यो सहर एउटा ‘प्लेटर्फम’ भएको छ मेरा लागि, अनि जिन्दगी एउटा रेल । म टिकट हराएको एउटा यात्रुझैँ भएर यो सहरमा अलमलिएकी छु । कहिले त लाग्छ जिन्दगी पीडैपीडाको दह हो, अनि काँडैकाँडाको घारी । म अहिले यो सहरको एउटा रेस्टुरेन्टभित्र छु, मसँगै मेरी प्रिय दिदी छे, ऊसँगै छ उसको बैसालु रेल चढ्ने सातौँ सहयात्री प्रभाकर । उसको नाम पनि मैले दिदीले भन्दा भर्खरै थाहा पाएकी हुँ । निकै प्रशंसा गरेर दिदी उसको नाम लिन्छे । एउटा गोलाकार टेबुललाई घेरेर बसेका छौं हामी । हँसिली छे दिदी तर मलाई भने आफ्नो अनुहार डम्म कालो बादलले ढाकेको झरी पर्न आतुर आकाश जस्तो लाग्छ । पुलुक्क दिदी कहिले प्रभाकरलाई हेर्छे, घरी मलाई । मेरो उदासी सम्भवतः पढ्छे र हाँस्ने चेष्टा गर्छे तर स्पष्ट खुल्न पनि सक्दिन । उसलाई थाहा छ आजको मेरो उपस्थिति असहज भएको छ उसलाई, व्यक्त गर्न पनि सक्दिन । प्रभाकर र उसका आँखा घरीघरी जुध्छन्, र मैले देखेपछि अप्ठ्यारो लाग्छ सायद, उनीहरूका दुई जोडी आँखा एकाएक चुँडिन्छन् ।

‘सन्ध्या ! के खान्छौ ?’ प्रभाकर सोध्छ ।

‘तिमी ?’ दिदी प्रतिप्रश्न गर्छे ।

‘फस्ट च्वाइस तिम्रो, अनि म ।’ ऊ फेरि सोध्छ ।

‘सरी ! आज त म ‘हार्डड्रिङ्क्स्’ लिन्छु, ‘डन्ट माइन्ड’ ।’ सहजै भन्छे ऊ । उसको निर्धक्कपनसँग छक्क पर्छु म । प्रभाकर के सोच्छ कुन्नि भन्न सक्दिन ।

‘के को ‘हार्डड्रिङ्क्स्’ लिन्छेस्, ‘कोल्डड्रिङ्क्स्’ ले ।’ मलाई दिदीको स्वतन्त्रता मन पर्दैन । सम्झिन्छु, के भन्दो हो प्रभाकरले दिदीको यो स्वभावलाई । जसलाई एउटा पुरुषसँग बसेर रक्सी खान अलिकति पनि अप्ठ्यारो र सङ्कोच लागेको छैन ।

‘हुन दे, आज म हार्डड्रिङ्क्स् नै लिन्छु, आज मलाई साह्रो ‘टेन्सन’ छ !’ ऊ अडिग हुन्छे आफ्नो रोजाइमा । प्रभाकरले नदेख्ने गरी आँखा तर्छु म तर उसलाई केही असर पर्दैन । उसले यस्ता कैयौं आँखातराई पचाएकी छे ।

‘के टेन्सन छ भावना ! तिमीलाई ?’ टेन्सनको कारणसँगै प्रभाकर ऊप्रति सहानुभूति राख्छ ।

‘हुन्छ नि ! ‘इन्टर्नल’ । त्यस्तै हो कति कुरा व्यक्त गर्न सकिन्छ, कति सकिदैन’ ऊ दुइटै हातले टाउको थिच्छे । मानौं एउटा ठूलो सङ्कटमा छे ऊ । टाउको थिचेर ‘हार्डड्रिङ्क्स्’ आउनुअघि सायद अलिकति ‘टेन्सन रिलिफ’ गरिरहेकी छे ।

‘ल तिमी ‘हार्डड्रिङ्क्स्’ नै खाऊ, मचाहिँ बियर खान्छु । अनि मैंया ! तिमी के खाने ?’ प्रभाकर मलाई सोध्छ ।

‘म हार्डड्रिङ्क्स् लिन्छु ।’ अप्ठयारो महसुस गर्दै बिस्तारै बोल्छु म, साँच्चै भन्नुपर्दा यो टेबुलमा मलाई दिदीसँग बसेर खाने पटक्कै इच्छा छैन । दिदीको स्वभावले त कहिलेकाहीँ दिक्क लाग्छ । सोच्छु, बाढी आएको एउटा बहुला खोलाजस्तै किन यति स्वच्छन्द र स्वतन्त्र छे दिदी । जो जता पनि बग्न सक्छ, जसलाई सानातिना कुनै नियन्त्रणको बाँधले रोक्न सक्दैन । दिदी जसलाई आफ्नो जिन्दगीको डिही भत्किएको पनि थाहा छैन । कहिले त दिदीसँगको सान्निध्यताले आफ्नै भविष्यप्रति कहालिन्छु म । सोच्छु, कतै आफ्नो भविष्य पनि यस्तै अन्योल र लज्जास्पद हुने त होइन । निरन्तर छेपारोझैँ रङ परिवर्तन गरेर बाँच्नुपर्ने त होइन यो सहरमा । सेकुवा, ब्वायल मटन, फ्राइड मोमोको आदेश दिन्छ सहयात्री । उनीहरूले आदेश दिएको सामान आइपुग्छ ।

‘उहाँ भिनाजु, नमस्ते गर । यो मेरी प्रिय बहिनी ।’ खान सुरू गर्नअघि दिदी आदेश दिन्छे र उसको परिचय गराउँछे ।

‘नमस्ते !’ मन नलागी नलागी हात उठाउँछु । दिदीको धेरै बानीहरूमध्ये मलाई यो बानी मन पर्दैन । एक दुई तीन चार गर्दै उसले चिनाएका असङ्ख्य भिनाजुका इन्द्रेनी अनुहारहरू मेरा आँखा वरिपरि घुम्न थाल्छन् । पटकपटक दिदीले प्रत्येक नयाँ व्यक्तिको परिचय यसरी नै गराउने गरेकी छे ‘उहाँ भिनाजु नमस्ते गर ।’ दिदीका आदेशअनुसार प्रत्येक परिचयसँगै हात उठाउँछु । यो सम्बोधित संवाद एउटै भए पनि व्यक्तिका अनुहार भने फरक हुने गर्छन् अर्थात् दिदी एक भिनाजु अनेक । मलाई अचम्म लाग्छ फूलजस्तो जिन्दगीलाई किन काँडाको जङ्गलमा धकेलिरहेकी छे दिदी । किन आगाको बीचमा उभिएर खेलिरहेकी छे जिन्दगीको डरलाग्दो खेल । म दिदीले चिनाएका पूर्वभिनाजुहरू सम्झन्छु । समावेसी भिनाजुहरू, जो विविध, जात विविध रङ र विविध पद र उमेरका छन् । एउटा समावेसी नमूना प्रत्येक भिनाजुका अनुहारहरूमा देख्न सकिन्छ । म नसम्झौ भन्दा पनि सम्झन्छु दिदीले चिनाएका यी अनुहारहरू ः-

भिनाजु नं. एक – हाकिम

भिनाजु नं. दुई -प्राध्यापक

भिनाजु नं. तीन-पत्रकार

भिनाजु नं. चार -नेता

भिनाजु नं. पाँच -कवि

भिनाजु नं. छ – कलाकार

भिनाजु नं. सात – अनभिज्ञ ? के गर्छन् यी, नयाँ भिनाजुको पेसा सोध्न बाँकी छ । जससँग दिदीले आजै परिचय गराएकी छ ।

‘अनि भिनाजुचाहिँ के गरिसिन्छ ।’ मनै त हो, खुल्दुली लाग्छ सोध्छु ।

‘उहाँ ठूलो व्यापारी हो, विदेशमा ‘एक्सपोर्ट इम्पोर्ट’को काम गर्नुहुन्छ ।’ भिनाजुले बोल्नै पर्दैन जवाफ दिदी आफँै दिन्छे, मानौ नवभिनाजुको ऊ प्रवक्ता हो । बुझ्छु नवभिनाजु व्यापारी रहेछन् । आजसम्मका अरू भिनाजुभन्दा पेसा फरक तर दिदीका कुरामा सत्यता नहुन पनि सक्छ । किनकि धेरै पल्ट उसले चिनाएका भिनाजुका पेसा र पद फरक परेको छ । साँच्चै भन्ने हो भने कति त उसले अँध्यारोमा नै मट्याग्रा हान्छे, आफ्नो सम्बन्ध ठूलो मान्छेसँग भएको देखाउन, जुन उसको भनाइसँग मेल खाँदैन । त्यति नै बेला मोबाइलको घन्टी बज्छ । ‘ला भिनाजुको फोन’ आत्तिन्छे ऊ । ‘ला उठा त, दिदी बाथरुम जानु भएको छ भन्दे, हामी घरमै छौं भन ।’ स्थायी भिनाजुको फोन, दिदीको अनुहारको रङ एकाएक फेरिन्छ ।

‘अहँ म उठाउँदिन, तँ आफैँ कुरा गर, मन ढुकढुक हुन्छ । म सहजै यति ठूलो झुट बोल्न सक्दिन ।’ म पन्सिन्छु । ऊ आफ्नो हातको औँला ओँठमा लगेर चुप हुने सङ्केत गर्छे र मन नलागी नलागी फोन उठाउँछे । ‘हजुर ! घरमै छु । ए नानु त बाहिर गकी छे । सबै ठीकै छ । फोन बिगि्रएको छ, त्यसैले उठेन ।’

‘बूढा !’ केहीबेरको वार्तापछि आक्रोशित हुँदै ड्याम्म फोनको स्विचअफ गर्छे ऊ । उसको अनुहार अझ अँध्यारिन्छ । मलाई थाहा छ, दिदी ढाँट्न सिपालु छे । कैयौँपल्ट दिदीको आदेशअनुसार ढाँट्ने भएर आफँै फसेकी छु । प्रायः उसका कुरा वास्तविक भिनाजुले पनि पत्याउँदैनन् किनभने सधैँ ढाँट्ने बानी छ उसको । एकपल्ट घरमा नै छु भनेर भन्दा भिनाजुले घरमा नै आएर आफ्नो मोबाइलबाट फोन गरेका थिए । त्यतिबेला घरको ढोकामा ताल्चा झुन्डिएको थियो । ढाँटेकोमा ऊ नराम्रोसँग पक्राउ परेकी थिई ।

‘के भो ? ‘ आज पनि ढाँटेकोमा पक्राउ खाई कि दिदीले, शङ्का लागेपछि सोध्छु ।

‘हेरन, नानु बाहिर गकी छ भनेको त नानुलाई अघि फोन गरिसकेछन् बूढाले, घरमा नै रहिछे ।’ कति चियोचर्चो गर्न परेको यी बूढालाई । त्यति टाढा छन् र पनि चियोचर्चो गर्न छाड्दैनन् । साह्रै ‘न्यारो माइन्ड’ र शङ्कालु छन् रिसले किटकिटिन्छे ऊ ।

‘अनि किन ढाँट्नु त, बाहिर छु भनेको भए भइहाल्थ्यो नि ।’ उसको कुरा नवभिनाजुलाई पनि चित्त बुझ्दैन ।

‘लोग्नेमान्छेलाई सबै साँचो भन्नुपर्छ भन्ने छ, उनीहरूले चाहिँ कति ढाँटछन् नि ! उनीहरूले जे गर्दा पनि हुन्छ हामीले चाहिँ…. ।’ उदास हुन्छे ऊ । स्पष्ट बुझिन्छ । फोनले टेन्सन थपिन्छ ऊमाथि ।

‘पाँच मिनेट है !’ उसको उदासिनता नवभिनाजुलाई पनि नमिठो लाग्छ, उनी जुरुक्क उठ्छन् र बाथरुमतिर लाग्छन् ।

‘दिदी ! तेरा भिनाजु कति छन् हँ ! मलाई त यो भिनाजु शब्द नै ‘हृयाङ’ लाग्छ, कतिलाई भिनाजु भन्नू ।’ नवभिनाजु बाहिर गएपछि म खुसुक्क दिदीको कान फुक्छु ।

‘इन्ज्वाय गर ! रिल्याक्स गर न, जिन्दगी भनेकै रिल्याक्स गर्नु हो ।’ एकपल्ट भिनाजुभन्दा तेरो के जान्छ, त्यही एक शब्द त खर्च हुने हो ।’ ऊ एक प्याग अझ थप्छे ।

‘दिमागभरि त्रास बोकेर ‘रिल्याक्स’ गर्नुको के अर्थ रहन्छ दिदी ? हेर त आज पनि ‘टेन्सन’ बोकिस् नि त !’ दिदीको टेन्सनले मलाई पनि पिरोल्छ ।

‘उहाँ छन् र पनि टेन्सन दिन्छन् । यिनीसँग म ‘डिभोर्स’ गर्छु ।’ दिदीको गिलास रित्याउनेक्रम चलिरहन्छ ।

‘डिभोर्स समस्याको समाधान हो ? आफूलाई ‘चेन्ज’ गरन भइगयो नि !’ दिदीको माया लाग्छ, ऊप्रति सहानुभूति राख्छु ।

‘यिनको स्वभावले म ‘चेन्ज’ हुन सक्दिनँ, जहिले पनि शङ्का, जहिले पनि शङ्का । यसरी पनि ‘लाइफ’ चल्छ मेरो आफ्नो ‘लाइफ’ छैन ? स्वतन्त्रता छैन ?’ मुरमुरिन्छे ऊ ।

‘भिनाजुको होइन आफ्नो स्वभावले भन न । नहुने काम गर्छेस् अनि शङ्का गर्दैनन् ।’

‘गरुन्, कहिलेसम्म गर्छन् ।’ खुइय एउटा थकित सुस्केरा काढ्छे ऊ । ऊभित्रको उदासिनता अझ बढ्छ ।

‘एउटा भिनाजुसँग तेरो कति समयसम्म रोमाञ्च चल्छ ?’ दिक्क हुँदै सोध्छु ।

‘जतिसुकै चलोस् है, नकरा ।’ झर्किन्छे ऊ । दिदीलाई मेरो प्रश्न मन पर्दैन तर मलाई यस्तो लाग्छ, उसका आँखामा फनफनी भिनाजु सम्बन्धका दृश्य नाच्न थालेका होलान् । मन नलागी नलागी ऊ सम्झिन्दै होली, आफ्नो जीवनसँग गाँसिएका भूतपूर्व भिनाजुहरू र उनीहरूसँगका मिलन विछोडका समय । जसलाई सम्भवतः दिदीले आफ्नो दिलको डायरीमा लेखेकी छे । निकट भएर होला कहिलेकाहीं निसङ्कोच भन्ने गर्छे ऊ आफूभित्र उद्वेलित सत्य । ऊ कहिलेकाहीँ भन्ने गर्छे यो सहरमा सबै कुरा सट्टामा पाइन्छ । प्रत्येक कुराको विकल्प यो सहरमा छ । फलानोसँग मेरो यति वर्षसम्म चल्यो । ऊ फेरि धारावाहिक भिनाजु र ऊसँग व्यतीत गरेका समयावधि सम्झिन्छे ।

भिनाजु नं. एक – तीन वर्ष तीन महिना

भिनाजु नं. दुई – स्थायी भिनाजु हालसम्म सम्बन्ध कायम

भिनाजु नं. तीन- अठार महिना

भिनाजु नं. चार – एक वर्ष

भिनाजु नं. पाँच – दुई वर्ष छ महिना

भिनाजु नं. छ – दुई वर्ष

भिनाजु नं. सात – थाहा छैन । यात्रा भर्खरै सुरू छ ।

यी सात भिनाजुमध्ये तीन अहिले देश बाहिर छन् । बाँकी तीनसँग दिदीको कहिलेकाहीँ कुनै भोजभतेर र सभा समारोहमा जम्काभेट हुन्छ तर बोलचाल हुँदैन । कसैकसैलाई कहिलेकाहीँ ‘मुडअफ’ भ’को बेला फोन गर्छे । पाँच वर्ष अघिसम्म ‘म्यारिज इन्भर्सरी’ मनाउँथी ऊ आफ्ना नयाँ सहयात्रीलाई निम्त्याउँथी तर अचेल मनाउँदिन । अचेल समयसँगसँगै परिवर्तित भएकी छे । अचेल दिदी हातमा रातो गुलाफको फूल लिएर ‘भ्यालेन्टाइन डे’ मनाउँछे । भिनाजुहरूलाई दिन्छे । एकाबिहानै मोबाइलबाट ‘भ्यालेन्टाइन वीस’ गर्छे ।

हात पुछ्दै नवभिनाजु आएपछि दुवै सम्हालिन्छौं ।

‘अनि नानी ! तिमी कहाँ पढ्छौ ?’ धमिलिएको वातावरणमा सहजता ल्याउन होला सायद सोध्छन् नवभिनाजु ।

‘पी. के. मा ।’

‘कुन लेबल ।’

‘डिप्लोमा सेकेन्ड ।’

‘कुन विषय ?’

‘कमर्स ।’

‘गुड ।’

‘ल राम्ररी पढ् । पढाइसकेपछि तँलाई राम्रो जागिर लाइदिनुहुन्छ भिनाजुले ।’ दिदी पुलुक्क भिनाजुतिर हेर्छे । मानौ ऊ आफ्नै भिनाजु हो । भिनाजुले दिने आश्वासन दिदीले दिइरहेकी छे । हाँस उठ्छ, नियन्त्रित हुन्छु ।

‘त्यो त भइहाल्छ नि !’ काम गर्ने नगर्ने आफ्नो ठाउँमा छ, भिनाजु पनि आश्वासन दिन कन्जुस्याइँ गर्दैनन् । प्रायः उसले चिनाएका भिनाजुहरू यही ‘रेडिमेड’ शब्द फलाक्ने गर्छन् । मलाई राम्ररी थाहा छ ।

‘हजुर केको ‘इम्पोर्ट एक्सपोर्ट गरिसिन्छ ?’ सोध्छु ।

‘उहाँ देशको ठूलो उद्योगपति । मुख्य सहरहरूमा उहाँका ठूलाठूला फ्याक्ट्रीहरू छन् धेरै कुराको व्यापार छ उहाँको ।’ भिनाजु बोल्दैनन् दिदी नै बोल्छे ।

यस्ता भिनाजुका कैयौं आश्वासन पाइसकेकी छु । आश्वासनअनुसार जागिर पाएकी भए यतिन्जेलसम्म आफ्नो व्यवस्था बाँधी सक्थें । निरीह भएर दिदी आश्रति हुनुपर्ने थिएन । मन नलागी नलागी दिदीका चित्त नबुझ्दा कुराहरूलाई शिरोधार्य गरेर जिन्दगीसँग अमेल सम्झौता गर्नुपर्ने थिएन तर यी सम्झौताबाट कुनै फाइदा लिएकी छुइन । दिदीले भने राम्रै फाइदा लिएकी छे । दिदीजस्तै स्वच्छन्द र उदारवादी भएकी भए म पनि फाइदा लिन्थे सायद । स्वभावले होला म दिदीजस्तै उदारवादी हुन सकिनँ र तीर्खालु भँवराहरूको खालमा आफूलाई च्याँखे थाप्न सकिनँ । मैले आजसम्म कमाएको सम्पत्ति भनेको मेरो अस्तित्व हो, जसलाई मैले जोगाउनु छ, मैले बुझेकी छु । दिदीको स्वभाव र मेरो स्वभावमा फरक छ । दिदी प्रत्येक भिनाजुसँगको सम्बन्धलाई व्यापारको रूपमा हेर्छे । घाटानाफाको मूल्याङ्कन गर्छे । जब आफ्नो स्वार्थ पूरा हुन्छ अनि मरेको भैँसीलाई किर्नाले छाडेजस्तो चटक्क छाड्छे । उसको यो विशेषताको सर्वत्र चर्चा छ । भन्नेहरू त यसो पनि भन्छन् ऊ भट्किएकी अतृप्त आत्मा हो, जसले आज एउटालाई समाउँछ, भोलि अर्कोलाई ।

तीजको ब्रत लिएर जब दिदीले साँझमा ब्रत भङ्ग गर्दै पत्नीव्रता भएर स्थायी भिनाजुको खुट्टाको पानी खान्छे । ढोङ्गी दिदीप्रतिको मेरो सम्पूर्ण श्रद्धा भङ्ग भएर आउँछ । विचरो सोझो भिनाजु भ्रममा छन् । दिदीको त्यो नाटकमा मख्ख पर्छन् । एउटा राम्रो कलाकार लाग्छ दिदी मलाई ।

कोसँग के गर्दा फाइदा हुन्छ, के कसरी आफ्ना इच्छा पूरा गर्न सकिन्छ, सबै तरिका उसलाई थाहा छ । कहिले त स्थायी अस्थायी भिनाजुहरू र भिनाजुका दिदीहरूको ‘गेट टुगेदर’ गराएर सबैसँग पारिवारिक घनिष्टता भएको नाटक गर्छे । विचरा अन्य दिदीहरूसमेत आफ्नो लोग्ने र ऊसँगको अन्तरङ्ग सम्बन्धको कुनै सुँइको पाउँदैनन् । यस्ता ‘गेट टुगेदर’मा मात्दै गएपछि फेरि दिदीलाई सबैसँग फोटो खिचाउने ठूलो शौख छ । यो सुवर्ण अवसरलाई मान्नेहरू कसैले पनि गुमाउँदैनन् अँगालो मारेर फोटो खिचाउँछन् । ऊ पनि प्रसन्न मुद्रामा फोटो खिचाउँछे । यस्ता दृश्यहरू देखेपछि भने कहिले मलाई लाग्छ बरू यो रङ्गीन सहरबाट मुक्त भएर आफ्नै ‘ब्ल्याक एन्ड हृवाइट गाउँ फर्किऊँ ।’ जहाँ आडम्बर छैन, स्वार्थ छैन । जहाँ यस्ता अपच नाटकका दृश्यहरू त हेर्न पर्दैन ।

लामो धैर्यपछि कहिलेकाहीँ दुखेसो पोख्छु ऊसँग –

‘दिदी ! यसरी तँ आफूलाई ढोकामा चुकुल नभएको सार्वजनिक शौचालय नबना । सबै तँलाई भट्किएको अतृप्त आत्मा भन्छन्, उनीहरूले तँलाई दिएको यो विभूषणले मलाई नमिठो गरी दुख्छ ।’

‘जे जे भन्छन् भन्न दे, ‘नो मतलब ।’ कुनै कुराले उसलाई असर पर्दैन । मलाई थाहा छ, प्रत्येक भिनाजुको ऋणी छे ऊ । चिनाजान भएपछि ऊ भिनाजुसँग निसङ्कोच रकम सापट माग्न चुक्दिन । आफ्नो स्वार्थ गँासिएकाले सहजै ऊ भिनाजुहरूसँग आफूले मागेको रकम फुत्काउन सफल हुन्छे । कतिको आधाउधी तिर्छे, कत्तिको तिर्दिन । दिदीसँग सम्बन्ध बिगि्रएपछि तिनै भिनाजुहरू मसँगको भेटमा गुनासो पोख्ने गर्छन् – ‘तिम्री दिदीले मसँग यति सापटी लगेकी थिई तिरिनन्, चालु रैछे तिम्री दिदी ।’ त्यतिबेला नमिठो लाग्छ मलाई । चालु शब्दले मेरो मन चसक्क घोच्छ । अनाहक ऊसँग म पनि गाँसिएकी छु ।

‘दिदी ! फलानोले तँलाई चालु रैछे तिम्री दिदी, मसँग सापटी लगेको रकम तिरिन भन्दै थिए किन नतिरेकी ?’ मन थाम्न नसकेर दिदीलाई सोध्छु ।

‘भन्छ नि साले ! ऊसँग मैले उहिले हिसाब मिलाइसकेकी छु ।’ हिसाब मिलाउनको अर्थलाई म विभिन्न अर्थमा लिन्छु । सम्बन्ध राम्रो हुन्जेलको ‘हजुर’ सम्बन्ध टुटेपछि सालेमा रूपान्तर हुन्छ, अचम्म लाग्छ मलाई यो परिवर्तित सम्बोधन । दिदी सबैसँग किन रकम सापट लिन्छे, जबकि भिनाजु आफैँ सम्पन्न छन्, त्यतिका रकम के गर्छे उसले, बुझ्न सकेकी छैन । सम्भवतः विभिन्न भिनाजुका सङ्गतले पनि उसको महत्त्वाकाङ्क्षा बढेको छ । मौजमस्ती उसको शौख भएको छ । त्यसैले पनि जति नै पैसा भए पनि उसलाई पुग्दैन ।

एक दिन त अति भएपछि आँटै गरेर भन्छु -‘तेरो यो स्वच्छन्दतावादी स्वभावप्रति अति घृणा लाग्छ दिदी मलाई ।’

‘लोग्नेमान्छेले हामीलाई भोग गर्न मिल्ने, हामीले उनीहरूलाई भोग गर्न नमिल्ने ? दुनियाँलाई मुर्गा बनाउन पाइन्छ भने सकिगयो नि के को घृणा ?’ मेरो पीडाप्रति संवेदित हुन्न ऊ । गम्भीर कुरा पनि सामान्य लाग्छ उसलाई ।

‘अनि उनीहरूले पनि तँलाई मुर्गी पनि बनाएका छन् नि ! त्यो सोचेकी छेस् । विचरा भिनाजुलाई पनि थाहा भइसकेको छ तेरो स्वभाव ।’

थाहा पाउन्, नो मतलब उसलाई कुनै कुराले पनि छुँदैन ।

‘तँ बेश्या होस् ?’ म अनियन्त्रित हुन्छु र एउटा गर्न नहुने शब्द प्रयोग गर्छु ।

‘चुप भोलिदेखि तँ मेरो घरमा नबस् । बस्छेस् भने मेरो ‘कमेन्ट’ नगर ।’ आक्रोशित हुन्छे दिदी ।

चुप हुन्छु म । आफ्ना आँखाबाट चुहिन आतुर आँसु पुछ्छु । मेराअगाडि एउटा विकराल पहाड भएर उभिन्छ मेरो भविष्य । म केही बोल्न सक्दिनँ । पढाइ सकिन अझै दुई वर्ष बाँकी छ । दिदीबाहेक यो सहरमा मेरो अर्को ओत पनि त छैन । दिदी आश्रति भएर बाँच्नुबाहेक मसँग अरू कुनै विकल्प छैन । एकाएक मभित्रको आक्रोशको आगो पग्लिएर पानी हुन्छ । दिदीको स्वभाविक क्रमलाई निरन्तरता दिइरहन्छु ‘उहाँ भिनाजु नमस्ते गर ।’ र एउटा अवोध केटाकेटीजस्तै हात उठाइरहन्छु ‘भिनाजु नमस्ते ।’

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *