Skip to content


छन् फूल थुँग्झैं शुभ गाउँ गाउँ
देखिन्छ राम्रा कति ठाउँ ठाउँ
अहा ! घले गाउँ छ रम्य गाउँ
यै गाउँका झैँ अनगिन्ति नाउँ ।

करापु दोर्दी र इलिम् बजार
गाएर नाच्ने कति खाल खाल
फारो यहीँ बालुन घाटु चुड्को
जहाँ पुगौँ रे त्यसकै छ खुड्को ।

छन् कालिका उत्तरमालिका छन्
छन् देउराली मठ मानिदा छन्
श्रद्धा चढाइ त्यसकै घुमाइ
कतै नि गुम्बा मणिको नचाइ

देखिन्छ आँखाभरि मातृभूमि
झल्किन्छ छातीभरि मातृभूमि
सर्वस्व मेरो प्रिय मातृभूमि
ब्रह्मस्व मेरो प्रिय मातृभूमि ।

छोपुन् परेली त बनेर पल्ला
हो माउ माटो म त सानु चल्ला
गरुँ म चीँ चीँ बरु गीत गाई
यै मातृभूमि घर नै जगाइ ।

म फूल पत्ता सरि लाख खात
म एक मौरी मह घार एक
मबाट थोपा पसिना त तप्प
माटो यसैमा चुहियोस् टपक्क

मधुपर्क जेठ, २०६९

Leave a Reply

Your email address will not be published. Required fields are marked *