Skip to content


आज शहीद दिवस । स्वर्गमा पुगेका शहीदहरू आफूहरूले देशको लागि गरेका त्याग तपस्या र त्यसको उपलव्धिवारे छलफल गर्दै चिन्तित मुद्रामा देखिन्थे । प्रजातन्त्र आएपछि देशमा जनता दासत्वबाट मुक्त भई अधिकार सम्पन्न नागरिक हुनेछन । देशले द्रूत गतिमा विकास गर्नेछ । जनता सुखी र सम्पन्न हुनेछन । कसैको धाकधम्की र दवावमा बस्नुपर्ने छैन भन्ने हाम्रो सपना थियो । त्यसैको लागि हामीले जीवन बलिदान दियौ तर आजपर्यन्त देश र जनताको हालत झन झन खराव हुदैछ । के कारणले यस्तो भएको होला ? ती यस्तै यस्तै छलफल गर्दै थिए ।

खुईय गर्दै एक शहीदले भने “तर आज देशको अवस्था देख्दा लाग्छ हाम्रो त्याग र तपस्याको कुनै अर्थ छैन । हाम्रो संघर्षको न कुनै मूल्याङ्कन छ न कुनै गणना।”

भावुक भएका अर्का शहीदले भने “खोलो तर्यो लौरो बिर्सियो भनेझै अब त हाम्रो सम्झना पनि छैन जस्तो छ । हुँदा हूँदा हाम्रो शालिक समेत तोडन अघि सरे।”

यसैबेला त्यहाँ कल्याङमल्याङ गर्दै केही व्यक्तिहरू आईपुगे । शहीदहरूले उनीहरूलाई सोधे “तपाईहरू को ? कहाँबाट आउनुभएको?”

उनीहरूले बडो अहमका साथ भने “हामी नेपालबाट आएका महान शहीद हौ।”

सुनेर पुराना शहीदहरू छक्क परे, “तपाईहरू कहिले कसरी शहीद हुनु भयो?”

तीमध्ये ठेटनाले भने– “म जुलुसमा पुलिसको गोलीले मरेको । मलाई पार्टीले शहीदको पदवी दियो । अर्कोले भने –म आन्दोलनमा भाग लिन जादा गाडी दुर्घटनामा मृत्यु भएर शहीद भएको ।”

म डाँकाहरूको गोली लागेर मरेको, मुलुकमा आन्दोलन चलिरहेको थियो । त्यसैले शहीदमा दर्ता भए।”

“म पार्टीको काममा जादै गर्दा मरे र शहीद हुने मौका पाएँ,” अर्कोले भने ।

यसरी सबैले आफू शहीद भएको सगर्व परिचय दिए । तिनका कुरा सुनिरहेका शहीदहरूले त्यसपछि केही सोध्न सकेनन् ।

सुशीला देउजा
पुनर्जागरण २०७० माघ २८ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *