Skip to content

भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

MadhavPrasadGhimire


भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो
अनायासै देशै थाम्न– जुट्यो हातेमालो

कराउँदै रूखदेखि सारा पन्छी उडे
उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे

घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो
खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

बहत्तरको भुइँचालो, धक्का कति सारो
मर्न पनि गारो भयो, बाँच्न पनि गारो

ज्युँदो जाति उठ्न थाल्यो लुकाई घाउ आलो
कहरबाट उद्धार गर्न– जुट्यो हातेमालो

एकाएक धर्ती काम्दा कसको आड लियौ
बगलमा जल्लाई पायौ त्यसको आड लियौ

एकताको सूत्र मिल्यो, फाट्यो थोत्रो जालो
आहतलाई राहत बाँड्न– जुट्यो हातेमालो

देश रिङ्दा त्यससँगै समय पो रिँग्यो
वारितिर कुर्दा कुर्दै पारि दृष्टि पुग्यो

दूरदर्शी संविधान लेख्ने जुर्‍यो पालो
अनि नवनिर्माणमा– जुट्यो हातेमालो

माधव घिमिरे, राष्ट्रकवि
लैनचौर, काठमाडौं

प्रकाशित मिति: २०७२ वैशाख ३१ ०९:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *