छन्दमा लेख्न रहर भएर मात्रै हुँदैन – रमेश खकुरेल

  • by


(कवि रमेश खकुरेल नेपाली छन्दवादी कविता लेखनको क्षेत्रमा सम्मानित नाम हो । अचेल छन्दमा कविता लेख्ने कविहरूको सङ्ख्या र उपस्थिति त्यतिविघ्न उत्साहप्रद देखिँदैन । ‘विश्व साहित्यमा सबै छन्द प्रयोग गरिएर कविता लेखिएको छैन, त्यस दृष्टिले हामी छन्दवादी कविता लेखनमा विश्वसामू फूर्ति गर्न सक्छौँ । छन्दमाथि यस्तो दृष्टिकोण राख्नुहुने कवि रमेश खकुरेलसँग मधुपर्कका लागि गोपीकृष्ण ढुङ्गानालेले गर्नुभएको अन्तरङ्ग कुराकानी ।)

१. छन्द कवितामा कसरी तानिनुभयो ?

स्वत तानिएँ । सात वर्षको छँदा पशुपतिको मृगस्थलीमा संस्कृत पढ्थें । ‘रघुवंश’ काव्य पढाइ भयो । घरमा ‘अमरकोश’ पढिसकेको थिएँ । व्याकरणको पुस्तक ‘कौमुदी’ पढेकै थिएँ । नयराज गुरुको पठनपाठन प्रणालीमा पढ्न पाएको थिएँ । ज्ञानमणि नेपाल, भोलानाथ पौडेल, देवराज पौडेलले पढाउनुभयो । लगाव हुन गयो र लेख्न थालियो ।

२. तपाईको रोजाइको छन्द कुन हो र किन ?

अनुष्टुप छन्दमा राम्रो लेख्छ भन्छन् अरूले । मूल्यांकन ठिकै हो भन्ने लाग्छ । यसको एउटै कारण म अनुष्टुपमा कुराकानी गर्न सक्छु भन्ने लाग्छ । तर यही छन्द भन्ने जोड छैन, मेरा लागि सबै राम्रा लाग्ने छन्द छन् । करिब ४० वटाजछि छन्दमा लेखेको छु । लेखिएकामध्ये बढी अनुष्टुपमा छन् । त्यसपछि क्रमशः शार्दूलविक्रिडित, मन्दाक्रान्ता, मालिनि, श्रग्धारा आदिमा छन् । अनुष्टुप छन्द मनपर्नुको एउटै कारण छ, वाल्मिकीले पहिलोपटक लेखेको छन्द भएकाले । अनुष्टुप आठ, आठ अक्षरको हुन्छ त्यसबाट पाउ बन्छ, चार पाउको एउटा श्लोक । धेरैले अनुष्टुप प्रयोग गर्छन् । सजिलो पनि भन्छन् तर मै हुँ भन्नेहरू पनि चिप्लिइरहेका भेटिन्छन् । संस्कृतमा २४ हजार श्लोक छन्, अनुष्टुप छन्दमा सबैभन्दा बढी १६ हजार श्लोक प्रयोग हुन्छन् ।

३. पहिलो छन्द कविता र छन्द कृति कुन हो ?

२००६ सालमा संस्कृत पढ्दा लेखेको छु तर शीर्षक यही भन्ने छैन । आईएस्सीको फिजिक्सलाई नेपालीमा ढाल्दै २०२५ सालमा छन्दमा ‘संक्षिप्त भौतिकी’ नामक कृति लेखेको थिएँ । तर २०१६ देखि २०१८ सालबीचमा मोहन कोइराला, मदन रेग्मी, भूपि राई, मोहनहिमांशु थापाहरूले कवितामा गद्यको अभियानलाई बेजोडसँग अघि सारे । कतिसम्म भने पद्य पनि गद्यजस्तै वाचन गर्नुपर्ने अवस्था भयो । त्यसबेला केही गद्य कविता पनि लेखिए ।

४. कतिवटा कृतिमा कलम चलाइसक्नु भयो ?

गद्य कविता लेखनको अभियानमा ‘आत्मकथा’ र ‘छोटकरी नेपाली पूजा विधि’ गरी दुईवटा कृति लेखेको छु । छन्दमा ‘संक्षिप्त भौतिकी’, कवितासङ्ग्रह ‘अँगालो’, कविताकै ‘घर भाडामा खाली छ’, महाकाव्य ‘सरिता नानी’, खण्डकाव्य ‘बहिनीलाई सन्देश’, लामो कविता ‘सावधान जहाज डुब्दैछ’, खण्डकाव्य ‘विदाई’, कवितासंग्रह ‘गर्धव राग’, यात्राकाव्य ‘खासा-ल्हासा’, गीतमाला ‘आनन्द प्रज्ञा’ (अनुवाद), महाकाव्य ‘स्रग्धारा’ र यात्राकाव्य ‘अडगड यात्रा’ छन् ।

५. पहिलो कृति र पछिल्लो कृतिबीचको छन्दलेखनबीच के फरक पाउनुहुन्छ ?

परिष्कार त भइहाल्छ नि । प्रत्येक घण्टामा परिष्कार हुन्छ, दसकौंपछिको त के कुरा । खूबै लेखेँ भनिठानिन्थ्यो । कतिपय नजानिएका कुरा जानिए, छन्दमा लेखें, लय मिलाएँ भनेर मख्ख परिन्थ्यो । अहिले आफैंलाई हाँसो लाग्छ कतिपय कविता हेर्दा । तर पछिल्ला दिनमा सबै तत्वको बोध भएको छ । के ठिक के बेठिक पनि जानियो ।

६. समकालीन छन्दकविमा देखिएका कमजोर पक्षहरू के हुन् ?

छन्दमा लेख्ने रहरमात्रै गरेर हुँदैन । पर्यायवाची शब्दहरूको असाधारण ज्ञान चाहिन्छ । अध्ययनको कमी छ, भाषाको ज्ञान कमी छ अहिलेको पुस्तामा । कुनै कुरा भन्न कम्तिमा दुई तीन शब्दको ज्ञान चाहिन्छ । प्रकारान्तरले नाम नलिई कसरी भन्ने जान्नुपर्छ । भाव दौडेर आइसक्छ, निचोरेर कुइँकुइँ बनाइसक्छ तर विशिष्ट ज्ञानको अभावमा ऊ गद्यमा पस्न बाध्य हुन्छ ।

७. सबल पक्षहरू नि ?

राम्रो लेख्दैछन् । थोरै भए पनि युवा पुस्ता यसका लागि तयार भइरहेका छन् । स्कुलिङ भइरहेको छ । कोठे कवि गोष्ठीले पनि स्कुलिङ गरिरहेको छ । युवामा पनि अध्ययन र लेखन भइरहेको छ । उनीहरू च्यानल तयार गरी अघि बढिरहेका छन् । प्रोत्साहन, हौसला र वातावरण पनि छ ।

८. छन्दविनाको कविताको कल्पना गर्न सक्नुहुन्छ ?

छन्दविनाको कविता वा गद्य लेख्नेले पनि पद्यको नजिक आउनैपर्छ । अन्त्यानुप्रास मिलाइहाल्छ, त्यो पनि पद्यको नजिक हुनु हो । जति सख्खर हाल्यो त्यति गुलियो हुने त हो नि । क्षमताअनुसारको तागत त हो नि ।

९. छन्द अर्थात् पद्य कविताले के दिन्छ, जुन गद्यले दिँदैन ?

पद्यले गायनको आनन्द दिन्छ जुन गद्यबाट संभव छैन । भावको घनिभूतता गद्यमा पनि होला तर पद्यले त्यो बढी दिन्छ । गद्य कविता लेखे सुन्ने पढ्नेले नसम्झन सक्छ तर पद्य कविता पछिसम्म सम्झनसक्छ र जीवनमा लागू गर्न सक्छ । पद्य सुन्दै आनन्द दिने विधा हो ।

१०. छन्द कवितामा अपेक्षाकृत रुपमा युवा पुस्ता आकषिर्त हुन नसक्नुको कारण के होला ?

वारणिक र मात्रिक गरी दुई किसिमका छन्द हुन्छन् । एक एक अक्षरमा हस्व र दीर्घ हुनैपर्ने कठिनाई वारणिकमा हुन्छ । शब्द र भाषाको ज्ञान गहिरो हुनुपर्छ छन्द लेख्न । भावना भएर पनि सहजै लेख्न सकिन्न यो । गजल छन्दको धेरै नजिक छ तर सजिलो भनेर उतापटि ढल्किएका युवा पनि रदिफ र काफियामात्र मिलाएर गजल लेखें भनेर मख्ख छन् ।

११. ‘छन्दमा भावको गहिराईलाई कलाको बोझले थिचेको हुन्छ’ भनिन्छ, के यो सत्य हो ?

कविसँग कलाको बेजोड प्रस्तुति वा दम छ भने भावको गहिराईलाई दमदार ढङ्गले प्रस्तुत गर्न सक्छ । साधारण गद्य लेखनजस्तो सरक्कै बुझिने चीज होइन छन्द कविता । दुई, चार र आठ कोणबाट हेर्न र बुझ्न सकिन्छ छन्द कविता । वाचनपिच्छे फरक स्वाद पनि आउँछ यसमा । अङ्ग्रेजी कवि पनि कविताको एउटा अंश त टाउको हल्लाएर बुझ्नुपर्छ, स्वाद आउँछ भन्छन् ।

मधुपर्क २०६८ चैत्र

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *