चक्रपथको छातीमा सयौँ गाडीहरू घिस्रन्छन् । त्यस्ता यात्रुहरू सायदै भेटिन्छन्, जसले नयाँ र सुविधाजनक गाडी चढ्न पाएको अनुभव गरेका होऊन् । आरामदायी सिटमा बस्न पाएको बखत अनुभूति हुन्थ्यो, धनराशि भएको बम्पर उपहार हातमा परेको । हजारौं यात्रुहरूमध्ये ऊ पनि एउटा थियो । हिमाल खुलेको र सफा मौसम भएको दिन ऊ चक्रपथको कलङ्कीबाट एउटा बसमा यात्रा गर्न थाल्यो । गुन्द्रुक खाँदेझैँ मानिस खाँदेको थियो उप-चालकले । उप-चालक आफू ढोकामा झुण्डेको थियो । यात्रुहरूलाई हार्दिक अनुरोध गरिरहेको थियो-‘दाजुहरू अलि पडाडिपछाडि सर्दिनोस् न है ? ढोका लगाउनुपर्छ । नत्र ट्राफिकले समात्छ ।’

-‘समाते ड्राइभरकै लाइसेन्स समात्छ । तेरो के जान्छ ।’ बीचमा च्यापिएर एउटा गोडाको भरले मात्र उभिएको ऊ मुखको तीतो पोखिरहेको थियो -‘तँलाई खालि पैसा उठाउन मात्र पाए पुग्दोरहेछ होइन ? खलाँसी मोरो । आफैँ ढोकामा झुण्डिराख्या छ । हामीले ढोका लाउन नदेको जस्तो गर्छ ।’ उसको भनाइ सुनेर केही यात्रुहरू मज्जासँग हाँसे । उता बस ड्राइभर टेपमा बजेको सस्तो हिन्दी गीतबाट मनोरञ्जन लिइरहेको थियो । अचेल एफ.एम. र टेप जडान नगरेको गाडी सायदै पाइन्छ । त्यो बसले पनि बिहेको जन्तीको झल्को दिइरहेको थियो । बल्खुमा पुगेर बस रोकियो । एकजना वृद्धसँग उप-चालक बहस गर्न थाल्यो । वृद्धसँग कलेजको परिचय-पत्र रहेछ । उप-चालकले ठाडै अस्वीकार गर्दै आरोप लगायो -‘मर्ने बेला भइसक्या मान्छेले नक्कली कार्ड देखाउने ? पूरै भाडा दिनोस् ।’ वृद्धले नम्र भावले भने -‘सायद तिम्लाई थाहा छैन होला कन्डक्टर भाइ । २२ चोटि एसएलसी जाँच दिएर २३ औं पटकमा पास गर्ने बूढोमान्छे मैं हुँ । अचेल म ११ क्लासमा पढिराख्या छु । यो कार्ड कसरी नक्कली हुन सक्छ ?’ अहँ, उप-चालकले पत्यार गरेन । बसका यात्रुहरूले नतमस्तक भएर वृद्धप्रति सहानुभूति प्रकट गरिरहेका थिए । उसलाई अघिदेखि उप-चालकसँग रिस उठिराखेको थियो । अहिले ऊ एउटी अधबैंसे महिलासँगै टाँसिएर बसिराखेको थियो । त्यही महिलालाई देखाउनकै लागि पनि ऊ सिटबाट उठेर बाहिर आई उप-चालकलाई जमाएर एकलात ठोक्यो -‘तेरीमा पाजी । यो बूढो मान्छेले ठग्न खोजेको जस्तो लाग्यो तँलाई ? मान्छे हेर्दा त दुईचार क्लास पढ्याजस्तो लाग्छस् तर सक्कली र नक्कली कार्ड पनि छुट्याउन नसक्ने रहेछस् । कति पैसा चाहियो तँलाई, म नै दिन्छु ।’ उसले पाइन्टको खल्तीबाट एकमुठी नोट निकाल्यो । उसलाई देख्नेहरूका आँखामा भिन्नै प्रकारको चमक देखा परेको थियो ।

वृद्ध यात्री आफ्नो बाटो लागे । उप-चालकले बेक्कारमा खानु परेको लातको बदलामा उसलाई माफी माग्न बाध्य पार्‍यो । नत्र दुईटै उपाय थियो । कि त गाडी गुड्ने छैन । कि त उसलाई यहीं छाडेर गाडी अघि बढ्छ । थोत्रो गाडी घ्यार् घ्यार् गर्दै अघि बढ्यो । महिलाले सोधिन् -‘दाइ, कहाँसम्म हो ?’ -‘म ? म एकान्तकुनामा ओर्लिन्छु ।’ उसले अघि खल्तीमा हालेको एकमुठी नोट झिकेर गन्न थाल्यो । महिलाको मनमा कुरा खेल्न थाल्यो । उनले उसलाई मूर्ख ठानिन्, पैसा भएको तर बुद्धि नभएको उनले फरियाको सप्कोलाई छातीबाट हटाइदिइन् । गला धेरै खोलेर बनाएको ब्लाउजले ढाक्न नसकेको छातीको भाग खोलिदिइन् । ड्राइभरले बजाइरहेको टेपबाट नेपाली लोकदोहरी गीत बज्न थालेको थियो । ठाउँठाउँमा बस रोकिन्थ्यो । यात्रुहरू चढ्थे, ओर्लिन्थे । उप-चालक विज्ञापन गरिरहेको हुन्थ्यो -‘सातदोबाटो, हस्पिटल, ग्वार्को.. ।

हातको नोट गन्दागन्दै महिलाको खुला ज्यान देखेर ऊ पागल बन्दै जान थालेको थियो । यस्तो भयावह स्थितिलाई पहिलोचोटि झेलेको थिएन उसले । त्यसो त खतरा स्थितिको सर्जक ऊ नै हुने गर्दथ्यो । यहाँ उल्लेख गर्न लायक विगतका केही घटनाहरूको बारेमा पाठकहरूलाई अवगत गराउनु सान्दर्भिक हुनेछ ।

साउन महिनाको झरीको समय थियो । काठमाडौँको पुरानो बसपार्कबाट दक्षिणकालीसम्म चल्ने एउटा बसमा चढ्यो ऊ । बिहानको साढे सात बजेको थियो । शनिबारको दिन भएकाले बसमा यात्रुहरूको चाप असाध्यै बढी थियो । देवताको नाममा पशु, पंक्षी बलि चढाएर मासुको स्वाद लिने धर्मभीरूहरूको उल्लेख्य उपस्थिति थियो त्यो थोत्रो बसमा । उसले काखीमा भाले च्यापेर भीडमा उभिएकी स्त्रीलाई देख्यो, तब उसका चोरआँखा चम्किला भए र अपरिचित स्त्रीको साँखिलो बन्दै उसले भन्यो -‘ए बैनी । दिनोस् त्यो भाले म च्यापिदिन्छु ।’ ‘पाए त तिमीलाई नै च्याप्थें । तर च्याप्ने मान्छे अर्कै मान्छे होला ।’ मनमा विषवृक्ष पलाइसकेको थियो । स्त्रीले भाले दिन निकै गार्‍हो मानिन् । तर उसको करबललाई नकार्न सकिनन् । उसले भाले च्यापेपछि उनीसँग आत्मीयरूपले नजिकिने चेष्टा गर्न थाल्यो । -‘अनि हजुर एक्लै हो ? माताको भाकल पूरा गर्न यो भाले भोग दिन ल्याउनु भएको जस्तो छ । कहाँबाट आउँदै हुनुहुन्छ कुन्नि ?’ ती स्त्रीले झट्ट जवाफ दिन जाँगर चलाइनन् । उसले छोड्दै छोडेन । बल्ल स्त्री बोलिन् -‘चापागाउँबाट आएकी । मेरा बूढा अरबमा छन् । उनको नाममा भाकल गर्‍याथें । बल्ल आज ट्याम मिलेर ..।’ उनले वाक्य अधूरै छोडिन् । उसले खोजेको जस्ती महिला भेट्न पाएकोमा ऊ मनमनै प्रफुल्लित भइसकेको थियो । उसले धैर्य गर्नै सकेन । स्त्रीको गोप्य अङ्गतिर स्पर्श गर्न थाल्यो । अबचाहिं स्त्रीको मनमा भुइँचालो गयो ।

दक्षिणकाली मन्दिरको बसपार्कमा बस रोकियो । सबै यात्रीहरू ओर्लिन थाले । आ-आफ्नो गन्तव्यतिर लाग्न थाले । ऊ र स्त्री अघिपछि गरेर उत्रिए । अचम्मै भो ती स्त्रीले हत्त न पत्त चप्पल फुकालेर उसको गालामा दनादन हान्न थालिन् । हारगुहार गरिन् । अब के चाहियो र उसको डँडाल्नोले पालो पाएनन । उसमाथि आँधी, हुरी, बाढी, भुइँचालो सबै एकैचोटि खनिए । सास मात्रै बाँकी राखेर छोडिदिए । उसका घाइते आँखाले स्त्रीको कलकलाउँदो देहलाई खोज्दै थिए । तर स्त्री अलप भइसकेकी थिइन् ।

भर्खर फागुन महिना लागेको थियो । जाडो गइसकेको थिएन । नाङ्गा रूखहरूमा नयाँ फूल, पात पलाउन लागेका थिए । यस बेला मानिसहरूमा एउटा नयाँ किसिमको जोश, जाँगर र भावना पैदा हुँदोरहेछ । उसमा पनि त्यस्तै किसिमको विचार आएको थियो । त्यो दिन धर्तीमा झलमल्ल घाम लागेको थियो । उसलाई कीर्तिपुरको विश्वविद्यालय भ्रमण गर्ने रहर लागेछ । ऊ सहिदगेटबाट माइक्रोबसमा चढ्यो । समय थियो बिहानको साढे नौ बजे । माइक्रोबसको ढोका सामुन्ने रहेको सिटमा लहरै चार जना केटीहरू बसेका थिए । उसले मुश्किलले ड्राइभरतिर पीठ फर्काएर बस्ने ठाउँमा बस्न पायो । धेरै दिनदेखि ऊ यस्तै मौकाको प्रतीक्षामा थियो । केटीहरूको मुख पनि हेर्न पायो । एउटीको दुई घुँडालाई आफ्ना बलिष्ठ पिँडौलाले च्याप्न पनि पायो । कालीमाटी नपुग्दै माइक्रो बसको ढोका लगाउनै नहुने गरेर यात्रीहरू राखी थियो । घुँडा च्यापिएकी केटी रून मात्र सकिरहेकी थिइन । त्यसो त अरूहरूको पनि त्यस्तै स्थिति थियो तर अरू लोग्ने मानिसहरूले कुनियतले घुँडा छोएका थिएनन् । ठाउँ नै साँघुरो थियो । ऊ साखुल्ले पल्टेर करायो -‘ए खलासी भाइ । के विधि मान्छे कोचेको । यहाँ मान्छेलाई कस्तो सास्ती भैसक्यो ।’ बिचरा खलासी किशोरै थियो, कठिनले झुण्डिराखेको थियो । रिसले बोल्यो -‘नराखेर के गर्नु । भाडा उठाउने भनेकै क्याम्पस र अफिस टाइममा हो क्यारे । दिउँसो खालि नै हुन्छ । त्यसमाथि यो कीर्तिपुरको रूटमा त सबैजसो विद्यार्थी छन् । कन्सेसन दिँदा दिँदा हैरान भइन्छ ।’ कुकुरले बाटो काटिदिएछ । चालकले झ्याप्प ब्रेक लाउँदा एकछिन कोलाहल मच्चियो । यता उसको मुख सामुन्नेकी केटीको गालामा जोत्तिन पुग्यो । उसले एकछिनसम्म चुमिरहृयो । यता घुँडा च्यापिएर हैरान भैरहेकी थिई, त्यसमाथि पराइ मर्दको जुठो म्वाइँ खाइनु पर्दा असह्य भयो । उसमाथि देख्नेहरूले हाँसेर गिल्ला गरे ।

कीर्तिपुरमा आइपुगेपछि त्यो केटीले बबाल गरी । उसलाई घिसारेर बाहिर ल्याई तथानाम अपशब्दले सुशोभित गर्दै लात्ताले हिर्काउन थाली । मिनिस्कर्ट लगाएकी रहिछे । केटाहरूले भित्री पोशाक पनि देख्न पाए । खुबै रमाइलो मानेर हेरिरहे । चालकले छेक्दै सोध्यो -‘के भो ? किन झगडा गरेको ?’ केटीले भनी -‘यो भातेले मलाई गाडीभित्र खुब सतायो । यसलाई त म ..।’ छेक्दाछेक्दै पनि पुनः लात ठोकी । ऊ स्पष्टीकरण दिने सुरमा थियो । अर्की महिलाले विगत कोट्याइन् -‘यो मान्छे खराब छ । दस दिन अगाडि मलाई पनि दुःख दिएको थियो यसले । मान्छे हेर्दा ३।४ वटाको बाउ होला जस्तो छ तर परस्त्री भनेपछि देख्नै नहुने रहेछ ।’ -‘किन नचाहिने कुरा गर्नुहुन्छ ?’ उसले आवाज चर्को पार्‍यो -‘कुन दिन कहाँ र कसरी सताएँ मैले तपाईंलाई ?’ -‘अझ बढ्ता बोल्छस् ?’ ती महिलाले स्पष्टीकरण दिइन् -‘थानकोट जाने मिनिबसमा कलङ्कीदेखि नैकापसम्म सताएको होइनस् ?’ त्यो दिन उसले मिनिबसमा उक्त महिलाको पछाडि उभिएर जीउमा समातेको थियो । कुहिनाले संवेदनशील अङ्गमा स्पर्श गरेर आनन्द प्राप्त गरेको थियो तर उनले इज्जतको डरले हल्का विरोध मात्रै गरेकी थिइन् । त्यही मान्छे आज अर्को रूटमा अर्की केटीमाथि कृदृष्टि लगाउँदै रहेछ आफ्नो पोल खुलेपछि ऊ भाग्यो । बढ्ता सजाय पाउनबाट जोगियो ।

त, ऊ चक्रपथको बसमा एकान्तकुनासम्म यात्रा गरिरहेको थियो । उसले भाग्य बताउने निहुँमा महिलालाई काउकुती लगाउन थाल्यो । ऊ कतिसम्म यौनकुण्ठाले ग्रस्त भएको रहेछ त पटकपटक धोखा खाँदा पनि चेतेको थिएन । एउटा घटनामा त उसले दुई वटा दाँतै गुमाएको थियो । यात्रुवाहक गाडीमा स्त्रीलाई छेडछाड गर्नु र स्पर्शसुख प्राप्तिको लक्ष्य राख्नु उसको दिनचर्या नै थियो । सधैँभरि आफूसँग महिला नै बसुन् भनेर सिट ओगटेर राख्ने गर्दथ्यो ।

ऊ महिलाको हस्तरेखा नियाल्दै थियो । उनले सोधिन् -‘तपाईको बिहे भैसक्यो ?’-‘हामीलाई कसले पत्याउँछ र बिहे गर्नु ?’ -‘हामीलाई कसले पत्याउँछ र बिहे गर्नु ?’ उल्टै प्रतिप्रश्न गर्‍यो उसले । महिलाले पत्याइनन् । कारण थियो -उसको उमेर ढल्किसकेको हुनु । उनले ठानेकी थिइन् । सायद विध्रु होला । त्यो कुरूप अनुहार राम्ररी हेरेपछि लख काटिन्- सायद स्वास्नीले छोडेर गइहोली । पैसा भएर मात्रै कहाँ हुन्छ र ? उसले पनि सोध्यो -‘अनि तपाईंको घरजम भयो ? सन्तान कति छन् नि ?’ त्यसरी उसले महिलाको आन्द्राभुँडी खोतल्ने प्रयास गरिरहथ्यो । महिलाले उसलाई मूर्ख बनाउन चाहिन् । तसर्थ नाटकीय रूपमा आँखामा आँसु छलल्काउँदै पतिले कुटपिट गरेर घरबाट निकालिदिएको झूठो बयान दिइन् । उसले ठान्यो, बल्ल आज साँच्चै भनेजस्ती आइमाई भेटिएको छ । सान्त्वना दिएको निहुँमा उसले महिलाको आँसु पुछिदियो । हातमा हात राखेर माया दर्शाइरहृयो । बसले बी. एन्ड बी. हस्पिटलको बिसौनी पार गरिसकेको थियो । ग्वार्को चोकमा उनीहरू ओर्लिए । महिलासँग डोरिंदै ऊ चक्रपथभन्दा पश्चिमतिरको एउटा गल्लीतिर लाग्यो । एउटा पुरानो घरको काठको भर्‍याङ चढाएर महिलाले उसलाई पहिलो तलाको कोठामा पुर्‍याइन् । ऊ सरासर गएर पलङमा बस्यो । मनमा केवल एउटै मात्र चाह थियो । उनी शरीर तताउने झोल पदार्थ किनेर ल्याउन चाहन्थिन् । उसले एउटा हात्ती दियो । पसल जानु भन्दा पहिले आफ्नो मोबाइल फोनको केही अश्लील फोटाहरू देखाउन सफल भयो । उनी गइन् । ऊचाहिँ आफ्नै ओछ्यान सम्झेर लडिबुडी खेल्न थाल्यो ।

आश्चर्य महाआश्चर्य ती महिलाले त आफ्नो लोग्नेलाई पो लिएर आइछन् । उसको उत्तेजना पलभरमै जमेर बरफ भयो । ऊ आत्तियो । उनीहरूले हात हाल्नुभन्दा पहिल्यै खल्तीबाट एकमुठी नोट झिक्दै उसले दशऔँला जोडेर बिन्ती गर्‍यो-

‘तपाईंहरू के चाहनुहुन्छ, त्यो मलाई थाहा भैसक्यो । मलाई यो पनि पत्तो भइसक्यो कि मैले अब के गर्नुपर्छ । प्लिज मलाई छोडिदिनोस् । यी लिनोस् यो पैसा ।’ उसले जम्मै हात्ती र बाघ दियो । महिलाको लोग्नेले गन्यो । सातहजार आठसय पचपन्न रूपियाँ रहेछ । ऊ त्यहाँबाट कुलेलाम ठोक्यो । उनीहरूचाहिं उत्ताउलो हाँसोहाँस्दै खाली पलङमा चल्न थाले । ऊ चाहिँ गाडी चढ्न पुगिसकेको थियो । उसको यौनोन्मुख यात्रा फेरि सुचारू भैसकेको थियो ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *