पूर्वीय नाट्यसिद्धान्त र सहनशीला सुशीला

  • by


भीमनिधि तिवारी (वि.सं.१९६८-२०३०) पनि एक हुन् । काठमाडौँको मध्यमवर्गीय परिवारमा जन्मिएका उनको कलमबाट प्रवाहित साहित्य सरिताको लहरले नेपाली साहित्यका विधा हराभरा भएका छन् । वि.सं. १९९१ मा सूर्यघाट कविताबाट आफ्नो लेखनयात्रा सुरू गरेका उनले नाटक, कविता, कथा, निबन्ध, उपन्यासजस्ता विधामा आफ्नो छाप छोडेका छन् । आफ्नो लेखनीद्वारा सामाजिक विकृति, असमानता, थिचोमिथोमाथि व्यङ्ग्य प्रहार गर्ने उनी आधुनिक नेपाली नाटकको यथार्थवादी धारा (वि.सं. १९८६-२००७) का प्रसिद्ध नाटककार हुन् ।

उनका उत्कृष्ट सामाजिक नाटकहरूमध्ये सहनशीला सुशीला (वि.सं.१९९५) पनि एक हो । सामाजिक विषयवस्तुमा लेखिएको प्रस्तुत नाटकलाई पूर्वीय नाट्यसिद्धान्त र उनका मुख्यमुख्य विशेषताका आधारमा समीक्षा गर्ने प्रयास गरिएको छ ।

विषय प्रवेश

संस्कृत नाट्यशास्त्रमा नाटकलाई रूपक मानिएको छ । रूपक दृश्यकाव्यअन्तर्गत पर्ने साहित्यिक विधा हो । पूर्वीय आचार्यहरूले रूपकलाई साहित्यमा नाट्यको वाचक मानेका छन् । कुनै न कुनै रूपको आरोप नाटकमा हुने हुँदा पूर्वीय आचार्यहरूले नाटकलाई रूपक भनेका हुन् । (पोखरेल, २०६२ ः ५४) रूपकका दशवटा भेदहरू नाटक, प्रकरण, अङ्क, भाण, व्यायोम, समवकार, बीथी, प्रहसन, डिम र ईहामृगमध्ये ‘नाटक’ पहिलो र मुख्य भेद हो । पूर्वीय मान्यताअनुसार नाटक ऐतिहासिक, पौराणिक, सामाजिक विषयवस्तुमा आधारित हुनुपर्छ । नाटकमा विलास, सम्पन्नता र ऐश्वर्यको प्रदर्शन हुन्छ र सहायकको समावेश गरिएको हुन्छ । नाटकको नायक प्रतापी राजा, राजषिर्, धीरोदात्त वा कुनै दिव्य पुरुष हुनुपर्छ । नाटकमा रसको पूर्णप्रतिष्ठा रहन्छ । वीर वा शृङ्गारमध्ये कुनै एक रस प्रमुख हुनुपर्छ भने नाटकको अन्त्य सुखान्त हुनुपर्छ ।

पूर्वीय नाट्यसिद्धान्तका आधारमा तिवारीका नाट्यशिल्पको मूल्याङ्कन गर्नु प्रस्तुत लेखको सीमा हो । तिवारीका नाट्यकृतिहरू पौराणिक, ऐतिहासिक र सामाजिक विषयवस्तुमा आधारित भए पनि तिनमा परिवेश, विषय, पात्र र शैली भने आ-आफ्नै किसिमका छन् । मूलतः तिवारीले पूर्वीय नाट्यमान्यताकै सेरोफेरोमा रहेर नाटक लेखेका भए पनि उनले भरतमुनिको नाट्य मान्यतालाई पूर्णतः परिपालन गरेको भने पाइँदैन । तिवारीका दृष्टिमा भरतको नाट्यशास्त्रका सिद्धान्त पुराना भइसकेका र तिनको यथावत् अनुसरण जरूरी छैन भन्ने देखिन्छ

कथावस्तु

पूर्वीय आचार्यहरूले कथावस्तुलाई नाटकको शरीर र रसलाई नाटकको आत्मा मानेका छन् । प्रस्तुत नाटकको कथावस्तु सामाजिक धरातलअन्तर्गत अधिकांशतः अभिजात वर्गमा उभिएको छ । केही अंश सामान्य पात्रका जीवनसँग सम्बद्ध भए पनि मुख्य अंश कर्नेल साहेब, उनकी छोरी सुशीला र जुवाइँ साहेवसँग सम्बद्ध देखिन्छ । वि.सं. १९९१ मा सुरू भएर वि.सं. १९९६ मा अन्त भएको यो नाटकमा नाटककी मुख्य पात्र सुशीलाले आफ्नै बाबुको सम्पत्तिले बनेको घरमा बसेर त्यो घर पनि हाम्रै बुबाले किनिबक्सेको त हो नि (पृष्ठ २४), जुवाडे तथा अधम पतिको कुटाइ चुल्ठोमा समातेर पाउपोशले बेस्करी…..(पृष्ठ २) कैले जुत्ताको डाम, कैले नलीको, कैले कमरपेटीको त्यत्तिकै छ (पृष्ठ ३) सहनुपरेको छ । गाली गलौज अभागिनी, सत्यानाशिनी (पृष्ठ २१) बाट अपमानित हुनुपरेको छ । आफ्नो कुनै कसुर नभए पनि अहङ्कारी, विलासी, अत्याचारी, अविवेकी पतिद्वारा घरबाट निकालिनु परेको जा चण्डाल्नी । सडकको धुलो खा, खेतको पानी पी, मर जा । खाक थू ः तेरो मुखमा, तेरो बुद्धिमा (पृष्ठ ४०) छ । अनि कर्नेलकी पुत्री तथा ठकुरीकी कुलबधू भएर पनि एक अपरिचित बाहुनको घरको नोकर्नी भएर बस्न बाध्य हुनुपरेको छ । सुशीला सुँक्क-सुँक्क रूँदै जुठा माझ्दै गर्छिन् (पृष्ठ ४६) । यसरी सुखसयलमा बाल्यकाल बिताएकी दूधले चुठाएर राखेकी मेरी मैया आँखामा राखे पनि नबिझाउने स्वभाव भएकी (पृष्ठ ३) सुशीलाले अनेकौँ दुःखकष्ट भोग्नु परेको छ । यी विभिन्न घटना शृङ्खलाहरूले दर्शक तथा पाठकवर्गलाई नाटकको कथावस्तु सँगसँगै रूवाएको छ, दुःखित तुल्याएको छ । नाटकमा प्रयुक्त यी विभिन्न घटना शृङ्खलाले करूण रसको चरम अवस्था छोएको छ वा अङ्ग रसको रूपमा करूण रस प्रवाहित भएको छ भने रौद्र इत्यादि रसले अङ्ग रसको भूमिका निर्वाह गरेका छन् । त्यसैले आचार्य भरतको नाट्यसिद्धान्तझैँ प्रस्तुत नाटकमा प्रयुक्त कथावस्तु शरीर र यसमा प्रयुक्त करूण रस आत्माको काम गर्न सफल देखिन्छन् ।

प्रस्तुत नाटकमा घटना र त्यसको परिणामलाई पनि देखाइएको छ । नाटकमा सुशीलाको लोग्नेले त्यतिविघ्न स्वास्नीमाथि अन्याय गरेको छ । आफ्नी स्वास्नीलाई घरबाट निकालेपछि चिनियाँ केटीसँग लहसिएको छ तर जब त्यस केटीले धोका दिन्छे तब उसले हृदयभित्र पश्चातापको खोलो बगाएको छ । नाटककारले पूर्वीय नाट्यसिद्धान्त अनुरूप नाटकलाई सुखान्त बनाउनका लागि उसका सम्पूर्ण अपराधलाई क्षम्य पारिएको देखाएका छन् तर यस परिणामलाई नायकले पश्चाताप गर्नुबाहेक अन्य सुहाउँदो घटना भने देखाएका छैनन् । आफूप्रति लोग्नेको क्रुरता, उत्पीडन र अन्यायलाई सजिलै सुशीलाले क्षमा गरेर दुवै सुखी जीवन बिताउन अग्रसर भएको देखाइएको छ । यसरी सुशीला र जुवाइँ साहेबबीच मिलन देखाउने तिवारीले सहायक कथानकका मुख्य पात्र बाटुली र सेतेबीच पनि मिलन देखाउनु पर्थ्यो । किनभने बाटुलीले भन्दा जुवाइँ साहेबले गरेका कुकृत्य तथा उद्दण्डता कयौँ गुणा गह्रुँङ्गा र भयानक छन् । यहाँनिर नाटककारले सम्पन्न र विपन्नबीच तथा पुरुष र महिलाबीचको दण्डमा समानता देखाउन सकेका छैनन् ।

नायक

नाटककार तिवारीद्वारा लेखिएको यो नाटक नायिका सुशीलाको नामबाट नामकरण गरिएको भए पनि नाटकको नायक जुवाइँ साहेब हो, किनभने उसले कथानकको फल प्राप्त गरेको छ । ऊ धीरोदात्त नायक होइन किनभने ऊ क्रोधी छ । उसको स्वभाव स्थिर किसिमको छैन । ऊ संवेगलाई नियन्त्रण गर्न सक्दैन । गिलासको शरबत जुनेलीको मुखमा हुत्याइदिन्छन्, गिलासचाहिँ झ्यालबाट फ्याँकिदिन्छन् (पृष्ठ १९) भन्नुले ऊ विनयशील, मृदुभाषी र क्षमाशील छैन, उसको स्वभाव गम्भीर छैन । उसमा धीरललित नायकमा हुनुपर्ने स्वभाव पनि छैन किनकि ऊ समस्या पर्दा अत्तालिन्छ । सेते म त्यो पापको प्रायश्चित गर्छु । सिरानमुनिको खुकुरीले सेरिएर मर्छु (पृष्ठ ५४) भन्नुले उसले जीवनमा सुख पाएको अनुभव गरेको देखिँदैन । न अलिअलि पनि विद्याको अध्ययन गरेँ, न कुनै सामाजिक, प्राकृतिक विषयको अनुभव गरेँ….

(पृष्ठ ५९) भन्नुले ऊ धीरप्रशान्त नायक पनि होइन भन्ने पुष्टि हुन्छ । उसको जीवनमा शान्ति र सन्तोष छैन । ऊ सत्वगुणी नभए तमोगुणी छ । त्यसैले ऊ धीरोद्धत्त नायक हो किनभने ऊ आफ्नो प्रशंसा आफैँ गर्छ । मलाई को देखिस् तैले ?…..नोट चाहिन्छ, नोट, कि गिनी, कि असर्फी । जुन खालमा हामी जुवा खेल्छौँ ।….(पृष्ठ २०) । ऊ अहङ्कारी छ भन्ने कुरा तेरो खप्पर टुक्राटुक्रा गर्ने मेरो पनि धारिलो खुकुरी छ । (पृष्ठ ११) भनेबाट पुष्टि हुन्छ । पूर्वीय नाट्यसिद्धान्तमा भद्र, राजपरिवार वा उच्च वर्गको, कुलीन व्यक्ति नाटकको नायक हुनुपर्ने मान्यता रहेको पाइन्छ । प्रस्तुत नाटकको नायक ठकुरी वंशमा जन्मेको, नोकरचाकर आदिसमेत भएको अभिजात वर्गीय हुनु पनि पूर्वीय नाट्यसिद्धान्तको अनुसरण हो ।

पूर्वीय आचार्यहरूद्वारा नायिकाप्रति गर्ने व्यवहारका आधारमा पनि नायकका भेद उल्लेख गरिएको पाइन्छ । यस आधारमा अनुकूल नायक, दक्षिण नायक, शठ नायक र धृष्ट नायक गरी चार भेद उल्लेख छन् । तीमध्ये परस्त्रीलाई दिदीबहिनी र आमासरह ठान्ने, एक पत्नीब्रत अथवा एउटी नारीमा मात्र अनुरक्त रहने अनुकूल नायक हो । त्यस्तै, धेरै नारीसँग प्रेमभावमा आबद्ध रहेर पनि विवाहित नारीप्रति निष्ठाभाव राख्ने, सबै नारीप्रति सरल व्यवहार गर्ने र सबैलाई प्रसन्न गराउनसक्ने दक्षिण नायक हो भने विभिन्न छलकपट र विभिन्न प्रपञ्च जानेको, गुप्तरूपमा विभिन्न नारीप्रति प्रेमभाव राख्ने तर प्रत्यक्ष त्यो प्रेमभाव एक-आपसमा नदेखाउने शठ नायक हो । समाजमा नियमका केही कुराको ख्याल नगर्ने, प्रत्यक्षरूपमा नारीप्रति दुराचारपूर्ण व्यवहार गर्ने चाहिँ धृष्ट नायक हो ।

प्रस्तुत नाटकको नायक धृष्ट प्रकृतिको छ । उसले सामाजिक नियमलाई ख्याल गरेको छैन । उसले विवाह बन्धनमा बाँधिएकी अर्धाङ्गिनीलाई नोकरभन्दा कठोर व्यवहार गरेको छ साथै ससुरालाई समेत इज्जत गरेको छैन । उसले नायिकाबाहेक अन्य नारीप्रति पनि दुराचारपूर्ण व्यवहार गरेको छ । उसले नोकर्नी जुनेलीको मुखमा शरबत हुत्याइदिएको छ भने आफूभन्दा पाको उमेरकी नोकर्नी बखतीलाई पनि सजाय दिएको छ ।

नायिका

संस्कृत नाट्यसिद्धान्त अनुसार नायककी प्रिया वा पत्नी नायिका हो । नायिकाले कथावस्तुका सम्यक् विकास गर्नुका साथै नाटकमा प्रभावोत्पादकता प्रदान गर्न सक्छन् । आचार्य भरतमुनिले नारीजन्य प्रेम र व्यवहारका आधारमा स्वकीया, परकीया र सामान्य गरी नायिकाका तीन भेद उल्लेख गरेका छन् । तीमध्ये स्वकीया पहिलो दर्जाकी नायिका हो । ऊ सरल, विनयशील स्वभाव भएकी, गृहस्थी जीवन राम्रोसँग सञ्चालन गर्न सक्ने, आफ्नै पतिसँग मात्र प्रेमभाव राख्ने र कर्तव्यको ख्याल गर्ने स्वभावकी हुन्छे । परकीया दोस्रो दर्जाकी नायिका हो । ऊ विवाहिता र अविवाहिता जे भए पनि कामवासनाले छटपटाइरहने व्यभिचारिणी, परपुरुषसँग यौन सम्बन्ध कायम गरेर यौन सन्तुष्टि लिने निर्लज्ज स्वभावकी हुन्छे । त्यस्तै, सामान्य नायिका तेस्रो दर्जामा पर्दछे । ऊ वेश्यावृत्तिमा समर्पित, विभिन्न हाउभाउ र कटाक्षद्वारा परपुरुषलाई रतिक्रीडामा क्रियाशील गराउने र प्रेमीको प्रेमबाट सन्तुष्ट नहुने चरित्रहीन हुन्छ ।

यो नाटककी नायिका सुशीला कथावस्तुको सम्यक विकास गर्नुका साथै नाटकमा प्रभावोत्पादकता प्रदान गरेकी छ । आचार्य भरतमुनिले वर्गीकरण गरेका नायिकाहरूमध्ये ऊ स्वकीया नायिका हो । ऊ अत्यन्त सरल तथा विनयशील स्वभाव भएकी नारी हो भन्ने कुरा (नम्रता साथ)….. मलाई केही पनि थाहा छैन (पृष्ठ ११) भन्नुबाट थाहा हुन्छ । उसको लोग्ने अधम, स्त्रीको इज्जत गर्न नजान्ने, क्रोधी (जङ्गिएर) तैँले भनी नपठाएकी भए…..(पृष्ठ ऐ.), आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्ने, जुवाडे भए पनि उसले कहिल्यै लोग्नेलाई अपशब्द बोलेकी छैन । मेरो हृदय-सम्राट हजुर नै होइबक्सिन्छ (पृष्ठ ऐ) भन्ने सुशीलाले उसको लोग्नेले उसँग भएको पैसा लिने तेरी मैयाँलाई सुनाइदे, पाँच मिनेटभित्र पाँच सयको नोट मेरो अगाडि आइपुगोस् (पृष्ठ २०) भन्दासमेत चुपचाप सहेकी छ । अनेक प्रकारका यातना दिने (मुखमा सिस्नु लाएर) तेरो हिस्सी परेको थुतुनो (पृष्ठ २१), अपशब्द बोल्ने अलच्छिन….. (पृष्ठ ऐ), सुशीलाको बाबुलाई गाली गर्ने जस्ता क्रियाकलाप दोहोर्‍याइरहँदा पनि ऊ समुद्रझैँ शान्त भएर बस्छे । ऊ जहिले पनि नम्र भाषामा कुरा गर्छे तर उसले अनेक प्रयास गर्दा पनि गृहस्थी जीवन भने राम्रोसँग सञ्चालन गर्न सकेकी छैन । उसलाई आफ्नै लोग्नेले गलहत्याएर ‘जा चण्डाल्नी सडकको धुलो खा, खेतको पानी पी, मर, जा (पृष्ठ ४०)’ घरबाट निकाली दिएको छ । जीवनमा यस्तो अवस्था पार गरिसक्दा पनि ऊ आफ्नो पतिलाई मात्र प्रेमभाव राख्दछे भन्ने कुरा ‘मेरो त बाँचुञ्जेलसम्म हजुरउपर यस्तै प्रेम रहनेछ जस्तो स्वयम्बरको समयमा थियो । (पृष्ठ ११) भन्नुबाट ज्ञात हुन्छ । लोग्नेले घरबाट निकाली दिएपछि पनि उसले परपुरुषको कल्पनासमेत गरेकी छैन । ऊ लोग्नेलाई आधा अङ्ग सम्झन्छे र भन्छे कि मेरोआधा अङ्ग नै मसित छैन (पृष्ठ ४५) । यसका साथै ऊ आफ्नो कर्तव्यको पनि ख्याल गर्ने नायिका हो ।

रस

संस्कृत नाट्यसिद्धान्त अनुसार नाटकमा रसको पूर्ण प्रतिष्ठा रहन्छ । त्यसैले तैत्तरीयोपनिषद्मा समेत उपनिषद्कारले “रसो वै सः” भनेर रसलाई परब्रहृमको रूप मानेका छन् । संस्कृत साहित्यको प्रसिद्ध लक्षण ग्रन्थ साहित्य दर्पणमा कविराज विश्वनाथले रस के हो ? भन्ने प्रश्नको उत्तरमा-

विभावेनानुभावेन व्यक्तःसंचारिणा तथा ।
रसतामेति रत्यादिःस्थायीभावःसचेतसाम् ।।
(विश्वनाथ, २०१२ ः ६९)

अर्थात् विभाव, अनुभाव र संचारीभावद्वारा व्यक्त रत्यादि नै रस हो भनेका छन् । यसैक्रममा उनले शृङ्गार, हास्य, करूण, रौद्र, वीर, भयानक, वीभत्स, अद्भुत र शान्त गरी रसलाई नौ भागमा विभाजन गरेका छन् । यसका साथै समस्त भाव, विभाव, सञ्चारीभाव आदिको विस्तारमा विश्लेषण पनि गरेका छन् । यी रसहरूमध्ये साहित्यका विविध विधामा कुनैमा कुनै रस प्रधान भएर अन्य रस गौण हुन्छन् भने कुनै विधामा अकर्ैै रस प्रधान र अरू रस गौण हुन सक्छन् । नाटकमा चाहिँ शृङ्गार र वीरमध्ये कुनै एक रस प्रमुख हुनुपर्छ भने अन्य रसहरू सहायक रसको रूपमा प्रयोग हुन सक्छन् ।

प्रकृतमा तिवारीद्वारा लिखित यो सहनशीला सुशीला नाटकमा भने करूण रस प्रमुख रसका रूपमा आएको छ । नायक र नायिकाका जीवनमा सुखद्भन्दा बढी दुखद् घटनाहरू आएका छन् ।

यो नाटकमा सहायक रसका रूपमा चाहिँ रौद्र रस आएको छ । यो नाटकको नायक जुवाइँ साहेब आफ्नी श्रीमती सुशीला र ससुरालीबाट अपमानित भएको सम्झन्छ । यसबाट उसमा क्रोध उत्पन्न भएको छ । त्यसपछि उसले नायिका र नाटकका अन्य पात्रसँग कठोर वचन बोलेको छ, राताराता आँखा पारेको छ, दाह्रा किटेको छ र लात्तीले अनि नलीले नायिकालाई हानेको छ भने सिस्नुले समेत पोलिदिएको छ । यी रौद्र रसका अनुभावहरू हुन् । यसरी यो नाटकमा आवेग, उग्रता आदि व्यभिचारी भाव र क्रोध स्थायी भावको रूपमा आएकोले रौद्र रस सहायक रसको रूपमा स्थापित हुन पुगेको छ । मुख्य रस करूण हुनुको साथै सहायक रसका रूपमा रौद्र रसको प्रयोग हुनु संस्कृत नाट्य सिद्धान्तकै अनुसरण हो भन्न सकिन्छ ।

अङ्क विभाजन

संस्कृत नाट्यसिद्धान्त अनुसार नाटकमा कम्तीमा पाँच अङ्क र बढीमा दश अङ्क हुनुपर्छ भनिएको छ । तिवारीद्वारा लिखित सहनशीला सुशीला नाटकमा भने जम्मा तीन अङ्क मात्र छन् । त्यसैले तिवारीले अङ्क विभाजन गर्दा पूर्वीय सिद्धान्तभन्दा नवीन शिल्प अपनाएको देखिन्छ । यसमा प्रख्यात कथावस्तु, सामान्य चरित्रको नायक र अङ्गी रसको रूपमा करूण रसको प्रयोग भएको छ । जीवनका सङ्घर्ष र नारी विलापको वर्णन गरिएको छ । त्यसैले, संस्कृत नाट्य सिद्धान्तअनुसार हेर्दा यो रूपकका दश वटा भेदमध्ये अङ्कअन्तर्गत पर्दछ तर उनले यसलाई नाटक नै भनेका छन् ।

निष्कर्ष

नेपाली नाट्यसाहित्यको विकासमा आफ्ना अमर नाट्यकृतिहरूबाट टेवा पुर्‍याउने नाटककार भीमनिधि तिवारी नेपाली नाट्यसाहित्यका एक अविस्मरणीय प्रतिभा हुन् (काफ्ले, २०५४ ः ११९) । भरतको नाट्यशास्त्रका सिद्धान्त अनुसरण गर्नु जरूरी छैन भन्ने मान्यता भएका उनका नाटकहरूमा नान्दी पाठ, सूत्रधारको प्रारम्भिक कथन, नट र नटीको कुराकानी राखिएको पाइदैन । यस्ता आफ्नै मौलिक विशेषता भएका उनका रङ्गमञ्चीय नाटकमध्ये सहनशीला सुशीला पनि एक हो । सामाजिक विषयवस्तुमा आधारित यो नाटकमा सामान्य नायक-नायिका छन् । पूर्वीय नाट्यसिद्धान्त अनुसार नायककी पत्नीका रूपमा उपस्थित भएकीले सुशीला नाटककी नायिका हो । आचार्य भरतमुनिले गरेको वर्गीकरणअनुसार ऊ स्वकीया नायिकामा पर्दछे किनभने ऊ सरल, विनयशील छ र आफ्नो पतिसँग मात्र प्रेम गर्दछे । शृङ्गार र वीरमध्ये कुनै एक रस अङ्गी रस हुनुपर्ने पूर्वीय मान्यतालाई तोडेर करूण रसलाई अङ्गी रसका रूपमा प्रयोग गर्नु उनको मौलिक विशेषता हो । साथै अङ्ग रसका रूपमा रौद्र रस आउनु चाहिँ पूर्वीय नाट्यसिद्धान्तको अनुसरण हो । त्यस्तै, अङ्क विभाजनका दृष्टिले हेर्दा पनि उनको मौलिकता झल्किन्छ किनभने कम्तीमा पाँच अङ्क र बढीमा दश अङ्क हुनुपर्ने पूर्वीय नाट्यमान्यतालाई तोडेर यो नाटकलाई तीन अङ्कमा टुङ्ग्याइएको छ । यहाँ उनले रङ्गमञ्चमा प्रदर्शन गरिने नाटकहरू तीन घण्टाभन्दा बढी हुनु हुँदैन भन्ने मान्यतालाई अङ्गीकार गरेको देखिन्छ । नाटकको अन्त्य सुखान्त भएकोले पूर्वीय नाट्यसिद्धान्तको अनुसरण भएको देखिन्छ ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *