प्रिय पाठक !
दुर्भाग्यवश म सन्चै छु । तपाईं पनि त्यहाँ (ह्वेरेभर यु आर) कुशल–मंगल हुनुहुन्छ भन्ने झीनो कामना गर्छ । झीनो किन भनेको हुँ भने आजकल कामनाले कुनै सिद्धिप्राप्ति हुन छाड्यो । कामनाको इम्युनिटी पावर किन यति साँचो झुर भएको होला !
आज सेप्टेम्बर १२, बिहीबार । माओवादी प्लस ३२ दलको ज्वोइन्ट भेन्चरमा उपत्यका बन्द छ । देशको उपत्यका बन्द भएको बखत हृदयको उपत्यका खोल्नु उपयुक्त हुन्छ सायद । पुरानो डायरी खोल्नु अँझ डबल उपयुक्त हुन्छ । केही दिनदेखि म एउटा संस्मरण लेख्ने डरलाग्दो योजनामा छु । अफसोच के भने संस्मरणसित म उतिसारो कम्फर्टेबल फिल गर्दिनँ । अलिकति पनि लिट्ररी कर्टसी अर्थात् साहित्यिक विनम्रता राख्ने हो भने म भन्न सक्छु (अब अरु के नै पो भन्न सकिन्छ र !) किन–किन संस्मरणसित झुन्डिएको ‘मरण’ शब्दले सदैव (हे दैव !) मेरो विवेक अपहरण गरिदिन्छ । संस्मरणमा किन मरण झुन्डिएको होला ?
इन्फ्याक्ट– यो संस्मरण एउटा वाचम्यानको हो जसको नाम ‘थियो’ गिद्धराम चौधरी । ऊ अब त अस्तित्वमा ‘छैन’ । देशको आकाशबाट भल्चरहरू बिलाएझैं ऊ पनि शून्यमा बिलाइसकेको छ । उसलाई केवल भेट्टाउँछु म आफ्नो स्वर्णिम बाल्यकालमा, यादका फुटेजहरूमा, नोस्टाल्जियाका मोन्टाजहरूमा अनि डायरीका पानाहरूमा ।
उसलाई सम्झदा आज मेरो मन ओइलाएको छ । ओइलाएको घन्टी–फूलझैं । बेला कुबेला उसले बजाउने स्कुलको घन्टी मेरो कानमा गुन्जिन्छ । यो घन्टीको आवाज कर्णप्रिय छैन । गिद्धराम चौधरीले आफ्नै मृत्युको घन्टी बजाएझैं लाग्छ । डायरी पल्टाएको छु । उसको मृत्युलाई लिएर मैले केही लेखेको रहेछु अंग्रेजीमा । तपाईंसित सेयर गर्छु । फेब्रुअरी १७, १९९९ को डायरी इन्ट्री यसप्रकार छ :
‘डेथ इज अ मिस्टिक अर्गनाइजेसन । अ सिंगल लाइफ अलोन इज नट क्वाइट इनफ टु डिसाइफर द कोड–एन्ड–कन्डक्ट अफ डेथ ।’
यस्तो खालको सर्रियल–मृत्यु चिन्तन सके तपाईं पनि कहिलेकाहीं गर्नु हुँदो हो । खैर, छाडौं यी बकम्फुसे सन्दर्भहरू । यो संस्मरणको अनौपचारिक आरम्भ हुन्छ आमा र पुत्रको ‘बाल डिस्कोर्स’बाट ।
स्थान : मध्यपश्चिमाञ्चलको पहाडी–प्रदेश । रूकुम जिल्ला । चौरजहारी । त्यसपछि, म तपाईंलाई लिएर दाङतिर जानेछु जहाँ यो संस्मरणको दु:खी नायक वाचम्यान उर्फ गिद्धराम चौधरीको सानो संसार थियो । किंवदन्ती–संसार ।
प्लिज, बी कनेक्टेड विथ मी…
***
आमा : गिद्धराम चौधरी !
म : अँ, गिद्धराम चौधरी ।
आमा : छ्या ! त्यस्तो पनि कुनै नाम हुन्छ ? मैले आजसम्म त्यस्तो अलच्छिनी नाम सुन्या छैन ।
म : तर, आमा ऊ असल मान्छे हो । मेरो बेस्ट–फ्रेन्ड हो ।
आमा : तिम्रो क्लासमा पढ्ने हो ?
म : होइन । ऊ हाम्रो स्कुलमा घन्टी बजाउने पाले हो । वाचम्यान हो ।
आमा : अनि वाचम्यानलाई तिमीले कसरी आफ्नो बेस्ट–फ्रेन्ड बनायौ त ?
म : कुन्नि !
त्यो शरदको एक साँझ थियो । दसैंको एकमहिने लामो बिदामा म घर आएको थिएँ । त्यो मेरो जीवनको पहिलो लामो बिदा थियो । हाम्रो परिवार त्यसबेला रूकुम जिल्लाको चौरजहारीमा बस्थ्यो । एयरपोर्टमा बुबाको दरबन्दी थियो । उहाँ प्रहरी इन्चार्ज हुनुहुन्थ्यो । लामिछाने बाजेको सिंगो घर बुबाले भाडामा लिनुभएको थियो । मेरो स्कुल थियो सुदूर देशमा ।
स्कुल जानका निम्ति मैले हवाई जहाज चढ्नुपर्थ्यो । रोयल नेपाल एयरलाइन्सको सानो ट्वीनअटर । आकाशमा सत्र मिनेट चानचुन उडेर, डाँडाकाँडा, पर्वत, खोलानाला पार गरेपछि नेपालगञ्ज ओर्लनु पर्थ्यो । त्यो उष्णप्रदेशमा बजारलाइनको ‘मुसाफिरखाना’ नाम गरेको लजमा एक रात बिताएपछि एकाबिहानै कुनै दंगाली–दिवा–बस सेवाको थोत्रो बस समातिहाल्नुपर्थ्यो । त्यो डे–एक्सप्रेसले मलाई अपराह्नसम्ममा दाङ जिल्लाको घोराही बजार पुर्याइदिन्थ्यो । मसित साथमा कहिले बुबा हुनुहुन्थ्यो र कहिलेकाहीं बुबाले साथमा पठाइदिएको सिपाही हुने गर्थ्यो । साँझपखको सिनेमा हेर्ने मेरो जबर्जस्त इच्छा अवश्य पनि पूरा हुनुपर्थ्यो ।
भोलिपल्ट, घोराही बजारदेखि दक्षिणतिरको उदांगो चिहानडाँडामा मलाई मिल्काएर बुबा वा सिपाही फर्किहाल्थे चौरजहारी । त्यो बिशाल चिहान डाँडामा मेरो स्कुल थियो । दीपेन्द्र प्रहरी आवासीय विद्यालय । म त्यो स्कुलको प्रथम ब्याच थिएँ । ब्याच अफ नाइन्टिन एट्टी फोर । मलाई त्यो बोर्डिङ हाउसमा कक्षा तीनमा सशुल्क भर्ना गरिएको थियो । त्यहाँ नै मैले फेला पारेको थिएँ, जीवनको पहिलो बेस्ट–फ्रेन्ड । वाचम्यान उर्फ गिद्धराम चौधरी ।
पुलिस स्कुलमा पढ्ने म एक फुलिस–बच्चो थिएँ । हिमाली प्रदेश डोल्पाको दुनैमा साँवा अक्षर चिनेको मैले विभिन्न अरु प्रादेशिक–पाठशालाहरूमा छिर्नुपर्यो । काठमान्डु, महाराजगन्जको किन्डरगार्टेन–बच्चो भइनँ कि ! सुर्खेतमा धूलौटे विद्यार्थी भइनँ कि ! चौरजहारीमा कक्षा पाँचको चकचके बजिया भइनँ कि ! मेरो बाल्यकाल विभिन्न प्रदेशका तथाकथित पाठशालाहरूमा छिन्नभिन्न भयो ।
यसरी छिन्नभिन्न हुने भएपछि, मेरो शैक्षिक कल्याण हुने छाँट नदेखेपछि बुबाले दाङको बोर्डिङ स्कुलमा मलाई बन्द गरिदिए । दुई कक्षा घटुवा हुने गरी कक्षा तीनमा ।
गिद्धराम चौधरी कालो वर्णको पठ्ठो थियो । जवान हट्टाकट्टा । गुलरिया गाउँको थारू बस्तीको आदिवासी । तर, ऊ केट्यौली उमेरमा कामका खातिर रूपैडिहा र बहराइचसम्म पुगेको थियो । विभिन्न भारतीय ढाबाहरूमा उसले भाँडा माझ्दै आफ्नो किशोर–आयु रित्याएको थियो । बोलचालमा ऊ हिन्दी शब्दहरू घुसाउँथ्यो । हामी बच्चाहरूलाई उसको भाषा अनौठो लाग्थ्यो । हिन्दी लवजमा ऊ बेला कुबेला भन्थ्यो :
‘माँ कसम । यो स्कुलमा घन्टी बजाएर म बहोत दिन बस्दिनँ । थोडा रोपैयाँ जम्मा भएपछि यहाँबाट भागिहाल्छु । रूपैडिहा जान्छु । मैथुन चक्करवर्तीको पिक्चर हेर्छु । तिमीहरूले प्यार झुक्ता नहीं हेर्या छ ? माँ कसम, बहोत राम्रो छ ।’
भारतीय अभिनेता मिथुन उसको ‘मनपसन्द’ हिरो थियो । तर, मिथुनको नाम र सरनेम बिगार्थ्यो । मैथुन चक्करवर्ती भन्थ्यो । घरीघरी ‘माँ कसम’ भन्ने उसको चौधराइन–थेगो थियो । तनाव या उत्तेजना या आवेगमा आउँदा यो थेगोको ऊ प्रयोग गर्न रूचाउँथ्यो ।
गिद्धराम चौधरी तेलले जीउ मालिस गर्थ्यो । ऊ प्राय: गन्जी र हाप प्यान्टमा हुन्थ्यो । बायाँ सिउँदो कोरिएको उसको कपाल मात्र होइन, उसको मस्कुलर तिघ्रा, पिँडुला अनि पाखुरा पनि घाममा गजबले टल्कन्थ्यो । उसको माचो–शरीरबाट नरिवल तेलको मगमग बास्ना आउँथ्यो ।
धेरै समयपछि मात्र मैले फ्रेन्च लेखक भिक्टर ह्युगोको ‘हन्चब्याक अफ नोत्रेदाम’ पढेको हुँ । उपन्यासको ट्राजीक नायक क्वासिमोडोको एक प्रकारले भन्ने हो भने म ‘दिवाना’ हुँ । नोत्रेदाम–गिर्जाघरको बिशाल घन्टी बजाउँदा बजाउँदै क्वासिमोडो लगभग बहिरो हुन्छ र कुप्रिदा कुप्रिदा हन्चब्याक अर्थात् कुप्रे हुन्छ ।
हाम्रो स्कुलको घन्टी बजाउने गिद्धराम चौधरीमा कहिलेकाहीं म क्वासिमोडोको विम्ब खोज्ने गर्छु । एक आदिवासी मेटाफरलाई ओभरल्याप गरी हेर्छु । त्यो क्वासिमोडोलाई गहन प्रेम गर्ने एउटी जिप्सी नायिका थिई इज्मेराल्दा । अनि मेरो संस्मरणमा पनि कुनै जिप्सी नायिका हुनु परेन ?
प्रिय पाठक !
म अब तपाईंको परिचय एउटी आदिवासी स्त्रीसित गराउँछु जसलाई गिद्धराम चौधरी ‘बठिनिया’ भनी बोलाउँथ्यो । बठिनिया अर्थात् थारू भाषामा जवान एवं रहरलाग्दी युवती । बठिनिया हाम्री सिस्टर । तिनको नाम के थियो ? मलाई कहिल्यै थाहा भएन । मैले कहिल्यै सोधिनँ पनि । हो न हो बठिनिया नै उसको नाम हुनुपर्छ भन्ने ठान्थें । गिद्धरामलाई एक दिन सोधें पनि : ‘सिस्टरलाई किन बठिनिया भनेको ?’
‘मलाई मन परेर,’ ऊ छोटो जवाफ दिन्थ्यो ङिच्च हाँसेर ।
***
हाम्रो होस्टलसितै जोडिएको एउटा छाप्रोमा गिद्धराम चौधरीको ‘बसेरा’ थियो । शनिबार या छोटो छुट्टीका दिनहरूमा म उसको त्यो बसेरामा गइरहन्थें । त्यो गिद्ध–कुटी मलाई ज्यादै मन पर्थ्यो ।
भुइँमा उसको ओछ्यान फिजिएको हुन्थ्यो । ओछ्यान पनि के भन्नु ! एउटा दरी, छिर्केमिर्के बाक्लो तन्ना र सिरानी आदि । त्यहाँ सिरक या ब्लाङ्केटजस्ता बुर्जुवा टाइपका जिनिसहरू कहिल्यै देखिएन । सिरानीमा विभिन्न रंगका गम्छा अवश्य हुन्थ्यो ।
उसैको मुखबाट मैले सुनेको थिएँ कि हाम्रो स्कुल चिहानमा खडा भएको हो । उसका अनुसार त्यहाँ पहिले चिहान रहने गर्थ्यो जहाँ अधिकांश आदिवासी थारूहरूलाई गाडिन्थ्यो । चिहान डाँडालाई समतल पारेर त्यो बिशाल भू–क्षेत्रमा स्कुल ठड्याइएको थियो जहाँ देशका विभिन्न कुनाकाप्चाबाट मजस्ता फुच्चे पिशाचहरू आई पढ्न थालेका थिए ।
‘जमिन खन्ने हो भने यहाँ अँझै पनि मान्छेका नलीहाड, करङ, खप्परहरू भेट्टिन्छन्,’ ऊ मलाई तर्साउने किसिमले सुनाउँथ्यो, ‘माँ कसम ! राति–राति खोलामा मुर्कुट्टाहरू अँझै पनि पानी खान आउँछन् ।’
गिद्धराम चौधरी आम थारूझैं भूत–देउताको पूजा गर्थ्यो । तर, मलाई मुर्कुट्टाहरूसित भयंकर डर लाग्थ्यो । पहिलोपल्ट मैले त्यस्तो डरलाग्दो भूतको नाम उसैको मुखबाट सुनेको थिएँ: मुर्कुट्टा । होस्टलको करिब सय मीटरको दूरीमा एउटा सुकेनास–खोला थियो । खोंचमा । खोंचका स–साना गुफाजस्ता लाग्ने खाल्डाखुल्डीमा अजिंगरहरू भेटिन्थे । ती अजिंगर अल्छीका काल या महाकाल थिए जो निदाउन मात्रै जान्दथे । यस्तो लाग्थ्यो, ती अजीव–जीव निद्रा खपतका खातिर नै यो धर्तीमा पैदा भएका हुन् ।
खोल्सा छेवैका रूखहरू मलाई अचाक्ली मन पर्थे । किनभने ती रूखका सर्पिला–हाँगामा तोपचराले गुँड बनाउँथे । रूखमा तुर्लुङ्ग झुन्डिएका पातपतिंगरका ती गुँड बडो कलात्मक देखिन्थे । टाढाबाट हेर्दा ती तुर्लुङ्ग झुन्डिएका गुँडहरू नवजात शिशुझैं देखिन्थे जसलाई प्रिय ममीहरूले नुहाइसकिएपछि सुकाइनका निम्ति रूखमा झुन्ड्याइदिएका हुन् ।
गिद्धरामको एउटा बानी थियो । खैनी खाने । खैनीको बट्टा उसको हाफ प्यान्टको गोजीमा सदा पुक्क उठेको देखिन्थ्यो । उसको गिद्ध–कुटीमा खैनीका प्रशस्त ‘डिब्बा’हरू यत्रतत्र छरिएका हुन्थे । मैले उसैको लहैलहैमा एक दिन खैनी खाएँ । शनिबारको दिन । उसको अनुसार खैनी खानु मर्दको पहिचान हो । खैनी खाएर मलाई पनि मर्द बन्न मन लाग्यो । फुच्चे नै सही । तर मेरो मर्दाङ्गी छिनभरमै टाँय–टाँय फिस्स भयो ।
रसिलो थुक निल्दै म उसको गिद्ध–कुटीबाट निस्कें । मुख बेस्सरी कोक्याउन थाल्यो । केही क्षणमै टाउको फनफनी घुम्न थाल्यो । आन्द्राभुँडी बटारिन थाल्यो । दौडिँदै चौरको कुनामा रहेको धारासम्म पुगें । धारा खोलेर टुटीमै मुख जोडें । त्यसपछि सुरु भयो : एक्सप्रेस बमन । मुटु, कलेजो, फोक्सो मुखबाट निस्केर खस्लाझैं भयो । टाउको घुमी नै रहेको थियो । धारामुन्तिरै मुन्टिएँ ।
पछि होस्टल इन्चार्जले सोध्यो :
‘के खाएको थिइस् ?’
‘खैनी ।’
‘जाँ…ले बिताएछ ! तँलाई कसले दियो खैनी ?’
‘गिद्धरामले ।’
त्यो साँझ गिद्धरामको रामधुलाई भयो ।
***
एकाबिहानै होस्टलमा खैलाबैला मच्चियो ।
प्राय: बच्चाको चिचिला ओठमाथि कालो जुँगा उम्रिएको थियो । डर्मीटरीको भित्तामा झुन्डिएको लाम्चो ऐनामा मैले आफूलाई हेरें । मेरो नाकमुन्तिर पनि एकसरो जुँगा पलाएको थियो । रात्रिकालीन आकाशे नीलो छिर्केबिर्के नाइटड्रेसमा म छोटेमोटे बलभद्र कुँवरझैं देखिएँ । बडेबडे वीर–पुरूषले झैं जुँगामा ताउ लगाउँदै म ऐनामा मुस्कुराइरहेको थिएँ ।
केही साथी खिन्न भई अन्योल–मुद्रामा उभिएका थिए । कोही भने प्रफुल्ल थिए । डर्मीटरीको ढोका छेवैको कुनामा हामीसितै सुत्ने इज्मेराल्दा अर्थात् सिस्टर अचम्म मानी पालैपालो हेर्थी । यस्तैमा होस्टल इन्चार्ज (सई साप) हातमा छडी लिई प्रस्तुत भयो । गिद्धराम पनि बिहानको ब्रेकफास्टको घन्टी बजाउन बिर्सेर हामीमाझ देखा पर्यो । हामी सबै बच्चाहरूलाई लामबद्ध गर्दै इन्चार्ज चिच्याउन थाल्यो, ‘यस्तो नराम्रो काम गर्ने फटाहा को हो ?’
हामी सब तैं चुप मै चुप ! सई सापदेखि हामी सब थर्कमान हुन्थ्यौं । उसको हातमा छडी देखेपछि त झनै होसहवास पो उड्थ्यो ! उसले मायालु भाकामा भन्यो, ‘कसले गरेको हो खुरूक्क एक कदम अघि सर्ने । म केही गर्दिनँ ।’
म अघि सरें । जे परे पर्ला । लौ जा त !
‘मूला नगरकोटी ! तँ पो होस् साथीहरूको जुँगा बनाउने ?’
‘हो सर !’
‘किन गरिस् त यस्तो नराम्रो काम ?’
‘कुन्नि !’
मसित एउटा मार्कर–कलम थियो । त्यसलाई मैले गिद्धरामको छाप्रोमा, सिरानीछेवै भेट्टाएको थिएँ । गत राति मलाई निद्रा लागेन । के गरूँ, कसो गरूँ भयो । मसितै जोडिएको बेडमा प्रीतम शर्मा सुत्थ्यो । ऊ मस्तसित निदाइरहेको थियो । अनायास उसको नाकमुन्तिर मार्करले जुँगा कोरिदिएँ । यसो गर्दा मलाई बडो मज्जा आयो । त्यसपछि पालैपालो साथीहरूको जुँगा बनाइदिएँ । सुत्नुअघि आफूलाई पनि एक थान जुँगा बनाएँ ।
बिहान मेरो पोल खुल्यो । इन्चार्जले मेरो कान निमोठ्दै अब आइन्दा यस्तो नराम्रो काम नगर्नु भन्यो । मैले हुन्छ, गर्दिनँ भनें । अरुको जुँगा त बनाइस्–बनाइस् अनि आफ्नो किन बनाइस् भनी सोध्दा मैले ‘कुन्नि’ भनें । उसले जुँगा बनाउनु पर्दैन, ठूलो भएपछि आफैं उम्रन्छ भनी मलाई थप जानकारी पनि गराइदियो । बरू भन्, तँलाई यो मार्कर कसले दियो ? मैले गिद्धरामतिर आफ्नो इन्डेक्स फिंगर सोझ्याएँ । त्यसपछि इन्चार्ज गर्जियो, ‘मु… गिद्धे आगे बढ् ।’
बीचरो गिद्धराम चौधरी ! अगाडि बढ्यो । इन्चार्जले उसलाई झपार्यो, ‘नगरकोटीलाई जुँगा बनाउन लगाउने तँ मु… हैनस् ?’
‘होइन सर,’ गिद्धरामले याचना गर्यो ।
‘अँझ झूट बोल्छस् ?’
‘माँ कसम । मैले झूट बोलेको छैन ।’
गिद्धरामको माँ कसम व्यर्थैमा खेर गयो । गिद्धरामको रामधुलाई भयो । हामी बच्चाहरूकै अगाडि इन्चार्जले उसको चाकमा एक छडी हिर्कायो । दुई छडी हिर्कायो । तीन, चार मैले गनें, पाँच । कान समाती उठकबैठक गर्न लगायो । १०, १५, २०, ३०, ४० । मैले गनें, ५० । त्यसपछि चाकमा अर्को छडी बर्साउँदै उसलाई भनियो– जा, अब अबेर भइसक्यो । ब्रेकफास्टको घन्टी बजा ।
डर्मीटरीको हलबाट गिद्धराम चौधरी बेपत्तासित दौडियो । बीचरो गिद्धराम ! कसो–कसो उसको माया लागेर आयो । मैले त्यसरी चुक्ली लगाउन नहुने ! म किन त्यस्तो चुक्लीबाज भएको ! मेरो कारणले अँझै गिद्धरामको कतिऔं पटक रामधुलाई हुने हो ! आफैंलाई धिक्कारें । मनमनै भनें : अबदेखि चुक्ली लगाउँदिनँ । केही बेरमै ब्रेकफास्टको घन्टी बज्यो : ट्याङ ट्याङ ट्याङ् ट्याङ टिङ टिङ ट्याङट्याङ । हामी सबै तितरवितर भयौं ।
ब्रेकफास्ट खाँदा आँखामा घरीघरी गिद्धरामको निन्याउरो अनुहार आइरह्यो । दूध र जाम–ब्रेड कसोकसो मन नलागि निलें । उसिनेको अण्डालाई झोलाभित्र लुकाएँ ।
साँझपख गिद्ध–कुटीमा देखा परें । ऊ आफ्नो भुइँको ओछ्यानमा ढलेको थियो मुर्दाझैं । मैले ऊसित बिहानको घटनाको निम्ति ‘सरी’ भनें । हाफ प्यान्टको गोजीवाट अण्डा निकालेर उसलाइदिएँ । उसले बोक्रा छोडायो । उल्टै मलाई दियो । जति ‘बिन्तीभाउ’ गर्दा पनि उसले अण्डा खान मानेन । बरू मुखमा एक बुजो खैनी कोच्यो । भन्न थाल्यो, ‘माँ कसम, म अब याँ धेरै दिन बस्दिनँ । याँबाट भाग्छु । सुड्डो (पिताजी) पनि मर्यो । मलाई याँ कसैले मन पराउँदैन । अलिकति रुपैयाँ जम्मा होस् । रूपैडिहा जान्छु । बरू भाँडा माझ्छु । मैथुन चक्करवर्तीको पिक्चर हेर्छु ।’
‘तिमीलाई बठिनियाले माया गर्छे नि त !’ भनें ।
बठिनियाको नाम सुनेपछि ऊ ङिच्च हाँस्यो । त्यो साँझ गिद्धराम चौधरीले मसित अनौठो कुरा गर्यो । मलाई ऊ केहिरहस्यमय पनि लाग्यो । भन्यो, ‘सुतेको मान्छेको जुँगा बनाउनुहुँदैन ।’
‘किन र ?’
‘किनभने सुतेको मान्छे उठ्दैन । मर्छ ।’
‘नचाहिने कुरा ! जुँगा बनाउँदैमा कसरी मान्छे मर्छ ?’
‘हंशले ठाउँ छोडेपछि माँ कसम मान्छे मर्छ ।’
वास्तवमा गिद्धराम के भन्दै थियो ? हंशले ठाउँ छाडेपछि मान्छे कसरी मर्छ ? हंशले ठाउँ चाहिं कहाँ पो ओगटेको हुन्छ ? हंश भनेको के रै’छ ? पहिलोपटक सुन्दै छु । मुर्कुट्टा हो ? सोधें । होइन भन्यो । बडो रहस्यमय स्वरमा उसले भन्यो, ‘मान्छेले सपना कसरी देख्छ, था’ छ ?’ मैले थाहा छैन भनी मुन्टो हल्लाएँ । उसले सपनाको रहस्य यसरी खोल्यो, ‘राति मान्छे निदाइसकेपछि हंश ब्यूँझन्छ । हाम्रो शरीरबाट बाहिर निस्केर घुम्न निस्कन्छ । त्यसलाई कसैले पनि देख्न सक्दैन । हामीले पूजा गर्ने भूल–देवताझैं अदृश्य हुन्छ । त्यो संसारभरि बतासझैं डुलिहिड्छ । त्यो हंश जहाँ जहाँ जान्छ, हामी त्यसलाई सपनामा देख्छौं । पिक्चरमा जस्तो । ट्याम पुगेपछि त्यो फेरि शरीरमै फर्कन्छ । तर, ओठैमा जुँगा बनाइदिएपछि हंशले आफ्नो अनुहार चिन्न सक्दैन । शरीरभित्र छिर्न सक्दैन । त्यसपछि हंशले ठाउँ छाड्छ । बतासमै भड्कन्छ । फर्केर कहिल्यै आउँदैन । सुतेको मान्छे फेरि कहिल्यै उठ्दैन । मरेको मर्यै गर्छ ।’
गिद्धरामको कुरा मेरो मनमा गढेर बस्यो ।
उसको कुराको ममाथि कस्तो प्रभाव पर्यो भने साथीहरूको त कुरै छाडिदिऊँ । मान्छेका चित्रहरूमा समेत मैले जुँगा बनाउने आँट गर्न सकिनँ । चित्रकलाको कक्षामा कहिलेकाहीं समस्या पर्थ्यो । पोट्रेट बनाउँदा म सधैं जुँगा नभएको मानिसको स्केच गर्थें । पेन्टिङका हाम्रा गुरू सुरेश गुरूङ मेरो पोटे«ट साथीहरूमाझ देखाउँदै यसोगरी मेरो बेइज्जत गर्थे, ‘बोयज ! अब हामीमाझ प्रस्तुत छ मिस्टर नगरकोटीले बनाएको जुँगा नभएको वीर बलभद्र कुँवरको चित्र ।’
***
गिद्धराम चौधरीले एक दिन मसित अनौठो प्रश्न गर्यो । उसले सोध्यो, ‘यो नगरकोटी भन्या चैं के हो ?’
म फसादमा परें । यसको जवाफ मसित थिएन ।
त्यसअघि म श्रेष्ठ थिएँ । कुमार श्रेष्ठ । एकाएक दाङ स्कुलमा नगरकोटी भएको थिएँ । सामाजिक पढाउने गुरू भाष्कर भट्टराई मसित ठट्टा गर्थे, ‘नगरकोटी कुन चिडियाको नाम हो ?’ म यस्तो बेला चिडिया अर्थात् तोपचरालाई सम्झन्थें जो रूखका सर्पिला हाँगामा तुर्लुङ्ग झुन्डिने गुँड बनाउँथे । म पनि आफूलाई त्यही तोपचरो ठान्थें जसले मेरो जीवनको रूखमा ‘नगरकोटी’ नाम गरेको गुँड बनाइदिएको छ । तुर्लंग झुन्डिने गरी । जसलाई मैले जीवनपर्यन्त झुन्ड्याइरहनुपर्नेछ ।
भाष्कर सरले सोधेको प्रश्नको जवाफमा म केवल दुई शब्द उच्चारण गर्थे : कुन्नि ! गिद्धरामले राखेको जिज्ञासामा पनि मैले भनें : कुन्नि !
‘आफ्नो जात/थरबारे तिमीलाई केही था’ छैन ? म चौधरी हुँ । गिद्धराम चौधरी । म थारू हुँ । तिमी चैं के हौ ?’
‘कुन्नि !’
एक रातको घटनाले यो थारूको जीवन पूरै तहसनहस भयो ।
त्यो रातको सम्झना गर्दा मलाई अँझै पनि जीउभरि सर्प सलबलाएझैं लाग्छ । वास्तवमा यो संस्मरणको सबैभन्दा महत्त्वपूर्ण अंश पनि यही नै हो । त्यो रहस्यमय रात आजसम्म मेरो स्मृतिको नेपथ्यमा कैद छ ।
यसो गर्छु । अब नेपथ्यको पर्दा उघार्छु ।
त्यो रात किन–किन म निदाउन सकिरहेको थिइनँ । चकमन्न थियो रात । डर्मीटरीका सम्पूर्ण प्रेतात्माहरू निदाइसकेका थिए । खोंचमुनिको खोलामा पानी खान आउने मुर्कुट्टा पनि सायद निदाइसकेको थियो अजिंगरसितै । अँध्यारोको चुक हलभरि घोप्टिएको थियो । सिस्टरको बेडछेवै पिलपिल गर्दै एउटा पिलन्धरे लालटिन जलिरहेको थियो ।
बिस्तारै ढोका खोलेर हलभित्र एउटा छायाँ प्रवेश गर्यो । सुटुक्क चाल मारेर त्यो कालो छायाँ सिस्टर अर्थात् बठिनियाको ओछ्यानतर्फ बढ्यो । छायाँका दुवै हात एकछिनपछि बठिनियाका शरीरमा बिस्तारै चलमलाउन थाले । स्त्री शरीर पनि चल्मलाउन थाल्यो ।
क्षणभरमै लालटिनको छिपछिपे प्रकाशमा दुई अतृप्त आत्मा छिल्लिन थाले । बठिनियाले छायाँको कानमा के साउती गरी कुन्नि त्यसपछि त्यो छायाँ लालटिन बोकेर हाम्रो डबल–डेकर बेडमा पालैपालो उक्लन थाल्यो । सबै विद्यार्थीको अनुहारमै लालटिन सोझ्याउँदै हेर्न थाल्यो । एक बेडबाट अर्को बेड गर्दै त्यो छायाँ सबै विद्यार्थी सुतेको, नसुतेको चियो गर्दै थियो । जाँच÷पडताल गर्दै थियो ।
मेरो बेडमा पनि त्यो छायाँ चढिसकेपछि मैले आँखा चिम्म गरें । मेरो मुटु जोडजोडले ढुकढुक गर्न थाल्यो । त्यस्तो डर त्यसअघि कहिल्यै लागेको थिएन । लालटिनले मेरो अनुहार छुँलाछुँला जस्तो गर्यो । त्यसको न्यानो प्रकाश अनुहारभरि महसुस गरें । केही समयपछि मैले आँखा उघारें । लालटिन अब त साबिक ठाउँमै थियो । मधुरो मरन्च्याँसे प्रकाश अँझै पिलपिल गर्दै थियो । त्यसपछि ओछ्यानमा दुइटा छायाँ सर्पझैं चलमलाउन थाले । एक–अर्कामा खप्टिएका ती नांगा आदिम–शरीर मद्यिम प्रकाशमा स्फटिकझैं चम्किरहेका थिए । ती चिल्ला आदिवासी तिघ्रा एवं फिलाहरूमा प्रकाश घरीघरी चिप्लिरहेको थियो ।
दुई छायाँ एकाकार भएका थिए । मध्यरातको त्यस्तो रहस्यमय ‘ढिकिच्याउँ÷ढिकिच्याउँ’ खेल मैले त्यसअघि कहिल्यै देखेको थिइनँ । मायावी छायाँहरूको त्यो ‘चर्म–घर्षण’ तीव्र आवेग एवं उच्छ्वासका साथ जारी थियो । सन्नाटाको गहिराइमा केवल स्याँस्याँ र सुँसुँको सित्कार थियो । यस्तो लाग्थ्यो, हजारौं मानिस एकैपटक फोक्सो सुकाउँदै श्वास फेरिरहेछन् । निश्वास छाडिरहेछन् ।
केही बेरपछि ओछ्यानको ज्वारभाटा सामसुम भयो । छायाँले कट्टु लगायो । हाफ प्यान्ट लगायो । अर्को छाँयाले पेटिकोटमुनि सार्यो । त्यसपछि दुवै छायाँ ढोकासम्म पुगे । ढोकाबाहिर बिलाउनुअघि एउटा छायाँले बोलेका शब्दहरू मेरो कानमा ठोक्किन आए,
‘माँ कसम बठिनिया ! बहोत मज्जा आयो ।’
***
त्यो रातको रहस्यमय छायाँको ‘चर्म–घर्षण’को कथा मैले प्रीतमलाई सुनाएँ । प्रीतमले जुम्लाको जनकलाई सुनाएछ । जुम्लीले हुम्लाको देवराजलाई सुनाएछ । हुम्लीले सल्यानको चूडामणिलाई सुनाएछ । सल्यानीले मैलाई सुनाइदियो, ‘थाहा छ कुमार ! सिस्टरको बेडमा हिजो राति भुइँचालो आएछ ।’
त्यो गोप्य घटना आखिर गोप्य रहेन ।
एक कान, दुई कान हुँदै मैदानसम्म पुग्यो । फुटबलको मैदानसम्म । फुटबलको कोचले मसित सोध्यो :
‘तैंले देख्या होस् ?’
‘हो, मैले देख्या हो ।’
‘आफ्नै आँखाले देख्या होस् ?’
‘हो, आफ्नै आँखाले देख्या हो ।’
‘कस्ती छडुँल्नी रै’छ ! मलाई मात्र दिन्छे भनेको अरुलाई पनि दिँदिरै’छे. !’
त्यो दिन कोचले हामीलाई राम्रोसित फुटबल खेलाएन । केवल गोलपोस्टको छेउमा झोक्राएर बसिरह्यो नून खाएको कुखुराझैं । उसको ‘पोस्ट’मा गिद्धरामले गोल गरिदिएको थियो गत राति ।
अर्को बिहान होस्टलमा इन्चार्जले मसित भन्यो, ‘साँचो कुरा भन् कुमार । म तँलाई केही गर्दिनँ ।’ मैले साँचो कुरा गरें । सबै कुरा सुनिसकेपछि उसले मलाई ‘जा, त्यल्लाई बोलाएर आ’ भन्यो । मैले सिस्टरलाई बोलाएर आएँ । ऊ मेरो पछि–पछि आई । कोठामा छिर्नासाथ इन्चार्ज ठूलो भयंकर आवाजमा बठिनियासित गर्जियो, ‘तँलाई मेरो स्वाद चाख्न पुग्यो हैन अब ? हुँदाहुँदा गिद्धेसित पनि सुत्न थालिस् ।’
त्यसपछि, जे नहुनु थियो, भयो । गिद्धराम चौधरीको दुर्दशा सुरु भयो । उसलाई प्रचण्ड गर्मीमा दिनभर उभ्याइयो । उसको शरीरभरि नीलडाम हुने गरी छडी बर्साइयो । ऊ घोर अपमानित भयो । म मरेतुल्य भएँ । बीचरो गिद्धराम ! मेरो कारणले अँझै कति दु:ख पाउने हो ! धेरै रात उसको सातोपुत्लो उडेको कालो अनुहारले मलाई सपनामा डस्न आयो ।
मनमनै प्रण गरें : म आइन्दा गिद्धरामविरुद्ध चुक्ली लगाउँदिनँ ।
त्यो घटनापश्चात् गिद्धराम चौधरी स्कुलमा देखिएन । बठिनिया पनि कुन्नि कता गई ! दुवै देखा पर्न छाडे ।
क्यालेन्डरमा महिनाहरू बदलिए । मौसम बदलिए । ग्रीष्मका उजाड ग्रीष्मिल दिनहरू बदलिए । वृक्षका हाँगामा तुर्लुङ्ग झुन्डिएका तोपचराका गुँडहरू बदलिए । ती गुँडमा निदाउने चराका बचेराहरू बदलिए । घन्टी बजाउने वाचम्यान बदलियो । म स्वयं बदलिएँ ।
धेरै समयपछि एक साँझ म गिद्ध–कुटीमा देखा परें । त्यहाँ खैनीका डिब्बाहरू थिएनन् । खैनीको ‘सुगन्धित’ बास्ना थिएन । नरिवलको तेलको बास्ना थिएन । गिद्धराम थिएन । नयाँ बूढो वाचम्यान थियो । दैलेखतिरको । ऊसित मैले सोधें, ‘गिद्धराम काँ छ आजकल ?’
‘मर्यो,’ उसले झर्केर जवाफ दियो । म झसँग भएँ ।
***
मेरा प्रिय पाठकहरू कहिलकाहीं मसित सोध्ने गर्छन्, ‘हेलो फिक्सन डिजाइनर ! तपाईंका रचनाहरूमा अक्सर गिद्धहरू किन डुल्छन् ?’
जवाफमा म केवल दीर्घ निश्वास छाड्छु । म स्वीकार्छु: मेरा क्याजुअल लेखहरूमा, लिट्रेरी कथाहरूमा गिद्धहरू भेटिन्छन् । मभित्र किन यति सारो गिद्ध–मोह ! आफैंसित कहिलेकाहीं प्रश्न गर्छु । मेरो कथासंग्रह ‘फोसिल’भित्र पनि गिद्धका कथाहरू छन् । एउटा कथाको त शीर्षकै छ– गिद्धहरूको नाच । डान्स अफ भल्चर्स । त्यहाँ भल्चरहरू आकाश–गंगाबाट ओर्लन्छन् काठमान्डुका भल्चरल–गल्लीहरूमा । यो गिद्ध–अब्सेसन आफूभित्र मात्र सीमित भइदिए त कुरा ठीकै हुन्थ्यो । तर, केही दिनअघि भैरहवाका एकजना पाठकले फोनमा भने, ‘म एउटा सिँढी पसल खोल्दै छु । पसलको नाम भल्चर डिभीडी–सप राख्दैछु ।’
मेरो गिद्ध–कनेक्सन यस्तै अजीवोगरिब छ । मलाई लाग्ने गर्छ मेरो गिद्ध–मोह कता–कता, अवचेतनभित्र गिद्धराम चौधरीसित जोडिएको छ । मभित्र सायद एउटापश्चात्ताप छ जसलाई म आरोपित गर्छु आफ्ना भल्चरल–टेक्स्टहरूमा, कथाहरूमा गिद्धमार्फत् । साइकलजीमा यसलाई कन्डिसन–रिफ्लेक्स भनिन्छ ।
त्यो रातको रहस्यमय घटना पनि अब त सुदूर अतीतको ‘दस्तावेज’ भइसक्यो । करिब ३० वर्ष । मलाई कहिलेकाहीं लाग्छ, उसको मृत्युको कारण मै हुँ । आँशिक नै सही । यसो सोची बस्छु : रातको त्यो घटनालाई मैले कसैलाई नभनेको भए के हुन्थ्यो ? चुक्ली नलगाएको भए के हुन्थ्यो ! म त्यस्तो चुक्लीबाज नभएको भए के हुन्थ्यो ? यो कन्फेसनल–संस्मरण पढ्दो हो त गिद्धरामले के सोच्थ्यो ?
खैर ! गिद्धराम चौधरी स्वर्गमा होला आफ्नो भूत–देवतासित । त्यो वाचम्यानले माथिबाट मलाई गिद्धेदृष्टिले हेर्दो हो ! मलाई ‘वाच’ गर्दो हो ! म पनि त यदाकदा रातको मध्यप्रहरमा चर्म–घर्षणको मायावी अभ्यास गर्छु । गिद्धराम चौधरी भूत–देवतासित गुनासो गर्दो हो :
‘हेर् देउता ! त्यो ‘ढिकीच्याउँ ढिकीच्याउँ’ गर्ने मान्छे चुक्लीबाज हो । त्यसले चुक्ली नलगाइदिएको भए म आज याँ हुने थिइनँ । रूपैडिहामा हुन्थें । म त्यो बठिनियासित माँ कसम सादी गर्थें । एक दर्जन छौंडाछौंडीको सुड्डो बन्थें । बठिनियासितै बसी मैटनी सोको पिक्चर हेर्थें । मैथुन चक्करवर्तीको प्यार झुक्ता नहीं…
माँ कसम ! बहोत मज्जा आउँथ्यो ।
