रगत बगाउँदा पुगेन । ज्यानै दिँदा मन बुझेन । एकएक गर्दै एक दशकमा हजार–हजार मुटुहरू पड्किए । सिउँदो पुछिने र भाग्य मेटिनेहरू गनिसाध्य भएनन् । भोकानाङ्गाहरू अँझै रोगाए । मोटाघाटाहरू अँझै मोटाए । परिवर्तनको छेउटुप्पो देखिएन । साँच्चै उजाड वस्तीहरूमा लालुपाते र गोदावरी फुल्ने नामै लिएनन् ।
अँझ तिमी भने क्षेत्रीयता र जातियताको पछि लागि शोषकहरूको फेदमा मलजल पुर्याउँदै छौ । सम्झनुपर्ने कुरा रछ्यानमा मिल्काएर बिर्सनुपर्ने इतिहासलाई पुनरावृति गर्न कम्मर कस्दै छौ । तिमी त शहिदको रगतले नपिर्ने पो भएछौ । जलेको चिताले पोल्दै नपोल्ने हुन पुगेछौ । बगेको रगतलाई चौलानी भन्न थालेछौ । ढलेको शरीरलाइरहरको नशाभन्दा रहेछौ । अँझ ‘इन्कलाब’का नारा फलाक्न भन्छौ । खेदाउनुपर्ने पक्ष चुपचाप खेदिएपछि अब कसलाई खेद्ने खेल खेल्दै छौ ? आर्थिक क्षेत्रमा कायापलट गर्ने नीति नल्याएर अब कस्तो तानाबुना बुन्दै छौ ? अन्तत: कसलाई खेदेर शासनको कुन तन्त्र ल्याउन चाहन्छौ ?
शिक्षक मासिक २०७२ चैत
तपेश्वरी–१, उदयपुर ।
हाल : श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।
