Skip to content


नेपाली साहित्यका कालजयी राष्ट्रिय विभूति युवककवि मोतीराम भट्ट अग्रज प्रतिभा हुन्। अझ समग्ररूपमा भन्नुपर्दा उनी नेपाली साहित्य, समाज र देशप्रेमको ममतालाई जीवन्तता दिने प्रेरणाका आलोक पनि हुन्।

नेपाली साहित्यको छामछाम र छुमछुमको युगमा बदलीभित्र लुकेका जातीयताका कवि भानुभक्त आचार्यलाई प्रकाशमा ल्याइदिने कवि मोतीराम एक कालीगढ नै हुन्। कवि भानुभक्तबाट प्रारम्भ भएको भाषिक र जातीय एकताका साथै साहित्यको फाँटमा रचनात्मक र सिर्जनात्मक कार्यलाई हुर्काउने दायित्व मोतीरामबाटै प्रारम्भ भएको हो।

त्यसैले सारांशमा कवि मोतीराम नेपाली युवाहरूका लागि प्रेरणाका आलोकै हुन्। यस अर्थमा राष्ट्र र समाजको मर्मलाई बुझ्ने पारखीहरूको जन्म लाखौंमा एक पनि मुस्किलले हुने गर्छ।

युवककवि मोतीराम यही कोटीमा पर्छन्। पुगनपुग तीस वर्षको कलिलै उमेरमा मोतीरामले नेपाली वाङ्मयको बहुपक्षीय फाँटमा समर्पण गरेको योगदानको वीरगाथा अलिकति लेखाइमा सम्भव हुने तथ्य होइन।

यिनै मूर्धन्य प्रतिभा मोतीरामको व्यक्तित्वलाई नेपाली समाजमा जीवन्त राख्‍ने कयौं रचनात्मक कार्यहरूमध्ये युवावर्ष मोती पुरस्कार २०४२ को चयन पनि एक हो।

नेपाली राष्ट्रियताको क्षितिजमा झुल्केका भाषामर्मज्ञ कवि भानुभक्त आचार्यबाट प्रारम्भ भएको भाषिक र जातीय एकताको वाङ्मयलाई हुर्काउने दायित्व मोतीरामबाट भएको हो। प्रत्येक वर्ष भाद्र कुशेऔंसीका दिन यिनै राष्ट्रिय विभूति मोतीरामको जन्मजयन्ती मनाउने परम्परा कायम रहेको छ, जुन अब त एक किसिमले ऐतिहासिक परम्परा नै बनिसकेको छ।

भानुभक्तपश्चात् नेपाली साहित्यमा एउटा अत्यन्तै उत्साही युवक साहित्यिक आन्दोलनका बहुप्रतिभाशाली नेता मोतीराम भट्टको उदय भयो। उनको उदयबाट नेपाली साहित्यमा योगदान पुगेको छ।

आदिकवि परलोक हुनुभन्दा दुई वर्षअघि १९२३ भाद्र कुशेऔंसीका दिन काठमाडौंका पण्डित दयाराम भट्टको कुलमा जन्मेका मोतीराम तीस वर्षको उमेरमा नेपाली साहित्यमा राष्ट्रिय विभूतिद्वारा सम्मानित हुन पुगे। मोतीरामको मन आधुनिक मात्र होइन, उनी त परिवर्तनका अनुयायी थिए।

मोती आफू त कवि छँदै थिए, त्‍यसमा पनि उनले आफ्‍ना समकालीन कविहरुलाई साहित्‍य लेखनतर्फ प्रेरणाको हुटहुटी नै जगाए। उनका मौलिक कृतिहरुको चर्चा गर्दा सर्वप्रथम प्कराशित काव्‍य उषाचरित्रलाई लिइन्छ।
पण्डित कुलमा जन्मेका र सानै उमेरमा बाबुआमासँग वनारसमा गई संस्कृत अध्ययन गरेका मोतीराम धेरै भाषाका ज्ञाता थिए। मोतीरामले वर्तमानमा जस्तो सुगम शिक्षा प्राप्त नगरे पनि उनी प्रतिभाका बेजोड धनी थिए।

प्रतिभा शैक्षिक डिग्रीभन्दा कति कति तह माथिको वस्तु हो। त्यसैले प्रतिभाका अगाडि कुनै उच्च उपाधि हुनुपर्छ भन्‍ने अनिवार्यता रहँदैन। नेपाली साहित्यमा मोतीराम शृङ्गारधाराका प्रवर्तक र प्रतिभासम्पन्‍न व्यक्तित्व हुन्।

नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा मोतीरामले खेलेको संस्थागत भूमिका उल्लेखनीय छ। मोतीराम कविमण्डलीका साथै रसिक समाजका संस्थापक पनि हुन्।

नेपाली साहित्यको माध्यमिककालमा मूलत: तीन तथ्यका लागि मोतीराम सही आन्दोलक भए। प्रथमत: उनले बदलीभित्र लुकेका भानुभक्तलाई उनका कृति सङ्कलन गरी प्रचारप्रसार गरे, दोस्रो अद्धितीय समर्पण र तेस्रो निस्वार्थका साथ भानुभक्तपछि चक्रपाणि चालिसे र लेखनाथ पौड्यालसम्म साहित्यिक युगको प्रतिनिधित्व गरेका थिए।

मोतीरामले वाङ्मयको उत्थानका निम्ति अत्यन्त महत्वपूर्ण कार्य गरेका छन्। यस क्षेत्रमा उनको चौतर्फी ध्यान पुगेको छ। मोतीरामले एकातिर विभिन्न कृतिहरू रचना गर्दै गए भने अर्कोतिर अन्य लेखककविहरूका कृतिहरूलाई छाप्ने प्रबन्ध मिलाएर पहिलोपटक नेपाली साहित्यमा कृतिहरू सार्वजनिक गरे।

मोतीराम आफू त कवि छँदै थिए, त्यसमा पनि उनले आफ्ना समकालीन कविहरूलाई साहित्य लेखानतर्फ प्रेरणाको हुटहुटी नै जगाए। राष्ट्रिय योगदानको आधार शृङ्खला हेर्ने हो भने मोतीरामका अनगिन्ती कृतिहरू प्रकाशित छन्।

उनका मौलिक कृतिहरूको चर्चा गर्दा सर्वप्रथम प्रकाशित काव्य उषाचरित्रलाई लिइन्छ। नेपाली साहित्यमा कविता, काव्य, नाटक, पत्रकारिता, जीवनी, गजल, संवाद र सम्पादन विधामा कलम चलाएका मोतीरामका प्रकाशित कृतिहरू क्रमश: मनोद्वेग-प्रवाह, गजेन्द्र मोक्ष, पञ्चकप्रपञ्च, प्रल्हाद भक्तिकथा, गफाष्टक, उषाचरित्र, सङ्गीत चन्दोदय, कमल भ्रमरसंवाद, प्रियदर्शिका, पिकदूत, कालमहिमा, कविसमूह वर्णनम् र कवि भानुभक्तको जीवनचरित्र रहेका छन्।

कवि मोतीरामले भानुभक्ताीय रामायणको पनि सम्पादन गरेका थिए। मोतीरामका धेरै फुटकर कविताहरूका अतिरिक्त उनको गजल र गीतको पाटो पनि दर्विलो छ। समस्यापूर्ति कविताले उनको प्रतिभाको थप परिचय दिएको छ।

काव्यअन्तर्गत रहेको उनको शृङ्गारिक कविता पिकदूत ज्यादै मीठो काव्य हो। पिकदूत पहिलोपटक संवत् १९७४ सालमा सूक्तिसिन्धुमा प्रकाशित भएको हो। सूक्तिसिन्धु नेपाली साहित्यजगतमा प्रभावकारी भूमिका खेल्ने अनेक कविहरूका शृङ्गाररस प्रधान कविताहरूको संकलन हो।

कवि मोतीरामले नेपाली पत्रिका गोर्खा भारत जीवनकेा पनि सम्पादन कार्य समेत गरेका थिए। नेपाली साहित्यमा मोतीरामले पुर्‍याएको योगदानका विविध पाटाहरूमध्ये कवि भानुभक्तको जीवनचरित्र प्रकाशित गर्नु एउटा महत्वपूर्ण कार्य हो।

नेपाली साहित्यमा पहिलो जीवनीपरक समालोचनात्मक कृति कवि भानुभक्तको जीवनचरित्र वि.सं.१९४८ भदौमा भारतजीवन यन्त्रालय काशीबाट प्रकाशित गरेका हुन्। यो कृति प्रकाशित भएपछि भाषा साहित्यको क्षेत्रमा भानुभक्तको व्यक्तित्व र कृतित्वको बारेमा चिन्तनमनन, अध्ययन-अनुसन्धान, चर्चा-परिचर्चा, वादविवाद, बहस अन्तरवहस र टिकाटिप्पणीहरू आ-आफ्नै अध्ययन, शैली, क्षमता र अनुभवहरूको आधारमा हुनथाले।

कवि भानुभक्तको जीवनचरित्र उनी जन्मेको ७८ वर्ष र निधन भएको २४ वर्षपछि मोतीरामले २५ वर्षको उमेरमा प्रकाशित गरेका हुन्। यस क्षेत्रमा कवि, नाटककार, गजलकार, जीवनीकार, समस्यापूर्तिकार समालोचक, अन्वेषक, पत्रकार, पत्रिका तथा छापाखाना प्रबन्धक एवं पुस्तकालय संस्थापकका रूपमा मोतीरामको योगदानको मूल्याङ्कन गर्न सकिन्छ।

नेपाली समाजको तत्कालीन परिवेशमा पनि संस्कृतकै विद्वानहरूको आधिपत्य कायमै रहेको थियो। कवि भानुभक्तले नेपाली भाषामा रामायणको मौलिक अनुवाद गरेर परिस्थितिलाई कडा चुनौती भने दिएका थिए। मोतीरामको कालसम्म पनि नेपाली भाषाले प्रतिष्ठापूर्ण स्थान लिन त्यति सकेको थिएन।

जहानियाँ शासनको समय उर्दू र फारसीका प्रभावले नेपाली भाषा फस्टाउन नसकेको अवस्थामा नाटकहरू पनि उर्दू र फारसी भाषामा नै मञ्चन हुन्थे। त्यस प्रकारको परिपाटीलाई अन्त्य गरी शकुन्तला र प्रियदर्शिका नाटक मोतीराम भट्टले नेपाली भाषामा मन्चन गरेका थिए।

राष्ट्रप्रेमप्रति उन्मुख मोतीरामलाई मात्र होइन मानिसको जीवनका तीन अवस्था शैशवावस्था, किशोरावस्था र युवावस्थामा काल विभाजन गर्दा समय कति पो रहन्छ र ? तर पनि मोतीरामले अत्यायुमै भाषा र साहित्यको श्रीवृद्धि र प्रतिष्ठाका लागि जति गरे त्यो नै असाधारण छ।

उनलाई राष्ट्रिय विभूतिका रूपमा देशले सम्मान गरेकै कारण युवककवि भनेर सम्बोधन र स्मरण गर्नुका पछाडि पर्याप्त सवल आधारहरू छन्। मोतीराम तीस वर्षमात्र बाँचे, तीसै वर्षको अल्पायुमा उनले नेपाली भाषा र साहित्यको सेवामा गरेको योगदान अविस्मरणीय छ।

नेपाली साहित्यमा उनले खडा गरेको मोतीमण्डलीको पनि बेग्लै योगदान छ। मोतीरामका अनेक फुटकर कविताहरूमध्ये अचल झन्डा प्रसिद्ध राष्ट्रिय कविता हो। नेपालको महिमा प्रस्तुत गरिएको अचल झन्डा कविताको आज पनि विशेष महत्व छ-

अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरमा।
रिपुको मन थर्कोस् थरथर गरी छीन घरिमा।।

यवन्ले राज गर्दा कति पतित हिन्दूूस्थल भयो।
फकत् यो नेपालको मुलुक बचि कञ्चन रहिगयो।।
कवि मोतीराम भट्टको भावना आकाशजस्तो निर्मल थियो। आफ्ना युगमा अरुलाई उठ्न नदिएर आफूमात्रै अगाडि बढ्ने सङ्कुचित भावना उनमा बिलकुलै थिएन। मोतीराम साहित्यसिर्जनामा आफ्ना अग्रज, समकालीन र उद्दारवर्ती सर्जकहरूलाई अगाडि बढाउन चाहन्थे।

कसैको प्रशंसा गर्दा निर्भीक भएर गर्ने विलक्षण गुण मोतीराममा थियो। कविको वर्गीकरण पनि उनले सहजकवि र संसगीकवि अर्थात् स्वाभाविक र कृतिमकवि भनेर विभाजन गरेका छन्।

त्यसैले आफ्ना अग्रजकवि भानुभक्तलाई कतै कविकुलमुकुटमाणिक्य र कतै कविचक्रचुडामणि भनेका छन् भने समकालीन कवि राजीवलोचन जोशीलाई कविशिरोमणि र पदमविलास पन्तलाई कविवर तथा उपदेशमञ्‍जरीका सिर्जनाकार कवि तीर्थराज पाण्डेलाई कविकेशरीको उपाधि दिएका छन्।

यसरी नेपाल राष्ट्र र नेपाली भाषा साहित्यकेा विकासमा अविस्मरणीय योगदान दिएका मोतीरामको वि.सं. १९५३ साल भाद्र महिना आफू जन्मेकै दिन पशुपति आर्यघाटमा निधन भयो। नेपाली साहित्यमा प्रशस्तै कीर्तिमान कायम गरेका मोतीरामले आफ्नी आमाको मनोकामना पूरा गर्न चौध वर्षको उमेरमा विवाह गरेका थिए, तर उनका उनले सन्तान भने भएनन्।

नेपाली साहित्यका लागि उनले गरेका सम्पूर्ण सेवा र कृतिहरू नै औरस सन्तान सहर जीवन्त र कालजयी भएर रहनेछन्। कवि मोतीरामको परिवारमा आमा, बाबु र एक बहिनी मात्र भएको देखिन्छ। कवि मोतीराम भट्टको निधन पछि उनका बाबु दयारामले पुन: अर्को विवाह गरे र त्यसबाट एक छोरा रामेशवर भट्टको जन्म भयो।

नेपाली भाषा साहित्यको उन्‍नतिमा सदा समर्पिंत मोतीरामको जीवन भने सुखमय रहन सकेन। त्यसैले मोतीरामले तीसवर्षको उमेरमा नेपाली भाषा, साहित्य र वाङ्मयको क्षेत्रमा के गरे भन्दा पनि के गरेनन् भनेर अध्ययन गर्नुपर्ने अवस्था विद्यमान रहेको छ।

अन्नपूर्ण पोस्ट
२०७१ भदौ, ७ शनिबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *