Skip to content

३४ वर्षभयो साहित्य पढ्न छोडेको


चार नारीहरू, तर कम उमेरका, अचेल आसलाग्दो आख्यान लेखिरहेका छन् । कम्तीमा ‘फुर्सद’/‘कोसेली’मा फाटफुट पढ्दा त्यस्तै लाग्छ । झन्डै २० वर्ष अगाडिको ‘जेन्टलम्यान’ पत्रिकाले शिवानीपुत्री मृणाल पाण्डेलाई ‘एक्काइसौं शताब्दीमा भारतीय साहित्यको नेतृत्व गर्ने महिला’ भनेर घोषणा गरेको थियो । तर, नियतिले त्यस्तो भएन । यसैले ती नारीहरूको नाम जानाजान यहाँ लिइएको छैन । तीनवटीको मातृभाषा सम्भवतः नेपाली होइन ।

बलियो जग
लेखनाथ पौड्याल र माधव घिमिरे किन कविशिरोमणि र राष्ट्रकवि भए भने ती दुवै महान् साहित्यिक परम्परा भएको संस्कृत कृतिहरूलाई सोझै पढ्न सक्थे । बालकृष्ण सम मूर्धन्य नाटककार भनिए किनभने उनी सोझै महान् साहित्यिक परम्परा भएको अर्को भाषा अंग्रेजीका साहित्यिक कृति पढ्न सक्थे ।

पढ्न सक्नुको अर्थ बुझ्नु भनिएको होइन, अनुवाद पढ्न नपर्ने मानिस भनिएको पनि होइन । ‘लेक्सिकन’ र ‘न्युसिन्स’ पहिल्याउन सक्ने भनिएको हो । अनि यी दुवै भाषा सोझै छिचोल्न सक्ने र त्यसलाई ओढ्ने-ओछ्याउने बनाउन सक्ने देवकोटा त ती सबैभन्दा महान् हुने नै भए ।

चित्तधर हृदयको साहित्यिक सफलताको रहस्य सायद उनी महान् साहित्यिक परम्परा भएको पाली भाषा छिचोल्न सक्थे भन्ने पंक्तिकारलाई लाग्छ । नेपाली भाषाको साहित्यिक परम्परा त्यति पुरानो होइन, त्यो छिचोलेर चमत्कार हासिल गरँ भन्नलाई ।

तर विडम्बना, सन् १९५१ अर्थात् २००८ सालमा नेपाल–भारत सांस्कृतिक केन्द्रको पुस्तकालय खुल्नु नेपाली साहित्यको निम्ति ठूलो दुर्घटना थियो र त्यो आज पनि कायम छ ।

किनभने झन्डै १२ सय वर्षदेखि दासयुगमा जकडिएको उसको औपनिवेशिक साहित्यबाट गुज्रेर नेपाली साहित्यमा प्राणवायु भर्न खोज्नु भयावह अस्वाभाविक प्रयास थियो । स्पष्ट छ, महान् कृतिहरू जन्मिन सकेनन् । त्यो संस्कृत, अंग्रेजी, रुसी, स्पेनिस वा फ्रेन्च सोझै छिचोल्न नसक्ने दुर्बलताले पनि खडा गरिदिएको नियति हो ।

खुला आकाश

आख्यानमा रुसी र बंगाली लेखकहरू अद्वितीय मानिन्छन् । टोल्सटोय काउन्ट थिए, धनाढ्य थिए । ‘आनन्दमठ’ लेखेर बंगाली स्वाधीनता आन्दोलनको सूत्रपात नै गर्ने बकिमचन्द्र चटर्जी डेपुटी कलेक्टर थिए, सम्पन्न, अति–सम्पन्न ऊबेलाको समाजमा । त्यसपछिको उग्र उत्थान भयो रवीन्द्रनाथ बनर्जी अर्थात् टेगोरको नाममा । उनी त राजासरह नै जमिनदार हुन् । अनि अवरोहमा आउँछन् शरदचन्द्र चटर्जी ।

नेपालमा एउटा राणा दकज, पकज, पुकज र उकजले वार्षिक चार हजार नेरु तलब बुझ्ने बेलामा १४ हजार कम्पनी रुपैयाँ रोयल्टी कमाउँथे उनी, दुईवटा घर र मोटर किनेका थिए भन्ने जगजाहेर नै छ ।

यता हेर्दा सम उच्च मध्यमवर्गीय स्तरका अवश्य हुन् । देवकोटा, लेखनाथ र घिमिरे निम्नमध्यम वर्गीय भए पनि के खाने र लाउने ? को अवस्थाका होइनन् ।

देवकोटाको अर्थ व्यवस्थापनको तरिका पटक्कै नमिलेको मात्र हो । तर, गरिबीमा लेखिन्छ साहित्य भन्ने ठूलो भ्रम खोइ कताबाट थोपरिएको छ रचनाकारहरूको टाउको माथि । अँझै एक कदम अघि बढेर २०६३ पछि आफ्नो विगत र वर्तमानको दुखालाप गाएर ठूलो सिर्जक दरिने होडबाजी चलेको जस्तो देखिन्छ ।

यो मनोरोग हो । सम्पन्नताको खुला आकाशले घोत्लिने समय दिन्छ । किनभने पढेरमात्रै लेखिने कुरा होइन साहित्य। साहित्य उच्चस्तरीय साहित्यको ‘रिसाइक्लिङ’ होइन । त्यो पढ्ने दुईवटा कुराको निम्ति मात्र हो- अभिव्यक्तिको शैली र समकालीन विषयवस्तुको प्रकृति । अन्यथा, साहित्य कलात्मक चिन्तन नै हो ।

स्थान चयन

विगत ७० वर्षदेखि माधव घिमिरेको जीवनमा उथलपुथल देखिँदैन । त्यो एकनास सोझो बगेको खोलाजस्तो छ । अर्थात् उनले काम गर्न सक्ने भनेको कल्पनाशीलतामा टेकेरमात्र हो । यसैले काव्य विधा छानेर उनले साह्रै सटिक निर्णय गरे ।

अन्यथा आख्यानमा असफलता मात्र मिल्ने थियो । तर, जनकलाल शर्माको जीवनमा यति अकल्पनीय उफान र उथलपुथल देखिन्छ, उनी गैह्रआख्यानमा गएको भए सम्भवतः गद्य साहित्यमा एउटा प्रखर नाम हुने थियो शर्माको ।

हेमिङवेका उपन्यासहरू शर्मा सरहको जीवन धरातलबाट सम्भव भएको होभन्दा फ्रान्सेली उपन्यासकार इमाजोलाको प्रकृतिवादको समर्थन गरेको निक्र्योलमा पुग्न सक्छन् लेखकहरू । त्यसो होइन । अनुभव ‘प्राइमरी डाटा’ हो र पुस्तक ‘सेकेन्डरी डाटा’ हो भन्न खोजेको हो पंक्तिकारले ।

पाठकलाई पटक्कै मन नपर्न सक्छ एउटा कुरा यहाँनेर । डाटाको कुरा गरियो । तर, डाटाको एउटा रूप विवरणात्मक आख्यान हो । त्यसलाई प्रायः वामपन्थी झुकावको आख्यान मानिन्छ । साहित्य विवरण चाहिँ होइन । विवरणात्मक भएपछि त्यो नारा हुन्छ ।

मातृभाषाको मोड

माथि भनियो तीनवटै नारीको मातृभाषा सम्भवतः नेपाली होइन । यसैकारण उनीहरूको भाषामा मिठास आएको हो । नेपालीको जग संस्कृत हो । त्यसो हुँदा मातृभाषा नेपाली भएकाहरू अञ्जानमै थोत्रिएको थांम्रिएको, चेप्टिएको, चलनचल्तीमा अक्सर प्रयोग गरिने औसत शब्दहरू प्रयोग नगरी लेख्नै सक्दैनन् पंक्तिकारले जस्तै । तर, मातृभाषा नेपाली नभएका राई, लिम्बूजस्ताहरूले ठेट नेपाली भाषा अञ्जानमै प्रयोग गर्न पुग्छन् । भूपि शेरचनको लेख्य लोकप्रियता वा सफलताको एउटा रहस्यमयी कारण हो यो ।

अर्कोतिरबाट हेर्दा संस्कृत साहित्यको पकडपूर्ण ज्ञान र साहित्यिक पनि देखिने लोभले गर्दा पूर्णप्रकाश नेपाल ‘यात्री’का गैह्रआख्यान कृतिहरू, बालकृष्ण पोखरेलको ‘खस जातीको इतिहास’ र विष्णुराज आत्रेयको ‘हिमालयो नाम नगाधिराज’जस्ता कृतिहरू कैयौंपटक प्रयास गर्दा पनि नेपाली मातृभाषीले समेत पढ्नै नसक्ने खालका छन् । ती पढाउने हो भने तिनको पुनर्लेखन अति आवश्यक छ ।

हुन त कमलप्रकाश मल्ललाई जवाफ दिने क्रममा नयराज पन्तले भनेका हुन्-इतिहास परिशोधनका निम्ति तालिम चाहिन्छ ।

अर्थात् प्रौढ संस्कृतको ज्ञान, लिपिको ज्ञान अनि ज्योतिष गणितको ज्ञान आदि पनि चाहिन्छ । तर, बाँण अञ्जानमै पूर्णप्रकाश माथि लाग्न गएको देखिन्छ । हुम्लाको लिमिदराको पाँच गाउँबाहेक सम्पूर्ण नेपालका चपरी–चपरी टेक्न पुगेका पूर्णप्रकाशसँग कतिपय कुराका तालिम थिएनन् शोधका निम्ति भन्ने लाग्छ आज । र नै पश्चिम नेपालमाथिको लेखनमा अरूहरूकै नाम अगाडि आउँछ उनीभन्दा ।

यो गैह्रआख्यानबाट लिइएको उदाहरण भए पनि आख्यान लेखनको निम्ति उसैगरी विज्ञान र अर्थशास्त्रको तालिम पनि चाहिन्छ अबको युगमा । अर्थशास्त्र त्रिविले राखेजस्तो मानविकीभित्र पर्ने कुरा होइन, व्यवस्थापनभित्र पर्नुपर्ने कुरा हो।

वर्जित सम्पादन

गुनकेशरी र मैयाँसाहेबका उदाहरणलाई छोडिदिने हो भने भवानी भिक्षुको ‘आगत’ निकृष्टतम कृति हो । मूल विषयबाहेक यसका बाँकी आठ प्रणाली शरदचन्द्र चटर्जीको शेषप्रश्नका ऐना हुन् । त्यसमाथि उनको भूमिकाबाटै थाहा हुन्छ, ईश्वर बरालले पाण्डुलिपिका मार्जिनमाथि अटाइ नअटाइ टिप्पणी लेखेर पुरै पुनर्लेखन गर्नुपर्ने बाध्यता बनाइदिए।

अँझै त्यसमाथि, ईश्वर बरालको लेखाइ थोत्रोथांम्रो संस्कृत मिशृत लेखाइ नै हो, त्यो स्वादिलो नेपाली लेखन होइन । ईश्वर होइन त्यहाँ लिलानटेश्वर बराल धेरै सक्रिय हुँदा त्यसो हुन गएको हो।

यो निकृष्टतम रचनाले पाएको निकृष्टतम सम्पादकको सबैभन्दा टड्कारो उदाहरण हो (मोहन कोइरालाको कविता सम्पादनको अपवादलाई छोडेर) । तर, राम्रो पक्ष के हो भने एउटा लेखकले मेरो आख्यान कृतिको सम्पादन हुन सक्दैन भन्ने घमण्ड गरेको छैन ।

आख्यान सम्पादन हुन्छ र संसारभरि हुन्छ । आख्यानको सम्पादक भनेको कपी-एडिटर होइन । त्यो भयावह भ्रम छ, नेपालमा । कपी-एडिटर वा लेगम्यान भनिनेपात्र बृहत् सम्पादन हाइरार्कीको कनिष्ठतम कर्मचारी हो ।

अँझै उल्टो भ्रम के छ भने कपी-एडिटर पुस्तकलाई बजारमैत्री बनाउन प्रयोग गरिने पात्र हो, जसको उति आवश्यकता छैन ।

यो कुरा कृष्णकुमार पाँडेको ‘चिताबाट उद्धार गरिएको चिना’को भूमिकामा व्यक्त गरिएको छ । जुन अज्ञानता हो । त्यसैले यो पुस्तक सिड्नी सेल्डनको भाषामा भन्नुपर्दा अतिलेखन र न्यूनलेखनको रोगले अत्यन्त ग्रस्त छ । यो एक उदाहरण मात्र हो ।

गैह्रआख्यानले १८ वटा सम्पादक खोज्छ भने आख्यानले १२ वटा सम्पादक खोज्छ । सम्भव छ, एउटा उपन्यासको प्रकाशनलाई दस वर्ष कुर्न एउटा नेपाली आख्यानकारले ?

शब्द ‘म्याट्रिक्स’

यहाँ सय शब्द छन् । समेट्न सकेको भए उन्नाइसौं शताब्दीको नेपाली उपन्यास स्थापित हुन्थ्यो ।

शब्दसूची- धोबीले चुनेको लुगा, घोट्टा, साइकल, बगनभेलिया, सिनाज्या, ब्याँचुली र मालकोस, रामायण, पम्फ्याको पाउडर, थर्की, बासमती, सिलस्किन, वेदाना, बोरिक, साबुदाना, टिबी, ग्रामोफोन, चाकरी, सगोल, सिरेटो, टोपी, जुँगा/ दाह्री, सौता, रिफेल, परेवा, मुसाको खोर, साधु, अजिमा पुजा, चार बजे, तोप, सूर्य नडुब्दै, चाँदीको डबल, मोही, भूत, कन्या, जडाउरी, फुलमार,क्राभेन, काँठ, खान्दान, साइत, पोतारी, सुकुल, भाकल, महँगो, टीका, फर्माइस, फोसा, कमेरो, बाजीकरण, किरिया, मेख, इलम, परी, कौडा, एकादेशमा, जुम्रा, कर्‍याङकुरुङ, भजन, खास्टो, वनभोज, जात्रा, सिन्दूर, नून, इमान, जमान, बागी, नक्कल, देशी, दुइनाले, पाउ, दोबाटो, अल्लारे, खुराक, भाम्लो, ल्याइते, पात्रो, वासी, फौबन्जार, जुधाउन, धमिरा, सुती, गुण, उर्दी, झरी, चिर्पट, अनिकाल, गोरे, दोजिया, हुक्का, बयान, देवानी, पितृ, कनिका, तरबार, गाँजा, काजी, सिद्ध, फुलेल, गाजल, हैकम ।

‘कलकत्ता’ शब्द झिक्दा, तर ‘ज्यापू’ शब्द राख्दा त्यो काठमाडौं खाल्डो विशेषमा सीमित र ‘कलकत्ता’ राख्दा एक्सपोजर मिलेको उच्चवर्गीय समाज वा परिवार बुझिन्छ । त्यहीँ ‘मौजा’ शब्द राख्दा भारदारी र नराख्दा साधारण समाज बुझिन्छ । ‘शब्द म्याट्रिक्स’ नूतन वा पुरातन के हो भाषा सम्पादकले हेर्ने नै होइन त्यो शब्द सम्पादकले हेर्ने हो । त्यसैले १२ सम्पादक अन्योलपूर्ण हुनपुग्छ अहिलेको दिमागमा, बुझाएरै सकिँदैन ।

टँडिखेलमा भोगटे खेल्न पारंगत पात्र फेला पारेर महावीर टिम र संकटा टिमका फुटबल खेलाडी बनाएजस्तो नियतिमा जानुपर्ने कारणले ‘डेब्यु’ कृतिहरू मात्रै सफल हुने ‘वन्डे वन्डर सिन्ड्रोम’ नेपाली आख्यानमा प्रबल हुँदै गएको हो । कारण नै यही हो- प्रारूप विज्ञानको न्यूनतम हेक्का पनि नराख्नु । चार नारी लेखिकाको सन्दर्भमा चाहिँ आउँदो १० वर्षमा के स्थान हुन्छ मौन निरीक्षणकै कुरा भयो अब ।

विश्राम

३४ वर्ष भयो साहित्य पढ्न छोडेको तर नेपाली वाङ्मय धनी होस् भन्ने एक सामान्य नागरिकको सामान्य चाहनाले धक्धक्याएकोले मात्र यो लेखियो । अमूल्य मानव जीवनको एक क्षण पनि कसैको भावुकतामा किन खर्च गरौं ? भन्ने मान्यता हो पंक्तिकारको, साहित्य पढ्न छोड्नु पछाडिको एउटा कारण । पाठक पनि यो लेख नपढ्न र यसलाई नमान्न पूर्ण स्वतन्त्र छ ।

http://annapurnapost.com/News.aspx/story/49766

Leave a Reply

Your email address will not be published. Required fields are marked *