यक्रम, गोष्ठी, संगोष्ठी, काव्ययात्रा, महोत्सव र मिडियामार्फत एकअर्काका कवितालाई निरन्तर प्रचारप्रसार र प्रवर्द्धन गरिरहेका छन्, जुन नेपाली कविताको इतिहासमै कहिल्यै नदेखिएको एक अनौठो यथार्थ हो।

आजको युगमा पनि निरन्तर लेखिरहेका अग्रज पुस्ताका कतिपय कविहरूसँग अब केवल एक एेतिहासिक मूल्यमात्र बाँकी रहेको देखिन्छ, तर उनीहरूका कविताले बदलिएको परिवेशबाट उठेका नयाँ पुस्ताका पाठकहरूसँग सक्रिय संवाद गर्न सकिरहेका छैनन्।

नेपाली कविताको पछिल्लो परिदृश्य हेर्दा युवापुस्ताका कविहरूको प्रभाव निकै तीव्र गतिमा बढिरहेको देखिन्छ। श्रवण मुकारुङ, मनु मञ्जिल, रमेश क्षितिज र विप्लव ढकालका शक्तिशाली कविसँगसँगै देशका विभिन्न क्षेत्रबाट युवा पुस्ताका नवीन प्रतिभाले चमत्कार गरिरहेका छन्। यस्ता अनेकौं युवा प्रतिभाहरूमा केही नाम लिनुपर्दा पाँचथरका उपेन्द्र सुब्बा, विराटनगरका सीमा आभास, ज्योति जंगल र रमेश सायन, पाँचथरका स्वप्निल स्मृति, इटहरीका हेमन यात्री, धरानका सुदीप पाख्रिन र सञ्जीव राई, चितवनका भूपिन र प्रसन्न घिमिरे, गोर्खाका छम गुरुङ, धादिङका दीपेन्द्रसिँह थापा र हेम प्रभास, भक्तपुरका केशव सिलवाल, काभ्रेका फूलमान बल, नुवाकोटका रावत, पोखराकी सरस्वती प्रतीक्षा, बर्दियाका केशव सिग्देल, डोटीका हेमन्त विवश, कैलालीका खेम बतास र युगिन विवेक, कालिम्पोङका मनोज बोगटी र निमा शेर्पा, सिलिगुडीका राजा पुनियानी र यस्तैयस्तै युवापुस्ताका अनेक विलक्षण प्रतिभा, जसको भरमा नेपाली कविताको वर्तमान परिभाषित भइरहेको छ, र भोलिको नेपाली कविताले आफ्नो शिर उँचो गर्नेछ।

आजको पुस्ताको अगाडि हिजोको पुस्ताले नभोगेका अनेक जोखिमहरू पनि छन्, जसलाई अत्यन्तै जिम्मेवार भएर सम्बोधन गरेन भने यो आशाको किरण भनिएको नयाँ पुस्ता पनि अनेक दोषको भागी हुनेछ। आज नेपाली कविताको किनारा भनेको नेपालभित्र सीमित छैन। विश्वको कवितासँग सीधा सम्पर्क भएको पाठकको अपेक्षा निकै बढेको छ, र आजका कविहरूलाई आजको पाठकले विश्व परिवेशमा अन्य उत्कृष्ट कविहरूसँग दाँज्नेछ। अध्ययनको दायरा कमजोर भएका कविहरूलाई समयले बढारिदिन पनि सक्छ। दोस्रो, आज देशमा विभिन्न समुदायका विभिन्न मागहरू उठेकाले कविहरू आआफ्ना समुदायका आवश्यकताप्रति संवेदनशील हुनु स्वाभाविक र स्वागतयोग्य पनि हो, तर यसमा अति भावुकताले कविहरूलाई साम्प्रदायिकतातिर धकेलिदियो भने उनीहरू देशका कवि नभएर समुदायका कवि हुने र पाठकको एउटा निकै ठूलो समूहको प्रेमबाट च्यूत हुने खतरा पनि आजका कवितहरूमा छ। तेस्रो, धेरै सार्विक प्रकृतिका विषय, र राजनैतिक आग्रहका कविता विगतमा लेखिएका हुनाले अबका कविहरूले विषयवस्तुको नवीनताका लागि पनि निकै अध्ययन-अनुसन्धान गर्नु आवश्यक हुन गएको छ। फेरि, काव्य र समालोचनाका सिद्धान्तहरूलाई दुई, तीन र चारपटकसम्मका अनुवादमार्फत बुझ्नुको सट्टा आज विश्वव्यापीकरणको युगमा कमसेकम अंग्रेजी स्रोतबाट सीधै बुझ्न सम्भव छ। त्यसैले, यदि नयाँ पुस्ताका केही कविहरू अंग्रेजी भाषामा त्यति दक्ष छैनन् भने तीव्रताका साथ त्यस भाषामा दक्षता हासिल गर्नु अति नै अनिवार्य भइसकेको छ, र यो स्वअध्ययनले सम्भव छ।

र नयाँ पुस्ताका कविहरूका अगाडि विश्वको बदलिँदो परिवेशले देखाएको एउटा सुन्दर गोरेटो पनि छ। आज, विश्वसाहित्यको केन्द्र लन्डन, पेरिस वा न्युयोर्कबाट अन्यत्र सरिसकेको छ र नयाँ केन्द्रहरू भारत, केरिबियाली क्षेत्र, दक्षिण अमेरिकी भेग, चीन वा अन्य गैरपश्चिमा मुलुकतिर विकेन्द्रित भइरहेको छ। सुरुमा, उपनिवेशको विरुद्धमा आक्रामक देखिएको यी मुलुकका साहित्यकारहरूलाई बेनिता पेरीजस्ता समालोचकहरूले दोषारोपणमा अल्झिनुभन्दा आफ्ना मौलिक सामथ्र्यकै बारेमा बढी लेख्नुपर्छ भन्ने सैद्धान्तिक सल्लाह दिएपछि, यी मुलुकका लेखकहरू मौलिक ज्ञानलाई उद्घाटित गर्नतिर बढी लागे। यसको फलस्वरूप, उनीहरू आफ्नो साहित्यमार्फत विश्वबजारलाई एक वैकल्पित ज्ञानकोष उजागर गर्न सक्षम भए। आज नेपालका युवा कविहरूका अगाडि पनि यो अवसर छ। धेरै वैश्विक र सार्विक कुरा, र मृत विम्ब र उपमामा अल्झिनुभन्दा हजारौं वर्षको इतिहासमा नेपालले सञ्चिति गरेको विभिन्न जातजातिका मौलिक ज्ञानपरम्परा, इतिहास, मिथक, लोकविश्वास आदिले दिएका मौलिक तर उजागर गरिन बाँकी कुराहरूको जगमा अबको कविता उभ्याए भने युवापुस्ताका कविहरूले एक अभूतपूर्व काम गरेको ठहरिनेछ।

मिति : २०७१ जेठ, ३१ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *