दुई वर्ष अगाडि खोलिएको गजब बहादुरको ‘तगडा पोल्ट्री र्फम’ले स्थापित भएर अलिकति नाफा के कमाउन थालेथ्यो, बर्ड फ्लुको हल्ला आइहाल्यो । हुन त उसको क्षेत्रमा रोगको लक्षण देखा परिसकेको थिएन तैपनि त्यहाँ कुखुराको मासु किन्ने ग्राहक स्वात्तै घटेे । उसले आफ्नो पोल्ट्रीर्फमको बारेमा धेरै ठाउँमा धेरै पटक भन्यो तर मान्छेको मनबाट बर्ड फ्लुको त्रास हट्न सकेन । त्यसैले उसले लोकप्रिय अभिनेतालाई पोल्ट्री र्फमको विज्ञापन गर्न मोटो पारिश्रमिकमा अनुबन्ध गर्‍यो ।

निर्धारित दिन थुप्रै पाहुना बोलाइए । तारे होटेलमा कार्यक्रम र हेभी लन्च पनि भएको हुँदा त्यहाँ फोटो पत्रकार र विभिन्न टीभी च्यानलका क्यामेराम्यानको पनि बाक्लै उपस्थिति थियो ।

गण्यमान्य व्यक्तिको उपस्थितिमा कार्यक्रमको थालनीपछि कुखुराका डिपफ्राइड ड्रमस्टिक एउटा प्लेटमा राखेर अगाडि ल्याइयो । एउटा साँप्रोे उठाएर ती अभिनेताले टीभीतिर हेर्दै बोल्न थाले, “तगडा पोल्ट्री र्फमका कुखुरा सेफ छन् । तपाई ढुक्क भएर आफू पनि खानुस्, अरूलाई पनि खुवाउनुस् । क्या मीठो कुखुराको मासु ! यी हेर्नुस् त, म पनि खाँदैछु !” उनले डायलग बोलिसकेर मासुको चोक्टामा दाँत गाडे । क्लिक क्लिक क्लिक… … उनको त्यो पोजमा धेरै फोटा खिँचिए । तालीको गड्गडाहटपछि कार्यक्रम सकियो । सबै जना खानामा झुम्मिए । लन्चमा सबैको प्लेटमा कुखुराको साँप्रो र सपेटा थियो तर ती अभिनेता भने होटेलको एउटा कुनामा बसी फ्रेन्च फ्राई खाँदै थिए ।

“लौ हजुर, भर्खर क्यामेराको अगाडि भने कुखुरो खाउँ भनी अपिल गर्ने, अहिले आफँ नलिने ?” आमन्त्रित पत्रकारले प्लेटमा मासुको पहाड उठाउँदै सोध्दै थिए । उनको सोधाइमा अभिनेताले अलि अप्ठ्यारो मान्दै जवाफ फर्काए, “हुन त हो । तर… … मसँग मासु खाएझैँं गर्ने मात्र कुरा भएकोथ्यो, साँच्चिकै खाने अनुबन्ध भएको थिएन ।”

अब मासु खाएझैँ मात्र गर्नु पेसाप्रतिको इमान्दारी थियो या त्यो बेला हल्ला फैलिरहेको बर्ड फ्लुको डर ! पत्रकारले हाकाहाकी सोध्न सकेनन् ।

युवामञ्च २०६८ पुस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *