Skip to content


नाघ्दै भूगोलका नक्शाहरु
छिल्चोल्दै राष्ट्रका सिमानाहरु
बेहिसाब तन्न्नेरीहरु यहाँ
मुगलान पसेका छन
हराएका सपनाहरु संगाल्न

म त्यही युवा प्रतिनिधि
जो युगीन परिवर्तनका आयामहरु भित्र्याउने
भ्रमको रेखा कोरिरहेछ ।

विरानो
प्रवासको व्यस्त परिवेशबाट
सधै सधै चियाएर हेर्ने गर्छ उ
कतै खुलेको छ कि मेरो देशको आकाश
कतै देखिन्छ कि मेरो देशको छाया ?

उसलाई पनि यसरी – अरुकै घरमा
दोश्रो दर्जामा उभिन कहाँ मन थियो?
कहाँ मन थियो अरुकै पहरेदार, खेताला वा स्याहारे हुन?
कहाँ मन थियो प्रवासलाइ आफ्नो भन्न ?
तर भोक प्यास र अभाव ,
अव्यवस्था र वेरोजगारी ,
भावनाहरु भन्दा धेरै गहिरा हुन्छन्
हो त्यही विरुद्ध संघर्षको पाइला हिड़दैछ उ ।

पलायनवादको संज्ञा दिनेहरू सुन !
भोकको वहानामा उ कसैसंग भीख माग्दैन
प्यासको बहानामा उ मान्छेको रगत पिउदैन
जाड़ोको वहानामा उ सल्काउदैन आफ्नै झुपडी
न ढुकुटी हत्याउन फुटाउछ भाइहरूलाइ,
अभावको वहानामा उ बाटोघाटो, माटो र नदीनाला बेच्दैन ।

यदि यही वहानामा
घर छाडनु गलत हो हो भने
म त्यही गलतहरुको प्रतिनिधि
यद्यपि जसभित्र माटोको माया सागरमाथा जस्तै हुर्किएको छ
जसको चेतनाको आकासमा राष्ट्रप्रेम चन्द्र र सूर्य जस्तै स्पष्ट छ ।

कहाली लाग्दो नियति बनेर
परदेश बिझेको बेला उसका वर्तमानहरुमा
भो नसोध खै तेरो देश ?
भो नसोध खै तेरो परिचय ?

जापानी होचा पहाड़का गर्तहरुमा
जम्मू कश्मीर, मलायका जंगलहरु र खाड़ीका ताता वालुवा
वा अफगानिस्तानका मरुभूमिहरुमा
उसले आफुलाई कतै हराएको धेरै भैसक्यो
गोरखाको परिचय कोर्दै भूगोलको कुनाकुना
जंगल जंगल क्याम्प राखेर बहादुरी देखाउने म त्यही लाहुरे प्रतिनिधि
जो इतिहास लेख्दै मरुभूमि र जंगलहरुमा
राष्ट्रीयताको परिभाषा खोजिरहेछ ।

देश भन्नु मन रहेछ
घर भन्नु मन रहेछ
माया भन्नु मन रहेछ
भो नसोध खै कहाँ छ तेरो घर ?
उसले जरुर भन्न सक्छ पहाड़ जत्रो विशाल मेरो मनभित्र
त्यही मन भित्र अटाएको छ सबै सबै उसले, यसबेला ।
तर उसलाई थाहा छैन मन उसंग छ की छैन?
मन र माया कंप्यूटरको स्क्रीन स्क्रीन चहार्ने यो युग
जसले आसू पिएर झूठ हास्न सिकाएको छ
जसले मन बाधेर कृत्रिम जिउन सिकाएको छ
म त्यही युग को प्रतिनिधि ।

पुराना समयका धागोहरु बटुल्दै
मन सम्झनाका जालहरु बुन्छ
मन सम्झनाका जालहरुमा अल्झन्छ ।
सम्झनाहरु संगाल्नु यो भ्रम हो,
म त्यही समझनाहरुको प्रतिनिधि ,
म त्यही मनहरुको प्रतिनिधि ,
जो भ्रम बाचिरहेछ ।

मन
अब त धेरै भयो नडुलेको
लेक बेसी मेला र हाटबजारहरु
धेरै भयो नगाएको चंचल हुदै
रोदीका लैबरी र झ्याउरे भाकाहरु ।

गतेहरु चिनो लाउदा लाउदै चाडवाडका
आँखा क्यालेंडरका पत्रहरुमै अल्झन्छ
जब मानेभंज्यांङमा रोटे पिङ घुम्न थाल्छ
जब सयपत्री मखमली फुल्न थाल्छ ।
जब देउसी भैली र मादलको स्वर पारी गाऊंसम्म सुनिन्छ
उफ़ समय किन यसरी विवश भएको? उडेर मन त्यही जाउँ भन्छ।

जब रोपाई हुन्छ असारे भाका गुन्जन्छ
र नाच्छन दौतरीहरु सोरठी, मारुनी र पुर्सुंगे बनेर
हो उ यहिनेर टुक्रन्छ ।

चाडवाड र दौतरीका यादहरु मात्र हैनन
अरु धेरै कुरामा उसको छाती पोल्ने गर्छ ।
जब भोक प्यास र अभाव दुख्छ देशमा
हिमाल दुख्छ, मधेश दुख्छ, राजधानी नजिकै चेपांगको प्रदेश दुख्छ
बाढीपहिरो वा खडेरीजस्तै राजनीति, गृहयुद्ध र तिनका अवशेष दुख्छ ।
महेशपुर सुस्ता र कालापानी दुख्छ ।
उसको छाती पनि बिझाउछ

हो जातीय स्वाभिमान बाँचेको
म त्यही छातीहरुको प्रतिनिधि,
जहाँ देशको माया बल्झिएको छ ।
जहाँ सिंगो देश अल्झिएको छ ।

कृष्ण थापा
इजरायल

7 thoughts on “जहाँ सिंगो देश अल्झिएको छ”

  1. माया अल्झिएको मन बाट ,देसै

    माया अल्झिएको मन बाट ,देसै बल्झिएको तन बाट ,
    शब्द हरु तपाईंका ,भावना ति मेरा पनि,
    कती सुन्दर कबिता
    कती धेरै यथार्थता । साह्रै राम्रो लेख्नु भएछ कृष्ण जि, मेरो त मन नै रोयो।

    1. सूफी जी
      “तिम्रो माया नै मेरो

      सूफी जी
      “तिम्रो माया नै मेरो अर्थहरु हो ”
      शनिबार साहित्यमा प्रथम भएको तपाईको यो कविता
      म बारम्बार सुन्छु, हेर्छु र अनुभव गर्छु
      हामी बिच चिनारी नभए पनि यिनै भ्रमहरुले
      नजिक बनाउदै जाओस हाम्रा कवी मनहरुलाई
      र आभास देओस अपनत्वको
      र बाडोस एक आपसमा एउटै खाले पीडा दुःख या ख़ुशीहरु
      कामना गरौं

      मेरो कविता मन पराई दिनु भएको मा धन्यवाद
      लेखक http://www.krishnathapa.com

  2. साह्रै मार्मिक भाव व्यक्त
    साह्रै मार्मिक भाव व्यक्त गर्नुभो कृष्णजी। हृदयबाटै लेख्नुभएको कुरा सहजै थाहा हुन्छ। निरन्तरताको आशमा!
    ——————————-
    कहाली लाग्दो नियति बनेर
    परदेश बिझेको बेला उसका वर्तमानहरुमा
    भो नसोध खै तेरो देश ?
    भो नसोध खै तेरो परिचय ?
    ——————————
    वाह! वाह! क्या बात!?

    –कुमार

  3. साह्रै सुन्दर
    साह्रै सुन्दर अभिव्यक्ति,
    प्रवासीको मन छोयो यसले ।

    केशव अधिकारी

  4. “जहाँ सिङो देश अल्झिएको छ
    “जहाँ सिङो देश अल्झिएको छ ।”कृष्ण जिमेरो मन पनि एकाएक बल्झिएको छ तपाईं को कबिता पढ्दा पढदै। तपाई को कलम लाई हार्दिक शुभ कामना छ ।तपाईं ले भने जस्तै हाम्रो भेत यसरि हुनलगेको ले खुशि लगेको छ्।

    सुनिल् सङ्गम्

  5. अलिकती रगत, देशको लागि चुहाइ
    अलिकती रगत, देशको लागि चुहाइ हेर
    अलिकती पसिनाले, देशलाई पनि नुहाइ हेर
    – निराशाले यसरी लेख्दैमा, अरुलाई दोषी देख्दैमा
    देश बन्दैन ,,,,,,
    – देशलाई मात्र मग्दैमा,आफु टाढा भाग्दैमा
    देश बन्दैन ,,,,,,
    सज्जन र शिछितले देश छोडे
    देश बन्दैन ,,,,,,
    जे होस् तपाईको राष्ट्र प्रेमक सहरना गर्छु । सिर्जाना धेरै राम्रो छ ।
    – लाक्पा शेर्पा

  6. कुमार सिंखडा जी
    सर्जक र

    कुमार सिंखडा जी

    सर्जक र साहित्यपारखी दुबैलाइ
    यो साईटमा यसरी समेटनु भएकोमा
    एकदम खुसी छु र मझेरी प्रति आभार व्यक्त गर्दछु ।

    नेपाली साहित्यको यो मझेरीमा
    तपाईको स्वागतमय स्विकारोक्तिले
    मलाई मेरा भावनाहरु पोखन अझ उत्साहित बनाएको छ ।

    र यो उत्साह निरंतर रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *