नारी उपन्यासकार केन्द्रीत समालोचना

  • by


नेपाली साहित्यमा नारी साहित्यकारहरूको कमी भएको सन्दर्भमा बेलाबेलामा टीका-टिप्पणीहरू हुँदै आएका छन् । यसमा पनि नारी समालोचकहरू त झन् एक हातका औँलाबाट गन्दै जाँदा अर्को हातका औँलासम्म पुग्न पनि मुस्किलकै अवस्था छ । अझ नारी साहित्यकारहरूकै मात्रै छुट्टै अध्ययन-अनुसन्धान गरेर सिङ्गो कृति तयार गर्ने अनुसन्धाताहरू त एकाध मात्रै छन् र यसैमध्ये एक हुन् समालोचक लीला लुइटेल । उनको अनुसन्धानमूलक पछिल्लो कृति हालै प्रकाशित भएको छ- नेपाली महिला उपन्यासकार । यसअघि नेपाली महिला कथाकार (२०६०) प्रकाशित गरिसकेकी लुइटेल पछिल्लो समयमा विशेषतः नारी केन्दि्रत अध्ययन, अनुसन्धान एवं समालोचनामा लागिपरेकी छिन् । यो पछिल्लो शोधग्रन्थलाई नेपाली महिला उपन्यासकारहरूका बारेमा गरिएको प्रथम शोधकार्यको दावीसमेत गरेकी छिन् ।

लुइटेलको प्रथम खण्डमा ‘नेपाली महिला उपन्यासकारहरूको ऐतिहासिक सर्वेक्षण’ गरेकी छिन् । प्रथम महिला उपन्यासकार अम्बालिकादेवीको वि.सं. १९८९ मा प्रकाशित उपन्यास ‘राजपूत रमणी’ लाई प्रथम औपन्यासिक कृति मानेर समलोचक लुइटेलले यस कृतिमा सात दशकको समयावधिको महिला उपन्यासकारितालाई विहङ्गमरूपमा केलाउने प्रयत्न गरेकी छिन् । यस खण्डमा अम्वलिकादेवीदेखि प्रारम्भ भएर-पवनकुमारी देवी, मायादेवी सुब्बा, शान्ति प्रधान, पारिजात हुँदै लिली रिमालसम्म जम्मा ९६ महिला उपन्यासकारहरूको परिचय, कृति एवं औपन्यासिक प्रवृत्तिलाई सङ्क्षिप्तमा प्रस्तुत गरिएको छ । यसमा नेपाली भाषामा लेख्नेहरू प्रायः सबै नै समेटिएको अनुभव हुन्छ । दोस्रो खण्डमा ‘नेपाली महिला उपन्यासकारहरूका धारागत प्रवृत्ति’ केलाइएको पाइन्छ । यसमा आदर्शोन्मुख यथार्थवादी धारा, स्वच्छन्दतावादी धारा, समाजिक यथार्थवादी धारा, आलोचनात्मक यथार्थवादी धारा, प्रगतिवादी धारा, मनोविश्लेषणवादी धारा र प्रयोगवादी धारा गरी विश्लेषण गरिएको छ । यस कृतिको महत्त्वपूर्ण खण्डका रूपमा ‘प्रमुख नेपाली महिला उपन्यासकार’ रहेको छ । पारिजात, गीता केशरी, वानीरा गिरि, इन्दिरा प्रसाई र पद्मावती सिंहका बारेमा विस्तृतरूपमा प्रस्तुत गरिएको यो खण्डले कृतिको ओज बढाएका छन् । ‘नेपाली महिला उपन्यासकारमा सांस्कृतिक चेतना, नेपाली महिला उपन्यासकारका उपन्यासमा संस्कृतिलगायतका खण्डगत विश्लेषण एवं परिशिष्ट खण्डमा समाविष्ट ‘नेपाली महिला उपन्यासकारको वर्णानुक्रमिक विवरण’ ले नेपाली महिला उपन्यासकारहरूका बारेमा खोज-अनुसन्धान गर्न चाहनेहरूलाई सहयोग पुग्ने देखिन्छ ।

‘नेपाली महिला उपन्यासकार’ अनुसन्धानमूलक कृति भएकाले यसलाई पूर्णरूपमा समेटिएको समालोचनात्मक ग्रन्थ भनिहाल्न त नसकिएला तर प्रस्तुत सामग्रीहरूका आधारमा भन्दा यथासम्भव समेट्ने प्रयास भएको स्पष्ट हुन्छ । उपन्यासका विषयवस्तुहरूमा-पारिवारिक, सामाजिक, मानसिक तनाव, यौन शोषण, लैङ्गिक असमानता, बालविवाह, अन्तर्जातीय विवाह, विधवा विवाह, आदिका सन्दर्भहरू ज्यादा पाइने गरिएको देखिएको छ । यसैगरी पछिल्लो चरणका उपन्यासहरूमा चाहिँ नारी स्वतन्त्रता र समानताका कुराहरू ज्यादा आएका छन् । महिला उन्मुक्ति, कानुनी हकअधिकार, राजनीतिक चेत, एवं समग्रमा पुरानो मान्यता र सांस्कृतिकजन्य विकृतिहरूका विरुद्धमा सन्देशमूलक प्रस्तुतिहरू उपन्यासमा आएका सन्दर्भहरू समालोचक लुइटेलले प्रस्तुत गरेकी छिन् । शोधकार्यका रूपमा तयार पारिएको कृति भएकाले हुनसक्छ-विभाजन सङ्केत, चिहृन, पृष्ठ, परिच्छेदलगायतका उपन्यासका झिनामसिना कुराहरू पनि समेटिएकाले पाठकलाई झिँझट लाग्न पनि सक्छ । समग्रमा महिला उपन्यासकारहरूको बारेमा विहङ्गम विश्लेषण गरिएको लुइटेलको ‘नेपाली महिला उपन्यासकार’ कृति प्रशंसनीय छ ।

कृति : नेपाली महिला उपन्यासकार
समालोचक : लीला लुइटेल
प्रकाशक : साझा प्रकाशन
प्रकाशन : २०६८
पृष्ठ : २५२+१४
मूल्य : रू. २८१।-

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *