Skip to content

माटो बिरामी भयो

द्यौसीको लयमा मयूर वनमा नाची रहेको थियो
जान्छौ लाहुर खै अझै किन यही स्याउ फलेकै थियो
आफ्नै बादल बर्सिएर दिउँसो धर्ती रुझेको थियो
कोसी त्यो बिचरा बिहान किन खै बेच्नै परेको थियो ।

गर्मीको महिना अहो सिरसिरे हावा चल्यो पूर्वमा
त्यो दार्जीलिङको सुगन्ध रसिलो पुग्दैछ यो नाकमा
मौका खोज्दछ चोर्न लुट्न जहिल्यै आफ्नै छिमेकी पनि
गाह्रो हुन्छ यहाँ बचाउन हरे ताला लगाए पनि ।

हो गर्ने दिन रात पर्छ पहरा ओढेर कात्रो पनि
देख्यो बाघ सिकार घायल भने झम्टिन्छ जैले पनि
सर्दैछन दिन रात पिल्लरहरू आलाप गर्नै पर्यो
कोठा भो किन साँगुरो दिनदिनै खाटै नअट्ने भयो ।

कोठा बाहिर निस्की पश्चिम पुग्यो हाम्रै न हो लिंपिया
आफ्नै खेतसमेत खन्न नसके कस्तो किसानी यहाँ
हुन्न फुर्सदमा कि मालिकहरू खेती बरु बिग्रियो
आऊ डाक्टर नर्स शिक्षकहरू माटो बिरामी भयो ।

-(अर्घाखाँची)

Leave a Reply

Your email address will not be published. Required fields are marked *